सारभरि कोरोनाभाइरस फैलाएकोमा चीनले ठूलो मूल्य चुकाउनुपर्ने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चेतावनी दिएका छन् ।
सैन्य अस्पतालबाट ह्वाइट हाउस फर्केको ५० घन्टाभन्दा कम समयमा ट्रम्पले ट्विटरमा भिडियो पोस्ट गर्दै कोभिड–१९ महामारी संसारभरि फैलाउनका लागि चीन दोषी रहेको बताए ।
चीनको वुहान शहरमा ज्यानमारा कोरोनाभाइरस पहिलोपटक देखिएको हो । अमेरिकामा यसले २ लाख ११ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ ।
चीनलाई दण्डित गर्न कुन उपाय अपनाउने भनी ट्रम्पले खुलाएनन् तर उनको प्रशासनले चीनविरुद्ध विभिन्न कारवाही चलाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूलाई प्रवेशाज्ञा दिन कडाइ पनि यसमा संलग्न छ । ट्रम्प र परराष्ट्रमन्त्री माइक पोम्पेओले संसारभरि चीनविरुद्ध अभियान चलाउँदै आफ्ना समकक्षीहरूलाई भेटिरहेका छन् ।
‘चीनले कोरोना महामारीका विषयमा पारदर्शिता नअपनाएको र कुव्यवस्थापन गरेकोले लाखौं मानिसको ज्यान गएको छ, करोडौं रोजगारी गुमेका छन् र अथाह आर्थिक क्षति पुगेको छ । चीनले यस्तो व्यवहार देखाएको यो पहिलोपटक हैन । चिनियाँ कम्युनिस्ट पार्टीले कुरा घुमाउने गरेको इतिहास छ र उनीहरूलाई अपराधका लागि जवाफदेही बनाउने समय भइसकेको छ । यस्तो कुरा फेरि कहिल्यै नहोस् भनी हामीले मिलेर सुनिश्चित गर्नुपर्नेछ,’ उनले भने ।
READ MORE NEWS
तत्काल रोजगारीमा जान नपर्नेले अबको दुई हप्ता पुनः श्रम स्वीकृतिका लागि आवेदन नदिन अनुरोध
काठमाण्डौ – तत्काल वैदेशिक रोजगारीमा जान नपर्नेले अबको दुई हप्तासम्म श्रम स्वीकृतिका लागि आवेदन नदिन सरकारले अनुरोध गरेको छ ।
कोरोना महामारीलाई मध्यनजर गर्दै अहिले कार्यालयले अहिले पुनः श्रम स्वीकृतिका लागि इ टोकनको सङ्ख्यासमेत सीमित गरेको जनाएको छ । तर तत्काल जान पर्ने भएमा निवेदन दिन सकिन्छ । तर अबको दुई हप्तापछि पुनः श्रम स्वीकृति लिंदा पनि हुने भएमा तत्काल निवेदन नदिन भनिएको हो ।
केही समयअघि कार्यालयको कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ताहाचल कार्यालयबाट श्रम स्वीकृति सहित सबै सेवा बन्द गरिएको थियो । तर अहिले स्वास्थ्य मापदण्डसहित सेवा सुरु गरिएकाले कडाइका साथ कार्यालय जाँदा स्वास्थको मापदण्ड पालना गर्न कार्यालयले अनुरोध गरेको छ ।
सङ्क्रमण देखिएका कर्मचारी होम आइसोलेशनमा रहेकाले नै सेवा सीमित गरिएको कार्यालयको भनाइ छ । आफू कुन देश जान लागेको हो त्यस देशले जारी गरेको कोभिड १९ जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न लागू गरेका नियम र प्रबन्धबारे जानकारी लिन र त्यही अनुसार आवश्यक कागजात तयार पार्नुपर्छ । आवश्यक कागजात तयार पारेर मात्र पुनः श्रम स्वीकृतिका लागि निवेदन दिनुपर्छ ।
दशैंको बेला ललितपुरमा हुने जात्रा र नाचलाई पूजामा मात्र सीमित गरिने
ललितपुर – दशैंमा पाटन दरबार क्षेत्र केन्द्रीत भएर गरिने विभिन्न जात्रा तथा नाचहरुलाई यस वर्ष पूजाविधिमा मात्र सीमित गरिने भएको छ । कोरोनाको कारण दरबार क्षेत्र केन्द्रीत भएर गरिने विभिन्न जात्रा तथा नाचहरुलाई यस वर्ष पूजामा मात्र सीमित गरिने निर्णय भएको महा-नगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनु भयो।
ललितपुर महानगरपालिकाको संयोजकत्वमा गुथि संस्थान कार्यालय ललितपुर, जात्रा पर्वसँग सम्बन्धित सरोकारवाला संस्था र स्थानीय गुठियारसमेत सहभागी बैठकले यस्तो निर्णय गरेको उहाँले बताउनु भयो।
सरकारको एक निर्णय, जसले घरघरमा कोरोना संक्रमण फैलिने जोखिम बढायो
काठमाडौं । सरकारले बारम्बार कोरोनाभाइरस संक्रमणको जोखिम कम नभएको बताउँदै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणको जोखिम कम नभइसकेको भन्दै सचेत गराउँदै आएका छन् ।
अनावश्यक भीडभाड नगर्ने, कोरोनालाई हेलचेक्रयाइँ नगर्न, अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र निस्कनै परे नाकमुख छोपिने गरी मास्क लगाउन प्रवक्ता डा. गौतमले दैनिक भन्दै आएका छन् । अस्पतालमा शैय्या पनि कमि हुन थालेको उनले जानकारी दिँदै आएका छन् ।
स्वास्थ्य मन्त्रालयले दैनिक रुपमा सचेत गराइरहँदा मन्त्रिपरिषद् बैठकले भीडभाड हुने कार्यलाई खुला गर्दै गएको छ । सरकारको विरोधाभास निर्णय र आग्रहले जनता अलमलमा परेका बेला बुधबार सरकारले विद्यालय, कलेजका सबै तहको परीक्षा सञ्चालन गर्ने अनुमति दिएको जानकारी गराइएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रोकिएका सबै परीक्षा सञ्चालन गर्न अनुमति दिएको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले भनेजस्तै कोरोना संक्रमणको जोखिम कम नभएको र भीडभाडले बढ्ने हो भने परीक्षा सञ्चालन गर्न अनुमति दिने निर्णयले अब घरघरमा पुग्ने देखिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न दिइने भनिएको छ ।
अहिले सुचारु भएका सरकारी कार्यालयहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेको देखिँदैन । यही अवस्थामा वैकल्पिक उपायबाट परीक्षा सञ्चालन गर्न नसकेको सरकारले परीक्षा सञ्चालन गर्न सम्वद्ध निकायलाई अनुमति दिएको हो ।
सरकारले कोरोना रोकथाममा केही ठोस कार्य गर्न सकेको छैन । बरु शैक्षिक संघसंस्थाका रोकिएका सबै परीक्षा सञ्चालन गर्न अनुमति दिएर कोरोना घरघरमा पुग्ने वातावरण मिलाइदिँदैछ ।
घरघरमै रहेका परीक्षार्थीहरुलाई परीक्षा केन्द्रमा बोलाएर परीक्षा गराउने सरकारको तयारीले कोरोना संक्रमणको जोखिमलाई बढाउने भन्दै चिन्ता जनाउन थालिएको छ ।