एजेन्सी । ब्राजिलकी एक १७ वर्षीया विद्यार्थीको मोबाइल चार्ज गर्दैगर्दा कानमा इयरफोन लगाउँदा करेन्ट लागेर मृत्यु भएको बताइएको छ । लुइजा पीहेइरो नाम गरेकी युवतीलाई भुइँमा अचेत अवस्थामा लडिरहेको भेट्टाएपछि परिवारले उनलाई तुरुन्तै अस्पताल पुर्याएको डेलीमेलले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
ब्राजिलको राइको फ्रीओमा बस्ने लुइजालाई आइतबार अस्पताल पुर्याइएपनि चिकित्सकहरुले उनको ज्यान बचाउन नसकेको बताइएको छ ।
उनकी हजुरआमाले चिकित्सकलाई बताएअनुसार उनी लड्दा उनको कानमा इयरफोन टाँसिएको थियो भने चार्ज भइरहेको उनको फोन पूर्ण रुपमा नष्ट भएको बताइएको छ । आफन्तहरुले उनको करेन्ट लागेरै मृत्यु भएको दाबी गरिरहेको स्थानीय सञ्चार माध्यमले बताएका हुन् ।
उनले चार्ज गर्दै फोन चलाउँदा फोनको केही भाग पग्लिएपछि इयरफोनमार्फत उनलाई करेन्ट लागेको हुन सक्ने अनुमान गरिएको छ ।
उनलाई करेन्ट लागेको एक घण्टापछि मात्र चिकित्सककहाँ पुर्याइएको घटनापछि अस्पतालले खुलासा गरेको हो । उनलाई करेन्ट लागेको समयमा पानी परेको थिएन तर आकाशमा नजिकै कतैतिर बिजुली चम्किरहेको बताइएको छ ।
उनलाई के कसरी करेन्ट लाग्यो भन्नेबारे थप अनुसन्धान भइरहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै डेलीमेलले जनाएको छ ।
नेपालको आधुनिक इतिहासमा विभिन्न व्यक्तित्वहरुको महत्त्वपूर्ण योगदान रहेको सम्झाउने अनेक कीर्तिहरु यत्रतत्र देख्न पाइन्छ । यस्तै अवदान पुर्याउने व्यक्तिहरुमा राधावल्लभ अर्ज्यालको नाम आउँछ । राधावल्लभ द्रव्य शाहलाई गोरखाराज्यको राजा बनाउन सहयोग गर्ने मध्येका प्रमुख व्यक्ति नारायणदास अर्जेलका वंशज थिए । यिनको जीवनको पूर्वाद्र्धका धेरै विषयहरुमा थाहा पाइन्न तर जीवनको झण्डै अन्तिम कालतिर गरेका उल्लेखनीय कार्यहरुले भने उनलाई अझै सम्झाइराखेको पाइन्छ । राधावल्लभ अर्ज्याल राजपुरोहित शक्तिवल्लभ अर्ज्यालका भाइ हुन्। शक्तिवल्लभ अर्ज्याल तिनताकको प्रसिद्ध कवि थिए । शक्तिवल्लभ अर्ज्यालले रचना गरेको जयरत्नाकरनाटक प्रकाशितै पनि भएको छ ।
शक्तिवल्लभले आफूलाई लक्ष्मीनारायण अर्ज्यालको छोरा भनी उल्लेख गरेका छन् । वि.सं. १८५५ मा श्री ५ रणबहादुर शाहले नाबालक श्री ५ गीर्वाणयुद्धविक्रम शाहलाई उत्तराधिकारी बनाई त्यस वेलाका प्रमुख भाइभारदारहरुलाई उनको कदमलाई स्वीकार गर्न लगाउने सिलसिलामा श्रीपशुपतिनाथमन्दिरमा अलग–अलग व्यक्तिलाई धर्म भकाएका थिए । त्यसमध्ये त्यहाँ एउटा धर्मपुत्र शक्तिवल्लभल्प अर्ज्यालको पनि छ। त्यहाँ उनलाई मनोहरको नाति तथा लक्ष्मीनारायणको छोरा भनी उल्लेख गरेकोले उनीहरुको तीनै पुस्ताको बारेमा थाहा पाइन्छ।
राधावल्लभ शक्तिवल्लभका भाइ भएका हुनाले उनी मनोहरका नाति लक्ष्मीनारायण अर्ज्यालका छोरा हुन् भन्ने कुरा यसबाट बुझिन्छ । लक्ष्मीनारायण ज्योतिष पनि थिए । नरभूपाल शाहको पालाका केही कागजात तथा टिपोटहरुमा उनको नाम उल्लेख भएको पाइन्छ । शक्तिवल्लभपछि राधावल्लभ अर्ज्याल राजपुरोहित भएका थिए । राधावल्लभ अर्ज्यालको पुर्खाैली घर गोरखामा थियो । उनी धेरैजसो काठमाडौँमा नै बस्दथे । कहिलेकाहिँ दशैँमा मूलघरमा पनि जान्थे भन्ने कुरा वि.संं १८६२ आश्विनकृष्ण ५ मा भएको गोर्खा जाने अनुमति–पत्रबाट थाहा हुन्छ ।
राधावल्लभ अर्ज्याल शाहवंशीय गोरखाका राजाका राजपुरोहित भएकोले उनको अवस्था ‘के खाउँला के लाउँला’ भन्नुपर्ने किसिमको थिएन । सन्तान नभएकोले यताबाट होला कि त्यताबाट होला भनेर श्रीमतीहरु भित्र्याउँदा–भित्र्याउँदै छवटी पुगेका थिए । वसुमती, इन्दुमती, अयोध्या, सत्यरुपा र कुसवती नामले उनीहरुलाई अभिलेखहरुमा पुकारिएको पाइन्छ । “निःसन्तानलाई धन प्यारो हुन्छ” भन्ने उखानको चरितार्थ राधावल्लभले आफ्नो जीवनकालमा गरुँला भन्दाभन्दै गर्न नसकी संकल्पसम्म गर्न भ्याएका कार्यहरुबाट थाहा हुन्छ। चाहेका भए जीवनकालमै पनि धेरै कीर्तिहरु राख्न सक्थे तर त्यसो हुन पाएन ।
राधावल्लभ अर्ज्यालको केही कीर्तिहरु श्रीपशुपतिनाथको मन्दिरमा पनि छन् । उनले जीवनको अन्तिम समयमा वि.सं. १८६९ वैशाखशुक्ल नवमीका दिन भगवान् श्रीपशुपतिनाथलाई प्रसन्न तुल्याउने हेतुले मन्दिरको गर्भगृहमा चाँदीको ढोका चढाउने र त्यसका लागि ६ हजार रुपैयाँ सङ्कल्प गरेका थिए तर दैवको लीला सड्ढल्प गरेको दुई दिनपछि नै आर्यघाटमा देहावसान भयो । उनका साथमा प्रचलित चलनअनुसार जीवित पाँचै जना अर्धाङ्गिनीहरु सती गए ।
उनले संकल्प गरेअनुसार पशुपतिनाथको मन्दिरभित्र चाँदीको ढोका बनाउने काममा पण्डित प्रद्युम्न, गुरुभक्त सेनापति बखतसिंह बस्न्यात, शिवनारायण आचार्यहरु खटिए । जोडतोडका साथ काम हुँदै गयो । फलस्वरुप वि.सं. १८७० माघशुक्ल पञ्चमीको दिन उनको संकल्पअनुसारको ढोका चढाउने काम सम्पन्न भयो । ढोका चढाउने दिन कुँदिएको अभिलेख पद्यमय गरी उनैका शिष्य त्यस वेलाका प्रतिष्ठित कवि तथा विद्वान् वाणीविलास पाँडेले तयार पारेका थिए ।
आफू निःसन्तान भएको तथा आफूपछि कोही नभएकोले सकेसम्म भएको सम्पत्तिलाई तरलगाउने क्रममा उनले अरु संकल्पहरु पनि गरेको बुझिन्छ । त्यही क्रममा उनले भगवान् श्रीपशुपतिनाथको मन्दिरमा सदावर्त चलाउना निमित्त झण्डै १२२–५–० रोपनी खेत भीमढुङ्गा, देउराली र गोर्खाको छिंछिंमा राजगुठी गरेर राखिदिएका थिए । प्रत्येक वर्ष दफदरखानामा गई जग्गाको निश्चित आम्दानी बुझी चलाउनु पर्ने सदावर्त चलाइ, टहलुवा तथा अन्य रैरकमीलाई दिनुपर्ने खान्गी दिई गुठी चलाउनु पर्ने कुरा उक्त अभिलेखमा चर्चा गरिएको छ ।
राजपुरोहित राधावल्लभ अर्ज्यालले संकल्प गरेको उक्त गुठी जग्गा र व्यवस्थालाई तात्कालिक श्री ५ महाराजाधिराज गीर्वाणयुद्धविक्रम शाहबाट वि.सं. १८६९ ज्येष्ठशुक्ल ९ मा अनुमोदन गराइएको उल्लेख त्यहाँ छ ।
राधावल्लभ अर्ज्यालले गोरखाको पोखरीथोकमा एउटा शिवालय स्थापना गरेका थिए । त्यसलाई धनवज्र वज्राचार्यले राधावल्लभेश्वर नाम दिनुभएको छ । यसबाट यो घण्टा राधावल्लभ अर्ज्यालको मृत्यु भएको झण्डै नौ महिनापछि स्थापना भएको देखिन्छ, जुन वेला घण्टाभिलेखमा स्पष्ट लेखिएको छ कि उनका पाँचै जना स्त्रीहरु सती गएका थिए । उनले आफ्नो अन्तिम कालमा गोरखा पोखरीथोकको शिवालयको लागि झण्डै ५० रोपनी जग्गा गुठी राखेको उल्लेख पाइने हुनाले सो मन्दिर केही समयअगाडिमात्र बनाएको बुझिन्छ, जसको लागि घण्टा र गुठीसमेत राख्न भ्याएका थिएनन् भन्ने बुझिन्छ । उनी शिवका भक्त थिए भन्ने कुरा उनले पशुपतिनाथमन्दिरमा संकल्प गरेको चाँदीको ढोका, त्यहीँका लागि राखेको गुठीबाट अवगत हुन्छ । पशुपतिको अभिलेखमा उनलाई ‘शिवार्चापरः’ भन्ने विशेषण दिइएबाट पनि त्यस कुराको अझ पुष्टि हुन्छ । उनले श्रीपशुपतिनाथको मन्दिरमा साँझ–बिहान आरती गर्न भिर्काेटको आफ्नो बिर्ता खेत मुरी १२० संकल्प गरेका थिए ।

उनले गोरखाको पोखरीथोकमा बनाएको मन्दिर परम्परागत नेपाली मण्डपशैलीको छ । तीन तले भए पनि सो मन्दिर त्यत्ति ठूलो पनि होइन सानो पनि छैन, मझ्यौला आकारको छ । परम्परागत नेपाली शैलीमा निर्माण गरिएकोले आकर्षक छ । दुई वेदीमाथि मन्दिरनिर्माण भएको छ । यस मन्दिरमा ‘दचि’ इँटको तथा कलात्मक काष्ठ कारीगरीको राम्रो संयोग मिलेको छ । मन्दिर दक्षिणाभिमुख भएर रहेको छ । मूलढोकाको दायाँ–बायाँ सिंहका आकृतिका मूर्तिहरु रहेका छन् । तीनै तलाको चारैतिर कलात्मक झ्यालहरु छन् । मन्दिरमा झिँगटीका छाना छाइएका छन् । उचित स्याहार– सम्भारको अभावमा मन्दिर एकदमै जीर्ण अवस्थामा पुगिसकेको छ ।
मन्दिर शिवपाञ्चायन पद्धतिअनुसार बनेको छ । बीचमा शिवलिङ्ग स्थापित छ, आग्नेय कोणमा सूर्य, वायव्य कोणमा गणेश, नैऋत्य कोणमा देवी तथा ईशान कोणमा गरुडनारायणको मूर्ति रहेको छ । मन्दिरप्राङ्गणमा दक्षिणकालिकाको मूर्ति स्थापित छ । त्यसैगरी चण्डेश्वरको मूर्ति अरु शिवालयमा झैँ यहाँ पनि स्थापना गरिएको छ ।
माथि उल्लेख गरेजस्तो राधावल्लभले मृत्युशैय्यामा धेरै कुराहरु संकल्प गरेका रहेछन् भन्ने कुरा उनले संकल्प गरी बोलेका वस्तुहरु, जग्गा–जमीनहरु पछि वि.सं. १८६९ ज्येष्ठशुक्ल नवमीको दिन तात्कालिक श्री ५ महाराजाधिराज गीर्वाणयुद्धविक्रम शाहबाट सदर गराइएकोबाट बुझिन्छ । त्यस्तैगरी उनका सतीहरुले पनि फुक्का हातले आफ्ना भएभरका जायजेथा संकल्प गरेका रहेछन् भन्ने कुरा प्राप्त अभिलेखहरुबाट थाहा हुन्छ ।
राधावल्लभले आफ्ना सबै पुस्तकहरु तथा काठमाडौँ वटुस्थित गुच्चाटोलको घर लक्ष्मण पण्डितलाई दिने संकल्प गरेअनुसार दिइयो । दरौदीको बालुवा भन्ने ठाउँको बिर्ता जग्गा १२० मुरी माटोको खेतमध्ये विष्णु आचार्यलाई १० मुरी माटोको जग्गा विश्वभूजा ब्राह्मणीलाई २० विष्णुमाया ब्राह्मणीलाई २० मुरी माटोको जग्गा लीलाधर घिमिरेलाई हो। २० मुरी माटोको जग्गा उमानन्द र पद्मानन्द मरहट्टालाई, २० मुरी माटोको जग्गा चक्रपाणि अज्र्याललाई, २० मुरी माटो जग्गा देवऋषिलाई, २० मुरी माटोको जग्गा मत्स्यमाधव रिजाललाई, २० मुरी माटोको जग्गा गिरिधारी उपाध्यायलाई, १० मुरी माटोको जग्गा चामु मरहट्टालाई। बोहोरा व्यासीको २० मुरी माटोको जग्गा महानन्द भट्टराईलाई कुशबिर्ता सड्ढल्प गरेअनुसार दिइएको थियो ।
त्यस्तैगरी राधावल्लभ परलोक भएपछि उनका पाँचै जना सती स्त्रीहरुसहितको किरिया, मासिक, वार्षिक र गयाश्राद्ध गर्न दक्षप्रजापतिलाई गोर्खा छिंछिंसेराको आफ्नो बिर्ताघरसमेत सात रोपनी डिही तल्लो १०० मुरी माटोको खेत संकल्प गरेका थिए । उनका स्त्रीहरुमध्ये अयोध्या र सत्यरुपाले आफ्नो पतिका शिष्य वाणीविलास पाँडेलाई बोहराव्यासीको १४० मध्ये ४० मुरी माटोको जग्गा बिर्ता संकल्प गरिदिएका थिए । त्यस्तै उनका सती ब्राह्मणी अयोध्या, सत्यरुपा, कलावती र इन्दुमतीले कीर्तिपुरको ५० मुरी माटो तथा सुइचाटारको ४० मुरी माटो गरी जम्मा ९० मुरी माटोको जग्गा ठगी ब्राह्मणीलाई कुशबिर्ता सड्ढल्प गरेका थिए ।
राधावल्लभका सतीहरु–वसुमती, इन्दुमती, अयोध्या, सत्यरुपा र कलावतीले जेठानी अर्थात् शक्तिवल्लभकी जेठी श्रीमती तथा आफ्ना जेठी सौताको प्रत्येक वर्ष एकोदिष्ट पार्वणश्राद्ध गर्न सिफुर्याको बिर्ताखेत १।८० सड्ढल्प गरेका थिए । यसबाट राधावल्लभको पहिले अर्की जेठी श्रीमती पनि भएको र उनको पहिले नै मृत्यु भइसकेको देखिन्छ । राधावल्लभका सतीहरुले काशीमा प्रचलनअनुसार अस्तु पुर्याउनको लागि सिद्धिनारायण उपाध्यायलाई दरौदी वालुवाव्यासिको ४० मुरी माटोको जग्गा कुशबिर्ता गरी दिएका थिए ।
त्यत्तिमात्रै होइन दाजु शक्तिवल्लभ अर्ज्यालले भीमढुङ्गामा स्थापना गरेको शिवलिङ्गको नित्य–नैमित्तिक पूजा गर्नको निमित्त भीमढुङ्गामा रहेको ५० मुरी माटोको खेत, ४ रोपनी डिही, देवालयको मर्मत–सम्भारको लागि गोर्खा छिंछिंको सेरामध्ये २० मुरी माटोको जग्गा गरी जम्मा ७० मुरी माटो जग्गा संकल्प गरी उदारताको परिचय दिएका छन् । उनकी सती वसुमतीले वज्रनाथ मिश्रलाई बोहोराव्यासीको ४० मुरी जग्गा कुशबिर्ता दिएकी थिइन् ।
राधावल्लभ अर्ज्यालले गरेका उपर्युक्त कार्यहरुले महत्त्वपूर्ण स्थान राख्दछ । यसदेखि बाहेक पनि उनले अरु कीर्ति राखेका हुनन्, त्यसको खोजीमेली भविष्यमा हुने नै छ । आफ्नो भएभरको श्रीसम्पत्ति यसरी दान–पुण्य र मठ–मन्दिरको स्थापनामा अर्पण गर्ने व्यक्ति थोरै हुन्छन् । अर्ज्यालहरुको वंशलाई उजिल्याउने कार्यमा यसले उल्लेखनीय स्थान राखेको त छँदै छ, साथै नेपालको धार्मिक, सांस्कृतिक इतिहासको लागि पनि उदाहरणीय दृष्टान्त बन्न पुगेको छ ।