बाबुआमाको मृत्युपछि एक दशकदेखि गिटी कुटेर तीन भाइबहिनीको हेरविचार गर्दै आएकी बैतडीको दशरथचन्द नगरपालिका-११ की रिना लुहारका लागि विभिन्न ठाउँबाट आर्थिक सहयोग जुट्न थालेको छ।

कोरोना संक्रमण महामारीपछि रिनाले भोग्नुपरेको कठिनाइबारे ९ असोजमा समाचार प्रकाशन भएको थियो। समाचारकै कारण विभिन्न व्यक्तिले आफूलाई सहयोग गरेको उनले बताइन्। बैतडीबाट फोन गर्दै उनले भनिन्, “समाचारबाट थाहा पायौं भनेर धेरैले सहयोग गर्नुभयो। जिल्लाकै केही व्यक्तिले घरमै आएर पैसा दिनुभयो।”

उक्त सहयोग रकम राष्ट्रिय वाणिज्य ब्यांकको बैतडी शाखामा खोलिएको खातामा राखेको र रु. १ लाख ४० हजार जति जम्मा भएको उनले बताइन्। सहयोग गर्न चाहनेले उक्त ब्यांकमा आफ्नो खाता नम्बर ४०५०१०००००००२००९ मा सहयोग गर्न सक्ने रिनाको भनाइ छ।

१२ कक्षामा अध्ययनरत १९ वर्षीया रिनाले क्याम्पस पढ्ने आफ्नो धोको भएकाले सहयोग रकम पढाइमै खर्च गर्ने बताइन्। रिना र उनकी एक बहिनी कक्षा १२ मा अध्ययनरत छन् भने भाइ कक्षा ११ र अर्की बहिनी ८ कक्षामा अध्ययनरत छन्। तर, विपन्न दलित समुदायका उनीहरुको आयस्रोत नहुँदा विद्यालय लागेको समयमा बिहान-बेलुका र बिदाको बेला दिनभर गिटी कुटेर बेच्दै घरखर्च चलाउने तथा कापीकलम किनेर पढ्दै आएका थिए।

वडाबाट तालिममा सिफारिश

रिनालाई दशरथ चन्द नगरपालिका वडा नम्बर ११ ले सामाजिक परिचालकको १० दिने तालिममा पनि पठाएको छ। उनी अहिले जिल्लाकै पाटनमा तालिम लिइरहेकी छिन्।

“समाचार आएपछि वडाध्यक्ष घरमै आउनुभएको थियो। पढ्न सहयोग गरुँला भन्नुभएको छ, अहिले तालिममा पनि सिफारिश गरेको भनेर पठाउनुभयो”, रिनाले भनिन्।

वडाध्यक्ष जयदत्त पन्तले नगरपालिकाले आयोजना गरेको सामाजिक परिचालकको तालिममा वडाबाट सिफारिश गरेर पठाएको बताए। पन्तले भने, “समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न सामाजिक परिचालक तयार गरेर रोस्टरमा राख्ने र उनीहरुलाई नै पछि अस्थायी वा करारमा भर्ना गरेर परिचालन गर्न तालिम दिइएको हो।”

रिनाको भाइबहिनीलाई पढाउन काठमाडौंबाट केही संस्थाले सोधेको र यसमा समन्वय गरेर सहयोग गर्ने वडाध्यक्ष पन्तले बताए।
गिटी कुटेर तीन भाइबहिनी पढाइरहेकी रिना महामारीपछि बिखर्ची, भन्छिन्- स्थानीय सरकारले सहयोग गरे हुन्थ्यो

बुवा र आमा बितेपछि दुई बहिनी र एक भाइको अभिभावकत्व सम्हालिरहेकी बैतडीको दशरथचन्द नगरपालिका-११ की रिना लुहारले गिटी कुटेर परिवार पाल्दै आएकी छिन्। तर, कोरोना संक्रमण महामारीपछि गिटी बिक्री हुन छाड्दा र उच्च शिक्षा पढ्ने समय आइरहँदा उनी अन्योलमा छिन्।

भर्खरै बालबालिकाको उमेर पार गरेर १९ वर्ष लागिन्, रिना लुहार। यति कलिलो उमेरमै उनले दुई बहिनी र एक भाइको अभिभावकको दायित्व सम्हालिरहेकी छिन्।

बैतडीको दशरथचन्द नगरपालिका-११ की रिनाको आमा र बुवा दुवै बितिसकेका छन्। आमा ११ वर्षअघि बितेकी थिइन्, त्यसको एक वर्षपछि नै बुवाको पनि मृत्यु भयो। रिनाको एउटी दिदी भए पनि विवाह भएर गइसकेकाले तीन भाइबहिनीको अभिभावक उनी नै हुन्।

बन्दाबन्दी अगाडिसम्म रिना र उनकी एक बहिनी लक्ष्मी १२ कक्षामा पढिरहेका थिए। यस्तै, भाइ प्रकाश ११ कक्षामा र कान्छी बहिनी संगीता ८ कक्षामा पढ्दैछन्।

दुई बहिनीहरुसँग गिटी कुट्दै रिना लुहार (बायाँ) ।
विपन्न दलित परिवारका उनीहरू विद्यालय लागेको बेला बिहान-बेलुका गिटी कुट्छन्। त्यही गिटी बिक्री गरेर कापीकलम किन्ने र घरखर्च चलाउँदै आएका छन्। कोरोना संक्रमण महामारीपछि सबैको पढाइ बन्द भएकाले गिटी कुट्ने प्रशस्त समय छ। तर, कुटेको गिटी बिक्री भएको छैन।

रिनाले भनिन्, “गिटी कुटेर बेच्नु नै हाम्रो आम्दानीको बाटो हो। तर, यो महामारीका कारण खासै बिक्री नहुँदा समस्या भइरहेको छ।” कमाइ नहुँदा कहिले तेल नहाली तरकारी पकाउनुपर्ने र साबुनले लुगा धुन नपाइने उनको गुनासो छ।

सानो एक तले घर पनि भासिएपछि उनीहरुलाई बस्नै गाह्रो भयो। स्थानीय सरकारलाई भनेपछि रु. १८ हजार पाएको र त्यही पैसाले पुरानो घरसँगै जस्ताको छाना हालेर बसिरहेको रिनाले बताइन्।

रिना लुहारको घर । घर भासिएर भत्किन लागेपछि छेउमै जस्ताले छाएर बनाइएको टहरा ।
‘पढ्न सहयोग पाए हुन्थ्यो’

रिनालाई स्नातक पढ्ने ठूलो धोको छ। पढाइप्रतिको यही चाखका कारण उनी बन्दाबन्दीले रोकिएको १२ कक्षाको परीक्षाको पर्खाइमा छिन्। परीक्षा सकिएपछि सबै साथी स्नातक तह पढ्ने कुरा गर्दा रिनाले भने आफ्नो पढाइको ढोका बन्द हुने देखेकी छिन्।

विद्यालयमा अहिलेसम्म उनीसहित भाइबहिनीले पढाइका लागि शुल्क तिर्नुपरेको छैन। तर, उच्च शिक्षाका लागि सदरमुकाम जानुपर्दा लाग्ने खर्चैखर्चको बोझ उठाउन नसक्ने उनको चिन्ता छ। सदरमुकाम धाउन दुई/तीन घण्टा लाग्छ। गाडीमा गए दैनिक आउजाउको भाडा र क्याम्पसको मासिक शुल्कले खर्च बढ्दा धान्नै गाह्रो पर्ने उनी बताउँछिन्। “गिटी कुटेर आउने पैसा पनि रोकिएको छ। क्याम्पस जान थालेपछि गिटी कुट्ने समय पनि नहोला, कसरी पढ्नु ?” उनी प्रश्न गर्छिन्।

उनलाई अब आफू र ठूलो बहिनीको उच्च शिक्षा रोकिने पिरलो छ। दुई जनाले सानोतिनो जागिर पाए सबैको पढाइले निरन्तरता पाउने र घरखर्च पनि चल्ने उनको आशा छ। “स्थानीय सरकारले कुनै जागिर दिए वा क्याम्पस पढ्न सहयोग गरे हुन्थ्यो”, उनी भन्छिन्।

READ MORE NEWS

अन्याय किन चूपचाप सहन्छ कसैले ?

काठमाडौंमा नै ‘जात’ का कारण डेरा नदिने वा डेराबाट निकाल्ने जति घटना हुन्छन् तीमध्ये केही मात्र समाचारमा आउँछन्। पीडितले चूपचाप सहँदा छुवाछूत गर्नेहरु सच्चिंदैनन् र विभेद कायमै रहन्छ।

कवि केवल बिनाबीको कविता ‘छोइडुम’ यसकारण पनि चर्चित भयो कि, त्यसले राजधानी काठमाडौंमा सरकारकै नाकमुनि भइरहेको जातीय विभेदलाई उजागर गरिदियो। कवितामा एक पुस्ता मात्र होइन तीन पुस्ताले भोगेको छुवाछूतलाई मर्मस्पर्शी ढंगले उल्लेख गरिएको छ। कलिलो मस्तिष्कमा परेको विभेदको छाप निकै खतरनाक छ। त्यसैले होला कविले आक्रोशपूर्ण रुपमा कविता टुङ्ग्याएका छन्। अन्तिम दुई लाइनमा लेखेका छन्, ‘कलिला हातहरुमा यो राज्य कलम थमाउँछ कि हतियार?’

टंक चौलागाईंको उपन्यास ‘उबडखाबड’ पढुन्जेल कवि बिनाबीको कविता छोइडुमकै सम्झना आइरह्यो। ‘छोइडुम’ कविता मात्र नभएर कवि आफैंले भोगेको जिन्दगी पनि हो। त्यस्तै उतारचढावको जिन्दगी भोगेको छ, चौलागाईंको उपन्यासको मुख्य पात्र जीवन नेपालीले।

तर, छोइडुम कवितामा झैँ जीवन नेपालीमा कुनै आक्रोश छैन। असाध्यै अन्यायमा पनि शान्त छ। विभेदमा पनि शान्त छ। चरम गरीबीमा पनि शान्त नै छ। उसको जीवन यति शान्त छ कि उपन्यासले समाएको बाटोमा मुख्य पात्रको भूमिका अपवाद लाग्छ। विद्रोही हुनुपर्ने पात्र अस्वाभाविक शान्त हुनु पात्रमाथि नै अन्याय होइन?

यो प्रश्न उपन्यासकारसँग उनकै पात्रले पनि सोधेको छ। अचानक भेट भएको उनको पात्रले उपन्यासको अन्त्यसँग असहमति जनाउँछ। जीवन नेपालीले विद्रोह नगरेकोमा चित्त बुझाउँदैन। बरु आफूले त्यहींबाट अर्को उपन्यास लेख्ने ‘धम्की’ दिन्छ।

यसरी लेखकले शुरुमै ‘प्रस्तावनाः उबडखाबड’मार्फत उपन्यासको अन्त्य उल्लेख गरिदिएका छन्। त्यहाँ यो उपन्यासमा कतै नभेटिने तर, आफ्नै अघिल्लो उपन्यासको पात्रलाई अचानक भेटेका छन्। अनि उपन्यासमा लेख्न नसकेको विद्रोहबारे त्यही पात्रबाट असन्तुष्टि पोख्ने ‘चलाखी’ गरेका छन्। त्यसकारण उनी उपन्यास लेखनको चल्तीको बाटोबाट थोरै बाहिर निस्किएका छन्।

यो उपन्यास एक दिनको घटना हो। बिहानबाट बेलुकीसम्मको एकै दिनमा उपन्यास सकिंदा नायिकाको पनि मृत्यु भइसक्छ। यही एक दिनमा उपन्यासकारले ‘फ्ल्यासब्याक’ मा गएर जीवन नेपाली र उसको श्रीमती निर्मला तामाङको जिन्दगी केलाएका छन्।

जीवन नेपालीले तीन प्रकारका सामाजिक जटिलता बोकेर हिंडेको छ। पहिलो, जातीय विभेद। दोस्रो, फरक क्षमताका व्यक्तिमाथि हुने खिसीटिउरी। तेस्रो सशस्त्र द्वन्द्वमा दुई पक्षको बन्दूकको चेपुवा। त्यसबाहेक जीवन सपना पूरा गर्न निम्न वर्गले शहरमा गर्ने संघर्षको बिम्ब पनि हो। ऊमार्फत चलचित्र क्षेत्रभित्रका विकृति र शहरी गरीबीको चरम रुप पनि देखाइएको छ।

जीवन गाउँबाट पहिलोपटक काठमाडौँ आएपछि पुगेको रत्नपार्कको वर्णन खूब रमाइलो छ। तर, त्यो दिनको अन्त्य जसरी हुन्छ, त्यो भने पीडादायी छ। फिल्मको नायक हुने सपना देखेर काठमाडौं छिरेको जीवन नेपालीले शहरमा बाससमेत पाउँदैन।

अहिले पनि काठमाडौँमा दलितले डेरा नपाएका वा जात थाहा पाएपछि निकालिएका समाचार वेलावेला आएकै छन्। जात ढाँटेर डेरा लिन बाध्य पार्ने यही समाज हो। अनि जात थाहा पाएपछि घरबेटीले दुर्व्यवहार गर्दै निकाल्ने घटना ‘सामान्य जस्तै’ छन्।

उपन्यासमा ‘जुँगा’को बिम्बलाई बहुअर्थमा प्रयोग गरिएको छ। त्यही जुँगाका कारण चलचित्रमा अभिनय गर्ने उसको सपना पूरा हुन्छ। त्यही जुँगाको कारण तत्कालीन शाही सेनाले उसलाई माओवादी देख्छ। उसले पाएको यातनाको वर्णन पीडादायी छ। जुँगा मात्र होइन उसको जातका कारण पनि सेनाले उसलाई माओवादी नै ठानेर दोस्रोपटक बेपत्ता बनाउँछ।

त्यही जुँगाको कारण पछि माओवादीले पनि सैनिकजस्तो देख्छन्। र वर्षौपछि पुगेको गाउँ छाड्न बाध्य हुन्छ। सयौं हन्डर र ठक्कर खाएको जीवनलाई गरीबी, विभेद र अन्यायले थिच्दा पनि गाउँबाट भागेर फेरि शहर पस्नु उपन्यासकारको मनोविज्ञानले काम गरेको हुनसक्छ। किनभने ऊ त शहरको अत्याचारबाट हैरान भएर गाउँ पुगेको थियो। पात्रको ‘स्वतन्त्र’ मनोविज्ञानलाई ख्याल गर्ने हो भने ऊ तुरुन्तै शहर पस्न मानसिक रुपमा तयार हुनै सक्दैन।

प्रसंग जुँगाकै छ। मुख्य पात्रको जुँगा ‘पुरुषसत्ता’को बिम्ब पनि हो। जस्तो कि, जीवन नेपालीले जुँगा काट्नु वा काटिनुलाई आफ्नो पीडा वा अपमानको रुपमा लिएको छ। यसले ऊभित्रको पुरुष अहम्लाई देखाउँछ।

उपन्यासको अर्को सबल पाटो भनेको सशक्त प्रेमको चित्रण पनि हो। तर, जीवनप्रति निर्मला तामाङको आकर्षण अस्वाभाविक लाग्छ। जीवनको बोली तोते छ। आवश्यकताभन्दा बढी सोझो छ। गरीबीमा बाँचेको छ। कपडा लगाइबाट ऊ आकर्षक लाग्दैन। उसलाई सबैले उडाउँछन्। ऊ दलित भएकै कारण पनि खिसी र हेपाइ सहन बाध्य छ।

निर्मला डान्सबारमा काम गर्छे। आधुनिक छे। पैसा प्रशस्त कमाउँछे। जीवनप्रति निर्मला आकर्षित हुने मनोविज्ञान बुझ्न सकिंदैन। तर, उसको अतीत भने सामान्य छैन।

गाउँमा निर्मलाका आफन्त सबै माओवादी हुन्छन्। उसलाई पनि माओवादी हुन दबाब पर्छ। तर, दाइ सेना हुन्छ र माओवादीले बेपत्ता बनाएका छन्। त्यसैले ऊ माओवादी हुन सक्दिनँ। बरु गाउँ छाडेर शहर पस्छे।

गाउँमा गरीबी थियो। शहर आउँदा उसले गरीबी पनि सँगै लिएर आएकी थिई। त्यही गरीबीले रेष्टुरेन्ट हुँदै डान्सबारसम्म काम गर्न बाध्य भई। शरीर बेचेर आधुनिक बनी। तर, मनभित्र पश्च्याताप थियो। अनि उसले जीवनलाई जीवनसाथी बनाउने र संघर्ष गरेरै बाँच्ने बाटो रोजी। पाठकले सरल ढंगले बुझ्ने कथा यही हो।

उपन्यासका केही घटना ‘नाटकीय’ छन्। अर्थात् छिटो र अकस्मात परिवर्तन हुन्छ। कतै भने घटनाको भद्दा व्याख्या आउँछ।

उपन्यास २०७३ सालको तीजको व्रत बस्ने दिनको कथा हो। जहाँ सबै महिला व्रत बसेर नाचगान गरिरहँदा निर्मला भोकै पेट काममा जान्छे। साहुको सकिएको सिलिन्डिर ग्यास काँधमा बोकेर हिंड्दा हिंड्दै ढल्छे। अनि तीजको व्रत बस्ने साँझ नै अस्पतालको अपरेशन थिएटरमा ज्यान गुमाउँछे।

यो उपन्यास अस्पताल चलाउनेहरुको बेइमानीको कथा हो। अनि पैसा नतिरेसम्म शव जलाउन नदिने राज्यसत्ताको सामन्ती चरित्रको कथा हो।

पैसा नभएकै कारण आर्यघाटमा श्रीमतीको शव जलाउन नपाई कुरेर बसिरहँदा उभित्र जलन हुन्छ। तर, त्यो जलन विद्रोहको राँको बन्दैन। प्रस्तावनामा भेटिएको पात्रले ‘उबडखाबड’को यही अन्त्यप्रति आक्रोश व्यक्त गरेको छ। यसबाट उपन्यासको अन्त्यप्रति उपन्यासकार स्वयम् असन्तुष्ट भएको अनुमान गर्न सकिन्छ।

विभेद र दलनमाथि लेखिएको उपन्यासले अन्यायविरुद्ध नबोल्नु यसको कमजोर पक्ष हो। साहित्यले जे हो त्यो देखाउने मात्र होइन, बाटो पनि दिनुपर्छ। यो कथामा जीवन विद्रोही नहुनु उसले आफैं र समुदायमाथि गरेको अन्याय हो। त्यसैले प्रस्तावनाको त्यो पात्रलाई सलाम, जसले उपन्यासकारमाथि नै विद्रोह गरेको छ।


Your Views
Related News