मेरिकाको टेक्सास निवासी १७ वर्षीया किशोरी मेरी क्युरिनले आफ्ना लामा खुट्टाको सहाराले विश्व रेकर्ड बनाएकी छन् । ६ फीट १० इन्चकी मेकीले गिनिज वर्ल्ड रेकर्ड बनाएकी हुन् ।

रुसका एकातेरिना लिसिनाले बनाएको २५.२ इन्चको पछिल्लो रेकर्डलाई तोडेर मेकीले लामा खुट्टाको रेकर्ड आफ्नो नाममा गरेकी छन् । मेकीको दायाँ खुट्टा १३४.३ सेन्टिमिटर र बायाँ खुट्टा १३५.३ सेन्टिमिटर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मेकीले भनेकी छन्, ‘जुन व्यक्तिको शरीर असामान्य विशेषतायुक्त छ, उनीहरूले लजाउनु पर्दैन । त्यसलाई लुकाउनु पनि हुँदैन । यो रेकर्डले ती सबै महिलालाई प्रेरित गर्नेछ, जो अग्ला छन् ।’

मेकीकी आमाका अनुसार उनी १८ महिनाकी हुँदा २ फीट ११ इन्च थिइन् । मेकीलाई लामा खुट्टाका कारण समस्या समेत हुने गरेको छ तर उनले यसको फाइदा समेत उठाइन् ।

मेकीको उचाइ समेत घरमा सबैभन्दा बढी छ । उनी सामाजिक सञ्जालमा समेत चर्चित छिन् ।
READ MORE NEWS
राजीवले देखेको गुट, दाउपेच र भागबन्डाको कहानी

सुरू गरौं, राजीव उपाध्यायको हालै प्रकाशित पुस्तक ‘कबाल्स एन्ड कार्टेल्स’ भित्र समेटिएका तीन प्रतिनिधि घटनाबाट। मैले यहाँ संक्षेपमा प्रस्तुत गरेका ती घटनालाई जस्ताको तस्तै पढ्न भने पुस्तक नै उठाउनु पर्छ।

घटना– १

संकटग्रस्त नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको पुनरुत्थान गर्नुपर्ने थियो। राष्ट्र बैंकका तत्कालीन गभर्नरले सहयोग गरिरहेका थिएनन्। यसमा गिरिजाप्रसाद कोइरालाले केही सहयोग गर्लान् कि भन्ने लागेको थियो। अशोक बास्कोटाले बानेश्वरस्थित उनको घरमा कोइरालालाई भेट्ने चाँजोपाँजो मिलाइदिएका थिए।

हामी पुगेको एकैछिनमा गिरिजा पनि आफ्ना विश्वासपात्र सुशील कोइरालासँगै बास्कोटाको घरभित्र छिरे। एक छिनको भलाकुसारीपछि हामीले उनलाई नेपालको वित्तीय प्रणालीमा जोखिम बढ्दै गएको जानकारी गरायौं। भावभंगिमा हेर्दा स्पष्ट देख्न सकिन्थ्यो, उनीहरूलाई हाम्रा कुराले झ्याउ लागिसकेको छ।

गिरिजाले बिचैमा हाम्रो कुरा काट्दै भने, ‘हामी छिट्टै प्रधानमन्त्री भट्टराईलाई हटाउँदै छौं। त्यसपछि हामी महेश आचार्यलाई सरकारमा ल्याउँछौ।’

यो हामीले खोजेको भन्दा धेरै माथिको कुरा थियो।

घटना– २

प्रधानमन्त्री मनमोहन अधिकारीको चीन भ्रमणमा सांघाईका मेयर, जो चिनियाँ कम्युनिस्ट पार्टीको वरियतामा शक्तिशाली सदस्य हुन्छन्, छु क्वाङ्दीले रात्रीभोज आयोजना गरेका थिए। स्वागत भाषणमा एकपछि अर्को उदाहरण दिँदै उनले निजी उद्यम र राज्य पुँजीवादबाट प्राप्त हुने लाभको लामो चर्चा गरे।

उनले पुदोङमा स्थापना हुँदै गरैको आर्थिक क्षेत्रलाई ‘ड्रागनको शिर’ का रूपमा व्याख्या गरे। भ्रमण दलका सदस्यहरूलाई अर्को बिहान त्यो क्षेत्र देखाउने आफू आतुर रहेको बताए।

यो सबै कुरा भ्रमण दलका एक सदस्य वरिष्ठ वाम चिन्तक तथा पत्रकार सुकदेव नेपाल ‘अग्निशिखा’ लाई पचिरहेको थिएन। उनले हाम्रो सहयोगका लागि खटाइएकी चिनियाँ युवतीलाई सोधे, ‘कमरेड ली फेङलाई के भयो? उनले दिदी भन्ने गरेकी ती महिलालाई के भयो?’

चिनियाँ कम्युनिस्टहरूले वाहवाही गर्दै आएका ती आदर्श पात्रहरूका बारेमा उनले सोधेका थिए। ती पात्रहरू बारे युवतीले अज्ञानता प्रकट गर्दै भनिन्, ‘सायद तिनीहरू काल्पनिक थिए।’

एकछिन पछि अग्निशिखा टेबल छोडेर कतै लागे। धेरै बेरसम्म नफर्किएपछि म उनलाई खोज्न थाले। होटलका एक कर्मचारीले एकछिन अघि उनलाई रुँदै भर्‍याङ चढ्दै गरेको देखेको बताए। म कोठामा पुग्दा उनी विस्ताराको छेउमा बसेर अझै सुँक्कसुँक्क गरिरहेका थिए।

केही सम्झाइबुझाई पछि उनी पुरानो स्वरूपमा फर्किए र भने, ‘चिनियाँ कम्युनिस्ट पार्टीले धोका दिइरहेको रहेछ। यति लामो समयदेखि ठगिइरहेको थाहा पाउँदा म भावविह्वल भएँ।’

घटना– ३

‘तँलाई जेल नपठाई छोड्दिनँ,’ रात्रीभोजको भिडभाडमा कसैको चर्को स्वर सुनियो, ‘पछुताउनु पर्ला, म के गर्न सक्छु हेर्दै राख्नू।’

त्यो स्वरले मेरो ध्यान खिच्यो। सबैले घेरा हालेर हेर्न थाले।

बैंकिङ क्षेत्रमा बदनामी कमाएका श्रेष्ठ थरका तिनले गभर्नर भट्टराईको कठालो समाएर चिच्याइरहेको थिए। भोजमा सहभागी केही मान्छेले दुई जनालाई छुट्याए।

नेपाल बैंकर्स संघले अन्नपूर्ण होटलमा आयोजना गरेको रात्रीभोजमा यो घटना भएको थियो। स्थिति थप अप्रिय नहोस् भनेर गभर्नर भट्टराई तुरुन्तै बाहिरिए। अरूहरू पनि भोजको नमिठो स्वाद लिएर विस्तारै होटलबाट बाहिरिन थाले। आयोजक बैंकर्स संघका अध्यक्ष राधेश पन्त आफ्नै संस्थाको सदस्यबाट भएको यो हर्कतबाट दुःखी देखिन्थे।

समग्रमा पुस्तकः

यी घटनाहरू काठमाडौंको उच्च मध्यम वर्गीय परिवारको एक युवाले देखे-भोगे मध्येका हुन्। मुलुककै ‘उत्कृष्ट’ विद्यालयबाट औपचारिक स्कुले शिक्षा लिएर पहिले मिडिया अनि महत्वपूर्ण दाता विश्व बैंकमा काम गरेर दुई वर्षअघि राजीव उपाध्याय सेवा निवृत्त भएका हुन्। दुवै भूमिकामा हुँदा देश विदेशका नीति-निर्माता र शक्तिशाली व्यक्तिसँग सम्पर्कमा आएका थिए। उपाध्यायले पुस्तकमा खासगरी २०४६ को परिवर्तनपछिको अर्थराजनीतिक प्रवृत्ति उतारेका छन्।

उनले भेटेका पात्र, अवलोकन गरेका प्रवृत्ति, अध्ययन गरेका पुस्तकका माध्यमबाट त्यतिबेलाको गुट, दाउपेच र भागबन्डाको चित्र कोरेका छन्। यस अर्थमा यो पुस्तकलाई समकालीन अर्थ-राजनीतिक इतिहास हो भन्न सकिन्छ।

यहाँ प्रस्तुत पहिलो घटनामा बहुदल पुनस्थापनापछि सत्तामा आएको नेपाली कांग्रेसभित्रको आन्तरिक कलहको सामान्य चित्रण छ। लेखक पुस्तकमा राजनीतिक दलको द्वन्द्वभित्र पसेका छैनन् तर त्यसले सिर्जना गरेको विसंगतिहरूको साक्षी बनेका छन्।

कांग्रेस मात्रै होइन एमाले, राप्रपा र अरू दल बन्ने र भत्किने क्रममा शासन कति अस्थिर भयो, राजनीतिकर्मी कतिसम्म तल झरे, कर्मचारीतन्त्रले त्यसको लाभ कसरी उठायो, जनताका आकांक्षामा कसरी तुषारापात भयो एउटा पुस्ताले थाहा पाएको छ। त्यसैलाई दोहोर्‍याएका छन् उपाध्यायले पुस्तकमा।

त्यो कालखण्डको अर्थराजनीति, विकास र शासन बुझ्न खोज्नेहरूका लागि यो पुस्तक भविष्यसम्म एक खँदिलो दस्तावेज बनेर रहनेछ।

दोस्रो घटना पनि कम चाखलाग्दो छैन।

समाजवादउन्मुख अर्थतन्त्रको आंकाक्षासहित संविधान जारी भएको सन्दर्भमा, मुलुकको राजनीतिक परिदृश्यमा देखिएका सबै दललाई सामूहिकतावादी र राज्यवादी दर्शनले गाँजेको सन्दर्भमा पुस्तकको यो प्रसंगले अर्थपूर्ण व्यंग्य गरेको छ।

पुस्तकमा पटकपटक यस्ता प्रसंग आउँछन् जहाँ हाम्रा नेताहरूले पुँजीवादी व्यवस्थालाई गाली गरेका छन्, खुला आर्थिक नीतिमाथि भाँजो हालेका छन्। विदेशी सहायताको विरोध गरेका छन् तर तिनै देशी-विदेशी शक्ति र प्रवृत्तिसँग सम्झौता गरेर जनतालाई धोका दिएका छन्।

आफ्नो समयमा कांग्रेस, एमाले, माओवादी सबै दल र तिनका नेता क्रान्तिकारी थिए। उनीहरूले आमूल राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनको सपना देखाएका थिए। तर जबजब उनीहरू सत्तामा पुगे उही पुरातन शैली, सामन्ती सोच र व्यवहारबाट ग्रस्त भए।

तेस्रो घटना हाम्रो निजी क्षेत्र, कर्मचारीतन्त्र, अड्डा-अदालत लगायत हाम्रा संस्थाहरूका व्यवहार चियाउने सानो आँखी झ्याल हो। हामीले खुकुलो आर्थिक, राजनीतिक तथा शासकीय प्रणाली अपनाउने, निजी क्षेत्रको भूमिका बढाउने भन्यौं। तर त्यसको दुरुपयोग भयो। गलत पात्रहरू केन्द्रमा आइपुगे।

राज्यको स्रोत तथा करदाताको साझा सम्पत्ति दोहनमा राजनीतिकर्मी, निजी व्यापारी, सरकारी कर्मचारी, न्यायकर्मीको गठजोड हाबी भयो। राणाकाल, पञ्चायत, बहुदलमा जे भयो, गणतन्त्र र संघियतामा पनि त्यही भयो। केही पात्रहरू फेरिए, प्रवृत्ति उही रह्यो।

देशका दुई ठूला बैंकको झन्डै ३२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति (तत्कालीन कुल गार्हस्थ्य उत्पादनको झन्डै दुई प्रतिशत) जोखिममा थियो। तर जिम्मेवार निकायका प्रमुखहरू समस्या हल गर्न उदासीन थिए। उदासीन मात्रै थिएनन्, निक्षेपकर्ताको त्यति धेरै पैसा लुट्ने डकैतहरूको संरक्षणका लागि भरमग्दुर प्रयास गरिरहेका थिए।

बैंकको जोखिममा परेको सम्पत्तिमध्ये ८० प्रतिशत देशका ठूला ३५ व्यावसायिक घरानाको हातमा पुगेको थियो। यो बेथिति अन्त्य हुनुपर्छ भन्नेहरू विलखबन्दमा परेका थिए। उल्टै उनीहरूलाई अख्तियार लगाएर बन्दी बनाइएको थियो। असल नियतले काम गर्नेहरुले दुःख पाएका थिए।

दलभित्रको गुट-उपगुटले भित्र्याएको यो विकृति रोकिएको छैन। इतिहास दोहोरिने क्रममा छ। कुर्सी हत्याउने दाउपेच र भागबन्डा, आसेपासेको बिगबिगी, भाग खोज्ने कर्मचारीतन्त्र र निजी क्षेत्रको व्यवहार झन्-झन् ह्रासोन्मुख छ। शासकहरूका अहंकार, बेवकुफी, लोभ, मोह अझै उदांगिदो छ। असल पात्रहरूले दुःख पाउनुपर्ने स्थितिको अन्त्य भएको छैन।

हालसालैको इतिहासले सिकाउन खोजेको पाठ बिर्सिएर सार्वजनिक व्यवहारका कतिपय सन्दर्भमा गलत बाटोमा हिँड्न तत्पर हामीलाई उपाध्याय पुस्तकका माध्यमबाट सचेत गराउँछन्। लेखकले त्यो समयका नायकलाई प्रसंशा गर्नमा कन्जुस्याँइ गरेका छैनन्। खलपात्रलाई नंग्याउने साहस पनि जुटाएका छन्।

हामीले विश्व बैंकसँग ऋण लिएर दुई वाणिज्य बैंकको उद्धार गर्‍यौं। त्यो ऋण अझै तिर्दैछौं, लामो समयसम्म तिर्नेछौं। नेपाल बैंकमा पहिले सरकारको स्वामित्व ४० प्रतिशतभन्दा कम भएकामा अहिले ५१ प्रतिशत पुर्‍याइएको छ। राष्ट्रिय वाणिज्य बैंकको सेयर सर्वसाधारणमा जारी गर्ने भनिएको योजनालाई रद्दीको टोकरीमा फालिएको छ।

निजीकरण र आर्थिक सुधारका सकारात्मक पक्ष ओझेलमा पारिएको छ। माग र आपूर्तिका आर्थिक नियमले चल्नुपर्ने अर्थव्यवस्थालाई ‘राजनीतिक सहमति’ र प्रशासनिक निर्णयले चलाइएको छ। ‘मेरिटोक्रेसी’ को ठाउँ ‘क्रोनिइज्म’ ले लिएको छ। सरकारको प्राथमिकता पर्नुपर्ने भनिएको शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा सरकारको लगानी घटेको छ। वित्तीय क्षेत्र (बैंक, बिमा र गैर बैंकिङ वित्तीय संस्था) मा सरकारको लगानी बढेको छ।

यो सबै हिजोअस्ति जस्तो हामीले गरेको गल्तिबाट पाठ नसिक्दाका परिणाम हुन्। राज्यको लगभग सबै अंग यी विषयमा उदासीन छन्। मिडियाले पनि आर्थिक उदारीकरणबाट प्राप्त लाभलाई चटक्कै बिर्सिएर दैनन्दिनका घटना मात्रै पस्किने गरी आफूलाई व्यस्त राखेको छ। यस अर्थमा पुस्तक हामीलाई झकझक्याउने माध्यम बनेको छ।

दुई खण्डमा विभाजित पुस्तकको पहिलो खण्डमा अस्थिर संक्रमणकालीन शासनको वर्णन छ। दोस्रो खण्डमा विशृंखलित विकासको विवेचना गरिएको छ। अन्तिम अध्यायमा लेखकले आफ्नै कुरा गरेका छन् जसको सम्बन्ध मुलुकलाई ५ वटा प्रधानमन्त्री दिने परिवारसँग जोडिएको छ।

पुस्तक चलचित्रको पटकथा जस्तोगरी लेखिएको छ, जसले पाठकलाई पक्रिइरहन्छ। अघिल्ला अध्यायहरूमा पात्रलाई समाएर कथा भनिएका छन्। केही अध्यायमा पुस्तक, आदर्श राजनीतिक व्यक्तित्व तथा विकास अभियन्ता, अवधारणा र कार्यक्रमको चर्चा गरिएको छ। ३४ वटा अध्यायमध्ये अधिकांश छोटा छन्। एउटा अध्याय त सवा दुई पेजमा सीमित छ।

अंग्रेजी कमजोर भएका पाठकहरूले पुस्तक पढ्दा छेउमा ‘डिक्सनरी’ राख्नुपर्छ। ‘पन्च-लाइन’ पुस्तकभरी यत्रतत्र छन्। कुनै कुनै पन्च-लाइन निशानामा नलाग्दा पाठकलाई खल्लो बनाउँछ। कुनै कुनै अध्याय विकासे प्रतिवेदन जस्ता पनि लाग्छन्। ती अध्यायमा तथ्यांक धेरै प्रयोग भएकाले पुस्तकको लय बिग्रिएको भान हुन्छ।


Your Views
Related News