नेपाली समाज आधुनिक ज्ञान, सीप, प्रविधि र वैज्ञानिक चमत्कारहरुको अलवा पनि रूपान्तरित हुन सकेको छैन । शिक्षामा अग्रगामी छलाङ मारी विकास गरे पनि संस्कारयुक्त शिक्षामा नेपाली समाज पछिपरेको देखिन्छ । समाजमा घरलुहिंसा, बाल हिंसा, छुवाछुत, दलित हिंसा, बलात्कार, एसिड आक्रमण जस्ता सामाजिक घटनाले पराकाष्टा नै नाघेको देखिन्छ । पछिल्लो दशकलाई फर्केर हेर्दा समाजमा बलात्कारका घटना एकदमै बढेका छन् ।
यी केही प्रतिनिधि घटना हुन् जसले हाम्रो समाज कता जाँदै छ भन्ने देखाउँछ ।
– २०७४ माघ २२ गते रूपन्देही कोटिहामाईमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी, सुदीप कुमार धोवी पक्राउ परे ।
– २०७५ साउनमा कञ्चनपुर महेन्द्रनगरमा तेह्र वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भयो । उक्त केसको दोषी अझै पत्ता लाग्न सकेको छैन । मानसिक विक्षिप्तता एवं पारिवारिक विचलन अहिले पनि हेर्न लायक छैन । उक्त घटनामा राजनीति गर्नेहरु अहिलेसम्म कहाँ कहाँ पुगिसके, केस जहाँको त्यहीँ छ ।
– २०७६ असार २० गते काभ्रेको तेमालमा तेह्र वर्षीया बालिका एलिसा तामाङको बलात्कारपछि हत्या भयो ।
– धनुषा जनकपुरधामकी कञ्चनकुमारीको पुर्वियाको बलात्कारपछि हत्या भयो ।
– दुई हप्ता पहिला मात्र चन्द्रागिरी तीनथानामा काठमाडौँ लगिदिन्छु भनी सर्लाहिकी १७ वर्षीया किशोरीमाथि मालवाहक ट्रकमा नै सामूहिक बलात्कार भयो ।
– गत बुधबार मास्टा गाउँपालिका–२ बझाङकी कक्षा–६ मा अध्ययनरत १२ वर्षीया बालिका सम्झना विकको गाईगोठमा जाँदा नजिकैको मन्दिरमा लगि बलात्कार गरी त्रिशूलले रोपी हत्या भयो ।
– २०७७ असोज १७ गते शनिबार रत्नपार्कबाट भक्तपुर जाने बसमा १७ वर्षीया किशोरीको बसभित्रै सामूहिक बलात्कार भयो ।
– २०७७ असोज २० गते तीन तीनवटा पत्रिकाको कभर हेडमा सामूहिक बलात्कारको घटना प्रकाशित भयो । ती समाचार कस्ता थिए भने बाबुबाट छोरी बलात्कृत, शिक्षक बाट ५ वर्षीया बालिका बलात्कृत ।
यी त केही प्रतिनिधि घटना मात्र हुन् । तपार्इं हाम्रो जानकारीमा नआएका र नल्याइएका कति यस्ता घटना अहिले दिनप्रतिदिन भइराखेका छन् । किन त ?
गृहमन्त्री रामबहादुर थापाले केही दिनअघि नेपालमा बलात्कारको अवस्था त्यति चिन्ताजनक छैन भन्नुभएको हामी सबैलाई ताजै छ । पूजा बोहराको त्यो बलिन्द्रधारा आँसु निर्मला पन्त हुँदै सम्झना विकसम्म आइपुग्दा पनि अपराधी उन्मुक्ति पाइराख्नु गणतान्त्रिक राज्यको उपहास भने पक्कै हो । बलात्कार हिजो पनि हुन्थ्यो, आज पनि हुन्छन् भन्ने आशक्तिको भाव सुन्नमा पनि पाइन्छ । मिडियाले गर्दा मात्रै यसको प्रभाव बढेजस्तो देखिएको हो भन्ने कुतर्क गर्ने जमात पनि ठूलै छ । तर सन् २०१८ भन्दा २०२० मा आइपुग्दा २५औँ स्थान माथि आइसकेको छ नेपाल । अब छिटै नै १०औँ स्थानमा आउने निश्चित देखिन्छ । निर्मूल त हुन सक्दैन, परिकल्पना नगरौँ तर किन न्यूनीकरण हुन सकेनन् बलात्कारका घटना ।
बलात्कार घटनाले प्रस्रय पाइराख्नुमा कतै हाम्रो उदण्ड समाजको पितृसत्तात्मक सोच त होइन ? यो समाजले छोरा र छोरीप्रति हेर्ने दृष्टिकोण फरक छ । छोरी वर्गलाई हेरिने हेयभावले कतै बलात्कारलाई मलजल गरेको त छैन ? जतिसुकै शैक्षिक अवस्थामा सुधार भयो भने पनि हामीले दिन चुकेको संस्कारयुक्त शिक्षाले त बलात्कारलाई बढावा दिइराखेको छैन ? बलात्कृतको फोटो खिची बलात्कारीलाई पक्षपोषण गर्न उद्यत छ समाज । आफ्नो परिवारको कमीकमजोरीमाथि बहादुरी सम्झने अभिभावकको घृणित सोचको कारण हाम्रा चेलीहरु बाबु, मामा, काका, गुरु, आफन्त, दाइ, भाइ, घर, छिमेक, समाज कहीँबाट पनि सुरक्षित छैनन् । आखिर के चाहन्छ त नेपाली समाज ? के कस्तो शिक्षा र संस्कार दिन्छ त नेपाली समाज ?
बलात्कार भयो । घटना त सकियो, घटनामै मत्र कहाँ सीमित रहन्छ र यसको प्रभाव ? पितृसत्तात्मक समाजमा यो यातना बाचुन्जेल पटक पटक मरेर बाँच्नु पर्दछ पीडितले । हत्या नभएर बाँचेका नारीलाई पनि हेर्ने छुटै ऐना छ नेपाली समाजमा । जहाँ बलात्कारीको नाम निशाना केही देखिँदैन, मात्र बलात्कृतको । उनीहरुको पुनस्र्थापना गर्न समाज, दोषी पक्ष, राज्य कसैले पनि दायित्व बहन नगर्नु अर्को अभिशाप हो । अझ बलात्कारपछि जन्मने अज्ञात सन्तान र त्यो नारीले जिन्दगीभर सहनुपर्ने पीडा त कहाली लाग्दो छ ।
नेपालको नयाँ संविधान २०७२ को घोषणापछि मुलुकी ऐन २०७४ घोषणा भयो । २०७५ भदौ १ पछि कार्यान्वयन भएको ऐनमा परिच्छेद १८ को उपदफा २२४ देखि २२८ सम्म बलात्कार र बलात्कारका कसुरको सजाय सम्बन्धमा लेखिएको छ । दफा २२४ मा यौन करणी, यौन दुव्र्यवहार के हो र ? त्यसतालाई कसुर के रहने भन्ने व्याख्या गरिएको छ । दफा २२५ मा बालयौन दुराचार, २२६ मा पशुकरणी बारेमा मुलुकी ऐनमा व्याख्या गरिएको मेरो देशको कानुन बलात्कार एवं बालयौन दुराचार जस्ता जघन्य अपराधको बारेमा मौन बसेको भने छइन । दफा २२७ मा कसुर र दण्ड सजायको व्यवस्था पनि गरेको छ । तर राज्यले दण्ड र सजायको व्यवस्था र व्याख्या गर्दागर्दै पनि किन न्यूनीकरण हुनसकेन बलात्कार घटना ?
रक्षा नेपाल, माइती नेपाल, मानव अधिकार तथा शान्ति समाज जस्ता विविध सङ्घ सङ्गठनले आवाज नउठाएका पनि होइनन् । अधिकारकर्मीहरु बलात्कारीलाई लिङ्गछेदन तथा आजीवन जेल सजायका दण्ड हुनुपर्छ भनेर माग नगरेका पनि होइनन् । बौद्धिक व्यक्तित्वहरु प्राध्यापक डा. सञ्जीव उप्रेती बलात्कार विरुद्धको अभियानमा डटेर लाग्नुभएको छ । कृष्ण पहाडीले बलात्कार मानवता विरोधी अपराध भनेर मानवअधिकार तथा शान्ति समाजमार्फत कार्यक्रमहरु ल्याउनुभएको छ । दैनिक रूपमा छोरी बचाउ, बेटी बचाउ अभियानहरु सञ्चालन भएका छन् । अधिवक्ता स्वागत नेपाल अवला र बलात्कृत छोरी चेलीको पक्षबाट निःशुल्क वकालत गर्दै आउनुभएको छ । दैनिक रूपमा माइतिघर मण्डलामा बलात्कार विरोधी नाराका व्यानरहरु सडकै ढाक्नेगरी देखिन्छन् । तर बलात्कार शृङ्खला यत्रो अभियान चल्दा, कानुनले दण्डित गर्दै गर्दा पनि यस्ता अपराध घट्न सकेनन् । झन् किन मौलाइरहेछन् । हाम्रो कमजोर कानुनी दायराले हो या समाजले देखाएको उदण्डताले या पैसा र शक्तिको दुरुपयोग हो । खोजी गरी यस्ता घृणित कार्यलाई हतोत्साही गर्नु जरुरी छ । कतै यो हाम्रो पितृसत्तात्मक समाज वा संस्कारहीन शिक्षा प्रणाली यसको कारण होइन ? अब व्यक्ति होइन पद्धति र संस्कार परिवर्तन गर्ने समय आएको छ ।