भगवती तिमल्सिना, काठमाडौं
नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले देशव्यापीरुपमा स्वास्थ्य सेवाको अवस्थाका बारेमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै मिर्गौला प्रत्यारोपणको सफलताले विदेश जाने ठूलो धनराशि बचत भएको र देशलाई आर्थिक लाभ पुगेको निष्कर्ष निकालेको छ ।
आर्थिक वर्ष २०७५÷२०७६ को प्रतिवेदनमा नेपालबाट ठूलो धनराशि छिमेकी भारतमा जाने गरेकोमा नेपालमै मिर्गौला प्रत्यारोपण भएपछि सर्वसाधारण जनतालाई निकै ठूलो सहयोग पुगेको पनि जनाइएको छ ।जनस्वास्थ्यका विषयमा राज्यले ठोस नीति अवलम्बन गरी दक्ष जनशक्तिको कदर गर्ने हो भने नेपालमा स्वास्थ्य जनशक्ति निकै अनुभवी, जिम्मेवार र मेहनती रहेको पनि वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
कति मिर्गौलाका बिरामीले दाता, पैसा नभएर अकालमा ज्यान गुमाएको अवस्थामा नेपाल सरकारले सन् २००४ मा वीर अस्पतालबाट मिर्गौला प्रत्यारोपण शुरु गर्ने जमर्को गरेको थियो । तर त्यतिबेला अहिले जस्तो दक्ष जनशक्ति, उपकरण, कानुनी सहजता नभएकै कारण सोचेजस्तो परिणाम आउन सकेन । तर नेपाल सरकार र स्वास्थ्य संस्थाहरुको अथक प्रयासमा नेपाली चिकित्सकहरु नै मिर्गौला प्रत्यारोपणका क्षेत्रमा दक्ष सावित भए ।

सन् २००८ मा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणले सफलता पाएसँगै बेलायतको सुविधालाई त्यागेर नेपाल आएका युवा चिकित्सक डा. पुकारचन्द्र श्रेष्ठले नेपालको वीर अस्पतालमा मिर्गौला प्रत्यारोण गर्न थालेपछि यस क्षेत्रमा ठूलो सफलता आएको सम्बद्ध विज्ञहरु बताउँछन् ।श्रेष्ठको समूहले वीर अस्पतालमा ९९ जनालाई मिर्गौला प्रत्यारोपण गरेसँगै नेपाल सरकारले भक्तपुरमा तत्कालीन मानव अंग प्रत्यारोपण केन्द्र हालको शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रका लागि छुट्टै अस्पताल खोल्ने निधो गरी डा. श्रेष्ठलाई कार्यकारी निर्देशकको जिम्मेवारी दियो । सानो क्षेत्रमा बनेको प्रत्यारोपण केन्द्र विस्तार गर्ने योजनासहित कलेजो प्रत्यारोपणका लागि समेत सरकारसमक्ष प्रस्ताव अघि सार्दै डा. श्रेष्ठको नेतृत्वमा अस्पतालले पूर्णता पायो ।सन् २०१२ मा खुलेको उक्त अस्पतालले सोही वर्षको नोभेम्बरबाट डा. श्रेष्ठको नेतृत्वमा सेवा सुचारु गरेको रिपोर्टमा उल्लेख गरिएको छ । तत्कालीन मानव अंग प्रत्यारोपण केन्द्र हालको शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र, भक्तपुरले आर्थिक वर्ष २०७५÷२०७६ मा १ सय ८३ जनाको मिर्गौला प्रत्यारोपणमा सफलता पाएको उल्लेख गरिएको छ ।

वीर असपतालमा १४ जनाको मिर्गौला प्रत्यारोपण सफल भएको छ भने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ५५ जनाको मिर्गौला प्रत्यारोपण सफल भएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । तीन सरकारी अस्पतालमा २ सय ५२ जनाले नयाँजीवन पाएको देखिन्छ ।
शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको गतिलाई सरकारले निरन्तरता दिनेतर्फ थप कार्यक्रम, योजना, दक्ष जनशक्तिको कदर गर्नुपर्ने विज्ञहरु बताउँछन् ।नेपालमा मिर्गौला प्रत्यारोपणको कुल ७२ दशमलव ६ प्रतिशत धर्मभक्तमा मात्र भएको देखिन्छ । त्यसैगरी त्रिवि शिक्षण अस्पतालमा २१ दशमलव ८ प्रतिशत र वीर अस्पतालमा ५ दशमलव ५ प्रतिशत मिर्गौला प्रत्यारोपण भएको देखिन्छ ।यति ठूलो संख्यामा मिर्गौलाका बिरामीलाई सहज र सरल बनाउने नेतृत्व लिँदै आउनुभएका डा. श्रेष्ठ यतिबेला वीर अस्पतालको दरबन्दीमा फर्काई जिम्मेवारविहीन बनाएको अवस्था छ । यतिबेला वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण रोकिएको छ । डा. श्रेष्ठको टिमको नेतृत्वले मिर्गौलाका बिरामीको लागि दिएको सेवा रोकिनु चिन्ताको विषय बनेको छ ।

डा. श्रेष्ठको नेतृत्वमा भक्तपुरमा ७ वर्षमा ६ सय ९६ जना मिर्गौलाका बिरामीले नयाँजीवन पाउँनु देश र राज्यकै लागि ठूलो उपलब्धि हो, प्रतिवेदनमा उल्लेख गरिएको छ ।भारतमा कोभिड १९ को महामारीका बाबजुद पनि अति आवश्यक बिरामीमा मिर्गौला प्रत्यारोपण शुरु भइसकेको छ । तर नेपालमा मिर्गौला प्रत्यारोपणका क्षेत्रमा विशेष ख्याती कमाएका चिकित्सक र अस्पतालहरु शून्यमा बस्नुले बिरामीहरु बाध्य भएर पुनः भारत रोज्दै छन् ।

READ MORE NEWS

नेकपाभित्रको किचलो: मन्त्रीमण्डल पुनर्गठनमा अन्योल

काठमाडौं, (नेस)
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र भागवण्डाको कारण मन्त्रीमण्डल पुनर्गठनको प्रक्रिया अन्योलमा परेको छ । मन्त्रीमण्डल पुनर्गठनका लागि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच तीन सातादेखि छलफल भए पनि सहमति जुट्न सकेको छैन ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको काममा पार्टीले हस्तक्षेप गर्न नहुने अडान लिँदै आउनुभएको छ भने पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको निर्देशनअनुसार सरकार सञ्चालन हुनुपर्ने अडान राख्दै आउनुभएको छ, जसको कारण दुई अध्यक्षबीच सहमति जुट्न सकिरहेको छैन । पार्टीले सरकारको कामलाई थप प्रभावकारी बनाउन मन्त्रीमण्डल पुनर्गठन गर्नुपर्ने निर्णय गरेको तीन साताभन्दा बढी समय बितिसक्दा समेत कार्यान्वयन नभएको भन्दै नेताहरुले प्रधानमन्त्री ओलीसँग असन्तुष्टि जनाउँदै आएका छन् ।

पार्टीको स्थायी कमिटी बैठले राजनीतिक र संवैधानिक नियुक्ति गर्दै पार्टीभित्र सल्लाह गरेर मात्र गर्नुपर्ने निर्णय गरे पनि प्रधानमन्त्री ओलीले बेलायतका लागि लोकदर्शन रेग्मी र अमेरिकाका लागि डा. युवराज खतिवडालाई सिफारिस गरेपछि नेकपाभित्र विवाद पुनः शुरु भएको छ ।चार महिनासम्म जारी आन्तरिक विवाद समाधान गर्न सफल हुनुभएका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अहिले पार्टीको निर्णय नमानेको प्रचण्डले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललगायतका नेताहरुलाई ब्रिफिङ गर्नुभएको छ । ‘प्रधानमन्त्रीजीको कार्यशैलीमा सुधार आउने अपेक्षा गरिएको थियो, पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न बनेको समझदारीअनुसार ओलीजी अगाडि बढनुभएन’, प्रचण्डको भनाइ उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने–‘मन्त्रीमण्डल पुनर्गठनमा पनि प्रधानमन्त्रीले आफू अनुकूलको व्यक्तिलाई ल्याउन खोजेपछि समस्याको गाँठो फुक्न सकेको छैन् ।’

प्रधानमन्त्री ओलीले तत्कालको लागि खाली रहेको तीन मन्त्रालयमा नयाँमन्त्री थप्ने र बाँकी मन्त्रीहरुको विषयमा परामर्श गर्दै जाने प्रस्ताव गरे पनि प्रचण्ड भने एकपटक मन्त्रीहरु हेरफेर गर्नुपर्ने अडानमा रहँदै आउनुभएको छ । अहिलेकै अवस्थामा मन्त्रीमण्डल पुनर्गठन गर्दा पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन मिलाएर मन्त्री बनाए प्रचण्ड र नेपाल पक्षका मन्त्रीहरु बढी हुने बुझाइ प्रधानमन्त्री ओलीको रहेको बताइएको छ ।नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टीले गरेको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन नगर्दा समस्या सृजना भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पार्टीले गरेको निर्णय कार्यान्वयन गरेर अहिलेको समस्या समाधान हुन्छ, पार्टीले एउटा निर्णय गर्ने प्रधानमन्त्रीले अर्कै निर्णय गरे पनि कसरी कुरा मिल्छ ?’

मंगलबार बसेको सचिवालय बैठकमा पनि विषय केन्द्रित भएर छलफल गर्ने भन्दा पनि एजेन्डाभन्दा बाहिरको विषयमा कुराकानी भएको थियो । दुई अध्यक्षबीच दिनहुँजसो छलफल भए पनि ठोस सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री ओलीले पार्टीभित्र परामर्श नै नगरी दुई राजनीतिक नियुक्तिको लागि सिफारिस गर्ने निर्णय गरेपछि पार्टी अध्यक्ष प्रचण्ड रुष्ट हुँदै आउनुभएको छ । ‘पार्टीले गरेको निर्णय इमानदारीतापूर्वक कार्यान्वयन नगर्दासम्म समस्या आइरहन्छ ।’


Your Views
Related News