मिथक

त्रिदेवले अनुसुयालाई आफ्ना सबै वस्त्र त्याग गर्न भने। त्यसपछि भिक्षा दिन भने। सबै देवी मिलेर अनुसुयाको पतिव्रताको परीक्षा लिने सोच बनाएका थिए। देवीहरूले त्रिदेवलाई ऋषिको रूप धारण गर्न लगाए। अनि अनुसुयालाई भेट्न आश्रममै पठाए। त्रिदेव अर्थात् ब्रह्मा, विष्णु र महेश्वरका पत्नीहरू क्रमश: सरस्वती, लक्ष्मी र पार्वती (देवीहरू) ले ती साध्वी अनुसुयाको ईष्र्या गर्दै आआफ्ना पतिलाई अनुसुयाको सतीत्व डगाउन पठाएका थिए।

ब्रह्मा, विष्णु र महेश्वर तीनैजना जोगीको भेष बनाएर अनुसुया बस्ने आश्रममै पुगे। भिक्षुकहरूले अनुसुयासँग शरीरका समस्त वस्त्र फुकालेर नग्नावस्थामा दिएमात्र भिक्षा स्वीकार गर्ने बताए। पतिव्रताको परीक्षा लिन वस्त्र त्याग्न र भिक्षा दिन भनिएको थियो। उनले पातिव्रत्य धर्मको अमोघ शक्तिका प्रभावले ती साधुभेषमा आएका त्रिदेवको आशय बुझिन्। त्यो आग्रहलाई तार्किक ढंगले व्यवस्थापन गर्दै तीनैजनालाई ‘नवजात शिशु’ बनाइन् र वात्सल्य भावसहित भिक्षास्वरूप स्तनपान गराइन्। स्तनपान गराएको देखेर देवीहरूमा लज्जा र हीनताबोध भयो। तीनैजना देवीले अनुसुया मातासँग माफी मागे। अनि मात्र ब्रह्मा, विष्णु र महेश्वरले नवजात शिशुको स्वरूप त्यागेर वास्तविक रूपमा परिणत हुन पाए।

त्रिदेवले अनुसुयाको पतिव्रताबाट प्रसन्न भएर वरदान माग भने। माताले ‘त्रिदेवजस्तै पुत्र प्राप्त होस्’ भनेर वरदान मागिन्। त्यसैले, ब्रह्मा चन्द्रमाको रूप, शिव ऋषि दुर्वासाको रूप र विष्णु दत्तात्रेयको रूपमा उनका तीन पुत्र हुन पुगे। ब्रह्माण्ड पुराणमा वर्णित कथाअनुसार ब्रह्मा रूप चन्द्रमा, शिव रूप ऋषि दुर्वासा तपस्या गर्न जानुअघि आफ्ना सबै शक्ति दत्तात्रेयलाई दिए। यसैकारण दत्तात्रेयमा ब्रह्मा, विष्णु र शिव सबै समाहित हुन पुगे। दत्तात्रेय उनै माता अनुसुया र पिता अत्रि मुनिका पुत्र हुन्। भगवान् विष्णुको अवतार आज पनि आफ्नो योगका कारण संसारमा उपस्थित छ। भगवान् दत्तात्रेय बिहानीपख ब्रह्माको रूप, मध्याह्नकालमा विष्णुको रूप र बेलुका शिवको रूप धारण गर्छन्।

त्रिदेवले अनुसुयालाई आफ्ना सबै वस्त्र त्याग गर्न भने। त्यसपछि भिक्षा दिन भने। सबै देवी मिलेर अनुसुयाको पतिव्रताको परीक्षा लिने सोच बनाएका थिए। त्रिदेव अर्थात् ब्रह्मा, विष्णु र महेश्वरका पत्नीहरू क्रमश: सरस्वती, लक्ष्मी र पार्वती (देवीहरू) ले ती साध्वी अनुसुयाको ईष्र्या गर्दै आआफ्ना पतिलाई अनुसुयाको सतीत्व डगाउन पठाएका थिए।

दत्तात्रेय भगवान्सँग जहिले पनि एउटा गाई र चार कुकुर हुन्छन्। भगवान् विष्णुले दत्तात्रेयको रूप लिँदा उनको रक्षाका लागि धर्तीमाताले गाईको रूप र चार वेदले चार कुकुरको रूप धारण गरे। दत्तात्रेय भगवान्लाई सुखदाता भनिन्छ। उनको साउन महिनाको सोमबार, पुस महिनाको बुधबार र पूर्णिमाको दिन विशेष पूजाअर्चना गरिन्छ। साउनको सोमबार दत्तात्रेयमा मेला लाग्छ भने पुसमा पनि लाग्छ। साउने सोमबार पूजा गर्दा सन्तान, सुख र ज्ञान प्राप्त, संकट मोचन र रोगव्याध निवारण हुन्छ। पुसको बुधबार पूजाअर्चना गर्दा धन आर्जन, विद्या प्राप्त र मनोकामना सिद्धि हुन्छ। महायोगीका रूपमा चिनिने दत्तात्रेयबाट भक्तिज्ञान, तत्वज्ञान र आत्माज्ञान कसरी प्राप्त गर्न सकिन्छ भन्ने थुप्रै उदाहरण लिन सकिन्छ। दत्तात्रेय भगवान्को प्रसादका रूपमा दहीचिउरालाई लिइन्छ। यो दहीचिउरा अमृतमय प्रसाद हो। नबोल्ने बालबालिकालाई तीनपटकदेखि ६ पटकसम्म दहीचिउरा खान दिए बोल्ने र बाँझोपन भएका महिलाले साउने सोमबारको प्रसाद ग्रहण गरे सन्तान प्राप्त हुने मान्यता छ।

दत्तात्रेयको दहीचिउरा प्रसादले आज विज्ञानलाई चुनौती दिएको छ। मानव सभ्यताको विकाससँगै भगवान्ले मानव सृष्टि गर्दा विज्ञानको पनि आविष्कार गरेको पाइन्छ। भगवान् नै छैनन् भन्ने मानवलाई गहन विश्लेषण गर्न भगवान्कै प्रसाद दहीचिउरालाई विज्ञानले यसरी परिभाषित गरेको छ— दहीचिउरा खाँदा प्रतिरक्षा प्रणालीमा वृद्धि, तनाव घटाउने र मुटुको रोग हुनबाट जोगाउने र योनीमा हुने संक्रमण रोक्ने काम गर्छ। यसैगरी दहीचिउरा खानाले कब्जियत र डाइरिया हुनबाट जोगिन्छ भने आन्द्राको क्यान्सरबाट छुट्कारा मिल्छ। यसको सेवनले प्रजनन प्रणाली र छालालाई स्वस्थ बनाउनुका साथै गर्भवती महिलालाई पनि फाइदा मिल्छ।

भगवान् दत्तात्रेयले सिकेका कुरा मानवलाई जीवनोपयोगी छन्। उनका २४ गुरु छन्। श्रीमद्भागवतको एकादश स्कन्धमा सबै गुरुको वर्णन छ। दत्तात्रेयका २४ गुरु को को हुन् र तिनबाट के के ज्ञान लिन सकिन्छ ? यसलाई यसरी प्रस्तुत गरिएको छ—

पृथ्वी : दत्तात्रेयले पृथ्वीबाट सहनशीलता र अविचलित बन्नुपर्छ भन्ने ज्ञान प्राप्त गरे। मान्छेले पृथ्वीमाथि जति अत्याचार गरे पनि पृथ्वी भने सहनशील र अविचलित भएर उल्टै आश्रय दिइरहेको छ, मान्छे त्यस्तै बन्नुपर्छ।
वायु : दत्तात्रेयले वायुबाट स्वस्वरूपमै रहनुपर्ने र वायुजसरी निरन्तर चलिरहनुपर्ने पाठ सिके। वायुजसरी कुनै कुरामा पनि आशक्त रहनु हुँदैन साथै आफूले पाएकोभन्दा धेरै भोगको इच्छा गर्नु हुँदैन अर्थात् जे छ त्यसैमा सन्तुष्ट रहनुपर्छ।
आकाश : व्यापकता तथा विशालताको पाठ दत्तात्रेयले आकाशबाट सिकेका थिए। चन्द्र, सूर्य, तारा, वायु सबै आकाशको विशालतामा समाहित छन्। तर, आकाशको कुनैसँग पनि सम्बन्ध हुँदैन।
जल : दत्तात्रेयले जलबाट स्वच्छता र माधुर्यको गुण सिके। मान्छेले छलकपट छोडेर स्वच्छ र मधुर भई आफ्नो जीवनलाई सेवा र सद्भावमा समर्पित गर्नुपर्छ।
अग्नि : दत्तात्रेयले अग्निमा जति घिउ थप्यो त्यति बढी बल्दै जाँदो रहेछ भन्ने पाठ अग्निबाट सिके। मानिसले क्रोधरूपी आगोमा घिउ थप्न नहुने सन्देश दिए।
चन्द्रमा : चन्द्रमा कहिले घट्ने र कहिले बढ्ने गर्दैन, जहिल्यै पूर्ण रहन्छ। मानिसको आत्मा पनि अपरिवर्तनशील हुन्छ भन्ने ज्ञान दत्तत्रेयले लिए।

सूर्य : दत्तात्रेयले सूर्यबाट किरण फिँजिए पनि निर्लिप्त नहुने ज्ञान सिके। हामीले पनि अरूलाई शिक्षाको उज्यालो बाँड्दै हिँड्नुपर्छ तर पनि निर्लिप्त हुनु हुँदैन।
परेवा : पोथी र बचेरा जालमा परेको देखेर बचाउन नजिक जाँदा परेवा व्याधाको जालमा परेको देखेपछि दत्तात्रेयले परिवारमा लुब्ध हुन नहुने पाठ सिके।
अजगर (अजिंगर) : एउटै स्थानमा बसिरहने अजिंगर दैवसंयोगले जे पाउँछ त्यसमै सन्तुष्ट हुन्छ। धेरै आकांक्षा र अभिलाषा राख्दा मानिस असन्तुष्ट हुने भएकाले जे आफूसँग छ, त्यसैमा सन्तुष्ट हुनुपर्छ भन्ने पाठ उनले सिके।

सिन्धु : सिन्धु अर्थात् समुद्रमा अनेक जल मिले पनि ऊ कहिल्यै जलायमान हुँदैन, न त आफ्नो सीमा र मर्यादा त्याग गर्छ। दत्तात्रेयले समुद्रझैं गम्भीर भएर सोचेर मात्र काम गर्नुपर्ने बुझे।
पुतली : दत्तात्रेयले राम्रो कुराबाट मोहित भएर बत्तीमा होमिँदा प्राण जान सक्ने कुरा पुतलीबाट सिके।
मौरी : मौरीले रस बटुलेर जसरी घार भर्छ, त्यसरी नै परिश्रमी बन्नुपर्ने पाठ दत्तात्रेयले सिके।
हात्ती : दत्तात्रेयले हात्तीबाट स्त्री जातिमा लिप्त हुँदा दु:ख पाइन्छ भन्ने कुरा सिके र हामीलाई त्यसमा सजग हुने पाठ सिकाए।
भमरो : भमरो फूलमा बसेर गुलियो चुस्नेबित्तिकै उडिहाल्छ त्यसैगरी गुलियो वा रमाइलोमा भुल्ने होइन, त्यसको सार लिएर हिँडिहाल्नु पर्छ नत्र जालमा पर्न सकिन्छ, दत्तात्रेयले भमरोबाट यही सिके।

हरिण : दत्तात्रेयले हरिण अर्थात् मृगबाट मनोरञ्जनमा लिप्त हुन थाल्यौं भने मृगको जस्तो हालत हुने बुझे।
माछो : दत्तात्रेयले माछोबाट सानो कुरामा लोभ गर्दा ज्यानै जानसक्ने पाठ सिके। भ्रष्टाचार गर्नेहरू अहिले माछाझैं बल्छीमा पर्दैछन्।
पिंगला : दत्तात्रेयले पिंगलाबाट सधैं आशामा रहनुभन्दा नैराश्य पनि फलदायक हुने कुरा सिके। जब मानिस निराश हुन्छ, ऊ आत्मज्ञानतिर बढ्छ र त्यसबाटै साँचो खुसी प्राप्त हुन्छ।
कुमारी : कुमारीबाट दत्तात्रेयले एक्लै हुने गुण सिकेका छन्।
कुकुर र चखेवा : दत्तात्रेयले कुकुर वा चखेवाले एउटा मासुको टुक्रो च्याप्दा अनेक कुकुर वा चखेवाले लखेट्ने र हमला गर्ने हुन्छ भन्ने सिके। उसले मासु छोडिदियो भने उसलाई शान्ति मिल्छ। अर्थात् मानिसलाई पनि त्यागमै शान्ति मिल्छ।

बालक : उपयुक्त वा अनुपयुक्त समयमा पनि आनन्द रहने र चिन्ताबाट मुक्त हुने शिक्षा उनले बालकबाट सिके। किनकि बालक सधैं आनन्दमा रमाइहन्छ।
लोहकार (फलामको भाडा बनाउने) : लोहकारबाट दत्तात्रेयले आफू लागेको काम तन्मयपूर्वक एकाग्र भएर गर्नुपर्ने र त्यसले सफलता दिने कुरा सिके।
सर्प : सर्प, मुसा र गँगटा आदिले बनाएको प्वाल अथवा घरमा बसेर जीविका चलाउँछन्। घरका लागि चिन्ता गर्दैनन् र घरप्रति मोह नहोस् भन्ने पाठ उनले उनीहरूबाट कुरा सिके।
माकुरो : माकुरोबाट दत्तात्रेयले सृष्टि र संहार गर्ने ईश्वरको स्वभाव बुझे। संकल्प र विकल्पले आफ्नो विनाशको जाल आफैं बुन्छौं भन्ने पाठ सिके।
कोमलकोटी : कुनै पनि कीरालाई कोमलकोटीले लगेर आफ्नो गुँडमा बन्द गरी राख्छ र त्यो कोमलकोटी नै बनेर उड्छ। दत्तात्रेयले कोमलकोटीबाट चितायो भने असम्भव भन्ने कुरा नै छैन भन्ने पाठ सिके।

विगतको नेपाली समाजमा गुरु थाप्ने चलन थियो। अहिले गुरुलाई ‘हाई’, ‘हेलो’ गर्ने जमाना छ। पछिल्लो पुस्ता कसैलाई गन्दैन। मजति जान्ने कोही छैन भन्ठान्छ। तर दत्तात्रेयले हेला गरिएका समाजमा पात्रदेखि पशुपक्षीसम्मबाट जीवन सिके, जगत हल्लाए। २१औं शताब्दीको अत्याधुनिक समय नै सही, मानिसले दत्तात्रेयबाट पाठ सिकेर सभ्य र सुसंस्कृत जीवन जिउन सक्दैन र ?


Your Views
Related News