शिक्षाविद् पाउलो फ्रेरे भन्छन्— शिक्षा कहिल्यै तटस्थ हुँदैन। राजनीतिक प्रणालीको मुख जता फर्कन्छ शिक्षाको मुख त्यतै फर्कन्छ। दार्शनिक ग्राम्कीको भनाइमा शिक्षाले राज्यको मियोमा रहेको वर्गको सांस्कृतिक आधिपत्य स्थापित गर्ने साधनका रूपमा काम गर्छ। शिक्षाले विद्यार्थीलाई राज्य वा सत्ता सञ्चालन गर्ने वर्गले जहिले पनि जनताको हितानुकूल व्यवहार गर्छन् र उनीहरूको आदेश स्वीकार गर्नु हाम्रो कर्तव्य हो भनी इन्ड्रोक्टिनेट गर्छ। नवउदारवादी राजनीतिले मतदाता नै सबै जान्दछन् भन्छ। यस पद्धतिमा राजनीतिक नेतृत्व मतदाताको सेन्टिमेन्टवरिपरि घुम्छन्।
केही मतदाताको माग आम हितप्रतिकूल भए पनि भोटको भयले निजी स्वार्थतिर लतारिन्छन्। नेपालको शिक्षा अहिले भोटको भूत, सांस्कृतिक आधिपत्यका मतियार र राजनीतिक मुखुन्डो ओढेका अराजनीतिक भीडको क्रीडास्थल बनेको छ। अभिभावकको चेतनास्तर बढ्ने, विद्यालयको संख्या बढ्ने, विद्यार्थीको भर्नादर बढ्ने, शिक्षक कर्मचारीको तलब सुविधा बढ्ने, नयाँ प्रविधिको प्रयोग र प्रभाव बढ्ने तर सिकाइस्तर कहिल्यै नबढ्ने बरू घट्ने। यो किन हुन्छ ? जवाफ कसैले दिन नपर्ने। अमूर्त प्रणालीलाई दोष दिने तर व्यक्ति उम्कने। आफूले पढाएको विद्यार्थी फेल हुँदा शिक्षकलाई नदुख्ने। आफ्नो काखमा राखी भर्ती गरेको शिक्षकले पढाएको विद्यार्थी फेल हुँदा दलको नेतालाई बेचैन नहुने। प्रणाली नै खोक्रो भइसक्दा पनि हाइ काढेर बस्ने कर्मचारीतन्त्रलाई कसले झस्काउने ? यी सबैको ओत राजनीतिले दिएको छ। राजनीति भोटको भूतबाट त्रसित छ। यसो हुँदा तैं चुप मै चुपमा गएर अड्किएको छ।
राज्यको चरित्रको चंगुलभित्र शिक्षा
नेपालको राज्यको चरित्र यही हो भनी छुट्टिएकै छैन। यसो हेर्दा बजारलाई जिम्मा दिए जस्तो नवउदारवादी, लोकको कल्याणकारिताको बखान गर्ने समाजवादतिर ढल्केजस्तो केही सीमित व्यक्तिले, कुलिनले, धनाढ्यले र बूढाहरूले मात्रै चलाएजस्तो। जताबाट हेर्यो त्यस्तै देखिने। अझ कहिलेकाहीं सारसंग्रहवादी खालको देखिन्छ। यी अगलअलग पद्धतिको आफ्नै शिक्षा पद्धति हुन्छ। तर हाम्रोमा व्यवस्थाको चरित्र नछुट्टिएकाले शिक्षाको पनि न्वारान हुन सकेन। त्यसैले शिक्षा पेन्डुलम भएको हो। शिक्षा राज्यबाट अलग्गिँदै छ। समुदायले अपनत्व लिएको अवस्था छैन। शिक्षा क्षेत्रमा जागिर खानेले भोटको हतियार फन्काउनाले कोही नजिक नपर्ने अवस्था छ। तीनखम्बे अर्थनीतिको सहारा लिई निजी क्षेत्र दौडिने र गरिबीको कारण देखाई राज्य पन्छिने गरेको छ। समाजवादउन्मुख संविधानमा भनिएको छ तर समाजको चरित्र त्यस्तो छैन। सार पक्षमा स्पष्ट हुन सकिएको छैन।
चुनावी प्रणालीका आधारमा हेर्दा नवउदारवादी प्रणाली अँगालिएको छ। नेतृत्व र भोटको द्विपक्षीय साइनो गाँसिएको छ तर पद्धति, भोट र नेतृत्वको त्रिपक्षीय सम्बन्ध कमजोर छ। यसो हुँदा नेतृत्वले भोटसँग जे पनि साट्न तयार हुने भयो। भोट हाल्ने सीमित टाठाबाठाहरू मतको हतियार देखाएर नेतृत्व थचार्ने भए। समाजका टाठाबाठा शिक्षक जसले कुनै न कुनै पार्टीको झन्डा बोकेकै छन्। उनीहरूलाई जवाफदेही बनाउन खोजे भोट बिग्रने डरले नेताको छहारी मिल्ने भयो। व्यवस्थापन समितिमा पार्टीकै कार्यकर्ता छन् जिम्मेवारिता र पारदर्शिताको कुरा उठाए भोटको अंकुश लाग्ने डर छ। चुपको संस्कृतिमा बाँचेका आवाजविहीन जनताको मुहार कसले पढिदिने। पुकार कसले सुनिदिने। बालबालिकाको भविष्य कसले देखिदिने। यी सबै बुझेर पनि बुझ पचाइन्छ किनकि अर्को चुनाव जित्नु छ।
बौद्धिक वर्गको आधिपत्य
समाजमा सबै जान्ने बौद्धिक वर्ग शिक्षक हुन्। समाजका रोलमोडल उनीहरू नै हुन्। चुनावका निर्णायक पनि उनीहरू नै। राज्यसञ्चालन गर्ने पार्टीसँग निकट भए राज्यको एकपक्षीय गुणगान गाउने र जनतालाई भ्रममा पार्ने पनि बौद्धिक वर्ग (शिक्षक मात्र होइन) हुन। आफूले भोट हाल्नेइतरको पार्टी सरकारमा भए सत्तोसराप गरी जनतालाई भुलभुलैयामा पार्ने पनि यी बौद्धिक वर्ग नै हुन्। राजनीतिक पार्टीलाई पपुलर माग राखेर वास्तविक मागलाई ओझेलमा पारी नीतिगत प्रभाव पार्ने पनि यही वर्ग हो। यो वर्गले जग्गा वा शिक्षामा मात्र दलाली नगरेर भोटमा समेत दलाली गर्छ। पद्धतिमा बाँधिन चाहँदैन यो वर्ग। अस्थिरता यिनीहरूका लागि अनुकूल वातावरण हो।
यो वर्गले राजनीतिलाई भोटको लोभ देखाउँछ र आफ्नो गैरजिम्मेवारीपन लुकाउँछ। जनस्तरमा जनताका माग उठान गरिदिएको अभिनय गर्छ। अर्कातिर शिक्षाको दुरवस्थाको कारण अमूर्त राज्य हो भन्छ। नीति छैन, कार्यक्रम छैन, योजना छैन, तलब कम छ भनी राज्यप्रतिको जनविश्वास कमजोर पारिदिन्छ। विद्यार्थीको सिकाइ कमजोर हुनुमा गरिबी, सामाजिक सांस्कृतिक कारण हुन् भन्छ। विद्यार्थीको बुद्धिमत्तालाई दोष लगाउँछ। बच्चाको वंशाणुगत गुणमा लगेर सिकाइलाई जोडिदिन्छ र अभिभावकले आफ्नो वंशप्रति धिक्कार्न थाल्छ। अभिभावकले घरमा सिकाएनन्, सिकाइको वातावरण बनाएनन् त्यसैले विद्यार्थी फेल भए भन्छन्, समाजले त्यही पत्याउँछन्।
राजनीतिको प्रतिविम्ब शिक्षामा प्रत्यक्ष पर्ने हुनाले भोटको राजनीतिबाट शिक्षालाई अलग गरी भोटको ध्वांस दिने वर्गलाई जनताप्रति जवाफदेही नबनाएसम्म शिक्षामा रूपान्तरण हुँदैन।
स्थायी शिक्षक नभएका कारणले गुणस्तर खस्कियो भन्छन् अनि भएका शिक्षकबाट गुणस्तर देऊ भन्न अभिभावक सक्दैनन्। जनताको आक्रोश अन्यत्रै मोडिदिई आफू सुरक्षित रहने रणनीति हो यो। भोटको मुठो समातेर बसेका बोली बिक्नेहरूले राजनीतिक शक्तिका आडमा आफन्तलाई राहत वा अस्थायी कोटामा छिराएर शैक्षिक वातावारण धमिलो भयो कि भनी प्रश्न गर्ने आँट कसैसँग छैन। पद्धति बसालेर प्रतिस्पर्धामा जाऊँ भनियो भने चुनावमा देखाइदिन्छु भन्छन्। एउटा पार्टीबाट काम नभए अर्को पार्टीले अबीर लगाई भित्याइहाल्छ। अनि त्यो पार्टीले उसैलाई रोज्छ।
अहिले सामाजिक सञ्जालमा सबैभन्दा सक्रिय यही वर्ग छ। सञ्जालको प्रयोग गरी भ्रमको खेती फस्टाएको छ। आमसञ्चारका माध्यमले पनि यिनीहरूलाई सुन्छन् र समाचार बन्छन्। पटकपटक झूट र भ्रम दोहोरिँदा त्यही सत्य बन्छ। अनुसन्धाताका उत्तरदाता पनि यिनीहरू नै हुन्छन्। अनि अनुसन्धान प्रतिवेदन वास्तविकताभन्दा विचलित भएर आउँछन्। त्यही अनुसन्धानलाई आधार मानी नीति बनाउँदा गलत नीति बन्छन्। यो चक्र जारी छ।
अनि कसरी हुन्छ शिक्षामा रूपान्तरण ?
बौद्धिक वर्ग खासगरी शिक्षकले आफूभित्रको समस्या देख्ने चेष्टा गरिएन। कर्मचारीले शिक्षकलाई दोष दिई आफू ओभानो बन्न खोजे। ट्रेड युनियन भोट बैंक भए। पेसागत विकासभन्दा व्यक्तिगत लाभतिर भौंतारिए। ग्राम्कीले भनेजस्तो यो वर्गले काउन्टर हेजेमोनीको काम गर्नुपर्ने थियो। समाजका गलत विचार, भ्रम र अभ्यासलाई चुनौती दिने र जनतालाई सजग गराउनुपर्ने थियो।
पाउलो फ्रेरेले भनेजस्तो चुपको संस्कृतिमा विस्फोट गराएर सशक्तीकरण गर्नुपर्ने थियो। युवल हरारेले भनेजस्तो आफूलाई हरेक क्षण अपडेट गरी समाजका हरेक चरणमा समायोजित हुन सक्ने बन्नुपथ्र्यो। तर अधिकांश बौद्धिक मानिने वर्ग शिक्षा विकासको वाधक बन्दै छ। हुन त यो देशको अर्थ–राजनीतिक चरित्रको दोष हो। भोटको राजनीतिको परिणति हो। यस्तो चरित्रका विरुद्धमा निर्मम प्रहार हुन सकेन भने शिक्षा मात्र होइन, समग्र विकासको पांग्रो महाभारतामा कर्णको रथको पांग्रोसरि भासिने छ।
कसो गर्ने त ?
अस्मग्लु र रविन्सनको अध्ययनले भन्छ— देश असफल हुनुमा समावेशी संस्था बन्न नसक्नु हो। नेपालमा लोकतन्त्र आए पनि प्रणाली बस्न सकेन। अहिले जति काम हुन्छन्, ती व्यक्तिका पहुँचका आधारमा भएका हुन्। नेताहरू प्रणाली बसाल्नभन्दा भोट खसाल्न व्यक्तिका काम गर्नपट्टि लागेका छन्। त्यसो हुँदा अब यसलाई उल्टाउनुपर्छ। चुनाव पार्टीले लड्ने (विकासको योजना) र नेता पद्धति बसाल्न लाग्नुपर्छ। जसरी लोकसेवा आयोग संस्थागत बन्यो त्यसरी हरेक संस्था संस्थागत हुनुपर्छ। तब मात्र सबैको विश्वास हुन्छ। लोकसेवामा पास नगराइदिए भोट दिन्न भनेको कतै सुनिँदैन। शिक्षालय पनि यस्तै स्वचालित हुनुपर्छ। भोटसँग शिक्षक कोटा वा गैरजिम्मेवारिता साट्ने पद्धतिको अन्त्य हुनुपर्छ। शिक्षक पार्टीको एजेन्ट नभएर जनताको दबिएको आवाज बुलन्द गराउने नेता हुनुपर्छ। अमत्र्य सेनले लोकतन्त्रमा प्रेस स्वतन्त्रता हुने हुँदा कोही पनि भोकै मर्नु पर्दैन भन्छन्।
त्यसैले मिडिया आवाजविहीनको आवाज बन्नुपर्छ। कामचोर वर्ग अलि चलाख हुने हुँदा मिडियामा छिटो आउने र मिलाएर बोल्ने हुन्छन्। वास्तविकतामा पर्दा हाल्छन्। मिडिया बढी क्रिटिकल बन्न जरुरी छ। शिक्षाको जिम्मा लिएका शिक्षक, कर्मचारी, जनप्रतिनिधि, व्यवस्थापन समितिलाई जवाफदेहिताको दायरामा ल्याउनुपर्छ। विद्यार्थीले नसिक्नु भनेको यी सबैको दोष हो। विद्यार्थीको सिकाइ र यिनीहरूको जागिर वा जिम्मेवारीको भविष्यबीच सोझो सम्बन्ध बनाउनुपर्छ। राजनीतिको प्रतिबिम्ब शिक्षामा प्रत्यक्ष पर्ने हुनाले भोटको राजनीतिबाट शिक्षालाई अलग गरी भोटको ध्वांस दिने वर्गलाई जनताप्रति जवाफदेही नबनाएसम्म शिक्षामा रूपान्तरण हुँदैन।