काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान हुने गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा एक हप्तामा चार दिनसम्म दिनभर बत्ती जाँदा पढ्न नपाएको भनी बालबालिकाले गुनासो गरेका छन् ।

गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको केही भाग हेर्ने गोकर्ण नो लाइटको क्षेत्रमा पटकपटक बत्ती जाने गरेको हो । अनलाइनबाट दैनिक डेढ घण्टासम्म अध्ययन गर्ने गरेकामा विद्युत् आपूर्तिमा अवरोधकै कारण पढाइ छुट्टी समस्या भइरहेको गोकर्णेश्वर–२ स्थित चण्डिकाश्वरी अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ५ की छात्रा सचिना थापाले दुखेसो पोखे ।

गोकर्णेश्वर क्षेत्रमा आइतबार २४सै घण्टा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । विगत एक महिनादेखि दिउँसो विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्ने समयमै दैनिकजसो दुईदेखि तीन घण्टासम्म बत्ती जाने गरेको छ । जोरपाटीबाट सुन्दरीजलसम्मको सडक विस्तारका क्रममा रहेकाले पटकपटक दिउँसो पोल सार्न, बत्ती बिग्रिएका स्थानमा बनाउनेलगायत कामले विद्युत् आपूर्तिमा अवरोध हुने गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण गोकर्ण नो लाइट कार्यालयका प्रमुख उमेशमान चिनियाँ विभिन्न स्थानमा विद्युत् तार, ट्रान्सफर्मरलगायत उपकरण बनाउनुपर्ने भएकाले विद्युत् आपूर्तिमा अवरोध आउने गरेको स्वीकार गर्छन् । आइतबार भने बौद्धमा टिपरले ट्रान्सफर्मर ढाल्दा २४ घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध भएको उनले सुनाए । टिपरले तीनवटा पोल ढालेको प्राधिकरणले जनाएको छ ।

करिब १३ हजार ग्राहक रहेको र भौगोलिकरूपमा पनि नुवाकोट र सिन्धुपाल्चोकसम्म जोडिएको काठमाडौँको बस्ती हेर्न जम्मा छ जना मात्र कर्मचारी भएकाले काममा ढिलाइ हुने गरेको छ । कार्यालयका कर्मचारी अस्मिन चालिसे भौगोलिकरूपमा विकट क्षेत्र रहेको कार्यालयका लागि दिइएको बा१य ४९० नंको गाडी लिएर बत्ती बिग्रिएको स्थानमा बनाउन जाँदा नगुड्ने अवस्था आउने गरेको दुखेसो पोख्छन् ।

बिग्रिएको बत्ती बनाउन जाँदा गाडी नै बिग्रने गरेकाले बनाउन ढिला हुँदा ग्राहकको गुनासो आउने गरेको छ । नेपालकै दोस्रो जलविद्युत् केन्द्र सुन्दरीजल रहेको गोकर्णेश्वर क्षेत्रमा दैनिक घण्टौँ बत्ती जाने समस्या भए पनि समाधानका लागि प्रभावकारी उपाय अवलम्बन हुनसकेको छैन ।

गाउँगाउँमा सिंहदरबार पुग्यो भनिए पनि सिन्धुपाल्चोक र नुवाकोट जिल्लासँग सीमा जोडिएको बस्तीका मानिस मासिकरूपमा रु ८० विद्युत् शुल्क तिर्न रु ५०० खर्च गरेर चावहिलसम्म पुग्नुपरेको मूलखर्कका स्थानीयवासी हर्कबहादुर तामाङले बताए । सुन्दरीजल वा गोकर्णसम्म बत्तीको पैसा तिर्ने गरी काउन्टरको व्यवस्था गरिदिए सहज हुने उनको भनाइ छ ।

विद्युत् आपूर्तिमा अवरोध आउन थालेपछि गोकर्णेश्वर नगरपालिका शिक्षा समितिले असोज १६ गतेदेखि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पठनपाठन विद्यालयमै शुरु गरेको छ । विद्यालयको बस नचलाउने, विद्यालयमा खाजा, खानाको नबनाउनेलगायत व्यवस्था गरेर विद्यालय खोल्ने निर्णय गरिएको शिक्षा समिति सदस्य श्रीकृष्ण ज्योतिले राससलाई जानकारी दिए ।

अभिभावकले नै सुरक्षितरूपमा विद्यार्थीलाई विद्यालयसम्म पु-याउने गरी सञ्चालन गर्ने दिने निर्णय गरिएको उनले सुनाए । समितिले कोरोनाको महामारीका बेला विद्यालय सञ्चालनसम्बन्धी निर्देशिका नै तयार पारेको छ ।

समितिको निर्णयपछि पनि गोकर्णेश्वरका सबै सामुदायिक विद्यालय खुले पनि संस्थागत विद्यालय भने खुलिसकेका छैनन् । प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठ अनलाइन कक्षा विद्युत् आपूर्ति, इन्टरनेटको कमजोरी, मोबाइल तात्ने समस्या, विद्यार्थीको आँखामा हुने समस्यालगायत कारण प्रभावकारी नभएकाले बिहानैदेखि विद्यार्थीका बीचमा दूरी कायम गरी कक्षा सञ्चालन शुरु भएको बताउँछन् ।

एक मेचमा एक जनामात्र विद्यार्थी राखेर स्वास्थ्य सुरक्षाका उपाय अपनाइ पठनपाठन शुरु भएको विद्या व्यायाम स्कूलको प्रधानाध्यापकसमेत रहेका उनले जानकारी दिए । अनलाइनबाटै शैक्षिकसत्र प्रभावकारी हुने नदेखिएकाले सुरक्षितरूपमा विद्यालय सञ्चालन गर्नुको विकल्प नभएको प्याब्सनको विश्लेषण छ ।

READ MORE NEWS

कोरोनाका पीडाले चहर्‍याएका घाउ

कोभिड १९ का कारण बिश्व अर्थतन्त्र नै प्रभावित भएको छ । यसको असर राज्यका विकास निर्माणमा मात्र होइन, व्यक्तिको जीवनयापनसम्म आइपुगेको छ । कोभिडका कारण व्यवसायीहरु कहिल्यै नउठ्ने अवस्थामा पुगेका छन् । हरेक घरका चुलाचौकाहरु कोभिडबाट प्रभावित छन् । कोभिड प्रभावबाट सिर्जित अभावले पारिवारिक कलह बढाएको छ । कति नागरिक यसको कहालीबाट आत्तिएर आफ्नो इहलीला समाप्त गर्न वाध्य भएका छन् । मानिस उपायहीन अवस्थाबाट निराश भएका छन् ।

सन् २०१९ को अन्त्यसँगै देखा परेको कोरोनाले सन् २०२०भर विश्वलाई नै चपेटामा लियो । यो वर्षका नौ महिना मानिसहरु कोरोनाको चर्चामा छन् अझ यो चर्चा अझ बढ्ने देखिन्छ । यो चर्चा चिन्तामा परिणत भएको छ । आजसम्म यही कारणबाट बिश्वभरका दश लाख नागरिक चितामा पुगिसकेका छन् । यसको अन्त्य कहिले र कसरी भन्ने जवाफ कसैसँग छैन । नेपाल पनि यो समस्याबाट विगत सात महिनादेखि प्रत्यक्ष प्रभावित छ । लाखौं मानिसका रोजीरोटी खोसिएका छन् । मानिसको अनुहारको खुशी खोसिएको छ । मानिसबीचको जमघट, चाड पर्वका भेला र रमाइलो खोसिएको छ । समग्रमा आम मानिसमा भयले वास गरेको छ, कतै कोभिड १९ को अकालमा शिकार हुनु पर्ने त होइन ।

यहाँ चर्चा गर्न खोजिएको प्रसंगचाहिँ कोभिड १९ का कारण बढेको पारिवारिक तनाव र हिंसाको हो । प्रारम्भिक दिनमा यसले बिछोडिएको परिवारलाई मिलाउँदै थियो । रोजगारीका लागि परदेशिएकाहरु धमाधम घर फर्कदै थिए । भारतबाट मात्रै सात लाखभन्दा  बढी नागरिक घर सम्झेर फर्केका थिए । खाडी मुलुकमा रहेका नेपाली धेरैलाई घरको सम्झना रहे पनि फर्कने अवस्था रहेन । सरकारले पनि उनीहरुलाई फर्काउन सकेन । तर जब कोभिड १९ लम्बिदै गयो, पारिवारिक तनावहरु बढ्न थाले । घरभित्रै हिंसा र हत्याका घटना देखा पर्न थाले ।

पारिवारिक कलहले आत्महत्या

गत भदौको अन्तिम साता भक्तपुरको मध्यपुर नगरपालिका ३६ वर्षीय युवक सुदीप अधिकारीले आफ्नो सम्पूर्ण परिवार नै उजाडे । उनले आफ्नी ३४ वर्षीय पत्नी र १५ वर्षे नवयुवक छोराको हत्या गरे र आफूले आत्महत्या गरे । उनले घरमा पालेको कुकुरलाई पनि बाँच्न दिएनन् । यो घटनाको मूल कारण पतिको कमाइसँग पत्नीको असहमति थियो । ससुरालीबाट ऋण लिएर व्यवसाय गर्न खोजेका सुदीपले किन अचानक हत्या र आत्महत्याको बाटो रोजे ? सपरिवार जीवनलीला समाप्त पार्नेका लागि घरको के अर्थ रह्यो ? एउटा सुन्दर परिवार थियो । पति पत्नीको चखेवा जोडी थियो । के खाउँ, के लाउँ उमेरमा हुर्कदै गरेको १५ वर्षे किशोर छोरा थियो । घरमा रमाउन पालिएको कुकुर थियो । त्यो घर अब रहेन । त्यो परिवार नै रहेन । परिवारका कोही पनि कोभिडको संक्रमणमा थिएनन् । तर अप्रत्यक्ष रुपमा कोभिड त्यो घरमा भित्रियो । संक्रमण विना नै केही बाँकी नराखी लिएर गयो । यसरी एउटा परिवारको इहलीला समाप्त भयो ।

आर्थिक स्वार्थका कारण हत्या

०७६ साल जेठ ५ गते काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ९ गोठाटारस्थित एक टहरोमा सिन्धुपाल्चोक घर भई जोरपाटी बस्ने ३६ वर्षीय पम्फा श्रेष्ठको हत्या गरियो । उनलाई सिन्धुपाल्चोककै ईन्द्रावती गाउँपालिका ११ बडेगाउँका ३५ वर्षे विनय श्रेष्ठ भन्ने विनय माझीले बन्धक बनाएका थिए । उनीबाट आर्थिक लाभ लिने उद्देश्यले बन्धक बनाइएको थियो वा बलात्कार गर्ने नियत ? भर्खरै पक्राउ परेका माझीले यसलाई कुन रुपमा व्याख्या गर्लान् । कारण जे बताए पनि बेरोजगारीले दिलाएको फुर्सद वा आर्थिक अभाव नै यसको कारण हो भनेर अनुमान गर्न कठीन छैन ।

परिवारकै सदस्यबाट बलात्कार

पछिल्लो समय बझाङकी एक युवती आफ्नै पति, ससुरा र नन्दको श्रीमानबाट बलात्कृत भइन् । उनको कुनै दोष थियो भने बिवाहको दुई वर्ष हुँदा पनि गर्भ नरहनु थियो । नेपालबाट रोजगारीका लागि भारत पुगेका उनका परिवारले सामूहिक बलात्कार शुरु गर्‍यो र यसबीचमा उनको गर्भ रह्यो । तर पछि गर्भपतन गराइयो । अहिले उनी भागेर गाउँ आएकी छिन् र विक्षिप्त अवस्थामा उपचार गराइरहेकी छिन् । सामूहिक बलात्कार पछि गर्भ रहनुको दोष उनको नभएर पतिको हो भन्ने पुष्टि गर्छ । यद्यपि गर्भ कसको थियो, दिनहुँ सामूहिक बलात्कार भोग्ने युवतीलाई थाहा हुने कुरा भएन । कोरोनाले गुमाएको रोजगारी पछि फेरि भारत पसेको यो परिवारले एउटी २१ वर्षे युवतीको जीवनमा आँधीबेहेरी ल्याएको छ ।

यी प्रतिनिधि घटना मात्र हुन् । आर्थिक बोझ धान्ने अवस्था देखेर आत्महत्या गर्नेको संख्या झण्डै दुई हजारको हाराहारीमा पुगेको छ । कोभिड १९ का कारण मरेका भनिएकहरुको संख्या ६०० पुग्दै गर्दा यसको प्रभावबाट आत्महत्या गर्नेको संख्या तेब्बर बढी भएको छ । कोरोनाका कारण मनोवैज्ञानिक समस्या भोग्नेको संख्या अनुमान भन्दा बाहिर हुन सक्छ । यस्तो समस्या आउनेमा आर्थिक कारोवारमा फसेकाहरु मात्र पर्दैनन्, परीक्षा दिन नपाएर अन्योल भविष्य देख्ने विद्यार्थी पनि होलान् । दैनिक रुपमा जीवन निर्वाह गर्नेदेखि ठूला कारोवारी समेत हुन सक्छन् । मनोविदहरुको क्लिनिकमा देखिने यो भीडलाई राज्यले खोजी गरेको छैन । अनुसन्धान वा खोजी पत्रकारिता गर्नेले पनि रुची दिएका छैनन् ।

यस्ता घटनाले समाज र परिवारमा विश्रृंखलता पैदा गर्छ । नदीमा बाँधिएको बाँध जस्तै कोरोना बिश्व आर्थिक गतिविधिमा बाँधको रुपमा उभिएको छ । बाँधपछि नदीको प्रवाहले गति लिन नपाए जस्तै सामान्य नागरिकदेखि राज्यसम्मका आर्थिक विकासका गतिविधि रोकिएका छन् । कोभिड १९ कुन रुपमा कहिलेसम्म चल्ने हो, यो कसैको अनुमानभन्दा बाहिरको विषय बनेको छ । अहिलेको चुनौती कोभिड १९ बाट कसरी जीवनलाई बचाउने भन्ने त छँदैछ, तर समाजमा बढ्दै गएको हत्या, आत्महत्या र हिंसाबाट कसरी जोगाउने भन्ने चुनौती पनि थपिएको छ । कोभिड १९को प्रकोपबाट जोगिन राज्यको खोजी गरिरहँदा समाज र परिवारमा बढ्दो अपराधबाट जोगिन समाज आफैं जाग्ने बेला भएको छ । अपराध गर्नेसँग मिलापत्र होइन, दण्ड दिलाउने र निराश भएको मानिसमा नयाँ आशा जगाउने उपाय खोज्न नागरिकहरु जुट्नुपर्ने बेला भएको छ । कोरोनाले चिथोरेका घाउमा अब मल्हम पट्टी गर्ने काममा सरकारको खोजी गर्न छाडेर नागरिक चेतना जगाउन ढिलो हुन थालेको छ ।


Your Views
Related News