काठमाडौं । प्रदेश–५ को स्थायी राजधानीलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसदले प्रदेशसभामा तोडफोड गरेका छन् । कानुनले सांसदलाई संसद भवनमा बोल्ने छुट दिएपछि फौजदारी अपराध गर्ने छुट दिएको छैन् ।

मुलुकी अपराध संहिता–०७४ को दफा–७३ अनुसार सार्वजनिक वा नीजि सम्पति तोडफोड गर्न वा बिगार्न पाईंदैन । तर, नेपाली काँग्रेसका सांसद बसिरुद्धिन खाँ, अष्टभुजा पाठक, बैजनाथ कलवार र रमा अर्यालले प्रदेशसभाको कुर्सी तोडफोड गरेर रौद्र रुप देखाएका छन् ।
प्रदेशसभाको कुर्सी र टेबुल फुटाउने सांसदलाई मुलुकी अपराधसंहिता–०७४ को दफा–७३ अनुसार १ वर्ष कैद र १० हजार जरिवाना वा दुवै सजाय हुने ब्यवस्था छ ।
सार्वजनिक शान्ति विरुद्धको कसुरमा प्रमुख जिल्ला अधिकारीले सांसदलाई कानुनी दायरामा ल्याउन सक्छन् । तर, ‘सानालाई ऐन ठुलालाई चैन’ भनेझैं ०५० चैत ११ बाट शुरु भएको संसदमा तोडफोडका घटनामा कसैलाई कारवाही गरिएको छैन् ।
प्रदेश–५ को संसदभित्र भएको तोडफोडको घट्नामा पनि संसदमाथि कारवाही हुने सम्भावना निकै न्यून छ । तर, मुलुकी अपराधसंहिता–०७४ को व्यवस्थाअनुसार जरिवानाका लागि मात्रै भएपनि तोडफोडमा संलग्नलाई कानुनी प्रक्रियामा लानुपर्ने बताउँछन्, पूर्व डिआईजी हेमन्त मल्ल ठकुरी ।
‘देशलाई ड्राइभ गर्ने राजनेताले हो, उनीहरुले नै यस्तो व्यवहार देखाउँछन् भने जनताले के आशा गर्ने’ रातोपाटीसँग कुरा गर्दै पूर्व डिआईजी मल्लले भने–‘यस्तो घटनामा स्थानीय प्रशासनले चासो लिनुपर्छ ।’ फौजदारी अपराधमा प्रहरीले कसैलाई पनि रिपोर्ट नगरिकन कानूनी प्रक्रिया अगाडी बढाउन सक्नुपर्छ ।

प्रदेश–५ को अस्थायी सभाकक्ष अहिले बुटवलमा छ । बुटवलमा भएको घटनामा त्यहाँका प्रमुख जिल्ला अधिकारीको कार्यक्षेत्र पर्ने हुनाले हामिले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई सोध्यौं–‘तोडफोड गर्ने सांसदलाई कारवाही गर्नुहुन्छ ?’  ‘त्यो त मैले गर्न मिल्ला र ?’ अन्कनाउँदै प्रजिअ घिमिरेले भने–‘अहिले मलाई ठ्याक्कै थाहा भएन्, सरकारी वलिकललाई सोध्नुपर्छ, बरु त्यतै बुझ्नुस् न ।’

प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रदेश सरकारको प्रस्तावविरुद्ध सोमबार काँग्रेसका सांसदहरुले प्रदेशसभामा तोडफोड गरेका हुन् ।

आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले तोडफोड गर्ने सांसदलाई ‘बैठकबाट निकाल्न’ रोष्टमबाटै आदेश गरेका थिए । मन्त्री केसीको आदेशको कतिपयले आलोचना गरेका छन् ।   प्रदेश सरकारको प्रस्ताव एकलौटी भएको भन्दै काँग्रेसका सांसदले राजनीतिक सहमतिका आधारमा प्रदेशको नाम र स्थायी राजधानी तोक्नुपर्ने बताएका छन् ।

READ MORE NEWS

‘उपत्यकामा कम्तिमा ८०० आईसीयू चाहिन्छ, पर्साबाट काठमाडौंले सिकेन’

२० असोज, काठमाडौं । बरिष्ठ जनस्वास्थ्यविद् डा. महेश मास्केले काठमाडौं उपत्यकामा बढिरहेको कोरोनाको ग्राफबारे चिन्ता व्यक्त गरेका छन् । यही गतिमा संक्रमितको ग्राफ बढिरहे आगामी दुई महिनाभित्र उपत्यकामा कम्तिमा ८०० आईसीयू बेड र १०० भेन्टिलेटर आवश्यक पर्ने डा. मास्केको विश्लेषण छ । तर, सरकारले विज्ञहरुको सुझावलाई ध्यान नदिएको उनको गुनासो छ ।

‘काठमाडौंमा सामुदायिक संक्रमणको बेग तीब्र हुँदै गैरहेको छ, यसले नै समग्र देशको कोरोनाको ग्राफ माथि उचालिरहेको छ’ अनलाइनखबरसँगको अन्तरवार्तामा जनस्वास्थ्यविद डा. मास्केले भने, ‘काठमाडौँलाई नियन्त्रणमा ल्याउन सकियो भने नेपालकै अवस्थामा ठूलो सुधार हुनेछ ।’

नेपालले आफ्नै देशमा कोरोना नियन्त्रणका राम्रा अनुभवहरु हासिल गरेको डा. मास्के बताउँछन् । तर, यी महत्वपूर्ण अनुभवहरुबाट काठमाडौंले शिक्षा लिन नसकेको तर्क गर्दै डा. मास्के भन्छन् ‘विशेषतः पर्सा जिल्लाका अति महत्वपूर्ण पाठहरुबाट काठमाडौँले शिक्षा लिएको देखिएन । संक्रमितहरु पहिचान गर्न पीसीआर परीक्षणमा भएको क्षमतावृद्धि प्रशंशनीय भए पनि संक्रमितहरुको व्यवस्थापनमा ठूला त्रुटिहरु भए र भैरहेका छन् । त्यसमा हामी चुकेका छौं र फेरि पनि चुक्दैछौं । काठमाडौँ यस चुक्ने उदाहरणको अग्रपंक्तिमा छ ।’

डा. मास्के नेपाल जनस्वास्थ्य प्रतिष्ठानका कार्यकारी प्रमुख हुन् । मास्केको नेतृत्वमा प्रतिष्ठानले नेपालको कोरोना संक्रमणबारे सुरुदेखि नै नियमित अध्ययन, अनुसन्धान र विश्लेषण गरिरहेको छ । गत असारमा अनलाइनखबरले डा. मास्केसँग नेपालमा देखिएको कोरोना संक्रमणको चरित्रबारे लामो कुराकानी गरेको थियो । (हेर्नुहोस् अन्तरवार्ता) सो अन्तरवार्तामा डा. मास्केले नेपालमा कोरोना समुदायस्तरमा फैलिइनसकेको विश्लेषण गरेका थिए । साथै नेपालमा मृत्युदर कम भएको र कोरोनाको फैलावट डढेलोजसरी नभएर आगोको झिल्कोजस्तो मात्रै देखिएको डा. मास्केको विश्लेषण थियो ।

तर, असारपछि बितेका तीन महिनामा नेपालमा कोरोना फैलावटका विशेषता के–कस्ता देखिएका छन् ? अहिले लकडाउन र निशेधाज्ञा तोडिएको अवस्था छ र दशैं–तिहारजस्ता चाडबाड आउनै लागेका छन् । यस्तोबेलामा खासगरी काठमाडौंमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । अब आगामी दिनमा संक्रमणको जोखिम कस्तो होला ? सरकार र आम जनताले के कुरामा ध्यान दिनुपर्ला ? यिनै विषयमा केन्द्रित रहेर हामीले डा. मास्केसँग गत असारकै अन्तरवार्ताको पूरक अन्तरवार्ताका रुपमा दोस्रोपटक कुराकानी गरेका छौं ।

प्रस्तुत छ डा. मास्केसँग अनलाइनखबरले गरेको कुराकानी :

डा. साहेब, यहाँले गत असारमा अनलाइनखबरलाई दिनुभएको अन्तरवार्तामा कोरोनाबारे केही प्रक्षेपणहरु गर्नुभएको थियो । यहाँले भन्नुभएको थियो कि ‘नेपालमा कोरोना संक्रमण सामुदायिक चरणमा प्रवेश गरिसकेको छैन ।’ अहिले असोजसम्म आइपुग्दा नेपालको वर्तमान अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?

समग्र नेपाल र प्रदेशहरुलाई पनि, अहिले पनि संक्रमणको सामुदायिक चरणमा प्रवेश गरेको भन्न सकिँदैन । विश्व स्वास्थ्य संगठनले पनि भनेको छैन । तर, नेपालका कतिपय स्थानीय तह र जिल्लाहरुमा सामुदायिक संक्रमण देखा परिसकेको छ, कतै अलि बढी र कतै अलि कममात्र हो ।

सीमाका केही जिल्लाहरु, जहाँ नियन्त्रण गर्न निकै गाह्रो हुनेजस्तो लागेको थियो, जस्तो कि– पर्सा, सर्लाही, बाँके र कपिलवस्तुमा संक्रमण चिन्ताजनक स्थितिमा पुगे पनि क्रमशः नियन्त्रणमा आएको देखिन्छ ।

काठमाडौंमा नि ?

काठमाडौँमा भने सामुदायिक संक्रमणको बेग तिब्र हुँदै गैरहेको छ । यसले नै समग्र देशको कोरोनाको ग्राफ माथि उचालिरहेको छ । काठमाडौँलाई नियन्त्रणमा ल्याउन सकियो भने नेपालकै अवस्थामा ठूलो सुधार हुनेछ ।

तर, विडम्बना के छ भने आफ्नै देशको नियन्त्रणका अनुभवहरु, विशेषतः पर्सा जिल्लाका अति महत्वपूर्ण पाठहरुबाट काठमाडौँले शिक्षा लिएको देखिएन । विज्ञहरुले विगत ७ महिनादेखि भन्दै आएका सुझावहरुप्रति पनि सम्बन्धित निकायहरुले ध्यान दिएको देखिएन । कोभिड नियन्त्रणका लागि गर्नुपर्ने काम कठिन नभए पनि संघीय सरकारका तीन तहबीचको समन्वयको चुनौती र कोभिड नियन्त्रणको स्वास्थ्य मन्त्रालयलगायतका हाईकमाण्डहरु बीचको निर्णय प्रकियाका चुनौतीहरुले व्यवस्थापन पक्ष टीठलाग्दो बनेको देखिन्छ ।

यहाँले अघिल्लो अन्तरवार्तामा भन्नुभएको थियो– ‘वास्तविक चुनौती फेरि पनि संक्रमितहरुको पहिचान र उनीहरुको उचित व्यवस्थापनमै छ । हाम्रो समग्र शक्ति त्यतै केन्द्रित हुनुपर्छ ।’ अहिले फर्केर हेर्दा हाम्रा चुनौती के–के हुन् ? हामी चुक्दै गइररहेका छौं या सही ट्रयाकमै छौं ?

संक्रमितहरुको पहिचान गर्नु र संक्रमितहरुको उचित व्यवस्थापन गर्नु त्यतिबेला पनि यो प्राथमिक महत्वको कुरा थियो, अहिले पनि छ । त्यसको उद्देश्य समुदायमा संक्रमण फैलन नदिनु, अस्पतालहरुको बोझलाई कम गर्नु, स्वास्थ्यकर्मीहरुलाई सुरक्षाको वातावरण दिनु, संक्रमितहरुका लागि कोरोना विशेष (डेडिकेटेड) अस्पताल र सामुदायिक आइसोलेसन केन्द्रको निर्माण, घरमै आइसोलेसनमा बस्नेहरुका लागि उचित हेरचाहको प्रबन्ध, अस्पतालमा आइसोलेसन बेड, अक्सिजन, आईसीयू र भेन्टिलेटर आदिको व्यवस्था गर्ने समय निकाल्नु थियो ।

काठमाडौँमा डेरा बस्ने अत्यधिक संख्या छ । त्यसैले लक्षणविहीन संक्रमितहरुका लागि, जसलाई होम आइसोलेसनमा बस्ने वातावरण छैन, सामुदायिक वा संस्थागत आइसोलेसन केन्द्र बनाउनै पर्दछ ।

संक्रमितहरु पहिचान गर्न पीसीआर परीक्षणमा भएको क्षमतावृद्धि प्रशंशनीय भए पनि संक्रमितहरुको व्यवस्थापनमा ठूला त्रुटिहरु भए र भैरहेका छन् । त्यसमा हामी चुकेका छांै र फेरि पनि चुक्दैछौं । काठमाडौँ यस चुक्ने उदाहरणको अग्रपंक्तिमा छ ।

हामीले अवसर नपाएका होइनौं । तर, अब त्यो अवसर खुम्चँदै गएको छ । हामी संयोगले पनि बचेका छौं । जस्तो कि– असार महिनामा भारत र अन्य देशहरुबाट निकै ठूलो संख्यामा नेपालीहरु देश फर्कने आकलन थियो । तर, त्यस्तो भएन । अनुमान गरेजस्तो संख्यामा उनीहरु आएको भए अहिलेजस्तो हालत त्यतिबेला नै पनि हुन सक्थ्यो होला ।

सबै विज्ञहरुले एउटै स्वरले दिएको सुझाव (यथेष्ट संख्यामा कोरोना बिशेष अस्पतालहरु बनाउन ) तर्फ आवश्यक पहल नहुने तर सबै अस्पतालमा २० प्रतिशत छुट्याउनुपर्ने बाध्यकारी निर्देशनले झनै समस्या उत्पन्न गर्‍यो । अस्पतालकै स्वास्थ्यकर्मीहरु वा रोगीहरु संक्रमित फेला पर्ने सम्भावना भएकाले स्वेच्छाले त्यस्तो व्यवस्था तयारी अवस्थामा राख्नु ठिकै थियो । तर, त्यसको सन्देश अब सबै अस्पतालले संक्रमितहरुलाई लिने पर्दछ र उपचार गर्ने पर्दछ भन्ने गयो । र, कोरोनाबाहेकका रोगीहरुको उपचारका लागि सहज बनाइनुपर्ने आम अस्पतालहरुमा पनि मान्छे जान डराउने स्थिति उत्पन्न भयो ।

तर, बीरगञ्ज (पर्सा) मा तीनवटा निजी अस्पताललाई कोरोना विशेष अस्पताल बनाएर लक्षण भएका रोगीहरुको उपचारलाई सुलभ बनाइयो भने अन्य अस्पतालहरुलाई कोरोनाबाहेकका रोगीहरु उपचार गर्न सहज बनाइयो । लक्षणविहीनहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा घरमै आइसोलेशनको व्यवस्था गरियो । उनीहरुलाई अस्पतालको आवश्यकता पर्ने लक्षण देखेमा तुरुन्त भर्ति गर्ने व्यवस्था मिलाइयो ।

काठमाडौँमा ७/८ वटा त्यस्ता विशेष अस्पताल किन बनाउन सकिँदैन ? काठमाडौँका मेयरले ५ हजार आइसोलेसन बेड बनाउने भनेका थिए । तदनुरुप आईसीयू र भेन्टिलेटरको पनि क्षमता बढाउने कुरा थियो । बनाएको भए यसरी संक्रमितहरु अस्पतालमा भर्ना हुन र आईसीयू बेड नपाएर बिजोग भएको सुन्नुपर्ने थिएन होला ।

कोभिड संक्रमितहरुको उपचारमा सबैभन्दा उदाहरणीय बनेको काठमाडौँकै कोरोना विशेष शुक्रराज ट्रपिकल अस्पताल हो । त्यहाँ संक्रमितहरुको मृत्यु वा चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मीहरुमा संक्रमण नगन्य छ । यसले पनि डेडिकेटेड अस्पतालको महत्व दर्शाउँछ । यिनै सफल उदाहरणहरुलाई विस्तार गरौं भनेका हौं ।

पर्साभन्दा फरक कुरा, काठमाडौँमा डेरा बस्ने अत्यधिक संख्या छ । त्यसैले लक्षणविहीन संक्रमितहरुका लागि, जसलाई होम आइसोलेसनमा बस्ने वातावरण छैन, सामुदायिक वा संस्थागत आइसोलेसन केन्द्र बनाउनै पर्दछ । एउटै कोठामा धेरै मान्छे बस्नुपर्ने विपन्न समुदायका लागि त यस्ता केन्द्रहरु अति नै आवस्यक छन् ।

अब उद्योगधन्दा सञ्चालन गर्नुपर्ने बाध्यता छ । यसबेला श्रमिक वर्ग संक्रमित हुने सम्भावना बढ्छ, जो अन्य जिल्लाबाट काठमाडौँ आएर काम गरिरहेका छन् । लक्षणविहीनहरुलाई त्यस्ता केन्द्र र घरमै व्यवस्थापन गर्न सके लक्षण भएका रोगीहरुका लागि अस्पतालमा उपचार प्रदान गर्न सहज हुनेछ ।

यी व्यवस्था गर्न किन आवश्यक छ भने अन्य मुलुकहरु दोस्रो, तेस्रो कोभिड लहरको सामना गरिरहेका छन् । चाडपर्व र जाडो आउँदैछ । त्यसैले संक्रमितहरुको संख्या बढ्ने नै सम्भावना बढी छ । त्यसैले संक्रमितको पहिचान र सम्पर्क व्यक्तिहरुको प्रभावकारी खोजीसँगै यी पक्षहरुप्रति पनि तत्काल ध्यान जान जरुरी छ ।

अर्को चुनौती भनेको संक्रमितहरुलाई सामाजिक सद्भावना, सरसहयोग र टेवा प्रदान गर्न र नागरिक स्तरबाटै पहल हुनु हो । त्यसका संकेत देखा पर्न थालेका छन्, जुन निकै आशा लाग्दो छ ।

डा. साहेब, असारमा यहाँले भन्नुभएको थियो, ‘नेपालमा लक्षणविनाका संक्रमितहरु ९८ प्रतिशत छन् । यसले रोग अन्यलाई सर्ने सम्भावना वा रोग गम्भीर हुने सम्भावनालाई कम गर्दछ । नेपालमा मृत्युदर कम छ, आइसीयु/भेन्टिलेटरमा राख्ने बिरामीको संख्या कम छ । ५–५४ वर्ष उमेर समूहका मानिसहरुमा जोखिम कम छ ।’ तर, अहिले लक्षणसहितका संक्रमित बढेका छन् र युवा उमेरका मानिसहरुको पनि मृत्यु भइरहेको छ । यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

हो, अहिले लक्षणसहितका संक्रमितहरु बढिरहेका छन् । तर, तीन हप्ताअघिसम्म पनि लक्षण भएकाहरुको संख्या डब्ल्युएचओले २०८ मात्र भनिरहेको थियो । र, लक्षणविहीन ९९.६ प्रतिशत ! हामीले त्यसमा प्रश्न उठाएका थियौं । त्यसपछि ती तथ्यांक दिन छोडिएको छ । अहिले आईसीयूमा भर्ना भएको संख्या नै उक्त संस्थाले उल्लेख गरेका संक्रमितहरुको संख्याभन्दा पनि बढी छ । त्यसैले डाटा संकलनमा कतै त्रुटि छ ।

तथापि यथार्थमा त्यसको दश गुना धेरै रहेछ भने पनि अन्य देशको तुलनामा निकै थोरै हो । निकै थोरै हुनु नेपालका लागि अर्को अवसर हो । त्यो संख्यालाई माथि भनेझैँ गरी व्यवस्थित गर्न किन गाह्रो भएको होला ? अहिले आईसीयूमा पनि बेड पाएन भन्ने समाचार सुनिन्छ । अहिलेसम्म यतिका धेरै दिनहुँ संक्रमित हुँदा पनि आईसीयूमा भर्ति हुनेको संख्या २५० र भेन्टिलेटरमा ४० नाघेको छैन । तीन महिनाअघि नै सरकारले काठमाडौँ उपत्यकामा संक्रमितका लागि ५०० भन्दा बढी आईसीयू र १०० भन्दा बढी भेन्टिलेटरको व्यवस्था गरेको र त्यसपछि पनि अझ थप गरिएको भन्ने समाचार आएको थियो । त्यो साँचो हो भने अहिले यो समस्या किन देखा परेको हो ?

त्यसरी उल्लेख गरिएको संख्या कोभिड रोगीहरुका लागि थिएन भने किन त्यस्तो सूचना जारी गरिएको हो ? यसबारे सरकारले प्रष्ट पर्ने मात्र होइन, अस्पतालको बेडको खोजीमा संक्रमित भौंतारिनुपर्ने अवस्थाको अन्त्य गरिनुपर्छ । सबै स्थानीय सरकारका वडाहरुलाई आफ्नो नगर वा गाउँपालिकामा कोरोनाका लागि व्यवस्था गरिएको बेड र आईसीयू भेन्टिलेटरको उपलब्धताबारे ड्यास बोर्डबाट जानकारी हुनु पर्दछ । संक्रमितले वडालाई सूचना गरेपछि संक्रमितहरुको उचित उपचारको प्रत्याभूति हुने सुनिश्चित गरिनुपर्छ ।

कुल संक्रमितहरुको संख्यामा नेपाल चीनभन्दा माथि पुगेको छ । तर, मृत्यु भने कम छ । चीनमा ४६४३ मानिसको मृत्यु भएको छ भने नेपालमा ५५४

संक्रमणको बेगलाई हेर्दा आगामी दुई महिनामा काठमाडौँ उपत्यकामा कोरोना संक्रमितहरुका लागि मात्र न्यूनतम ८०० आइसीयु र १०० भेन्टिलेटरको व्यवस्था गरिनु आवश्यक छ ।

जहाँसम्म ५ देखि ५४ को उमेर समूहको कुरा हो, संक्रमितहरु सबैभन्दा बढी यसै उमेर समूहमा त्यतिबेला पनि थिए, अहिले पनि छन् । त्यसैले मृत्युको संख्या पनि बढी देखिनु स्वाभाविकै भयो । त्यतिबेला एक हजारमा दुईभन्दा कम मृत्यु थियो । अहिले एक हजारमा तीनभन्दा कम मृत्यु छ । थोरै बढेको हो । तर, पनि यो उमेर समूह त्यति जोखिममा छैन । यसभन्दा माथिका उमेर समुहका संक्रमितहरु औसतमा हजारमा ४३ को मृत्यु हुने जोखिममा छन् । जति उमेर बढ्यो, त्यति बढी जोखिम छ ।

अहिले लकडाउन र निषेधाज्ञा हटेको छ । अर्कोतिर बजारमा मानिसहरुको भीडभाड बढिरहेको छ । यो परिस्थितिमा अर्थतन्त्रको संकट कम भए पनि स्वास्थ्यको संकटचाहिँ बढ्छ जस्तो लाग्दैन ?

निश्चितरुपमा यो अवस्थामा संक्रमणको जोखिम बढ्नेछ । त्यसैले, संक्रमणबाट बच्ने उपायहरुलाई तदारुकता साथ पालना गर्नु झनै आवश्यक छ । भिडभाड बाट त झनै जोगिनु पर्नेछ । तर, संक्रमणबाट त्यति आत्तिनुपर्ने होइन रहेछ भन्ने पनि हामीले बुझ्न थालेका छौं । संक्रमण हुनुअघि यसबाट बच्ने उपायहरुका बारेमा हामीले धेरै चर्चा गर्यौं । संक्रमण भैसकेपछि घरमा तिनै उपायहरु जारी राख्दै शरीरको रोगसँग लड्ने क्षमताको वृद्धि गर्नु, भिटामिन डी र सी तथा आयुर्वेदिक खानपिनमा ध्यान दिनु, चिन्ता कम गर्न ध्यान गर्नु, हल्का व्यायाम गर्नु, घाम ताप्नु र शरीरमा अक्सिजनको मात्रा बढाउन खुला ठाउँमा प्राणायाम गर्नु, मनोरञ्जनका विभिन्न उपाय अवलम्बन गर्नु, कार्यालय वा उद्योगमा काम गर्दा सावधानी अपनाउनु, घरमा आइसोलेसनमा बसेकाहरुले शरीरमा अक्सिजनको मात्रा जाँच्ने सानो यन्त्र अक्सिमिटरबाट आफ्नो शरीरको अक्सिजन कति छ भन्ने नियमित जाँच गर्नु ९० प्रतिशतभन्दा तल झरे वा कुनै पनि बेला लक्षण देखा परे अस्पतालमा भर्ति हुने मानसिकता बनाउनु अबका तयारीका पक्षहरु हुन् ।

जो यहीँ छन्, उनले इन्टरनेट प्रविधिको प्रयोग गरेर टाढाका प्रियजन हरुसँग दशैँ–तिहार मनाउनु, टीका थाप्नु र आशिर्वाद ग्रहण गर्नु नै श्रेयस्कर छ ।

संक्रमण बढे पनि नेपालका संक्रमितहरुमा मृत्युदर कम छ । कुल संक्रमितहरुको संख्यामा नेपाल चीनभन्दा माथि पुगेको छ । तर, मृत्यु भने कम छ । चीनमा ४६४३ मानिसको मृत्यु भएको छ भने नेपालमा ५५४ । नेपालमा गम्भीर रोगी र मृत्युको संख्या बढ्न दिइएन भने काठमाडौँजस्तो सामुदायिक संक्रमण बढिरहेको ठाउँमा समूह प्रतिरोधात्मक क्षमता (Herd  Immunity) विकसित पनि हुन सक्छ ।

दशैं–तिहारजस्ता चाडबाडहरु आउन लागेका छन् । एकजना जनस्वास्थ्यविदको नाताले आम नागरिकलाई यस्तो बेलामा के–कस्ता सल्लाह–सुझाव दिन चाहनुहुन्छ ?

मानिस एक सामाजिक प्राणी हो, हामी साथी संगत, हातेमालो मन पराउँछौं । एकले अर्कालाई स्पर्श गर्नु र स्पर्शद्वारा अव्यक्त सम्प्रेषण गर्नु हाम्रा लागि त्यतिकै आवश्यक छ । हाम्रा माया र स्नेहका अभिव्यक्तिहरुलाई पनि कोरोना महाव्याधिबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीले सकसमा पारेको छ. । चाडबाडमा त्यो झनै बढी खड्किन्छ । त्यसैले यी सबै सावधानीका उपायहरु पूर्णरुपले पालना गर्न कठिनाइ छ । तथापि हामीले केही समयका लागि आफूलाई यस नयाँ आचारसंहितामा ढाल्नै परेको छ । यो रोगका औषधिहरु र खोपको खोजीमा द्रुत गतिले प्रगति भैरहेको छ । आशा गराैं, आउँदो बर्ष यस्तो दुरी आवश्यक पर्ने छैन । तर, त्यतिबेलासम्मका लागि उच्च जोखिम समूहमा रहेका आफ्ना आमाबुवा र अन्य प्रियजनहरुका लागि पनि हामीले सावधानी र सतर्कता अपनाउनै पर्ने हुन्छ ।

काठमाडौँबाट घर फर्केकाहरुले अझै बढी त्यसको पालना गर्नुपर्ने हुन्छ । जो यहीँ छन्, उनले इन्टरनेट प्रविधिको प्रयोग गरेर टाढाका प्रियजन हरुसँग दशैँ–तिहार मनाउनु, टीका थाप्नु र आशिर्वाद ग्रहण गर्नु नै श्रेयस्कर छ । काठमाडौँबाट बाहिर जानेहरुले मोफसलका गाउँ बस्तीमा कोरोना फैलाउने कारण आफू नबनौं भनेर सचेत हुन आवश्यक छ ।


Your Views
Related News