चितवन – छोरा बुहारी अष्ट्रेलियामा छन, छोरी ज्वाइँ लण्डनमा । अअष्ट्रेलियाबाट छोरा बुहारीले उतै बस्नका लागि अनुरोध गरे । पीआर पाएर बस्ने सम्भावना थियो । तर विदेशको रहरभन्दा स्वदेशको मस्यौरा प्यारो छ चितवन भरतपुरकी अम्बिका धिताललाई ।

भरतपुर महानगरपालिका वडा नम्बर १० बस्ने ६० वर्षीया ​अम्बिका केही वर्ष अघिसम्म गृहिणी हुनुहुन्थ्यो । परिवारका लागि खाना पकाउने, घरधन्दा गर्नेलगायत काममा उहाँको दैनिकी बित्ने गरेको थियो  । गाउँघरतिर ‘मस्यौरी दिदी’को नामले परिचित अम्बिकाले करिब तीन वर्ष पहिले मस्यौरा बनाएर व्यवसाय सुरु गर्नुभएको थियो ।

अष्ट्रेलियामा रहेका छोरा बुहारीले पीआरका लागि आवेदन दिन उहाँलाई आग्रह गरेका थिए । आफूलाई पीआर लिएर उता बस्नुभन्दा सकुञ्जेल देशमै केही गरौँ भन्ने लागेर मस्यौरा बनाएर बिक्री गर्न थालेको उहाँ बताउनुहुन्छ । आफूले जानेको कामलाई व्यवसायिक रुपमा गर्दा पहिचान पनि बन्ने र समय बिताउन पनि सहज हुने उहाँ बताउनुहुन्छ ।

अष्ट्रेलिया र लण्डन घुम्ने क्रममा त्यहाँका सपिङ मलमा उहाँले भारत, चीन र बंगलादेशलगायत देशका पहिचान झल्कने धेरै खानेकुरा देखेपछि नेपालको पहिचान हुने सामाग्री बनाउन उत्साह थपिएको थियो । विदेश घुमेर नेपाल फर्किएलगत्तै नेपालको पहिचान खोज्ने क्रममा मस्यौरा, गुन्द्रुक बनाउने विचार आएको उहाँले बताउनुभयो ।

घरमै रहेको मेसिनले मास पिस्ने र कर्कलाको डाँठ काटेर मस्यौरा बनाउने अम्बिका वर्षमा २० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्नुहुन्छ । लागत र आफ्नो तलब कटाएर १४ देखि २० प्रतिशतसम्म बचत हुने गरेको उहाँले बताउनुभयो । आफ्नै जमिनमा कर्कलो हुर्काएर तयार पारिएको मस्यौरा उहाँले घर नजिकैको पसल हुँदै विदेशसम्म पुर्याइ सक्नुभएको छ ।

मस्यौरा बेचेर आएको कमाइबाट उहाँले उद्योगमा सोलार तथा अन्य आवश्यकीय सामान राख्नुभएको छ । अहिलेसम्म उहाँले यो कामका लागि ७ लाख रुपैयाँ लगानी गरिसक्नु भएको छ । नेपालीको हरेक घरमा हुँदै आएका सुख्खा तरकारी व्यवस्थापनलाई आफूले व्यवसायीक रुपमा अगाडि बढाएको उहाँले बताउनुभयो ।

सहर बजारमा बसोवास गर्नेहरुले फोन गरेर घरमै सामान लिन आउँछन् । पूर्व पश्चिम यात्रा गर्ने क्रममा सरकारी कार्यालयका कर्मचारीहरु पनि अर्डर गरेर घरबाटै सामान लान्छन् । कहिलेकाहीँ त एक दिनमै ५० हजार रुपैयाँको सामान बिक्री भएको उहाँले बताउनुभयो ।

‘मान्द्रो नेपाल’ नामको ब्राण्ड नै बनाउनुभएको छ । यो ब्राण्डमा उहाँले मस्यौराका अलावा गुन्द्रुक, मुलाको चाना, सिन्की, काउली, बन्दा, कर्कलोको डाँठ र कुभिन्डोको सुकुटी, कर्कलोको गावालगायतका नेपाली पहिचानका खाद्यवस्तुहरू उत्पादन गरेर विभिन्न परिमाणका प्याकेटमा बजार पुर्याउनुहुन्छ ।

अहिले गुन्द्रुक बनाउन साग उत्पादनको जिम्मा महिलाहरूको कृषि समूहलाई दिनुभएको छ । काउली, बन्दा पनि यसैगरी खरिद गरेर सुकुटी बनाउनुहुन्छ । उहाँको यो उद्योगमा करिब एक दर्जन महिलाहरू काम गर्छन् । घरको छतमा ७ वटा सोलार पाता छन् ।

मानव निर्मित उत्पादनलाई सुकाउने काम ती सोलार पाताले गर्छन् । सुक्खा भइसकेपछि उहाँ त्यसलाई प्याकिङ गरेर बजारसम्म पुर्याउनुहुन्छ । सहर बजारमा बस्नेहरुलाई आफ्नै घरबाट बिक्री गर्दै आउनुभएको उहाँले विदेश जानेहरुका लागि आवश्यक अनुसारको प्याकेजिङको व्यवस्था मिलाउँदै आउनुभएको छ । विदेश जाँदै गरेकाहरू यहाँ पुगेर उहाँका उत्पादन खरिद गर्छन् ।

‘विदेश जानेहरु कोही आफ्नै लागि त कोही आफन्तका लागि उपहारको रुपमा लैजानका लागि मस्यौरा घरमै लिन  आउनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘ हामीले उत्पादन गरेको धेरै सामान घरबाटै बिक्री हुन्छ ।’ चितवन र काठमाण्डौमा मान्द्रो नेपालका उत्पादनको बिक्री केन्द्र खोलिएको उहाँले बताउनुभयो । परम्परागत शैलीबाट उस्तै स्वादका परिकार अहिले बजारमा अभाव हुँदै गएकाले अहिले यो उत्पादन सबैको रोजाइ बन्दै गएको उहाँले बताउनुभयो ।

लकडाउन सुरु भएपछि उहाँको उत्पादन विदेश जाने क्रम बन्द भएको थियो । अहिले अन्तर्राष्ट्रिय उडान सुरु भएलगत्तै पुनः विदेश पठाउने तयारीमा उहाँ बताउनुहुन्छ । निर्यातको प्रक्रियाबारे तालिम लिएको बताउँदै उहाँले बिस्तारै आफैंले निर्यात गर्ने सोच बनाएको बताउनुभयो । लगानी बढाएर थप व्यवसायीक रुपमा मस्यौरा गुन्द्रुक र सुख्खा तरकारीको बजारमा काम गर्ने उहाँको तयारी छ ।

READ MORE NEWS

विश्वविद्यालयमा जे रोप्यौं त्यही फल्यो

प्रधानमन्त्री केपी शर्मा ओलीले केहीअघि त्रिभुवन विश्वविद्यालयको शिर उचो हुने गरी एउटा भनाइ राखे – त्रिवि पनि क्याम्ब्रिज, अक्सफोर्ड, तक्षशिलाजस्ता विश्वका चर्चित विश्वविद्यालय सरह हो। उनको यही चर्चित भनाइलाई लिएर मानिसहरुले ब्यङ्ग्य पनि गरे। विश्वविद्यालयभित्र र बाहिरका जो कसैका लागि पनि यति धेरै प्रशंसा पाच्य थिएन। किनकि विश्वविद्यालयको स्कुलिङको एउटा उदाहरण हालै सार्वजनिक भयो – समाजशास्त्र विभागका उपप्राध्यापकमाथिको आक्रमणबाट। प्रधानमन्त्री ओलीले त्रिविको प्रशंसामा खर्चिएका शब्दहरुको विरुद्ध यो एकमुष्ठ जवाफमात्र होइन, हामी विश्वविद्यालयभित्र रहेर के सिकाइरहेका र के सिकिरहेका छौं भन्ने लेखाजोखाका रुपमा पनि यस प्रकरणलाई लिन आवश्यक छ। विश्वविद्यालयको गिर्दो शाखलाई यसले मलजल गरेको छ। उत्ताउलो अराजकता स्थापित भएको छ र यस्ता गतिविधिलाई राजनीतिक आवरणमा सुरक्षित अवतरण गराउनेहरुको सक्रियता बढेको छ। विश्वविद्यालयमा यस्तो किन भइरहेको छ त? उत्तर होलसेलमा एउटै हो – अनैतिक राजनीति।

मुलुकलाई सही दिशा देखाउने भूमिकामा हुनुपर्ने प्राध्यापकहरु त्यो भूमिकामा अहिले कहाँ छन्? यो प्रश्नको उत्तरले नै विश्वविद्यालयमा मात्र होइन समग्र मुलुकमा हामी कति रसातलमा भाँसिएका छौं भन्ने यथार्थलाई उजागर गर्छ। राजनीतिक नेतृत्वले विश्वविद्यालयका गुरुहरुसँग मार्गदर्शनका लागि आग्रह गर्ने परम्परा नेपालमा करिबकरिब समाप्त भइसकेको छ। एउटा सानो पदका लागि जब प्राज्ञहरु आफ्नै प्राज्ञिक हैसियतलाई तिलाञ्जली दिएर नेताका घरका ढोका ढुक्न थाल्छन्, विश्वविद्यालय मर्ने क्रम सुरु हुन्छ। बाटो देखाउने गुरुहरुको प्राथमिकता नेताको घरका ढोके र हुक्केभन्दा फरक नभएपछि निम्तने नै दुस्परिणाम हो। मुलुकमा अस्थिर राजनीति कायम हुनुमा विश्वविद्यालय अदुरदर्शी नेतृत्वको उत्पादनको कारखाना बनिरहनु मुल कारण हो।

यति चाहिँ ठोकुवा गरेर भन्न सकिन्छ विश्वविद्यालयको प्राज्ञिक उन्नयनमा धक्का पुर्‍याउने प्रमुख भूमिका हरेक दलका नाममा खुलेका प्राध्यापकका संगठन, कर्मचारीका संगठन र विद्यार्थी संगठनकै हात छ। त्यसैले अब पञ्चायती व्यवस्थाविरुद्ध प्रयोग भएका राजनीतिक दलका भ्रातृ संगठनहरुको औचित्यमाथि प्रश्न गर्न आवश्यक छ। ज्ञान दिनुपर्ने प्राध्यापक जब राजनीतिका लागि संगठन विस्तारमा जान्छ, विरोधी खेमाविरुद्ध उत्रिन्छ, तालाबन्दी र तोडफोडमा लाग्छ, विद्यार्थीहरुले सिक्छन् के? खराब काम गर्ने ‘आफ्ना’हरुको बचाउ र राम्रै गरिरहेका ‘अरु’हरुको खेदो खन्ने प्रवृत्तिले जन्माउने अन्तत: द्वन्द्व र हिंसा नै हो। हामी कहिलेसम्म हिंसाको पक्षपोषणमा लागिरहने?

विश्वविद्यालय सुधारका लागि प्राध्यापकहरु आन्दोलित देखिन्नन्। तर, दलका आमसभा र जुलुसमा पिछलग्गु बन्नु उनीहरुको बाध्यता बनेको छ। दलका कार्यक्रमहरुमा अनुहारमात्रै देखाएर भए पनि उपस्थिति जनाउनुपर्ने वाध्यता किन आइपर्‍यो? जवाफ सजिलो छ – विश्वविद्यालयभित्र हुने भागवण्डाको सिफारिसका लागि योग्य हुन्। पदाधिकारी, क्याम्पस प्रमुख, विभागीय प्रमुख आदि पदहरु जबसम्म दलीय भागवण्डाका आधारमा तय हुन्छ, विश्वविद्यालय प्राज्ञिक थलो कम र दलीय राजनीति उत्पादन गर्ने नर्सरीमा परिणत हुन थाल्छ। त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रहरु निस्तेज हुँदै जाँदा बलियो भएका प्राध्यापकहरुका संगठनहरुको आकार हेरेपछि यसबारे थप शब्द खर्चन आवश्यक छैन।

एउटा संगठनको झन्डामुनि नबसे विश्वविद्यालयभित्र असुरक्षित रहने मानसिकताले हरेक प्राध्यापकलाई कार्यकर्ताको दर्जामा झारिदिएको छ। तिनीहरुमाथि दलका नेता, विद्यार्थी नेतादेखि कर्मचारीका नेता पनि हावी हुन्छन्। पदस्थापन र बढुवामा प्राज्ञिक मर्यादामाथि अनि जारी रहन्छ आक्रमण। विद्यार्थी, कर्मचारी र प्राध्यापक नै दलका लडाकु दस्ता बन्ने होडमा दौडिएपछि यहाँ मर्यादाका सीमाहरु भत्किन्छन्। एक संगठनले अर्का संगठनलाई राजनीतिक दृष्टिकोणमा हेर्ने, समर्थन होस् या हिंसात्मक आक्रमणका लागि प्रेरित गर्ने गतिविधिले यसैगरी जारी रहन्छ।

कोभिड-१९ को यो कहरमा चिनियाँ विश्वविद्यालयहरुले दिन तोकेरै भारतमा कहिले कति संक्रमित भेटिनेछन् भनेर गरेको प्रक्षेपणहरु करिबकरिब मिलिरहेको अवस्थामा हाम्रो विश्वविद्याल भने सूचनाहरु जारी गर्न व्यस्त थियो, परीक्षा गर्ने अनि फेरि परीक्षा नगर्ने भन्दै। अरु मुलुकका विश्वविद्यालयहरु अध्ययनमा आधारित तथ्याङ्क विश्लेषण गर्दै विश्वभरका मुलुकमा सम्भावित जोखिमको तस्बिर उतारिरहँदा हामी भने परीक्षा गराउने र नगराउने निर्णयमा पनि अडिन नसक्ने हालतमा रह्यौं। यसले हाम्रो प्रशासनिक दक्षता र कुनै पनि निर्णयपूर्वको दुरदर्शिता कति रहेछ भन्ने देखाइरहेको थियो। विश्वविद्यालयमा राजनीतिको चरम रोग नखुटिएको होइन। सबै संगठनमा रहेर राजनीति गर्नेहरु आफैँ नै भन्छन् – राजनीतिले बिगार्‍यो। एकातिर दलीय राजनीतिको पिछलग्गु बन्न पनि नछाड्ने अर्कातिर प्राज्ञिक थलो धराशायी भएको बताउँदै हिँड्ने द्वैध चरित्रले यसरी गाँजेको छ कि सुधारका सम्भावना टाढाटाढासम्म पनि देख्न सकिँदैन।

विश्वविद्यालयमा चयन हुने पदाधीकारीलाई कुनै निर्दिष्ट योजना बनाएर विश्वविद्यालय सुधार गर्ने खाका बनाउन फुर्सद छैन। त्यो सिर्जनशील समय नेताका घरघर चहार्दैमा सकिसकेको हुन्छ। सत्ता होस् या प्रतिपक्षी दलका नेता आफ्ना अनुयायीलाई उपकूलपतिको पद भिडाएर गर्व गरिरहेको हुन्छ। न उसलाई प्राज्ञिक मर्यादाको चिन्ता छ न विश्वविद्यालयको सुधारको। पद होल्ड गर्नु उसको सफलताको सूचक बनेपछि उसले नियुक्त गरेका व्यक्तिको जिम्मेवारीका अधिकांश अवधि विश्वविद्यालयमा आफ्नाहरुलाई स्थापित गर्नु र अर्काहरुलाई निस्तेज गर्नुमै बित्छ।

जब प्राज्ञिक संस्थाको नेतृत्व गर्नेहरुले आफूलाई राजनीतिबाट अलग राखेर सुधारका लागि जोखिम मोल्न चाहँदैनन् – यस्ता हिंसाका घटनाहरु जारी रहन्छन्। आज उप-प्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण भएको छ। भोलि अरु प्रेम चलाउनेहरुमाथि यस्तै आक्रमण जारी रहने छ। किनकि जे रोप्छौं, त्यही फल्ने न हो। प्रधानमन्त्रीले क्याम्ब्रिज, अक्सफोर्ड र तक्षशीलासँग तुलना गरिदिएकै छन्। ती अभिव्यक्ति सुनेर हामी दंग परेकै छौं।


Your Views
Related News