तपाईंको यो एउटै प्रश्न मात्रले पनि मनोसामाजिक समस्याका कारण आफूलाई हदैसम्मको क्षति पुर्‍याउन सक्ने व्यक्तिको जीवन बचाउन सकिन्छ। त्यसैले समस्या रहेका आफ्नासँग टाढा होइन–नजिक बसौं, कुरा गरौं।

‘सबैका निम्ति मानसिक स्वास्थ्यः पर्याप्त लगानी, व्यापक पहुँच; जसलाई पनि, जहाँ पनि’ भन्ने नाराका साथ आज १० अक्टोबर (२४ असोज) शनिबार ‘विश्व मानसिक स्वास्थ्य दिवस’ मनाइँदैछ।

डा. मधुर बस्नेत
पछिल्लो समय क्रमिक रूपमा मानसिक समस्या बारे जनचेतना बढेसँगै आम मानिसमा यसप्रति चासो देखिन थालेको छ। यो सकारात्मक कुरा हो। तर, हामीमध्ये धेरैमा आफूले चिने÷जानेको व्यक्तिमा मानसिक समस्या छ कि भन्ने लागेमा यसबारे कसरी कुरा गर्ने भन्ने जानकारी भने छैन। यस्तो जानकारी नहुँदा खुलेर कुरा गर्न अप्ठ्यारो हुने गरेको धेरैको अनुभव छ।

त्यसैले यो आलेख ‘कसैलाई मानसिक समस्या वा तनाव भएको लागेमा कसरी कुरा गर्ने’ भन्नेमा केन्द्रित रहेको छ।

तपाईंले चिनेको कोही व्यक्ति पहिले जस्तो देखिनुहुन्न, उहाँको जिन्दगीमा केही समस्या परिरहेको छ वा गरिरहेको/भनिरहेको कुरामा ठोस बदलाव पाइरहनुभएको छ भने विश्वस्त भई उहाँसँग केही सोध्न तयार हुनुहोस्।

व्यक्तिगत जीवनका आरोह/अवरोह बारे नियमित एवं अर्थपूर्ण कुराकानी मार्फत हामी सबैले संघर्षरत त्यस्ता व्यक्तिहरूको जीवनमा साँच्चै नै फरक पार्न सक्छौं।  जिन्दगीको कठिन परिस्थितिबाट गुज्रिरहेका व्यक्तिलाई सोधीखोजी गर्दा हामी उनीहरूलाई राहतको महसूस गराउन सक्छौं, थप मद्दत माग्न प्रोत्साहन गर्न सक्छौं।

हामीले के बुझ्नु जरूरी छ भने कुनै पनि व्यक्तिमा देखिएको जतिसुकै सानो बदलाव पनि ‘के तपाईंलाई ठीक छ?’ भनेर सोध्न पर्याप्त छ।
कति बेला सोध्ने?

यदि आफूले चिनेजानेका व्यक्तिमा उल्लिखित संकेतहरू भेट्नुभयो भने तपाईं ढुक्कसाथ सोध्न सक्नुहुन्छ– ‘के तपाईंलाई ठीक छ?’

कुराकानीमा बदलावः

बेतुकको वा अलमलिए जस्तो कुरा गर्ने
मूडी स्वभाव
रिसाइरहने
भविष्य बारे बढी चिन्तित
आफू अरूका निम्ति भार भएको कुरा गर्ने
एक्लो महसूस गर्ने वा आत्मबल हराएको जस्तो कुरा गर्ने
आफू पीरमर्कामा परेको वा चेपोमा परेको जस्तो कुरा गर्ने
व्यवहार परिवर्तनः

एकलकाँटे भएर बस्ने
मनोभावमा अस्वाभाविक उतारचढाव भइराख्ने
आफूलाई पहिला मन पर्ने कुराहरूमा अरुचि देखाउने
एकाग्र हुन नसक्ने
आफ्नो रुपरङ र सरसफाइमा पनि ध्यान नदिने
बेपर्वाह व्यवहार गर्ने
निद्रा र खानामा गडबडी

जीवनमा उतारचढावः

सम्बन्धमा समस्या
स्वास्थ्यमा समस्या
काममा बोझ वा निरन्तर तनाव
आर्थिक समस्या
जीवनमा आफ्नो कुनै प्रिय वस्तु वा व्यक्ति गुमाएको अवस्था

सोधपुछ/कुराकानीको तयारीः

चिनेजानका कसैमा यी कुरा/कुराहरू पाउनुभयो भने ‘के तपाईं ठीक हुनुहुन्छ?’ भनेर सोध्न सक्नुहुन्छ। तर अरूलाई मद्दत गर्नुभन्दा अगाडि तपाईंले आफ्नै बारे पनि विचार गर्नु जरूरी छ।

यदि तपाईं सही मनस्थितिमा हुनुहुन्न वा कुरा गर्न आफू उचित व्यक्ति होइन भन्ने लाग्छ भने उक्त व्यक्तिको नजिकका व्यक्ति खोज्नु बुद्धिमानी हुनेछ।

आफू अर्थपूर्ण वार्तालाप गर्न तयार छु वा छैन भन्ने बुझ्न निम्न कुरामा ध्यान पुर्‍याउनुहोस्ः

के म तयार छु?

के म राम्रो मनस्थितिमा छु?
के म साँच्चै राम्ररी सुन्न तयार छु?
के म आवश्यकता अनुसार समय दिन सक्छु?
तपाईं प्रश्न सोध्न तयार भएर मात्र हुँदैन, आफ्नो तत्परता पनि पर्गेल्नुपर्छ। किनभने त्यसरी सोध्दा तपाईंको अनुमान विपरीत ‘होइन, मलाई केही छैन’ वा ‘सबै ठीकै छ’ भन्ने जवाफ पनि आउन सक्छ वा कुरा गर्नै नचाहने पनि हुन सक्छ। त्यस्तो जवाफ वा परिस्थिति आएमा पनि सहजतापूर्वक स्वीकार्ने तत्परता सहित कुराकानी गर्नुपर्छ।

कुराकानी गर्न/सोध्न उपयुक्त समय चयन अत्यन्त महत्वपूर्ण हुन्छ। त्यसका निम्ति निम्न कुरामा ध्यान पुर्‍याउनु जरूरी हुन्छ।

के मैले सही समय छनोट गरेको छु?

के मैले अलि तुलनात्मक गोप्य र आरामदायी ठाउँ छनोट गरेको छु?
के मैले कुरा गर्न सजिलो हुने खालको समय विचार गरेको छु?
कुराकानीका निम्ति आफूसँग पर्याप्त समय भएको सुनिश्चित गरेको छु?

कसरी सोध्ने?

अब यति तयारी निश्चित गरेपछि भने तपाईं कुराकानीका लागि सम्पूर्ण रूपमा तयार हुनुहुनेछ।

व्यक्तिको समस्याप्रति तपाईंको गहिरो चासो छ भन्ने विश्वास जगाउन सकिएमा आपसमा खुल्न सहज हुन्छ। ‘तपाईंलाई कस्तो छ?’ वा ‘तपाईंलाई के कसो भैरहेको छ?’ जस्ता शुरूआती प्रश्न गर्न सकिन्छ।

यदि यसरी कुरा गर्न खोज्दा व्यक्ति अन्कनाउनुभयो भने किन कुरा गर्न चाहेको हो भन्ने थप खुलाउन सकिन्छ, जस्तैः ‘तपाईं आजकल पहिले जस्तो गफगाफ पनि गर्नुहुन्न। तपाईंलाई के भैरहेको छ?’

व्यक्तिले कुरा गर्न नचाहेमा कर गर्ने, आलोचना गर्ने वा रिसाउने गर्नुहुँदैन। ‘अहिले कुरा नगरे पनि हामी तपाईंका व्यवहारमा आएका परिवर्तन बारे सधैं नै सरोकार राख्छौं, ख्याल राख्छौं’ भनी विश्वास दिलाउने प्रयास गर्नुपर्छ। यसो गर्दा हामीप्रतिको भरोसा/विश्वास बढ्न जान्छ। यस्तो बेला यसरी थप कुरा राख्न सकिन्छः ‘कृपया कुनै पनि बेला कुरा गर्न मन लागेको खण्डमा मलाई भन्न सक्नुहुनेछ’ वा ‘के तपाईं अरू कोही व्यक्तिसँग खुलेर कुरा गर्न चाहनुहुन्छ त?’

कुराकानीका क्रममा अक्सर हामी ‘उपदेशात्मक’ बन्न पुग्छौं, जुन सही शैली होइन। त्यसैले कुराकानीमा तलका कुराहरूमा विशेष ध्यान पुर्‍याउनु जरूरी हुन्छ:

खुल्ला दिमागले सुन्नुहोस्ः

भनिएका कुरालाई बेरोकतोक गम्भीरतापूर्वक सुन्नुपर्छ, कुरा गर्ने हतार गर्नुहुँदैन।
कुराकानी गरिएका व्यक्तिको अनुभव तौलने वा प्रतिक्रिया दिने कार्य गर्नुहुँदैन, बरु यो बेला उहाँहरूको समय चुनौतीपूर्ण भएको कुरा स्वीकार्नु उचित हुन्छ।
यदि उहाँहरूलाई सोच्न समय लाग्छ भने शान्तपूर्वक धैर्य गर्नुपर्छ। यस्तो अवस्थामा अक्सर आफ्ना कुरा सम्झन समय लाग्न सक्छ र हाम्रो धैर्यताले सोचेर भन्न प्रेरित गर्न सक्छ।
भनेका कुरालाई विस्तारमा वर्णन गर्न प्रोत्साहित गर्नुपर्छ; जस्तैः ‘त्यो कुरा बारे तपाईंलाई कस्तो लागिरहेको छ?’, ‘तपाईंलाई कहिलेदेखि यस्तो लागिरहेको छ?’
बेला बेला आफूले पहिल्यै सुनेका कुरा आफ्नै शब्दमा दोहोर्‍याउनु उचित हुन्छ। आफूले बुझेको सही हो वा गलत भन्ने जान्न पनि यसले मद्दत गर्छ। यसो गर्दा व्यक्तिलाई तपाईंले ध्यानपूर्वक कुरा सुनिरहनुभएको छ भन्ने पक्का हुन्छ र संवाद अझ सहज हुनसक्छ।
यसरी कुराकानी गर्ने क्रममा व्यक्तिले आफ्ना समस्याहरू राख्दै गर्दा ‘ए, ल त्यसो भए यसो गर्नुस् न त’ वा ‘यो खासै ठूलो समस्या हैन’ जस्ता कुरा गर्नु भन्दा व्यक्ति आफैंलाई समस्याको समाधान पर्गेल्न मद्दत गर्नु उपयुक्त हुन्छ। जस्तैः

‘विगतमा यस्तै समस्या हुँदा तपाईंले के गर्नुभएको थियो?’, ‘म तपाईंलाई कसरी मद्दत गर्न सक्छु?’, ‘तपाईंले आफ्नो निम्ति रमाउन वा आराम गर्न तत्काल के गर्न सक्नुहुन्छ?’ भनेर सोध्न सकिन्छ।
यदि यसो गर्दा समस्याको समाधान नदेखिएमा बल्लः ‘मैले विगतमा यस्तै संकट÷गाह्रो पर्दा यस्तो… गर्दा समाधान भएको थियो, यो तपाईंको निम्ति पनि काम लाग्न सक्छ’ भनेर तटस्थतापूर्वक कुरा राख्नु उचित हुन्छ।

पटक पटक सोध्ने

यदि व्यक्ति दुई हप्ता भन्दा लामो समयदेखि निरन्तर दुखित भैरहेका छन् भने स्वास्थ्यकर्मीको परामर्श लिन प्रोत्साहित गर्नुपर्छ। किनभने, यो बेला तपाईं मात्रको मद्दत पर्याप्त नहुन सक्छ वा तपाईंलाई परिस्थितिको सामना गर्न गाह्रो पनि पर्न सक्छ। यसको पहल गर्न ‘तपाईंलाई मद्दत गर्न सक्ने कुनै स्वास्थ्यकर्मीसँग भेटन उपयुक्त हुनसक्छ। त्यस्तो उचित व्यक्ति खोज्न म तयार छु।’ पनि भन्न सकिन्छ। संकट/मुश्किलको यसखाले समयबाट पार पाउन स्वास्थ्यकर्मीको भूमिका प्रभावकारी हुनसक्छ भन्ने बारे विश्वस्त पार्ने कोशिश गर्नुपर्छ।

एक पटक कुराकानी गर्दैमा सबै समस्या हल हुँदैन। त्यसैले हामीले बेलाबखत सोधीखोजी जारी राख्नुपर्छ। कुराकानीको समय क्यालेन्डर÷नोटमा टिपेर राख्दा बिर्सने सम्भावना कम हुन्छ।

यदि व्यक्तिमा बढी नै समस्या छ भने चाँडै सम्पर्क गर्नुपर्छ। ‘म तपाईंकै बारे सोचिराखेको थिएँ। हामी पछिल्लो चोटि कुराकानी गरे यता तपाईंलाई कस्तो भैराखेको छ भन्ने जान्न मन लागेको थियो’ भनेर कुराकानी शुरूआत गर्न सकिन्छ।

यो बेला व्यक्तिले आफ्नो समस्या समाधानका निम्ति कुनै उपाय पत्ता लगाएका छन् कि भन्ने पनि सोध्न सकिन्छ र छ भने त्यसलाई निरन्तरता दिन प्रोत्साहन गर्न सकिन्छ। केही गरेको नपाइएमा पनि आक्षेप वा आलोचना गर्नुहुँदैन। बरू के कति कारणले केही नगरेको वा गर्न नसकेको हो भन्ने कुरा प्रेमपूर्वक बुझ्ने कोशिश गर्नु उपयुक्त हुन्छ। यसले समस्याको पहिचान र समाधानका उपायहरू खोज्न थप मद्दत पुग्छ।

कम्तीमा तत्कालको समस्या समाधान नभइन्जेल नियमित सम्पर्कमा रहेर चासो व्यक्त गरिराखे हामी साँच्चै उहाँहरूको ख्याल राख्छौं भन्ने विश्वास जागृत हुन्छ। हाम्रो यो सानो चासो र ख्यालले व्यक्तिको जीवनमा ठूलो फरक पार्न सक्छ।

यसरी हामी सबैले आफ्नो वरिपरिका व्यक्तिहरूको समस्या बारे प्रेम÷सौहार्दपूर्वक चासो र ख्याल राख्ने अनि खुलेर कुराकानी गर्ने हो भने अधिकांश मानसिक समस्याको बेलैमा पहिचान, समाधान मात्र होइन आत्महत्याका धेरै घटना समेत टार्न सकिन्छ।

विश्व मानसिक स्वास्थ्य दिवसको उपलक्ष्यमा हामी सबैले प्रण गरौं कि आइन्दा वरिपरिका कोही व्यक्ति समस्यामा परेको÷विचलित भएको जस्तो लागेमा हामी ढुक्क साथ खुलेर सोध्नेछौं, ‘के तपाईंलाई ठीक छ?’


Your Views
Related News