२२ असोज, काठमाडौं । अधिकांश कोरोना भाइरस (कोभिड–१९) का संक्रमितमा केही तथा सामान्य लक्षण मात्र देखिन्छ । थोरै मानिसमा यसको गम्भीर लक्षण पनि देखिन्छ र यो लामो समयसम्म पनि जारी रहन्छ । उनीहरुलाई अत्याधिक थकान, निरन्तरको दुखाइ र श्वासप्रश्वासमा समस्या लामो समयसम्म पनि देखिनसक्छ ।

लामो समयसम्म यस्ता लक्षण देखिने अवस्थालाई ‘लङ कोभिड’ भनिन्छ । यो प्रभावको कारण सामान्य अवस्थामा फर्किँदा पनि मानिसहरु प्रभावित बन्न सक्छन् ।

अहिलेसम्म महामारीबाट कसरी मानिसहरुलाई बचाउने भन्नेमा धेरैको ध्यान गएको छ । तर, कोरोना संक्रमितहरुलाई देखिने सक्ने दीर्घकालीन असरको विषयमा चासो दिइएको छैन । यस्तोमा किन कोभिडको असर लामो समयसम्म रहन्छ वा सबै मानिस किन पूर्णरुपमा निको हुन सक्दैनन् भन्ने चासो बढेको छ र यसले धेरैमा आशंका पनि उब्जाएको छ ।

लङ कोभिड के हो ?

अहिलेसम्म चिकित्सकीय भाषामा लङ कोभिडको परिभाषा छैन । साथै यसलाई परिभाषित गर्ने लक्षणहरुको सूची पनि बनेको छैन । त्यसैले लङ कोभिड देखिएका दुई मानिसहरुको अनुभव पनि फरक–फरक हुनसक्छ । धेरैको साझा लक्षण भने अत्यधिक थकान हुनु हो ।

अन्य लक्षणहरुमा श्वासप्रश्वासमा समस्या, खोकी, जोर्नी दुख्ने, जीउ दुख्ने, सुन्ने, देख्ने, गन्ध र स्वाद थाहा पाउने क्षमतामा कमी हुने, मुटु, फोक्सो र मिर्गौलामा समस्या देखिनेजस्ता लक्षण रहेका छन् ।

त्यसका साथै डिप्रेसन, रिसाउने र राम्रोसँग सोच्न नसक्नेजस्ता समस्याहरु पनि देखिएको केहीले बताएका छन् । यस किसिमका लक्षण देखिएसँगै मानिसको जीवनशैलीमा ठूलो असर पर्नसक्छ । ‘यति धेरै थकान मैले अहिलेसम्म कहिल्यै पनि अनुभव गरेको थिइनँ’, लङ कोभिडको समस्या भएकी एक महिला जेड ग्रे–क्रिस्टीले बताइन् ।

लङ कोभिडको समस्या आईसीयूमा पुगेर फर्किएका संक्रमितलाई मात्र नभई तुलनात्मक रुपमा सामान्य किसिमको लक्षण देखिएका मानिसलाई पनि हुनसक्छ । ‘लङ कोभिड हुन्छ भन्नेमा अब हामीलाई कुनै शंका छैन’, एक्जेटर युनिभर्सिटीका प्राध्यापक डेभिड स्ट्रेन भन्छन् । उनले आफ्नो क्लिनिकमा लङ कोभिडको समस्या भएका बिरामीहरुको उपचार गराइरहेका छन् ।

कति मानिसलाई यस्तो समस्या छ ?

रोमको सबैभन्दा ठूलो अस्पतालमा १४३ जना फलोअपका लागि आउने कोरोनाबाट निको भएका मानिसहरुमा गरिएको अध्ययनको क्रममा ८७ प्रतिशत मानिसलाई करिब दुई महिनासम्म कम्तीमा एउटा लक्षण लङ कोभिडको थियो । जसमध्ये आधाभन्दा धेरैलाई अझै पनि थकानको समस्या थियो ।

यद्यपि यस किसिमको अध्ययन केही अल्पसंख्यक समूहमा मात्र गरिएको थियो । बेलायतमा ४० लाखभन्दा धेरैले प्रयोग गर्ने कोभिड सिम्टम ट्र्याकर एपका अनुसार १२ प्रतिशत मानिसमा ३० दिनपछि पनि कोरोनाको लक्षण जारी रहने गरेको छ । प्रकाशित हुन बाँकी पछिल्लो तथ्यांकले भने ५० जनामध्ये एक जनालाई ९० दिनसम्म पनि लङ कोभिडको लक्षण देखिएको छ ।

गम्भीर बिरामी परेकालाई मात्रै लङ कोभिडको लक्षण देखिन्छ ?

कोरोना संक्रमणबाट गम्भीर बिरामी भएकामा मात्रै लङ कोभिडको समस्या देखिन्छ भन्ने कुराको पुष्टि पछिल्लो तथ्यांकले गर्दैन । डब्लिनमा गरिएको एक अध्ययनको क्रममा संक्रमित भएको १० सातापछि पनि संक्रमितमा थकानको समस्या देखिएको थियो । एक तिहाइ मानिसहरु अझै काममा फर्किन सकेका थिएनन् ।

महत्वपूर्ण कुरा के भने अहिलेसम्म डाक्टरहरुले कोरोनाको गम्भीर लक्षण देखिनु र थकानको बीचमा कुने सम्बन्ध पत्ता लगाउन सकेका छैनन् । यद्यपि अत्यधिक थकान हुनु लङ कोभिडको केवल एउटा लक्षण हो । लिस्टर युनिभर्सिटीका प्राध्यापक क्रिस ब्राइटलिङ निमोनिया देखिएका मानिसहरुको फोक्सोमा समस्या हुने हुनाले उनीहरुलाई धेरै समस्या हुने बताउँछन् ।

कसरी लङ कोभिडको समस्या देखिन्छ ?

अहिलेसम्म यसको कुनै स्पष्ट परिभाषा छैन । तर यसका सम्भावना धेरै छन् । कोरोना भाइरस हाम्रो शरीरको अधिकांश भागमा सकिएको तर कुनै स्थानमा बाँकी भएको अवस्थामा पनि यस्तो समस्या देखिन सक्छ । यदि लामो समयसम्म पनि पखालाको समस्या देखिए पेटमा भाइरस बाँकी छ भन्ने बुझ्न सकिन्छ भने बास्ना थाहा नपाउने समस्या छ भने भाइरस स्नायू तन्तुमा बाँकी हुन सक्छ भनेर बुझ्नुपर्छ । त्यसैले जे समस्या हो, सोही अंगसम्बन्धी समस्या देखिने किंग्स कलेज लण्डनका प्राध्यापक टिम स्पेक्टर बताउँछन् ।

केही मानिसहरु भने कोरोना संक्रमित लागेपछि मानिसको प्रतिरक्षा प्रणाली नै सामान्य अवस्थामा नआउने भएकाले मानिसको स्वास्थ्य अवस्था कमजोर हुने बताउँछन् । कोरोनाले मानिसको कुनै अंगले गरिरहेको काममा पनि अवरोध सृजना गर्न सक्छ । यसअघि सार्स र मार्सको संक्रमण भएका मानिसहरुको फोक्सोमा पनि लामो समयसम्म समस्या देखिएको थियो । यद्यपि कोभिडले भने मानिसको मेटाबोलिक प्रणालीमा नै असर पार्नसक्ने देखिएको छ ।

धेरै मानिसहरुले संक्रमणपछि आफ्नो शरीरमा सुगरको मात्रालाई नियन्त्रणमा राख्न नसकेको बताएका छन् । साथै अहिले दिमागमा पनि कोरोनाको असर पर्ने संकेत पाइएको छ । तर, यस विषयमा अध्ययन भइरहेको छ । यद्यपि लङ कोभिडको वास्तविक कारण पत्ता नलाग्दासम्म यसको उपचार कसरी गर्ने भन्ने पत्ता लगाउन सकिँदैन ।

पूर्णरुपमा मानिसहरु निको हुन सक्छन् ?

समयसँगै लङ कोभिड भएका मानिसको संख्या पनि घट्दो क्रममा देखिएको छ । यसको अर्थ निश्चित समयपछि यो समस्या हराउँछ भन्ने हो । तर, कोभिड–१९ आएको लामो समय नभएकाले दीर्घकालीन अनुमान गर्न कठिन हुने विशेषज्ञहरु बताउँछन् ।

यद्यपि अहिले निको भएका मानिसहरुलाई पनि जीवनकालभर कोरोनासँग सम्बन्धित कुनै पनि समस्या देखिन सक्ने प्राध्यापक ब्राइटलिङ बताउँछन् ।

READ MORE NEWS

कालोधनको मुद्दामा गुण्डानाइकेले किन पाउँछन् सफाइ ?

२२ असोज, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार ‘क्यासिनो किङ’ भनेर चिनिने गुण्डानाइके बलराम सापकोटा ‘बले’ विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गर्‍यो । विभागले  बले र उनकी श्रीमती सिर्जना कक्षपतिविरुद्ध २० करोड बराबरको मुद्दा लगाएको छ ।

बिगो, बिगोको दोब्बर जरिवाना र सम्पत्ति जफतको माग दाबी सबै जोड्दा यो मुद्दा करिब १ अर्ब बराबरको हो । क्यासिनोमा धनाढ्यहरुलाई लगेर टाट पल्टाउने र मिटर ब्याजमा ऋण लगाउने धन्दामा बले संलग्न रहेको पटक–पटक प्रहरीले गरेको अनुसन्धानमा पनि खुलेको थियो । अब बलेले आर्जन गरेको करोडौंको सम्पत्तिलाई विभागले अवैध भन्दै अभियोगपत्र विशेष अदालतमा दायर गरेको छ ।

गुण्डा नाइकेहरुको सम्पत्तिमाथि सरकारले यसअघि पनि अनुसन्धान नगरेको भने होइन । सात वर्षअघि गुण्डानाइकेले अवैधरुपमा सम्पत्ति आर्जन गरेको देखिएको भन्दै पाँच जनाविरुद्धको मुद्दा विशेष अदालत पुगेको थियो । त्यसमध्ये चार वटा मुद्दामा गुण्डा नाइकेहरुलाई विशेष अदालतले सफाइ नै दिएको थियो ।

चार वर्ष लगाएर गरेको अनुसन्धानपछि पाँच जना गुण्डा नाइकेविरुद्ध २०७० जेठ ५ मा सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको थियो । त्यसको चार वर्षपछि विशेष अदालतबाट फटाफटी फैसलाहरु आए, तर, सरकारले मागदाबी गरेकोभन्दा उल्टो । विशेष अदातलले सुरुमा राजीव गुरुङ (दीपक मनाङे) लाई सफाइ दियो । उनी त्यसपछि चुनाव नै लडेर मनाङबाट प्रदेशसभा सदस्यका रुपमा निर्वाचित भए ।

मनाङेले १४ करोडभन्दा बढीको सम्पत्ति अवैध आर्जन गरेको आरोप अभियोगपत्रमा लगाइएको थियो । विशेष अदलतले भने आरोप पुष्टि गर्ने पर्याप्त आधार नै नभएको कारण देखाएर २०७४ भदौ ५ मा सफाइ दिने फैसला गर्‍यो ।

त्यसपछि मनाङेका प्रतिद्वन्द्वी मानिने मिलन गुरुङ (चक्रे मिलन) पनि सम्पत्ति शुद्धीकरणको मुद्दामा सफाइ पाए । ८ करोड रुपैयाँ अवैध सम्पत्ति कमाएको दाबीलाई अदालतले स्वीकारेन । २०७४ माघ १० गते विशेष अदालतले चक्रे मिलनको पक्षमा फैसला सुनाएको थियो ।

राजनीतिक तथा प्रशासनिक आडमा कालोधन कमाएका पूर्व तथा बहालवाला उच्चपदस्थमाथिको अनुसन्धानलाई सम्पत्ति शुद्धीकरण विभागले निचोडमा पुर्‍याउन सकेको छैन

सफाइको सिलसिला त्यतिमै रोकिएन । अर्का गुण्डा नाइके पर्शुराम बस्नेत र उनकी श्रीमती अञ्जुसिंह बस्नेतले पनि विशेषबाट २५ चैत २०७४ मा मुद्दा जिते । ११ करोड बराबरको अवैध सम्पत्ति आर्जनको अभियोग उनीमाथि थियो ।

२०७५ असार ५ मा अर्का गुण्डानाइके अभिषेक गिरीले पनि सम्पत्ति शुद्धीकरणको मुद्दा विशेष अदालतबाट जिते । २ करोड ९४ लाख रुपैयाँको अवैध सम्पत्ति रहेको दाबीसहितको सो मुद्दामा पनि विशेषबाट सफाइको फैसला आयो ।

२४ साउन २०७५ मा भने सम्पत्ति शुद्धीकरण मुद्दामा फरक खालको फैसला आयो । अर्का गुण्डा नाइके गणेश लामालाई विशेष अदालतले एक वर्ष कैद र उनको एक करोड ४० लाखको सम्पत्ति जफत गर्ने फैसला गर्‍यो । सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध २७.१ करोड स्रोत नखुलेको सम्पति रहेको दाबी गरेको थियो । तर, विशेष अदालतले एक करोड ४० लाखको मात्रै स्रोत नखुलेको ठहर गर्‍यो । लामा कांग्रेस नेता हुन् ।

मुद्दा जितेका अधिकांश गुण्डानाइकेले सम्पत्ति शुद्धीकरण ऐन–२०६४ आउनुअघि त्यस्तो सम्पत्ति आर्जन गरेको ठहर विशेष अदालतले गरेको थियो । त्यसअघि आर्जित सम्पत्तिको स्रोत वैध भएको प्रतिवादीको दाबीलाई अदालतले स्वीकारेको थियो ।

‘अनुसन्धान पूर्वाग्रही र कमजोर’

अधिवक्ता लब मैनाली विभाग र प्रहरीको अनुसन्धान नै कमजोर हुने गरेकाले सम्पत्ति शुद्धीकरणका मुद्दामा सरकार हारिरहेको बताउँछन् । कतिपय अवस्थामा सरकारले इबी साँध्न पनि यस्तो मुद्दा दायर गर्ने गरेकाले मुद्दा कमजोर बन्ने गरेको उनको विश्लेषण छ ।

‘कसैमाथि सुरुमै पूर्वाग्रह राखेर अनुसन्धान सुरु हुन्छ । त्यसपछि अनुसन्धान पनि यति फितलो गरिन्छ कि त्यसको आरोप पुष्टि गर्ने पर्याप्त आधार प्रमाणको खोजी नै हुँदैन,’ उनी भन्छन्, ‘कतिपय अवस्थामा कसैलाई दुःख दिने नियतका साथ पनि सम्पत्ति शद्धीकरणका कतिपय मुद्दाहरु चलाइन्छन् ।’

उनले सरकारवादी यस्ता मुद्दामा अनुसन्धान, प्रमाण, आधारहरु कमजोर हुने हुँदा मुद्दा हार्ने अवस्था दोहोरिएको बताए । सरकारले आग्रह र पूर्वाग्रह त्यागेर तथ्यपरक अनुसन्धानपछि मात्रै मुद्दा अदालत लगेमा भविष्यमा हार्ने सिलसिला घट्ने उनको भनाइ छ ।

नेपालमा सम्पत्ति शुद्धीकरणको कानुन बनेको १२ वर्षभन्दा बढी भयो । यस सम्बन्धी अनुसन्धान तथा कारबाही गर्न विभाग गठन भएको एक दशक हुन लाग्यो । तर, यससम्बन्धी अनुसन्धान तथा कारबाही अझै प्रभावकारी बन्न सकेको छैन ।

कालोधनलाई वैध बनाउने कामको नियन्त्रण गर्न जिम्मा पाएको विभागले अन्य आपराधिक गतिविधिमा संलग्नहरुमाथि मात्रै अनुसन्धान सकाएर मुद्दा दर्ता गर्दै आएको छ । राजनीतिक तथा प्रशासनिक आडमा कालोधन कमाएका पूर्व तथा बहालवाला उच्चपदस्थमाथिको अनुसन्धानलाई विभागले निचोडमा पुर्‍याउन सकेको छैन ।

कानुन बलियो भए पनि राजनीतिक र प्रशासनिक नेतृत्वले अवरोध तथा असहयोग गरेका कारण पनि गुण्डानाइकेविरुद्धको अनुसन्धान प्रभावकारी हुन नसकेको विभागमै काम गरेका एक पूर्वकर्मचारी बताउँछन् ।

‘विभागको अनुसन्धान प्रभावकारी बन्दै गयो भने भविष्यमा आफैंमाथि गलपासो बन्ने खतरा राजनीतिक तथा प्रशासनिक नेतृत्वमा हुन्छ,’ उनी भन्छन्, ‘त्यसकारण पनि कतिपय मुद्दालाई जरैसम्म पुगेर अनुसन्धान गर्न अवरोध सिर्जना हुन्छ, सहसचिवले नेतृत्व गरेको विभागले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, पूर्वमन्त्री र प्रभावशाली नेताका आसेपासे रहने गुडानाइकेहरुविरुद्ध प्रभावकारी प्रमाण जुटाउन सजिलो होला त ?’

उनको भनाइमा कतिपय विभागकै अधिकारीहरु पनि भ्रष्टाचारमा संलग्न हुने र प्रभावमा पर्ने गरेका कारण पनि मुद्दालाई कमजोर बनाइन्छ । अदालतले पनि मुद्दामा मागदाबी गरिएका र पेश गरिएका प्रमाणका आधारमा फैसला गर्ने भएकाले प्रभावकारी अनुसन्धान नै निर्विकल्प भएको ती पूर्वकर्मचारीको तर्क छ । उनले कतिपय प्रतिवादीको पक्षमा अदालतबाटै आएको फैसलामाथि प्रश्न उठाउने ठाउँ रहेको पनि बताए ।

विभाग भन्छ– अब हार्दैनौं

विभाग भने पछिल्ला अनुसन्धानहरु प्रभावकारी बन्दै गएको दाबी गर्छ । सम्पत्ति शुद्धीकरण नेपालको लागि नयाँ विषय भएकाले यसबारे पर्याप्त अनुभव हासिल गर्न बाँकी रहेको विभागको भनाइ छ ।

विभागका महानिर्देशक रुपनारायण भट्टराई विगतमा सम्पत्ति शुद्धीकरणबारे पर्याप्त जानकारी नभएका र अनुसन्धानमा निपुण कर्मचारीहरु नहुँदा मुद्दा कमजोर भएको हुनसक्ने बताउँछन् ।

‘पछिल्लो समयमा विभागमा पर्याप्त त हैन, तर केही जनशक्ति सम्पत्ति शुद्धीकरणमा निपुण छन्,’ उनी भन्छन्, ‘हामी सिक्दै पनि छौं, तर मुद्दालाई कमजोर बन्न दिएका छैनौं ।’

पछिल्लो डेढ वर्षमा विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएपछि अनुसन्धान गरेर मद्दा दर्ता गर्ने क्रम बढे पनि अझै विभागले अपेक्षा अनुरुप काम गर्न नसकेको विज्ञहरु बताउँछन् । विभागले पछिल्लो डेढ वर्षमा २४ वटा मुद्दा दर्ता गरेको छ । त्यसअघि करिब ८ वर्षमा विभागले करिब ५० वटा मात्रै मुद्दा दर्ता गरेको थियो ।

महानिर्देशक भट्टराईले आफू महानिर्देशक भएपछि अदालत गएका २ वटा मुद्दाको फैसला अएको र त्यसमा मागदावी बमोजिम सजाय भएको बताए । बिगो केही कम भराएर अदालतले फैसला गरे पनि मुद्दा नै हार्ने अवस्था अहिले नरहेको दावी भट्टराईको छ ।

‘समयमै अनुसन्धानका क्रममा आवश्यक विभिन्न सूचना नआउनेजस्ता अप्ठेरा रहे पनि अदालतमा जाँदा विभागले पर्याप्त आधार प्रमाण जुटाएर जाने गरेको छ,’ उनले भने ।

२०६४ मा सम्पत्ति शुद्धीकरण ऐन बन्नुभन्दा अघि नै श्रोत खुल्ने सम्पत्ति आर्जन भएको कारण देखाएर गुण्डा नाइकेहरुलाई सफाइ दिइएको थियो । अहिले २०६४ सालअघि प्रमाणित कसुरबाट आर्जितबाहेकका वैध सम्पत्तिमाथि विभागले शुद्धीकरणको मुद्दा नचलाएको भट्टराईले बताए ।

२०६४ पछि आर्जित अवैध सम्पत्तिमाथि विभागले अनुसन्धान केन्द्रित गरेको र कतिपयको हकमा भने तत्कालीन अवस्थामा विभिन्न प्रमाणित कसुरबाट सम्पत्ति आर्जन भएको पाइए शुद्धीकरणविरुद्धको मुद्दा दायर गर्ने गरिएको उनले जानकारी दिए ।

‘लागू औषध ओसारपसारमा संलग्न भएको पटक–पटक प्रमाणित भएका व्यक्तिलाई २०६४ सालअघि नै आर्जित सम्पत्तिमा पनि शुद्धीकरणको अनुसन्धान भएको छ,’ उनले उदाहरण दिँदै भने, ‘अवैध प्रमाणित नभएका सम्पत्तिलाई मुद्दामा सोकल गराउने गरिएको छैन ।’

उनले सम्पत्ति शुद्धीकरण, भन्सार, राजस्व, अनुसन्धान लगायतका विभागबाट एकै व्यक्तिमाथि फरक–फरक मुद्दामा अनुसन्धान हुने अवस्था भने कायमै रहेको बताए । यसले गर्दा अनुसन्धानमा जटिलता आएकाले त्यसलाई समाधान गर्न पहल भइरहेको उनको भनाइ छ ।


Your Views
Related News