‘लकडाउन’ घोषणा हुँदा केही दिन भन्दै मन बुझायो कृष्णमोहनले। विकल्प नभएपछि ट्याक्सीमा परिवारै गाउँ गयो। चालक अरू पनि थिए गाउँ फर्किने। गाउँमा बसोबास भएका केही मानिसले सहर छाडे।

कृष्णमोहनको गाउँ घुमाइ नमज्जा भएन। फोन गर्दा निःशुल्क बज्ने कोरोना सन्देश झन् गज्जब मान्यो। सन्देश सुन्न पनि आफ्नाले आफ्नैलाई घन्टी बजाए। सरकारले जारी गरेको सामाजिक दूरीको आदेश पनि रमाइलोको माध्यम बन्यो।
‘ऊ सहरबाट कोरोना आए’, केही गाउँलेले जिस्क्याए।
‘ओइ कोरोना ! नजिक नआइज है’, एकले अर्कोलाई घचेटे।
‘दुई मिटर है, दुई मिटर’, हातमा लट्ठी लिएर नजिक आएकालाई घोच्दै जिस्किए कोही।
‘फलानो विदेशबाट कोरोना बोकेर आएको छ रे !’, चियोचर्चो गर्नेहरू घुमिरहन्थे।

हेर्दाहेर्दै गाउँकै स्कुल क्वारेन्टाइन स्थल बने। विदेशबाट आएकालाई त्यहीँ राखियो। गाउँमा दुईचार दिन खुब रमाइलो गरे, डर कम हँसिमजाक बढी भयो।
कृष्णमोहनका परिवारले शक्ति बढाउन बेसार पानी, जीरा पानी, कागती पानी सुनेजति सबै थोक खाए। भुटेको धनियाँको धुलो प्रयोग गर्न थाले, चियापत्तीको साटो। बोझोको टुक्रा मुखमा हालेर चुसेनन् कि !

गाउँपालिकाले दिएको राहत दस किलो चामल, पाँच किलो दाल, तीन लिटर तेल, बेसार, मसला, कृष्णमोहनले पनि ल्यायो। खसी काटे, गाउँलेले बेमौसममा दसैं मनाए। भारतबाट फर्किनेहरू महाकाली नदीमा हामफालेर नेपाल पसेको समाचार हेरेर सरकारलाई एक झमट गाली गरे गाउँलेले। गाउँमा कसैले मास्क पनि लगाइटोपले। साबुन किने, केही दिन मिचिमिची

हात धोए पनि। सहरमा ‘लकडाउन’ उल्लंघन गर्नेलाई पुलिसले ठिंगुर्‍याएको देखेर दंग परे।
‘बेलैमा गाउँ आएर बुद्धि पुर्‍याइएछ !’, कृष्णमोहनले चिया पसलमा भन्यो।
‘सहरमा खान नपाए गाउँ सम्झिन्छौ’, चियापसलेले मुखभरिको जवाफ दियो।

‘आफ्नो घर, खेतबारी यहीँ छ, नआएर कहाँ जानु बुढा ?’, कृष्णमोहनले प्रतिकार गरे पनि ट्याक्सीको किस्ता र ब्याजको चिन्ताले मन भत्भती पोलिरहेको थियो।
छट्पटिएर गाउँको खुला ठाउँमा पार्किङ गरेको ट्याक्सी हेर्न आइपुग्थ्यो ऊ। पुछपाछ गथ्र्याे अनि स्टार्ट गरेर एकछिनपछि फर्किन्थ्यो।
कृष्णमोहनको बिहानबेलुकाको छाक किनेरै टार्नु पथ्र्यो। सबै कुरा जोरजाम पार्दा झन् धेरै खर्च भयो। सरकारी राहत पनि स्वाहा !

‘लकडाउन’ थपियो। गाउँ फर्किएकाहरूको रमाइलो कम हुन थाल्यो। कृष्णमोहनको खल्ती रित्तियो। गाउँमा कोरोना संक्रमित पनि देखिए। मास्क च्यातियो। काठमाडौंमा २५ रुपैयाँमा किनेकै हुलियाको मास्कलाई तीन सय तिर्न पर्‍यो गाउँमा त झन्।

‘लकडाउन’को अवधि थपिएपछि चालकहरू झन् गम्भीर भए, छलफल त्यस्तै।

‘गाउँपालिकामा पास मागेर काठमाडौं नै फर्किने हो कि के हो ?’, कृष्णमोहनले सल्लाह माग्यो।
‘तेरो ससुरो छ गाउँपालिकामा… ! गएर के गर्छस्, ट्याक्सी चलाउँछस् ?’, ६०६१ को चालकले बेस्मारी झपार्‍यो।

कृष्णमोहनको निद्रा हरायो। पानी पिइरहन्थ्यो। कोरोनाबाट होइन, कोठाको भाडा, छोराछोरीको स्कुलको फी, बैंकमा तिर्नुपर्ने गाडीको किस्ताको रकमले झस्कियो।

‘हामीलाई मात्रै परेको हैन, सबै मान्छेलाई कति घाटा लागेको छ ! अरूलाई हेरेर मन बुझाउनु न’, पिरोलिएका श्रीमान्लाई श्रीमतीले सम्झाउन खोजी। केही खुकुलो भयो ‘लकडाउन’। परिवार छोडेर राति नै काठमाडांै हानियो कृष्णमोहन।
सहर पस्दाको खुसी साट्न नपाउँदै ऊ खस्रक्क भयो। ट्याक्सीको स्टार्ट बन्द भयो। ठेलेर छेउ लगायो। मोबिल÷पानी चेक गर्‍यो। सबै ठीक थियो। जानेजति गर्‍यो तर स्टार्ट भएन। सधैं बनाउने गरेको मिस्त्रीको फोन पनि उठेन।

रात पर्‍यो। सबैतिर सुनसान भयो। आफ्ना बाध्यता पुलिसलाई बतायो। झुपुक्क निद्रा नलागुन्जेल ट्याक्सी धकेल्यो। भक्तपुरको ठिमी आइपुगेछ ! ट्याक्सीमा भोकै सुत्यो। बिहान ठिमीको गल्लीमा चिया पसल खुल्यो। चिया र बिस्कुट खायो। रात परुन्जेल पख्र्याे, ट्याक्सी धकेलेर ग्यारेज पुर्‍यायो। भोलिपल्ट साँझ कोठा जान लाग्दा पुलिसले एक घण्टा नियन्त्रणमा लियो।
‘कोठामै क्वारेन्टाइनमा बस्नू’, पुलिसले धम्क्यायो। गाउँमा भए बोल्ने मान्छेहरू हुन्थे। सहरमा एक्लो भयो। झन् निराश !

‘यस्तो संकटमा पनि उधारो !’, सधैं सामान किन्ने पसलले सामान दिएन। खाना खाने होटल बन्द थियो। केही पार्टी प्यालेसमा कहिलेकाहीँ खान खुवाउने कुरा सुन्यो। ऊ लाइन लाग्यो। उसको घरबेटीले लाइन नलागी खानाको प्याकेट पायो।

महिना पुग्नु पाँच दिनअघि नै बैंकले हरेक दिन किस्ता तिर्ने म्यासेज पठाउँथ्यो। म्यासेजलाई थाहा नपाएझैं गर्‍यो उसले आज पनि।

घरबेटी भाडा माग्न आएको रात उडुसले टोकेर सुत्नै सकेन। आफ्नै ओछ्यान खुब बिझायो। पसिना पसिना भयो। राति नै उठेर ओछ्यानभरि मेटासिट छर्कियो। बिहानपख आँखा झुपुक्क लागेछन्। बिउँझिँदा घाँटी दुख्यो। ज्वरो पनि आयो। कृष्णमोहनको सात्तो गयो। डराउँदै डराउँदै ग्यारेज पुग्यो। हालखबर सोध्ने कोही थिएनन्। ग्यारेजमै झोक्राएर बस्यो। दस बज्नेबित्तिकै बैंकबाट फोन आयो। ट्याक्सीको किस्ता तीन महिनादेखि रोकिएको थियो। फोन गर्ने बैंककी कर्मचारीलाई दिने जवाफ भेटेन।

अचानक टाउको दुख्यो उसलाई। रिँगटा लाग्यो। आँखा तिरमिराए। ‘दुईवटा थिनआरारोट बिस्कुट देऊ देऊ श्याम दाइ, पैसा छैन है पछि दिन्छु’, पसलेले पैसा माग्दामाग्दै कुरै नसुनी ऊ ग्यारेजतिर लाग्यो। आफू भोकै भए पनि बिस्कुट कुकुरलाई खुवायो।

नखाएको दुई दिन भइसकेको थियो। झुस्स दाह्री फुलेको अनुहार ट्याक्सीको ऐनामा हेर्‍यो। अनुहार कालो देख्यो। लुगा मैलो भएछ ! ट्याक्सीलाई प्रेमले सुम्सुम्यायो।
उसको मुटुको चाल छिटो चल्यो। ग्यारेजबाट निस्कँदा कुकुर पछिपछि लागे। त्यही बाटोमा थुचुक्कै बस्यो ऊ। दुवै कुुकरको घाँटीमा कन्याइदियो। दुइटै कुकुरले चाटे, निधार, जीउ र मुखतिर।

कुकुरलाई फेरि ग्यारेजमा पुर्‍याएर फर्कियो। दुइटै कुकुर ‘कुइँकुइँ’ गर्दै कराए। सुनसान सहर हेर्दैहेर्दै कोठाबाट ग्यारेज फर्कियो। धकेलेर ट्याक्सी ग्यारेजबाहिर सडकमा ल्यायो। चालक सिटमै बस्यो। बोत्तलको मेटासिट सबै घुट्क्यायो।

कुकुर ‘कुइँकुइँ’ गर्दै कराए। सबैतिर चाटे, मुखबाट निस्किएको सेतो फिँज पनि। कृष्णमोहनले लामो, निकै लामो मौनता रोज्यो। हो, सरकारलाई एक शब्द पनि गाली नगरी उसले ट्याक्सीभित्रै आफूलाई कहिल्यै नउठ्ने गरी सुताइदियो।

READ MORE NEWS

काठमाडौँ उपत्यकामा संयुक्त सुरक्षा योजना लागू गर्ने तयारी

काठमाडौँ, २४ असोज: काठमाडौँ उपत्यकाको तीन जिल्लाले सुरक्षा योजना बनाए पनि त्यसलाई एकीकृत गरेर संयुक्त सुरक्षा योजना बनाउने तयारी गरिएको छ । उपत्यका प्रहरीको नेतृत्व गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार तीनै जिल्लाका प्रमुखलाई योजना बनाएर पेश गर्न निर्देशन दिइसकिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले भने सुरक्षा योजना पेश गरिसकेको छ । अन्य जिल्लाबाट समेत आउने क्रममा छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले तीनै जिल्लालाई सुरक्षा योजना बनाए पेश गर्न भनिएको जानकारी दिए । “छलफल गरेर एक-दुई दिनमै योजना लागू गर्ने तयारी छ, पोखरेलले भने, “चाडपर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गर्ने, शान्ति सुरक्षा मजबुद गराउने, कोभिड–१९ को सङ्क्रमण फैलन नदिने गरी योजना बन्ने छ ।”

उनले प्रहरीको व्यवहार र इमान्दारितामा नचुक्ने गरी रणनीति तयार गर्न निर्देशन दिइएको जानकारी दिए । लोभलाभमा नपरी काम गर्न र प्रहरीको व्यवहारबाट नागरिकको आत्मसम्मानमा चोट नपुगोस् भन्ने ढङ्गले अघि बढ्न उपत्यकाका प्रहरी सचेत गराइएको छ ।

मुख्यगरी नेपाल प्रहरी यसपालि चाडका बेला अप्रिय घटना रोक्न, लोभलाभमुक्त सेवा प्रवाह गर्न, व्यवहारमा नचुक्न र कोभिडबाट सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्नमा नै केन्द्रित हुने पोखरेलले बताए । उनले यसपालि दशैंँको समयमा प्रहरी कर्मचारी घरमा जानसक्ने अवस्था नरहेकाले तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि खानपानमा समेत विशेष व्यवस्था गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिइएको बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना तयार पारिसकेको छ । जिल्लामा लागू गरिए पनि संयुक्त सुरक्षा योजना लागू गर्न बाँकी रहेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । उनका अनुसार यसपालि विगतको सुरक्षा योजनामा थप गर्दै कुकुरसमेत परिचालन गर्न थालिएको छ ।

आवश्यकतानुसार ड्रोनको समेत प्रयोग गर्न लागिएको छ । सवारीका यात्रु ओर्लने-उक्लने क्षेत्रमा नियमित जाँच थालिएको छ । आवश्यकतानुसार सादा पोशाकमा प्रहरी परिचालन हुनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले समेत चाडबाड केन्द्रित सुरक्षालाई ध्यानमा दिँदै निगरानी बढाएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । सोही अभियानअन्तर्गत बढी भाडा लिने गरी टिकट काट्ने यातायात काउन्टरका कर्मचारीलाई नियन्त्रणमा लिएर कारवाही थालिएको छ


Your Views
Related News