काठमाडौं ।
पश्चिमाञ्चल होटल सङ्घ पोखराले सरकारले सातामा दुई दिन बिदा दिन गरेको प्रस्ताव स्वागतयोग्य भएको जनाउँदै यसलाई पारित गरी शीघ्र कार्यान्वयनमा ल्याउन माग गरेको छ ।
सङ्घले विज्ञप्ति जारी गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव अत्यन्त व्यवहारिक र समय सान्दर्भिक रहेको उल्लेख गर्दै यसलाई पारित गरेर कार्यान्वयमा ल्याउनु पर्नेमा जोड दिएको हो । विज्ञप्तिमा भनिएको छ, “संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट बिदा प्रस्तावलाई सर्वसम्मत पारित गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौ ।”
विज्ञप्तिमा कोभिड–१९ बाट प्रभावित व्यवसायीलाई लक्षित गरी पर्यटन मन्त्रालयबाट आएको प्रस्तावले पर्यटन तथा होटल उद्योगमा व्याप्त सङ्कटलाई जोगाउन विशेष भूमिका रहने जनाउँदै हप्तामा दुई दिन सार्वजनिक बिदा घोषणा गर्न नेपाल सरकार समक्ष अपिल गरिएको छ ।
छिमेकी तथा तेस्रो मुलुकबाट आगमन हुने पर्यटक र अन्य विविध समस्यालाई मध्यनजर गर्दै सो मन्त्रालयबाट आन्तरिक पर्यटन प्रवर्धन गरी पर्यटन व्यवसायलाई चलायमान बनाउने उद्देश्य उल्लेखित प्रस्तावमा अन्तर्निहित हुनु सकारात्मक पक्ष भएको विज्ञप्तिमा उल्लेख छ ।
सो प्रस्ताव कार्यान्वयनमा आए पर्यटन क्षेत्र चलायमान हुने भएकाले यसको कार्यान्वयन आवश्यक रहेको सङ्घका अध्यक्ष विकल तुलाचनले बताए । उनले बिदा प्रस्ताव पारित भए व्यवसायी पलायन हुनबाट रोकिने र यसमा निर्भर श्रमिक पूर्ववत् रुपमा रोजगारका फर्किने बताए ।
यसैबीच संघीय सरकारले विशेष गरी पर्यटन तथा होटल व्यवसायलाई कोभिड–१९ का कारण अति प्रभावित उद्योग व्यवसायको रुपमा वर्गिकरण गरी व्यवसायलाई पुनर्जागरण र पुनःउत्थान गर्न रु एक खर्बको पुनर्कर्जा प्रदान गर्ने व्यवस्थाप्रति पनि सङ्घले सकारात्मक भनाइ राखेको छ ।
बन्दाबन्दीको अवस्थामा रहेका व्यवासायको आम्दानी शुन्य रहेको र पर्यटकीय उद्योग प्रतिष्ठानका कामदारको पारिश्रमिक प्रदान गर्न, घर भाडा र अन्य सञ्चालन खर्चका लागि रु ५० अर्बको कोष, गण्डकी प्रदेश सरकारद्वारा घोषित व्यवसाय जीवन रक्षा कोष स्थापना गरी कर्जा उपलब्ध गराउने घोषणा गरेको भएता पनि झन्झटिलो प्रक्रियाका कारण हाल उक्त सुविधा लिन नसकेको तर्फ पनि ध्यानाकर्षण गराइएको छ ।
साथै सरकारद्वारा चालू बजेट वक्तव्यमा कोभिड–१९ बाट अति प्रभावित पर्यटन व्यवसायलाई आन्तरिक पर्यटन प्रवद्र्धन गरी राष्ट्रसेवक कर्मचारी तथा सङ्गठीत संस्था र निजी क्षेत्रका कर्मचारीलाई देश दर्शनको व्यवस्था गर्ने भनिए पनि हालसम्म कार्यविधि आउन नसकेको विषयमा पनि स्मरण गराइएको छ ।
हाल पर्यटन व्यवसाय अन्तर्गतका होटल उद्योगमा खर्बौं लगानी रहेको र यसमा आश्रित हजारौं श्रमिक उनिहरुका परिवारको भविष्यसमेत अनिश्चित बन्दै गएकामा सङ्घले चिन्ता व्यक्त गरेको छ । कोभिड–१९ को भरपर्दो खोप तथा औषधी नबनेसम्म विश्वव्यापी पर्यटनको स्थितिलाई आँकलन गर्दा नेपालमा छिमेकी तथा तेस्रो मुलुकबाट आगमन हुने पर्यटक केही वर्ष पर्खनुपर्ने सङ्घले विज्ञप्तिमा उल्लेख गरेको छ ।
सप्तरीको कञ्चनरुपमा १२ जना नयाँ क्षयरोगी भेटिए
सप्तरीको कञ्चनरुप नगरपालिकामा १२ जना नयाँ क्षयरोगका बिरामी देखापरेका छन् । स्वास्थ्य शाखा कञ्चनरुपले शुक्रबार आयोजना गरेको तेस्रो चौमासिक क्षयरोग सम्बन्धी गोष्ठिमा उक्त जानकारी दिइएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपमा सम्पन्न सो छलफलमा नयाँ क्षयरोगका बिरामी देखिएका मध्ये ९ जनाको फोक्सोमा कीटाणु देखिएको र ३ जनाको फोक्सो बाहेकका अंगमा कीटाणु देखिएको जानकारी दिइएको थियो ।
चार महिना पहिले दर्ता भएका ८ जना फोक्सोको क्षयरोगका बिरामीमध्ये ७ जनाको खकार नेगेटिभ आएको र १ जनाको मृत्यु भएको थियो । स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा दर्ता भएका १९ जना बिरामीमध्ये १७ जना निको भएको र २ जनाको मृत्यु भएको छ ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका सुभाषचन्द्र झाले क्षयरोगको लक्षण र बिरामीको अवस्थाबारे जानकारी गराए । नियमित रुपमा औषधी सेवन गरेमा बिरामी निको हुने बताएका उनले औषधी सेवन नगर्दा मृत्युसम्म हुने चेतावनी दिए ।
स्वास्थ्य शाखाका सिअहेव अधिकृत डम्बरप्रसाद गुप्ताले क्षयरोगका कीटाणुले आक्रमण गरेका व्यक्तिमध्ये करिब १० प्रतिशत व्यक्तिमा मात्र क्षयरोग विकास हुने र तिनमा रोगका लक्षण देखा पर्ने बताए। तीन साता या सोभन्दा बढी समय खोकी लागे, खकारमा रगत देखिए, श्वास फेर्न गाह्रो भए वा छाती भारी भए, अकस्मात शरीरको धेरै तौल घटे, पसिना आउने भएर थकाइको महसुस भए क्षयरोगको आशंका गर्नुपर्ने र तत्कालै नजिकको स्वास्थ्य शाखामा सम्पर्क गर्नुपर्ने उनले बताए ।
चिकित्सकहरुका अनुसार क्षयरोगका कीटाणुबाट प्रभावित सबैलाई यो रोग लाग्दैन । क्षयरोगका कीटाणुले आक्रमण गरेका व्यक्तिमा पर्याप्त रोग प्रतिरोधात्मक क्षमता छ भने यो रोगले हानि पुर्याउन सक्दैन । तर कुपोषण र एचआईभी संक्रमित व्यक्तिमा भने यो रोग छिटो विकसित हुन्छ ।
सामान्यतया टीबी भनिने यस रोगका कीटाणुको सङ्क्रमणका कारण आज पनि विश्वको एकतिहाइ जनसङ्ख्या जोखिममा रहेको देखिन्छ । सङ्क्रमितमध्ये ७५ प्रतिशतलाई फोक्सोमै सङ्क्रमण हुने गरेकोले ‘शरीरको क्षति गर्ने क्षयरोग’ लाई आम मान्छेले फोक्सोसँग सम्बन्धित रोग ठान्छन् । तर शरीरका अन्य अंगमा पनि यसको संक्रमण हुन्छ र यस्तोमा फोक्सोभन्दा शरीरका अन्य अंगको उपचार गर्न असहज हुन्छ ।
प्रतिवर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाख व्यक्तिको ज्यान क्षयरोगकै कारण जाने गरेको अनुमान छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार प्रत्येक वर्ष करिब पाँचदेखि सात हजार नेपालीले क्षयरोगकै कारण ज्यान गुमाउने गरेका छन् । नेपालमा क्षयरोग उपचारका लागि चार हजार बढी क्षयरोग उपचार सम्बन्धी ‘डट सेवा’ केन्द्र छन् ।
क्षयरोगबाट जोगिन स्वस्थ जीवन नै पहिलो सर्त हो । स्वस्थ जीवनको पहिलो आधार हो – अनुशासित जीवनशैली । खानपान तथा आहारविहारमा पर्याप्त ध्यान दिन सके ब्याक्टेरियाजन्य सबै रोगबाट धेरै हदसम्म जोगिन सकिने राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजीतकुमार झाले बताए।