बिहानै मोबाइल बज्यो। इलाका संरक्षण कार्यालय ल्वाङका कर्मचारी साथी शिव देवकोटा रहेछन्,  जसको घर लुम्लेमा पथ्र्यो। ‘फेसबुकमा सर्पको फोटो पठाएको छु, हेर्नुस्त,’ उनले भने। झटपट हेरेँ, अनि सोधेँ ‘कहाँ भेटियो ?’ उनले भने, ‘राजगोमन होइन र ? जलजलामा करिब एक हप्ताबाट बसिराखेको छ रे।’ मैलै ‘सर्प राजगोमन हो, कस्तो घाइते जस्तो देखिन्छ’ भनेँ।

उनले दिएको जानकारी संरक्षण क्षेत्र व्यवस्थापन समिति लुम्लेका सदस्य चुडामणि देवकोटालाई दिएर ‘अवस्था बुझ्नुस्’ भने। फोन आयो –‘यहाँ घरको आँगनमा घाम ताप्न निस्कन्छ दिउँसो दिउँसो। उद्घार गर्ने आउन पर्‍यो।’ मैले सर्प संरक्षण समाज, फ्रेण्ड्स अफ नेचरका साथीहरुलाई भनेँ। केशवराज सपकोटा दाई र सागर पाण्डे भाई भएर जाने तयारी गरियो। पोखरामा हलुका वर्षा भइरहेको थियो। फोन गरेर सोध्दा लुम्लेमा पानी नपरेको जानकारी पाइयो।

कोरोनाले गर्दा निषेधाज्ञा जारी भएको थियो र सवारी लिएर हिड्न हामीसँग पास थिएन।

मैले डिभिजन वन कार्यालय, कास्कीमा खवर गरेँ। डिभिजनल वन अधिकृत रामकाजी श्रेष्ठले ‘हुन्छ जानुस्’ भन्नुभो। एकछिनमा अन्नपूर्ण गाउँपालिका अध्यक्षले फोन गरेर ‘तुरुन्त आउनुस्, मैले प्रहरीलाई खबर गरेको छु’ भन्नुभो। मैलै मेरो कार्यालय प्रमुखलाई जानकारी गराएँ र केशव, सागर, दीपक र म बाइकमा लुम्लेतिर हिड्यौं।

चरीझै गुँड 
यो गोमन उद्घार गर्न जानुभन्दा करिब एक महिना पहिले लुम्लेको ढावा भन्ने ठाउँमा एउटा पोथी राजगोमनले गुँड बनाई बसेका खबर हामीलाई आएको थियो। प्रजननको याममा फुल पार्न राजगोमनले चरीले जसरी नै गुँड बनाउँछ। ओथारो बस्छ। करिब ३५ वर्षअघि कास्कीको नौडाँडास्थित बाँझोगुराँसको जंगलमा राजगोमनको गुँड भेटिएको थियो, नेपालमा राजगोमन पाइएको पुष्टि गर्ने त्यो पहिलो घटना थियो। त्यसपछि झन्डै तीन दशक न त्यस्ता गुँड फेला परेको खबर आयो, न कुनै अध्ययनमा भेटिन्छ।

हालसम्म मुलुकका ३८ जिल्लामा राजगोमन पाइएको रेकर्ड भएको छ। सर्प देख्यो की मारिहाल्ने संस्कारका कारण यी सरिसृपको अस्तित्व संकटमा त छँदैछ, गोमनका प्रजातिमाथिको संकट अरुभन्दा पनि बढी छ। हिजोआज बस्ती आसपास सर्प देखियो भने खबर पाएसम्म उद्धारकर्मी पुग्छन् र त्यसलाई सुरक्षित स्थानमा लगेर छाड्छन्। तैपनि उद्धारकर्मी नबोलाउने, देख्यो की मारिहाल्ने हाम्रो आमप्रवृत्तिमा सुधार आइसकेको छैन।

सर्पदंशका अधिकांश घटनामा मान्छेलाई देख्तैमा सर्प अचानक आएर ठुँगेको नभइ उसको प्रतिरक्षात्मक व्यवहारको सिकार भएका हुन्छन्। सर्पको विषयको असर हटाउन प्रयोग हुने खोपमा पनि विषकै मात्रा हुन्छ। हामी त्यसको विकासमा धेरै पछि छौं।
५ वर्षदेखि राजगोमनको गुँड पाल्पा, स्याङ्जा, कास्की, मकवानपुर, लमजुङ, दोलखा, पर्वत र काठमाडौं लगायत जिल्लामा फेला परेका छन्। वन विज्ञान क्याक्पस पोखरामा अध्यरत विद्यमान थापाले आफुना साथी राजन लामिछानेसँग चिनजान गराइदिए, जसले एउटा राजगोमनलाई बचाएका थिए। ढुंगाखानीमा काम गर्ने केटाहरूले गुँड आधै भत्काएका थिए, सर्पलाई ढुंगा हान्दै गरेको देखेर लामिछानेले जोगाएका थिए।

हामी लुम्ले पुग्यौं। गुँडमा रानी बसिराखेको देख्यौं। गुँड अलिकति भत्किएको थियो। हामीले स्थानीयलाई सम्झायौं र यो दुर्लभ सर्पलाई जोगाउनु पर्छ। गाउँपालिका अध्यक्ष युवराज कुँवर सकारात्मक सुनिए।

पहिलो दिन हेर्ने र वरपरका बासिन्दालाई सम्झाउने काम गरियो। दोस्रो दिन दुई साइटबाट गुँडलाई मान्छेबाट जोगाउन तारजाली लगाएर छाडियो। त्यसैदिन त्यही नजिकै ढुंगाखानीमा काम गर्नेहरुले सर्पको गुँह हटाउनुपर्छ पनि भनेका थिए। कालीनाग र दुर्लभ भनेर बुझापछि संरक्षण गर्ने विषयको उनीहरूले विरोध गरेनन्।

यो सर्प महादेवको घाँटीमा रहेको विश्वास गरिन्छ। कालीनाग भनिएको राजगोमनलाई हो। सर्प र गुँडका गतिविधि हेर्न त्यहाँ हामीले एउटा क्यामरा ट्रयाप पनि राख्यौं। १० दिनपछि राजन भाईको फोन आयो- ‘गुँड भत्काइदिएको छ।’ पोखराबाट मोटरसाइकलमा एक घण्टा, अनि आधा घण्टा हिड्नै पर्ने ठाउँमा हामी भोलिपल्ट हेर्न गयौं। गुँड पुरै भत्किएको थियो, अण्डाहरु केही बाहिरपट्टी  भएको देखियो । केही अण्डा सडिसकेका थिए। हामीले तुरुन्त गाउँपालिका अध्यक्ष र वडाअध्यक्षलाई खबर गर्‍यौं।

केही उछृङ्खलहरूले यस्तो बदमासी गरेका थिए। गुँड भत्काइए पनि सर्प त्यहीँ थियो। घटनाको तीन दिनपछि  रानीले गुँह छाडिछे। नरमाइलो मानेर हामी फर्कियौं।

घरआँगनमात्रै होइन  जहाँ सर्प देखिए पनि मान्छेलाई जोखिम हुने खबर पाएसम्म उद्धारकर्मी पुग्छन् र सुरक्षित स्थानमा लगेर छाड्छन्। तर उद्धारकर्मी नबोलाउने, मारिहाल्ने प्रवृत्ति हटेको छैन। 

घाइते रानीको उद्धार 
लुम्लेको जलजलामा करिब एक सातादेखि राजगोमन बसिराखेको खबर आएको थियो। त्यसलाई उद्धार गरेर सुरक्षित ठाउँमा लगेर छाड्नपर्ने थियो। हामी पग्नुभन्दा १० मिनेटअघि एउटा आँगनको प्वालमा छिरेको रहेछ। त्यही प्वालमा एक हप्ताबाटै बसेको र दिउँसो घाम ताप्न निस्कने गरेको हामीले खबर पाएका थियौं।

घरवेटी दिदीले बच्चाहरु साना छन्, सर्पसँग डराएर पर लगेर छाडिदिन गुहार लगाउनु भएको रहेछ। त्यसो गर्दा खबर हामीसम्म आइपुगेको थियो। मैले त्यसलाई राख्ने पाइप खोजेर झोला कुनामा मिलाएर राखेँ र केशव दाइ र सागर भाइले सर्प खोज्न थाले। सजिलै भेटियो। प्रतिकार गरेन। गर्न सक्ने क्षमताको भए पो गर्नु। समातेर हेर्दा हामी भावुक भयौं। किनकि त्यो एकदमै घाइते थियो। फन फिजाउँने भागको छाला नै थिएन र घाँटीमा रहेको घाउ कुहिएको गन्ध आएको थियो।

मैले जीवन धेरै राजगोमन देखे तर यति धेरै घाइते देखेको थिइँन। सर्प देख्यो की मारिहाल्ने जमातको काम थियो यस्तो। कसैगरि बाँचेको त थियो तर धेरै दिन बाँच्ला जस्तो थिएन।

सर्पले मान्छेलाई खोजी खोजी टोक्दैन। र, मान्छे भएका ठाउँमा सितिमिति बस्दैन पनि। आक्कलझुक्कल हामीले कुनै हानि पुर्‍याएको जस्तो लाग्दा सर्पले प्रतिकार गर्छ। त्यस्ता बेला हाम्रा लागि जोखिम हुन्। अन्यथा देखे पनि नचलाउने हो भने सर्प आफ्नै बाटो लाग्छ। उसलाई प्रकृतिले आफ्नै पाराको जीवन शैली दिएको छ। सर्पहरूमध्ये गुँड बनाएर बस्ने राजगोमले मात्रै हो।
हामीले सर्प झटपट बोकेर हिडेनौ। त्यसको उद्धारपछि समुदायलाई राजगोमन र यसको विशेषताबारे बतायौं। भेटिए नमार्नुस्, आफ्नो बाटो जान दिनुस्। सर्प वरपर भएका कारण जोखिम हुन सक्ने लाग्यो भने हामीलाई गर्नुस् भनेर सम्झायौं।

सारमा करिब ३५०० प्रजातिका सर्प पाइन्छ। नेपालमा ८३ प्रजाति हालसम्म पाइएका छन्। नेपालमा पाइएकामध्ये १७ प्रजाति विषालु छन्। अरु विषालु छैनन्। सर्पले मुखमा भएको विशेष खाले ग्रन्थीबाट रस निकाल्छ, जसले आहारलाई लट्याउने, मार्ने र पाचन गर्नमा मद्दत पुर्‍याउँछ।

पोखरामा बेगनास ताल नजिकै लेखनाथको पचभैया प्राणी उद्धार केन्द्र छ। हिजोआज हामी पोखरेली उद्धारकर्मीले वन्य पशुपन्छीसँगै विभिन्न जीव भेटियो भने ल्याएर छाड्ने गरेका छौं।त्यो राजगोमन पनि यहीँ ल्यायौं। केन्द्रका व्यवस्थापन प्रमुख विनय अधिकारीले सहजीकरण गरे। तर, हाम्रा लागि यहाँ पनि अर्को झमेला पर्खाइमा थियो।

एक हुल युवाहरू ‘त्यस्तो विषालु सर्प पचभैयामा राख्न पाइँदैन’ भन्दै आए। हामीले उपचारपछि सुरक्षित ठाउँमा लगेर छाड्छौं भनेर सम्झाउनको सास्ती भयो। सर्पको घाउ नै देखाइदिँदब उनीहरूले ‘ल उपचार गर्नुस्, हामी पनि हेर्छौ’ भने।

हामीले स्लाइन पानी र बेटाडिनको सोलुसन बनाएर कपासले सर्पको घाउ सफा गरिदियौ। घाउ निकै थियो, सफा गर्न पनि समय लाग्यो। उद्धार केन्द्रका भेटेनेरीयनले भोलि विहान आएर हेर्न कुरा भयो।  सर्पलाई केजमा राखेर हामी निस्कियौ। बाटोमा प्रहरीले पनि सोधपुछ गर्‍यो।

भोलिपल्ट विहान ७ बजे फोन आयो। हामीले उद्धार गरेर ल्याएको राजगोमन मरेछ। उद्धार गरेर बचाउने प्रयोस गरेका थियों, सफल भएन भनेर दुःख लाग्यो।


Your Views
Related News