बर्लिन । जर्मनीका शीर्ष स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसको संक्रमण अनियन्त्रित रुपमा फैलिनसक्ने चेतावनी दिएका छन् ।

उनीहरुले जर्मनीमा मानिसहरुले सामाजिक दूरी कायम गर्ने र अन्य स्वास्थ्य मापदण्डको पालना नगरेमा दैनिक १० हजारभन्दा बढी कोरोना संक्रमित देखिनसक्ने चेतावनदी दिएका छन् ।

संक्रामक रोगका लागि रोबर्ट कोच इन्स्टिच्युटका प्रमुख लोथर विलेरले भने, “पछिल्लो अवस्थाले मलाई चिन्तित बनाएको छ । आगामी साताहरुमा कस्तो अवस्था सिर्जना हुनसक्छ भन्‍ने विषयमा केही भन्‍न सकिँदैन ।”

“आगामी दिनमा दैनिक १० हजारभन्दा बढी कोरोना भाइरस संक्रमित देखिन सक्नेछन् । कोरोना भाइरसको संक्रमण अनियन्त्रितरुपमा फैलिनसक्छ,” उनले थपे ।

हाल जर्मनीमा दैनिक ४ हजारको आसपासमा कोरोना संक्रमित थपिन थालेका छन् । यो संख्या अन्य युरोपेली मुलुकमा भन्दा कम हो । पछिल्लो २४ घण्टामा जर्मनीमा ४ हजार ५८ कोरोना संक्रमित थपिएका हुन् । यो हालसम्मकै दैनिक देखिएको कोरोना संक्रमित संख्याको उच्च संख्या हो ।

जर्मनीका स्वास्थ्यमन्त्री जेन्स स्फानले पछिल्लो समय अवस्था चिन्ताजनक बनिरहेको छ । जर्मनहरुले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्नेतर्फ जोड दिएका छन् ।

“हामी नागरिकहरुको विवेकी कार्यद्वारा जर्मनीलाई अहिलेसम्म यस संकटबाट पार गराएका छौं । किनभने तपाईंले कोरोना नियन्त्रणका लागि जारी गरेका नियमहरुलाई आफ्नो दैनिक जीवनमा समेट्नु भएको छ,” उनले भने ।

“हामीले यो उपलब्धिलाई दाउमा लगाउनु हुँदैन । राजधानीको स्थितिले देखाउँदछ कि कतिपय लापरवाही, कहिलेकाँही अन्जानमा भएका गल्तीहरुले महामारीलाई थप बढाउन र महामारी विकास हुन सहयोग पुग्‍नसक्छ । त्यसकारण विशेष सावधानी अपनाउन आवश्यक छ,” उनले भने ।

READ MORE NEWS

मौसम परिवर्तनका वेला पनि हुन्छ डिप्रेसन

सिजनल अफेक्टिभ डिसअर्डर (एसएडी) डिप्रेसनको एउटा प्रकार हो, जुन मौसम परिवर्तनसँग सम्बन्धित छ । यो डिप्रेसन हरेक वर्ष एउटै समयमा सुरु भएर त्यही समयमा निको हुने गर्छ । अर्थात् कुनै व्यक्तिमा सेप्टेम्बरमा डिप्रेसनको लक्षण देखिएमा अर्को वर्ष पनि सेप्टेम्बरमै फेरि डिप्रेसन देखिने गर्छ ।

सामान्यतया गर्मी मौसमको सुरुवात वा अन्त्यतिर सिजनल अफेक्टिभ डिसअर्डरसम्बन्धी समस्या देखिने गर्छ । एसएडीलाई सामान्य भाषामा विन्टर डिप्रेसन पनि भनिन्छ । अमेरिकन साइक्याट्रिक एसोसिएसनका अनुसार यो दिमागमा हुने एक किसिमको असन्तुलन हो, जुन सूर्यको किरणको अभावका कारण उत्पन्न हुन्छ ।

सूर्यको प्रकाश कम पर्दा वा घामबाट वञ्चित हँुदा यसले मानिसको दिमागमा हुने सेरोटोनिनलाई असर गर्छ । यो एक किसिमको न्युरोट्रान्समिटर हो जसले मुडलाई परिवर्तन गर्ने गर्छ । मुडमा असामान्य रूपमा हुने परिवर्तनका कारण डिप्रेसन हुने गर्छ । सामान्यतया घामको किरण कम पुग्ने स्थानमा बसोवास गर्नेहरूमा सिजनल अफेक्टिभ डिसअर्डरको जोखिम बढी हुने गरेको पाइन्छ । नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार अन्य डिप्रेसनका समस्या भएमा वा बायोपोलार समस्या भएका व्यक्ति एसएडीबाट बढी प्रभावित हुन्छन् ।

महामारीमा सिजनल अफेक्टिभ डिसअर्डरको झनै जोखिम
कोरोना महामारीका कारण मानसिक समस्यासम्बन्धी जोखिम दोब्बरले बढिरहेको विभिन्न अध्ययनले देखाएका छन् । महामारीका कारण उत्पन्न असामान्य परिस्थितिका कारण सिजनल अफेक्टिभ डिसअर्डरको जोखिम झनै बढिरहेको विज्ञहरू बताउँछन् । यसको कारण अत्यधिक समय घरभित्रै बस्नु र तनावको स्तर बढी हुनुलाई मानिएको छ ।

महामारीका कारण जारी लकडाउनले घरभित्रै रहेर काम गर्नुपर्ने बाध्यताले पनि यसको जोखिम बढेको विज्ञहरूको भनाइ छ । यस्तो अवस्थामा तनाव व्यवस्थापन गर्न नसक्ने र घामबाट वञ्चित हुँदा तनावको स्तर बढ्ने भएकाले एसएडीको समस्या बढेको मानिन्छ ।

लक्षण
नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार सिजनल अफेक्टिभ डिसअर्डर हुँदा शरीर कमजोर भएको महसुस हुन्छ ।
–अत्यधिक निद्रा लाग्छ ।
–धेरै खाना खान मन लाग्छ ।
–तौल बढ्ने ।

सिजनल अफेक्टिभ डिसअर्डर कसरी कम गर्ने
असामान्य परिस्थितिका कारण अधिकांशले कुनै न कुनै मानसिक समस्या भोगिरहेका छन् । खासगरी अत्यधिक तनाव लिने व्यक्ति अझै बढी जोखिममा छन् । अन्य डिप्रेसनको समस्या भएका व्यक्ति त झनै यसबाट पीडित बनिरहेका छन् ।

सामान्यतया मुडमा आउने परिवर्तनहरू सजिलै नियन्त्रण गर्न सकिँदैन । मानसिक रूपमा स्वस्थ रहनका लागि नियमित व्यायाम गर्ने, स्वस्थ खानपान, पर्याप्त निद्रा, दिमागलाई व्यस्त राख्ने, दिनमा कम्तीमा ४० मिनेट जति घाममा बस्ने गर्नुपर्छ ।

सिजनल अफेक्टिभ डिसअर्डर पूर्ण रूपमा नियन्त्रण गर्न सकिँदैन, तर विभिन्न उपचारको माध्यमबाट नियन्त्रणमा राख्न भने सकिन्छ । सिजनल अफेक्टिभ डिसअर्डरका लागि भिटामिन डी सप्लिमेन्ट, थेरापी, औषधि आवश्यक हुन्छन् । गम्भीर लक्षण देखिएमा चिकित्सकको परामर्श आवश्यक पर्छ ।

प्रदेश १ : साढे तीन महिनामा १२० वटा बलात्कारका उजूरी !

विराटनगर  : चालु आर्थिक वर्षको साढे तीन महिनामा एक सय २० वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि असोज १८ गतेसम्ममा १ नम्बर प्रदेशमा १ सय २० वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

१ नम्बर प्रदेशमा आर्थिक वर्ष ०७५/०७६ मा ५ सय ५५ वटा बलात्कारका घटना दर्ता भएका थिए । आर्थिक वर्ष ०७६/७७ मा ४ सय ८८ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए ।

बलात्कारका घटनाको विवरण हेर्दा कतिपय बालिका आफन्तबाटै बलात्कृत भएको देखिन्छ । खासगरी मादक पदार्थ सेवन गर्ने र लागू औषधका अम्मलीबाट नै बढी बलात्कार भएको देखिन्छ ।

बलात्कारीलाई कानुनी कारवाही गर्नु भन्दा समाजले त्यस्ता व्यक्तिलाई जोगाउन खोजेकाले पनि बलात्कारीको मनोबल बढ्ने गरेको पाइएको छ ।

सामाजिक सञ्जालको प्रयोगसँगै युवायुवतीले यौनजन्य कुरामा बढी चासो राख्ने गरेकाले बलात्कारका घटना बढ्दै गरेको प्रहरीको ठहर छ ।

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का सामाजिक सञ्जालको प्रयोगसँगै किशोरकिशोरीमा प्रेम प्रस्ताव राख्ने र त्यसबाट यौन सन्तुष्टि मेटाउन खोज्ने गरेकाले पनि बलात्कारका घटना बढेका छन् ।

 

 


Your Views
Related News