अस्पताल भर्ना हुन लागेका वा भएका बिरामीमा गरिने ‘र्‍यापिड बेडसाइट टेस्ट’ भनिने द्रुत परीक्षणले अस्पतालभित्र फैलिने कोरोनाभाइरस सङ्क्रमण घटाउन सहयोग गर्न सक्ने वैज्ञानिकहरूले बताएका छन्।

वैज्ञानिकहरूले उक्त द्रुत परीक्षण विधिको अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन्। उक्त विधिले दुई घण्टामा नतिजा देखाएको थियो।

सर्वस्वीकार्य परीक्षण विधिमा सङ्कलित नमुना प्रयोगशालामा पठाउनुपर्छ। तर त्यसका लागि लामो समय लाग्छ।

अध्ययनकर्ताहरूले “त्यसको अर्थ द्रुत परीक्षण गरिएका बिरामीहरूलाई सङ्क्रमण देखिनेबित्तिकै आइसोलेशनमा राख्न सकिने” बताएका छन्। त्यसले सम्भवत: भाइरस फैलिने क्रमलाई घटाउनेछ।

कसरी ‍गरियो अनुसन्धान?

उनीहरूले यूकेको न्याश्नल हेल्थ सर्भिसलाई चाँडै यस्तो परीक्षण बढाउन आह्वान गरेका छन्।

उक्त अध्ययन प्रतिवेदन ‘द लान्सि रेस्परटरी मेडिसन’ मा प्रकाशित भएको छ।

गत मार्च र एप्रिलमा साउथह्याम्पटक जेनरल हस्पिटलका वैज्ञानिकहरूले कोरोनाभाइरसको लक्षण देखिएका ५०० मानिसमा उक्त विधिबाट परीक्षण गरेका थिए।

उक्त परीक्षण बिरामी बसेका शय्यानजिकै गरिएको थियो र एउटा वार्डमा एउटै उपकरण प्रयोग गरिएको थियो।

उनीहरूले उक्त ‘बेडसाइड र्‍यापिड टेस्ट’को नतिजालाई नाक वा घाँटीको स्वाब दिएर परीक्षण गरिएका करिब ५०० बिरामीसँग तुलना गरेर हेरेका थिए।

ती बिरामीको परीक्षणका लागि नमुना एउटा छुट्टै प्रयोगशालामा पठाइएको थियो।

शय्यानजिकै परीक्षण गरिएका बिरामीलाई स्वाब दिएर त्यसको नतिजा पर्खिने बिरामीहरूभन्दा औसतमा एक दिनअगाडि नै कोरोनाभाइरसका लागि छुट्ट्याइएका आइसोलेशन वार्डमा सार्न सकिने उक्त अध्ययनले देखाएको छ।

के छन् यो परीक्षण विधिका विशेषता?

प्रारम्भिक दिनहरूमा स्वाब लिएर गरिने परीक्षणको नतिजा आउन औसतमा २१ घण्टा लाग्ने गरेको वैज्ञानिकहरूले पाएका छन्।

त्यसले गर्दा बिरामीहरूले अस्पतालमा सही मार्गदर्शन पाउन नसकेको देखिएको छ।

तर उनीहरूले हालैका महिनाहरूमा कैयौँ अस्पतालहरूमा यस्तो परीक्षणमा पनि सुधार आएको बताएका छन्।

“पोइन्ट-अफ-केअर” भनिने द्रुत गतिमा परीक्षण गरिने विधि अझै पनि कैयौँ लाभहरू भएको उनीहरूको तर्क छ।

यसबाट स्वाब प्रयोगशालामा पठाउने, त्यसलाई परीक्षण र विश्लेषण गर्ने, नतिजा क्लिनिकल समूहलाई पठाएर त्यसलाई हेर्नेलगायतको समय बचाउन सकिने उनीहरूको दाबी छ।

के भन्छन् अनुसन्धानकर्ता?

उक्त अध्ययन गर्ने डा. ट्रिस्टन विलियम क्लर्कले बीबीसीसँग भने, “द्रुत परीक्षणमा बिरामी सबैभन्दा उपयुक्त वार्डमा जाऊन् भनेर अस्पतालमा भर्ना गर्ने एउटै समूहले प्राय: बिरामीको परीक्षण गर्छ र नतिजाहरू हेर्ने गर्छ। त्यसको अर्थ कामहरू निकै चाँडो हुन्छन्।”

उनी यस्तो परीक्षण महँगो हुनसक्ने तर चाँडै वार्डहरूमा बिरामी सार्न सकिने कुराले त्यसको फाइदा धेरै रहेको बताउँछन्।

वोरिक मेडिकल स्कूलका प्राध्यापक लरेन्स योङ उक्त अनुसन्धानलाई “एउटा रोमाञ्चक विकास” भन्छन्।

उनी भन्छन्, “द्रुत रूपमा सङ्क्रमितको पहिचान गर्न सकिने भन्ने यो खालको दृष्टिकोणको अर्थ त्यस्ता सङ्क्रमितलाई चाँडै अन्य सङ्क्रमण नभएका बिरामीलाई सङ्क्रमण हुनबाट बचाउनु हो। यसको अर्थ सङ्क्रमितले चाँडै उपयुक्त उपचार पाउनु पनि हो।”

READ MORE NEWS

कोरोना भाइरस महामारी: दक्षिण एशियाली देशमध्ये नेपालमा सक्रिय सङ्क्रमितको दर सर्वोच्च, ‘सबैभन्दा बढी जोखिम’

कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्याका आधारमा नेपाल दक्षिण एशियामा चौथो स्थानमा छ।

तर सक्रिय सङ्क्रमितको प्रतिशतका आधारमा नेपालले अतिप्रभावित देशमध्ये दोस्रो स्थानमा रहेको भारतलाई पनि उछिनेको विज्ञहरू बताउँछन्। यसबाट नेपालमा सङ्क्रमण डरलाग्दो स्थितिमा भएको चित्रण हुने उनीहरू बताउँछन्।

नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै एक लाख पुग्दा बिहीवार अपराह्णसम्म २६,६०० भन्दा केही बढी सक्रिय सङ्क्रमित थिए। यो कुल सङ्क्रमितको झन्डै २६.५ प्रतिशत हो।

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ८,९३,५९२ रहेको छ जुन १२.९ प्रतिशत हो।

त्यसपछि सक्रिय सङ्क्रमितको दर बाङ्ग्लादेशमा २२ प्रतिशत, भुटानमा १७.१ प्रतिशत, अफगानिस्तानमा १२.९, श्रीलङ्कामा १२.३ र माल्दिभ्समा १०.५ रहेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अवैतनिक सल्लाहकार डा. सुरेश तिवारीका अनुसार सक्रिय सङ्क्रमितको दर धेरै हुनु भनेको त्यो देशमा धेरै जोखिम हुनु हो।

“दक्षिण एशियामा हेर्ने हो भने सक्रिय सङ्क्रमितको दर नेपालमा धेरै छ। त्यसको अर्थ जोखिम पनि अन्य मुलुकको दाँजोमा यहाँ धेरै छ भन्ने हो,” उनले भने।

सक्रिय सङ्क्रमित उच्च हुनुको कारण के हो?

तिवारीका अनुसार अहिले सक्रिय सङ्क्रमितको दर नेपालमा धेरै देखिनुका प्रमुख तीन कारण छन्।

  • होम आइसोलेशनमा बस्ने सङ्क्रमितको सङ्ख्या धेरै छ। १४ दिनसम्म उनीहरू आइसोलेसनमै बस्नुपर्ने सरकारको नीतिले सक्रिय सङ्क्रमितको सङ्ख्या धेरै देखिएको हो
  • सङ्क्रमण दर लगातार रूपमा बढिरहेको छ र मानिसको आवतजावत घटेको छैन। सङ्क्रमित हुनेको सङ्ख्या बढेको छ तर निको हुने दर घटेको छ
  • अस्पतालमा रहेका बिरामीको स्वास्थ्य अवस्थाअनुसार उपचार गर्ने र त्यसै अनुसार औषधि दिनुको सट्टा लामो समय निगरानीमा राख्दा पनि सक्रिय सङ्क्रमितको सङ्ख्या घट्न सकिरहेको छैन
अस्पतालहरूमा अक्सिजनको कमी हुन थालेको चिकित्सकहरू बताउँछन्

नेपालको अवस्था के छ?

महामारी सुरु भएको देश चीनमा रहेको सङ्क्रमितको सङ्ख्यालाई गत बुधवार उछिनेको नेपाल अहिले शीर्ष ५० स्थानभित्र छ।

नेपालमा बिहीवारसम्मको तथ्याङ्क हेर्दा सङ्क्रमितको सङ्ख्या ९८,६१७ रहेको छ भने ५९० जनाको मृत्यु भइसकेको छ।

सङ्क्रमितको सङ्ख्या पछिल्लो एक महिनामै दोबरले भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कले देखाउँछ।

त्यसमा पनि पछिल्लो समय ६० वर्ष उमेर नाघेका मानिसहरूको सङ्क्रमित हुने दर ०.५ प्रतिशतबाट बढ्दै गएर अहिले नौ प्रतिशतको हाराहारी रहेको छ। त्यस्तै महिलाहरूको पनि सङ्क्रमित हुने दर १४ प्रतिशतबाट बढेर ३४ प्रतिशत पुगेको छ।

बाहिर जिल्लाबाट काठमाण्डू उपत्यकामा आउने र उपत्यकाबाट बाहिर जिल्ला जाने मानिसको क्रम बढिरहेकोले सङ्क्रमण अझै दुई/तीन साता उकालो लाग्ने देखिएको डा. तिवारीले बताए।

उनले भने, “केही साता अघिसम्म हामी समुदायमा सङ्क्रमण छ/छैन भनेर बहस गर्दै थियौँ। अब त काठमाण्डू उपत्यकाको कुरा गर्ने हो भने जुनसुकै उमेर समूह र जुनसुकै क्षेत्रमा सङ्क्रमणको जोखिम उत्तिकै छ। अहिलेको अवस्था भनेको समुदायमै सक्रिय सङ्क्रमण छ भन्ने हो।”

काठमाण्डूमा परीक्षण बढाइएसँगै सङ्क्रमितको सङ्ख्या पनि बढेको देखिन्छ

दक्षिण एशियाको स्थिति के छ?

भारतमा सङ्क्रमितको कुल सङ्ख्या ६९ लाख नाघेको छ भने मृतकको सङ्ख्या १,०६,४९० पुगेको छ।

केही समयअघिसम्म भारत, पाकिस्तान र अफगानिस्तानपछि चौथो स्थानमा रहेको बाङ्ग्लादेश पछिल्लो समय दक्षिण एशियाली देशमध्ये दोस्रो स्थानमा पुगेको छ।

जोन्स हप्किन्स यूनिभर्सिटीले बनाएको सूचीमा भारतपछि १६ औँ स्थानमा बाङ्ग्लादेश छ। अहिले त्यहाँ सङ्क्रमितको कुल सङ्ख्या ३,७४,५९२ र मृतको सङ्ख्या ५,४६० पुगेको छ।

दक्षिण एशियामा भारत र बाङ्ग्लादेशपछि पाकिस्तान तेस्रो स्थानमा छ जहाँ सङ्क्रमितको र मृतकको सङ्ख्या क्रमशः ३,१७,५९५ र ६,५५२ पुगेको छ।

यसले सङ्क्रमितको सङ्ख्या बाङ्ग्लादेशमा बढी रहे पनि मृत्युदर पाकिस्तानमा धेरै रहेको देखाउँछ। पाकिस्तान अहिले विश्वभरिमा धेरै सङ्क्रमित हुने देशको २२ औँ स्थानमा छ।

मृत्युदर कुन देशमा कति?

सक्रिय सङ्क्रमित दर नेपालमा धेरै रहे पनि मृत्यु दर भने तुलनात्मक रूपमा नेपालमा कम छ। नेपालमा अहिले मृत्युदर ०.६ प्रतिशत देखिएको छ।

तर स्वास्थ्य सेवा प्रणालीलाई बलियो नबनाए मृत्युदरमा पनि नेपालको अवस्था खराब हुनसक्ने स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. सुरेश तिवारी बताउँछन्।

“लामो लकडाउन र निषेधाज्ञाले सङ्क्रमित हुनेको सङ्ख्या अन्य देशको तुलनामा नेपालमा लामो समय नियन्त्रणमा थियो। तर अब त्यो अवस्था छैन त्यसैले सक्रिय सङ्क्रमित दर बढेसँगै मृत्यु हुनेको सङ्ख्या पनि बढ्छ। श्वासप्रश्वासको समस्या भएका बिरामीलाई उपचारको कमी हुन नदिने गरी स्वास्थ्य सेवा प्रणालीलाई बलियो नबनाए बिस्तारै मृत्युदर पनि बढ्दै जान्छ,” उनले भने।

मृत्युदर सबैभन्दा धेरै हुने दक्षिण एशियाली देशमा अफगानिस्तान सबैभन्दा माथि देखिन्छ। त्यहाँ मृत्युदर ३.७ प्रतिशत छ।

त्यसपछि क्रमश: पाकिस्तानमा २.१, भारत र बाङ्ग्लादेशमा १.५, श्रीलङ्का र माल्दिभ्समा ०.३ प्रतिशत छ।

दक्षिण एशियामा सबैभन्दा कम सङ्क्रमित सङ्ख्या भुटानमा रहेको छ। जम्मा ३०४ जनामा सङ्क्रमण पुष्टि भएको भुटानमा कोभिड-१९ का कारणले कसैको पनि मृत्यु भएको छैन।

ह्वाइट स्पेस

Your Views
Related News