फिनल्याण्ड लैंगिक समानताका लागि उत्कृष्ट देशमा पर्दछ ।

यसैबीच त्यहाँकी प्रधानमन्त्री सन्ना मरिनले हालै त्यसको थप एक उदाहरण प्रस्तुत गरेकी छन् ।

उनले १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गरेकी छन् । पद हस्तान्तरण गर्दै मरिनले उदाहरणीय कदम चालेकी हुन् ।

आभा मुर्तो नामकी ती किशोरी बुधवारका लागि प्रधानमन्त्री बनाइएकी हुन् । तर उनले कुनै नयाँ निर्णय गर्ने वा कानून बनाउने छैनन् ।

उनलाई प्रविधिमा महिला अधिकारबारे राजनीतिज्ञहरुसँग दिनभर बैठक बसाउने छुट दिइएको छ ।

संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्यारिटी’का लागि फिनल्याण्डले यस्तो कार्यक्रम आयोजना गरेको हो ।

READ MORE NEWS

राष्ट्रपति र साधारण जनताले पाउने कोभिड उपचारको तुलना गर्दा…

कोरोना भाइरसबाट संक्रमित हुन्छु कि भनेर डराइरहेका अमेरिकी जनतालाई आफैँ यसबाट बिरामी परेका राष्ट्रपति ट्रम्पले ‘नडराउनू, यसलाई सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश दिएका छन् । सोमबार अस्पतालबाट डिस्चार्ज हुनासाथ उनले एउटा भिडियो पोस्ट गरि सबैलाई यस्तो भनेका थिए ।

तर उनको सो बयान धेरै हिसाबमा औचित्यहिन भएको अहिले सबैले दोष लगाइरहेका छन् किनकि जो व्यक्ति हेलिकप्टरमा अस्पतालबाट आवत्जावत् गर्यो र विश्वस्तरीय मेडिकल टिमबाट उपचार पाइरहेको छ, कसैका लागि उपलब्ध नभएको औषधि सेवन गरिरहेको छ, ऊ कसरी साधारण नागरिकको प्रतिनिधि हुन सक्छ भन्ने सबैले प्रश्न गरिरहेका छन् । ह्वाइटहाउसभित्र नबस्ने सर्वसाधारणहरुका लागि त्यसकिसिमको उपचार झन्डै असम्भव नै मानिन्छ ।

अमेरिकी स्वास्थ्य प्रणाली अत्यन्तै जटिल र जनताहरु पनि विविध सामाजिक स्तरको भएको हुँदा औसत नागरिकहरुले कुन किसिमको उपचार पाइरहेका छन् भन्ने स्पष्ट भन्न सकिँदैन तर पनि केही त्यस्ता क्षेत्रहरु छन् जहाँ राष्ट्रपतिले प्रष्ट रुपमा विशेष सत्कार प्राप्त गरेका छन् । यो धेरैलाई स्वाभाविक पनि लाग्न सक्छ तर उनले आफूले गरेको भीआइपी बिरामीको अनुभवलाई सर्वसाधारण बराबर ठान्नु भने गलत हुने बताइएको छ जसमा अवस्य पनि धेरै फरक छ ।

आफ्नै डाक्टरको टिम र लक्जरी सुइट

राष्ट्रपतिसँग ह्वाइटहाउसमै आफ्नो विशेष मेडिकल टोली थियो तर सँगसँगै उनी कमान्डर इन चिफ भएकाले नजिकैको वाल्टर रिड नेस्नल मिलिटरी अस्पतालको पहुँच पनि थियो । त्यसकारण रोग पत्ता लाग्ने बित्तिकै उनलाई हेलिकप्टरमार्फत अस्पताल लगियो जहाँ उनी तीन दिन बसे ।

उनी राष्ट्रपतिका लागि विशेष रुपमा तयार पारिएको लक्जरी सुइटमा बसेका हुन् जुन अति उच्च पदका सैन्य अधिकारीहरुका लागि निर्धारित गरि राखिएको ६ मध्येको एउटा कोठा थियो । त्यसमा डाइनिङ रुमदेखि, अफिसका लागि ठाउँ र भेट्न आउनेहरुलाई बस्न सोफा लगायतको पनि व्यवस्था थियो ।
वासिङटनको एउटा लेखमा भनिएको छ, “अमेरिकी मेडिसिनको विशेषता भनेकै भीआइपी सत्कार हो ।”

र वास्तवमै अमेरिकाभरि सेलिब्रेटीदेखि नेतासम्मका हाइ प्रोफाइल व्यक्तिहरुका लागि निजी लक्जरी कोठा छुट्याइएको देख्न सकिन्छ । उनीहरुले अस्पतालको स्वागतसँग खुसी भएमा ठूलो रकम डोनेसन गर्न सक्ने हुनाले पनि प्रायः अस्पतालहरुले सकेसम्म राम्रो सेवा प्रदान गर्ने गरेका छन् ।

अर्कोतर्फ साधारण जनताहरु बस्ने ‘इन्टेसिभ केयर वार्ड’ अरुबेला त झन्डै भरिभराउ हुन्थे भने महामारीको समयमा त थप बिरामी थेग्नै नसक्ने अवस्थामा पुगेका छन् । फ्लोरिडा, टेक्सस अनि एरिजोनाका अस्पतालहरु यो गर्मीयाममा पूर्ण क्षमताले भरिएका थिए । यस्तोमा हस्टनको टेक्सस मेडिकल सेन्टरले कोभिडका लागि भनेर ‘वार रुम’ स्थापित गराएको हो जहाँ ठाउँ बचाउन र धेरै भन्दा धेरै बिरामी अटाउन् भनेर बेडहरु नजिक–नजिक राखिएको थियो, स्टाफहरुलाई पुनः नियुक्त गर्ने अनि आपत्कालीन प्रयोगका लागि समेत साधारण बेडको प्रयोग गरेको हो ।

टेक्ससकी वासिन्दा फिआना टुलिपले गत जुलाइमा कोभिडकै कारण आफ्नी आमा गुमाएकी थिइन् । उनले बीबीसीसँग बताए अनुसार त्यो समयमा उनकी आमा अस्पतालको अति भीडभाडयुक्त माहोलसँग सबैभन्दा बढी डराएकी थिइन् ।

फिओना भन्छिन्, “मेरी आमा आफैँ पनि एक स्वास्थ्यकर्मी हुन् जो प्रत्येक दिन आफ्नो ज्यान जोखिममा राखेर बिरामीको रेखदेखमा लागेकी थिइन् तर आफैँ संक्रमित भएपछि भने उनी अस्पताल जान चाहिनन् । किनकि अस्पतालमा अवस्था झनै खराब थियो र उनलाई राम्ररी थाहा थियो कि सबै ठाउँ भरिसकेका छन् । आफूलाई आवश्यक पर्ने हेरचाह र उपचार त्यतिबेला अस्पतालमा पाउन नसकिने उनले बुझेकी थिइन् ।”

अहिले धेरै ठाउँहरुमा संक्रमण दर बिस्तारै घट्दै गएको देख्न सकिन्छ तर अझै पनि जाडोयाममा भाइरस पुनः फैलिने डर कायमै छ ।

त्यसैले एक सर्वसाधारणको नजरमा राष्ट्रपति ट्रम्पले उच्च प्रविधियुक्त सेवा सुविधा पाउनु र नजिकै अस्पताल खालि हुनु भनेको अत्यन्तै भाग्यशाली कुरा हो । किनकि यतिबेला विशेषगरी अमेरिकाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले मेडिकल उपचार पाउनकै लागि लामो दुरीको यात्रा तय गर्नु परिरहेको छ । युनिभर्सिटी अफ नर्थ क्यारोलिनाले गरेको रिसर्चका अनुसार गत एक दशकमा ग्रामीण क्षेत्रका १२० भन्दा बढी अस्पतालहरु बन्द भइसकेका छन् ।

यसबारे लोवा स्टेट युनिभर्सिटीका रुलर सोसिओलोजी प्रोफेसर डेभिड जे पिटर्स भन्छन्, “ग्रामीण क्षेत्रमा भाइरसको उपचार गर्न सक्ने एकदमै कम फिजिसियन हुन्छन् र अस्पतालहरु पनि एकदमै साना हुन्छन् जहाँ विशेष उपकरणयुक्त सेवा र स्टाफहरु हुँदेनन् अनि प्रायःले इन्स्योरेन्स गराएका हुँदैनन् । यस्तोमा प्रत्येक ठेगानामा औषधि पठाउने क्षमता पनि सिमित हुन्छ । किनकी ग्रामीण भेगका ५५ प्रतिशत परिवार ब्रोडब्यान्ड इन्टरनेटको पहुँच बाहिर हुन्छन् । त्यस्तै यातायातको समेत राम्रो सेवा नहुँदा बिरामी र स्वास्थ्यकर्मी दुवैलाई ओहोरदोहरमा कठिनाइ हुन्छ भने औषधिहरु आपूर्ति गर्न पनि धेरै समय खर्चिनुपर्ने हुन्छ ।

हेलिकप्टरमा यात्रा 

तर राष्ट्रपतिलाई यी कुराहरुको चिन्ता गर्नु पर्ने अवस्था छैन । उनले निजी हेलिकप्टरमै ओहोरदोहोर गरेका हुन् जसमा केबल १० मिनेट लागेको थियो । फिओनाका अनुसार आमाको मृत्युपछि राष्ट्रपतिले त्यसरी आफ्नो घरको आगँनबाटै हेलिकप्टरमा अस्पताल गएको दृश्य हेर्नुपर्दा उनको वास्तवमै मन दुखेको थियो । आमालाई परिवारका सदस्यले एम्बुलेन्स बोलाउन पटकपटक आग्रह गर्दा पनि उनले इन्स्योरेन्सको चिन्ताका कारण बेलाउन नमानेको उनी बताउँछिन् । प्रायः अमेरिकीहरु एम्बुलेन्स बोलाउन डराउने गर्दछन् किनकि कतिपय इन्स्योरेन्सले त्यसको खर्च उठाउन मान्दैनन् ।

कन्ससको ग्रामीण क्षेत्रमा बसोबास गर्ने एक व्यक्तिले स्थानीय रेडियोमा बताएअनुसार कोरोना भाइरससँग सम्बन्धित संक्रमणले गम्भीर बिरामी परेपछि उनले एम्बुलेन्स बोलाएका थिए तर त्यसको बिल ८० हजार डलर आउँदा उनी झन्डै बेहोस् हुने अवस्थामा पुगेका हुन् । पछि इन्स्योरर र सेवा प्रदायकबीच चर्को विवादपछि मात्र बिलको मुद्दा मिल्दा उनले सो रकम तिर्नु नपर्ने भएको उनले बताए । यसरी साधारण नागरिकलाई एम्बुलेन्स बोलाउन पनि धेरै किसिमका चुनौति र संघर्ष गर्नुपर्ने हुन्छ भने कतिपय अवस्थामा कागजहरु बनाउने र अनेकौँ झन्झटपूर्ण फोन गर्नुपर्ने हुन्छ ।

अस्पताल भर्ना 

त्यस्तै संक्रमण देखा परेको २४ घण्टामै अस्पताल भर्ना हुन पाउनु पनि आम नागरिकका लागि धेरै ठूलो कुरा हो तर राष्ट्रपतिका लागि भने सबै सहज थियो । उनको स्वास्थ्य अवस्थाबारे विभिन्न किसिमका खबरहरु बाहिर आएपनि डाक्टरले उनमा मध्यम किसिमको लक्षण देखा परेको बताएका थिए ।

न्युयोर्क सिटीका प्याराडेमिक एन्थोनी एल्मोजेरा भन्छन्, “बिरामीहरु प्रायः एकदमै जोखिमपूर्ण अवस्थामा पुगे भने मात्र तिनलाई अस्पतालले भर्ना लिन्छ । नत्र उनीहरुलाई घर फर्कन र सास फेर्न एकदमै कठिन भए मात्र अस्पताल आउन भनिन्छ । अझ महामारी उच्च बिन्दुमा पुगेका बेला त कतिपय जटिल बिरामीहरु समेत अस्पतालमा ठाउँ नभएर फर्किनु परेको थियो । ”

‘थोमस जेफर्सन युनिभर्सिटी हस्पिटल’ का संक्रमक रोग विशेषज्ञ डाक्टर जोन जुर्लो भन्छन्, “अस्पताल भनेको होटल होइन । त्यहाँ भर्ना हुनुपर्छ चेक–इन भन्ने हुँदैन । र तपाईँ अत्याधिक धनी वा भीआइपी नभएसम्म इन्स्योररले कहिल्यै पनि अनावश्यक अस्पताल बसाइँको खर्च उठाउँदैन । ” न्युयोर्क स्थिति एक स्वास्थयकर्मी जुआन रिओसले पनि यसअघि निमोनिया सहित कोभिड–१९ हुँदा अस्पताल भर्ना हुनु परेको थियो तर अस्पतालले आफूलाई ठीक नभइ घर पठाउने प्रयास गरेको उनले बताए । उनी भन्छन्, “मेरो ब्लड अक्सिजन स्तर एकदमै कम थियो मलाई घर जान असहज महसुस भइरहेको थियो तरपनि उनीहरुले मलाई छिटै डिस्चार्ज दिए । यसपछि मैले एक नीजि फिजिसियनलाई संलग्न गराएर अतिरिक्त एक दुई दिन बस्ने व्यवस्था मिलाउनु परेको हो । ”

परीक्षणात्मक औषधि 

राष्ट्रपति ट्रम्पलाई उनका डाक्टरहरुले उनमा केही सुधार नआएको भए कदापी डिस्चार्ज दिने थिएनन् होला , त्यसैले यो विषयमा उनलाई केकस्तो किसिमको औषधि दिइएको थियो भन्ने प्रश्न पनि गरिएको छ । उनका डाक्टरहरुले बताए अनुसार ट्रम्पलाई विभिन्न किसिमका औषधिहरुले उपचार गरिएको थियो जसमा पहिलो थियो : डेक्सामिथेसोन, जुन एउटा स्टेरोइड हो । यसले प्रतिरोधात्मक प्रणालीलाई शान्त पारि जीवन बचाउन सक्छ । दोस्रो हो रेमडेभिसिभिर जुन एन्टिभाइरल औषधि इबोलाको उपचारका लागि प्रयोग हुँदै आएको छ । तेस्रोमा चाहिँ मोनोक्लोनल एन्टिबडि थेरापी रहेको थियो । यो उपचार विधि कम्पनी रिजेनेरोनले निर्माण गरेको नयाँ उपचार हो ।

प्रायः मानिसहरु कोभिडको उपचारका लागि एन्टिबडी थेरापीको प्रयोग गरिएकामा आश्चर्य मान्ने गर्दछन् किनकि यो अझै परीक्षणकै चरणमा छ । यसकारण ट्रम्प ती दुर्लभ व्यक्तिहरुमा पर्दछन् जसले यसको उपचार पाए ।

यस सम्बन्धी युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्रोफेसर रोबर्ट वाचरले भनेका छन्, “अमेरिकाको राष्ट्रपतिले त्यस किसिमको सबैभन्दा प्रभावकारी थेरापीको प्रयोग गर्नु स्वभाविक हो जुन अहिलेसम्म सबै जनताका लागि उपलब्ध गराउन सकिने अवस्थामा छैन । ” उनका अनुसार डेक्सामिथेसोन सस्तो र सजिलै उपलब्ध छ र सबै अस्पतालमा रेमडेसिभिर पनि प्रशस्तै रहेको छ र कतिपय कम्पनीले त निःशुल्क आपूर्ति गरिरहेका छन् । शहरी क्षेत्रमा यसको कुनै अभाव नभएकामा आफू विश्वस्त रहेको उनले बताए । तर यहाँ अपवाद त्यो एउटा एन्टिबडी उपचार, जुन सर्वसाधारणका लागि कदापी उपलब्ध नभएको उनी बतउँछन् ।

उत्कृष्ट को पनि उत्कृष्ट सेवा 

अस्पतालबाट डिस्चार्ज भइसकेपछि पोस्ट गरेको भिडियोमा ट्रम्पले स्पष्ट रुपमा भनेका छन्, “हामीसँग विश्वकै सबैभन्दा उत्कृष्ट उपकरणहरु छन् , विश्वस्तरीय औषधिहरु छन् जुन हालसालै निर्माण भएका हुन् ।” र उनको यो भनाइलाई धेरै समर्थकहरुले प्रशंसा गर्दै प्रेरणादायक बताएका छन् ।
कोभिड–१९ को रिसर्चमा वास्तवमै अधिक सकारात्मक नतिजा देखिएको कुरा गलत होइन । तर पनि उनको सो बयान, यस रोगसँग अधिक संघर्ष गर्नुपरेका धेरै पीडीतहरु माझ असंवेदनशील र क्रुर मानिएको छ ।

प्रोफेसर पिटर्स भन्छन्, “हो अमेरिकाको स्वास्थ्य सेवा विश्वस्तरीय छ तर सबैका लागि बराबरी रुपमा उपलब्ध छैन । गरिब र अल्पसंख्यकहरु अनि ग्रामीण क्षेत्रमा बस्ने नागरिकहरुसँग स्वास्थ्य सेवाको एकदमै कम पहुँच हुन्छ जसकारण उनीहरु रोगबाट एकदम नराम्ररी प्रभावित हुने गर्दछन् । ”

अस्पतालमा जटिल अवस्थाबाट गुज्रिसकेपछि अहिले बल्ल काममा फर्किएका रिओस भन्छन्, “उनका लागि यो भन्न धेरै सजिलो छ कि मैले विश्वकै सबैभन्दा राम्रो स्वास्थ्य उपचार पाएँ । सबै कुरा उनको एक कदम अगाडि राखिएको थियो । र मेरो विचारमा उनी कहिल्यै पनि म लगायत अन्य धेरै नागरिकहरु जसरी सामान्य उपचार प्राप्त गर्न चाहनेछैनन् । ”


Your Views
Related News