काठमाडौं : काठमाडौं उपत्यकामा वर्षौं नदेखिएको झिली नामको जलपन्छी यो साता भक्तपुरको मनोहरा खोलामा देखियो। उपत्यकामै आँसीठुडे पन्छी चार दशकपछि गत ९ गते सोही खोला किनारमा विचरण गर्दै गरेको पाइयो।

मण्डारिनहाँस डेढ दशकपछि गत पुसमा सुनसरीको बर्जु ताल, नारायणी नदी र तनहुँको मस्र्याङ्दी जलविद्युत्को ड्यामसाइटमा भेटियो। कालो टाउँके हाँस पनि वर्षौंपछि हिउँदयामकै बेला जगदीशपुर तालमा देखियो। काठमाडौं उपत्यका र नेपालमा प्रायः देखिन छोडेका यस्ता जलपन्छी कोरोना कहरै बीचमा संरक्षणकर्मीले भेटेका छन्।

कोरोना संक्रमणले विश्व नै आक्रान्त भइरहेका बेला चितवन, कोसी, दैलेखलगायतका ठाउँमा करिब दुई दर्जन लोपोन्मुख र दुर्लभ पन्छीका प्रजाति देखिएका/भेटिएका छन्।

झिली चरा चीनलगायत उत्तरी ध्रुवको रैथाने भन्ने बुझाइ रहेकोमा यसपटक मनोहरामा बच्चासमेत कोरलेको पाइएपछि अनुसन्धानको पाटो फराकिलो भएको पन्छीविद् डा. हेमसागर बराल बताउँछन्। उनी भन्छन्, ‘राष्ट्रियस्तरमा दुर्लभ र अतिसंकटापन्न सूचीमा रहेका यस्ता पन्छी देखिनु निकै खुसीको कुरा हो, यसले पन्छीको बसाइसराइ, अन्य आनीबानी, विश्वव्यापी तापमान र वातावरणमा आइरहेको परिवर्तनबारेमा पनि बुझ्न मद्दत गर्छ।’

यसअघि प्रायः नेपालमा नदेखिने मण्डारिन हाँसलगायतका जलपन्छी फिरन्ते सूचीमा  रहेकोमा अब नियमित हिउँदे आगन्तुक बन्ने संकेत देखिएको बरालले बताए।
नेपालमा ८ सय ८८ प्रजातिका पन्छी अभिलेख भएको छ। तीमध्ये करिब ६ सय रैथाने प्रजाति रैथाने सूचीमा सूचीकृत छन्। हिउँदयामको सुरुआतसँगै करिब डेढ सय प्रजाति चीन, मंगोलिया, रुसको साइबेरिया र आसपासका भेगबाट जाडो छल्न नेपाल आउने गर्छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार करिब ६५ प्रजाति विचरणका क्रममा गर्मीयाममा आउँछन्।

नेपालमा अभिलेख भएकामध्ये २९ प्रजाति बटुवा र ७४ प्रजाति फिरन्ते सूचीमा छन्। बसाइसराइको क्रममा नेपालको बाटो हुँदै अन्यत्र जाने प्रजाति बटुवा र बाटो बिराएर फाट्टफुट्ट मात्रै देखिनेलाई फिरन्ते प्रजातिका रूपमा बुझ्ने गरिएको छ। पन्छीविद्हरूका अनुसार करिब ५० प्रजाति नेपाललाई ‘ट्रान्जिट’ बनाएर अन्यत्र विचरणका लागि जान्छन्।

त्यसैगरी करिब ७४ प्रजाति आक्कलझुक्कल देखिने फिरन्ते सूचीमा छन्। बटुवा पन्छी नेपालका नदी, सिमसार र जलाधार क्षेत्रमा बढीमा एक हप्ता हाराहारी आराम गर्ने र आफ्नो गन्तव्यतर्फ लाग्ने गर्छन्। यस्तो स्वभाव भएका जलपन्छीका प्रजातिलाई बटुवा प्रजातिका रूपमा बुझ्ने गरिएको नेपाल पन्छी संरक्षण संघ (बीसीएन)का संरक्षण अधिकृत कृष्ण भुसाल बताउँछन्। यस वर्ष हिउँदे आगन्तुकका केही प्रजाति विगतका वर्षभन्दा केही छिटो आउन थालिसकेका छन्। श्वेताखीभौं, मालकहाँस, विजुलागैरी लगायतका हाँसका प्रजातीसँगै बगाले बगेडी नेपाल आउने क्रम सुरु भइसकेको छ। श्वेताखीभौं दुई साता अघि नै कैलालीको घोडाघोडी ताल र काठमाडौंको बागमतीमा देखिएको भुसालले बताए। उनका अनुसार मालकहाँस गत साता काठमाडौंमा र विजुलागैरी नवलपरासीको कावासोतीमा देखिएको छ।

आज अंग्रेजी महिना अक्टोवरको दोस्रो शनिबार। यो दिनलाई पन्छीको विश्व बसाइँसराइ दिवसका रूपमा मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष मे महिनाको दोस्रो र अक्टोबर महिनाको दोस्रो शनिबार यस्तो दिवस मनाइन्छ। यो वर्षको दिवस ‘पन्छीले जोड्छन् हाम्रो संसार’ नाराका साथ मनाइँदैछ।

सन् २००६ देखि अफ्रिका, युरोप र एसियाका केही मुलुकमा मे महिनामा मनाउने गरिएको यो दिवस सन् २००१८ देखि वर्षमा दुई पटक मनाउन थालिएको हो। दिवसका अवसरमा पन्छी अवलोकनसँगै लोपोन्मुख र दुर्लभ पन्छीको महत्व, पन्छीले पारिस्थितिक प्रणालीमा पुर्‍याउने महत्व लगायतका बारेमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिन्छ। नेपालमा बीसीएन, पोखरा बर्ड सोसाइटी, हिमालयन नेचर, वर्ड एडुकेसन सोसाइटी, कोसी बर्ड सोसाइटीजस्ता संघसंस्थाले यस्तो कार्यक्रम गर्दै आएका छन्।

READ MORE NEWS

नेपालमै फेरी खुल्यो २० करोड लगानीमा छाला जुत्ता कारखाना, शुद्ध छालाकाे जुत्ता १५ सय देखि ५ हजार सम्ममा

लामो समयपछि नेपालमा छालाजुता कारखाना खुलेको छ । सरकारी लगानीको बाँसबारी छालाजुत्ता कारखाना बन्द भएको लामो सयमपछि निजीक्षेत्रबाट सुनसरीको दुहवीमा युनाइटेड रियल लेदर नामक कारखाना खुलेको हो ।

पहिला नेपालमै उत्पादन भएको शुद्ध छाला प्रशोधन गरेर विदेश निर्यात गर्दै आएको उद्योगले कोभिड १९ का कारण छाला निर्यात ठप्प भएपछि आफ्नै छाला जुत्ता कारखाना खोलेको हो ।

२० करोड रुपैयाँको लगानीमा तत्काल जुत्ताको कारखाना सञ्चालन सुरु गरिएको कम्पनीका मालिक परवेज अख्तरले बताए ।

अख्तरको परिवार नेपालमा राणाकालदेखि नै नेपालमा छाला संकलन गरेर प्रशोधन गरी बाहिर निकासी गर्दै आएको थियो । राणाकालदेखि छालाको व्यापार गरेका परवेजका बाबु समसुलले पूर्वी पहाडमा काँचो छाला धरानमा जम्मा गरी धरानबाटै भारततर्फ निर्यात गर्थे । पछि सन् १९८४ मा उनले दुहबीमा प्रशोधन उद्योग  स्थापना गरेका थिए ।

उद्योगबाट प्रशोधित छाला चीन, इटली, फ्रान्स, टर्की, ल्याटिन अमेरिका लगायत मुलुकमा जान्छ । तर कोरोना भाइरसका कारण ति सबै मूलुकका क्रेताले अर्डर रद्ध गरेर काँचो, अर्ध प्रशोधित, प्रशोधित र तयारी छाला गरी ५० करोडभन्दा बढीको मालवस्तु मौज्दात रहेपछि अख्तर छाला जुत्ता कारखाना खोल्ने निर्णयमा पुगेका हुन् ।

यसअघि सो उद्योगबाट उत्पादन भएको छालाबाट नै नेपाल प्रहरी र नेपाली सेनाले लगाउने बुट बन्ने गरेको थियो ।

अहिले छालाको तयारी बस्तु उत्पादन गर्नका लागि खोलिएको युनाइटेड रियल लेदर उद्योगमा १० प्राविधिकसहित ५० जनाले रोजगारी पाएका छन्।

उत्पादित बस्तु विक्रीका लागि रियलले आफ्नो पहिलो सो रुम विराटनगरको मेनरोडमा रहेको सेन्ट्रल मलमा खोलेको छ ।

अहिले युनाइटेडले जेन्स, लेडिज र बालबालिकाका गरी २८ प्रकारका जुत्ता उत्पादन गरेको र आफूले उत्पादन गरेका जुत्ता फुटकर बजारमा १ हजार ५ सय रुपैयाँ देखि बढीमा ५ हजार रुपैयाँसम्ममा उपलब्ध हुने उनले बताए । दसैंतिहारको अवसरमा उद्योगले आफ्ना उत्पादनमा २० प्रतिशतसम्मको छुट दिएको छ। साथै जुत्तामा ६ महिनाको वारेन्टी छ।

आफ्नै छाला उद्योग भएकोले युनाइटेडबाट उत्पादित कुनै पनि जुत्तामा छालाबाहेक रेक्सिन र अरू कुनै नक्कली छालाको प्रयोग नभएको मजहरको दावी छ । ‘बजारमा पाइने धेरै जुत्ता छालाका जस्ता देखिन्छन् तर वास्तवमा छालाका होइनन्। हामी यो दोषबाट मुक्त छौं। शुद्धता हाम्रो पहिलो सर्त हो।’  उनले भने ।

उद्योगको उद्देश्य जुत्ताको निर्यात भएको उल्लेख गर्दै यसमा नेपालमै पाइने कच्चा पदार्थको प्रयोगको ९० प्रतिशत गरिएको दाबी गरे। तर सोल भने चीनबाट ल्याउनुपरेको उनको भनाई छ । उनका अनुसार
सोलको उत्पादन नेपालमा नै हुने भए पनि गुणस्तरीय हुन नसकेकाले चीनबाट मगाउनु परेको हो ।

व्यापार विस्तार हुँदै गएमा युनाइटेडले सोल उत्पादन कारखाना पनि स्थापना गर्ने उनले बताए। युनाइटेडले बाख्रा, भैंसी र राँगाका छालाबाट जुत्ता उत्पादन गरिरहेको छ। उद्योगले दसैं अगाडि नै काठमाडौंको सातदोबाटोस्थित सेल्सबेरी स्टोर, नयाँ सडकस्थित विशाल बजार र पोखराको सेल्बेज स्टोरमा पनि सो रुम खोलिसक्ने योजना बनाएको छ।

जुत्ताको बजार विस्तार र स्थापित भएपछि दोस्रो चरणमा बेल्ट, वालेट, लेडिज ब्याग र ल्यापटप ब्यागको उत्पादन गर्ने योजना रहको बताउँदै उनले अब आफूहरुले छालाबाट उत्पादित बस्तुको आयात प्रतिस्थापनलाई मद्दत गर्ने विश्वास व्यक्त गरे ।


Your Views
Related News