मुटु शरीरको एक महत्वपूर्ण अंग हो । मुटु जोगाउन मानिसहरुले अनेकौं तरिकाहरु अपनाउने गरेको पाइएको छ । तर साना साना कुराले पनि मुटुमा असर गर्न सक्छ । हामीले सामान्य भनिने बानीले पनि मुटुको क्षमतामा ह्रास आउन सक्छ । आज हामी तपाईलाई यो जानकारी गराउँदै छौं कि जुन हाम्रा केहि सामान्य नराम्रा बानीले मुटु बिग्रन सक्छ ।

धुमपान गर्नु
चुरोट सेवन गर्नु मानवस्वास्थ्यका लागि हानिकारक हो भन्ने प्राय: सबैलाई थाहा छ । विशषगरी यसले मानिसको फोक्सोमा असर गर्ने भनेर भनिन्छ । यसले फोक्सोमा मात्र असर गर्दैन कि मुटुका लागि घातक नै मानिन्छ । धुमपानका कारण रगत मुटुसम्म पुग्नलाई बाधा पुर्‍याउँछ ।

मदिरा सेवन गर्नु

सामान्यतया: कम मात्रामा रक्सी सेवन गर्दा स्वास्थ्यमा खासै असर नगर्ने बताइए पनि अत्यधिक सेवन भने यसको शत्रु नै हो । अत्यधिक मदिरा सेवनले उच्च रक्तचाप उत्पन्न गराउँछ जसले मुटुमा समस्या ल्याउँछ ।

धेरै आराम गर्नु

घन्टौं आराम गर्ने बानीले हृदयघात र मुटु रोगको समस्या उत्पन्न गराउन सक्छ । धेरै समय आराम गर्ने मानिसलाई नियमित शारीरिक व्यायामले पनि फाइदा पुर्‍याउँदैन । सोफा या अन्य कतै लामो समय आराम गर्ने बानीले  नियमित रक्तसंचारमा प्रभाव पार्न सक्छ ।

जंग फुड खानु

मुटु रोगको प्रमुख कारण भनेको बढी मात्रामा जंक फुड सेवन गर्नु । जंक फुड सेवन गर्ने बानीले सागपात र अन्य फलफूल तरकारीमा मन नजानु हो । तर मुटुका लागि फलफूल र सागपात एकदमै लाभदायक हुन्छ । त्यसकारण चिकित्सकहरुका अनुसार जंक फुड सेवन पनि मुटु रोगको एक कारण हो ।

शारीरिक व्यायाम नगर्नु

स्वस्थ शरीरका लागि नियमित व्यायाम जरुरी हुन्छ । अझ मुटु रोगीहरुका लागि त शारीरिक व्यायाम नगरी हुँदैन । दैनिकरुपमा व्यायाम गरेका रक्तसंचारका नलीहरु सक्रिय हुन्छन् र मुटुमा रगत प्रसारण हुन कुनै पनि अवरोध पुर्‍याउँदैन । शारीरिक व्यायाम नगर्नु पनि मुटुका लागि हानिकारक मानिँदै आएको छ ।

READ MORE NEWS

वैकल्पिक राजनीति खोज्दाखोज्दै फुत्त उपन्यास !

२४ असोज, काठमाडौं । दासहरुको कथामा आधारित उपन्यास ‘मोक्षभूमि’ लिएर यसै सातादेखि साहित्याकाशमा झुल्किएका केशव दाहालको अघिल्लो पहिचानचाहिँ राजनीतिकर्मी अर्थात् नेता हो । राजनीतिका अभियन्ता दाहाल एकाएक ‘मोक्षभूमि’ उपन्यास लिएर साहित्यको बजारमा आएका छन् ।

सुनसरीमा रहँदा दाहाल सुरुमा नेकपा एमालेका जिल्ला नेता थिए । पछि उनले डम्बर खतिवडा, मोहन तिम्सिना आदिसँग मिलेर ‘वैकल्पिक शक्ति’ बनाए । इटहरीमा केन्द्रित त्यो वैकल्पिक शक्ति डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा समाहित भयो । पछि, दाहाल रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीमा लागे ।

राजनीतिमा लागेका बेलामा पनि समसामयिक विषयमा कलम चलाइरहने दाहाल यहीवीचमा पहिलो उपन्यास बोकेर साहित्यको तलाऊमा ढुंगा हान्न आइपुगेका छन् ।

विगतदेखि नै अध्ययन–लेखनसँग प्रत्यक्ष जोडिए पनि साहित्य लेखन दाहालका लागि नयाँ अभ्यास हो । आफूलाई वैकल्पिक राजनीतिका अभियन्ता दाहाल ‘मोक्षभूमि’ उपन्यासमा मध्यकालको खस राज्यमा भएको मोक्षयात्राको कथा समेटेका छन् ।

यसै सन्दर्भमा दाहालसँग नयाँ उपन्यास र साहित्यकर्ममाथि केन्द्रित रहेर अनलाइनखबरका लागि निर्भीकजंग रायमाझीले गरेको कुराकानी यहाँ प्रस्तुत छ :

तपाईंभित्र लेखनको सुरुवात कसरी भयो ?

स्कुलमा म कथाकविता लेख्थें । दश कक्षा पुग्दा राजनीतिले प्रभावित गर्‍यो र समकालीन साथीहरू मिलेर नाटक गर्न थाल्यौं । ती नाटकमा सामन्त र गरिबको संघर्षको कथा हुन्थे । हामी ‘डाइलग’ आफैं तयार पाथ्र्यौं।

धरानमा क्याम्पस पढ्दा ‘चट्याङ’ भन्ने पर्चा कविता निकाल्थ्यौं । यसरी कुनै न कुनैरुपमा म लेखनसँग जोडिँदै गएँ । पञ्चायतको विरोधमा स्थानीय युवासँगै मिलेर कविता आन्दोलन पनि गर्‍यौं । त्यसबेला उपलब्ध हुने रुसी, चिनियाँ र भारतीय प्रगतिशील साहित्य सहजै पढ्न पाइयो ।

काठमाडौं आएपछि बढी राजनीतिक बहस र लेखमा केन्द्रित भएँ । साथीहरूले साहित्य लेख्नुपर्छ, तिम्रो लेखहरूमा आख्यानको झल्को पाइन्छ भने । यसपछि मैले केही वर्षयता साहित्य लेख्न थालेको छु । अहिले मसँग अप्रकाशित कथा, कविता निकै संख्यामा छन् । ‘मोक्षभूमि’ लेख्दा भने तीन वर्ष लाग्यो ।

तपाईको पहिलो उपन्यास ‘मोक्षभूमि’ नाम सुन्दा पाठकलाई धार्मिक कथा उठाएजस्तो आभास हुँदैन ?

धार्मिक होइन, आध्यात्मिकचाहिँ हो । मैले स्वर्ग, नर्कको कुरा गरेको छैन । तर, कथाबाट हामीले लोभ, मोहजस्ता उल्झनबाट माथि उठ्नुपर्छ भनेको हुँ । राज्य, राजनीति पनि त उल्झन हो । यी सबैको समीश्रणमा जीवनलाई चिहाउने प्रयत्न गरेको हुँ ।

हामी आज जहाँ आइपुग्यौं, हाम्रा पछाडि पूर्खाले कति अनन्त बाटो हिँडे होला ! कसरी मान्छेले यति अप्ठेरा पार गरेर यहाँसम्म आइपुग्यो । यी सबै सोच्न थालेपछि म अचम्ममा परें । अनि विगत र आगतको बीचको बिन्दुमा टेकेर ‘मोक्षभूमि’ लेख्न थालें ।

खस साम्राज्यको एउटा निरंकुश चक्रवर्ती सम्राट जो युद्ध गर्न असाध्यै लालायीत छ ।  सम्पूर्ण चिज छोडेर बुद्धधर्ममा जान्छ । त्यो सबै हुने कारण के हो भने ऊ मुक्त हुन चाहन्छ । मान्छेको मनलाई सानासाना कुराले प्रभावित भएर ऊ सत्यको बाटोमा कसरी हिँड्न तत्पर हुन्छ भन्ने कुरा उठाएको छु ।

दासमुक्तिको प्रसंग रहेछ उपन्यासमा । अहिले पनि पुँजीवादले पनि दास नै उत्पादन गरिरहेका छन् भनिन्छ नि ?

हिजो समाजमा दास र मालिकको भयावह अवस्था थियो । त्यसविरुद्ध एउटा युगले ठूलो संघर्ष गर्‍यो । अहिलेको आधुनिक समयमा नयाँ प्रकृतिका दास र मालिक छन् । यो अवस्था बदल्न मान्छेले फेरि संघर्ष नै गर्छ । मान्छेको सभ्यता नै संघर्षको सभ्यता हो । आफ्नो मुक्ति र मानव स्वतन्त्रताको लागि संघर्ष नभई केही पुरा हुँदैन । यसैले हामी संघर्षकै निरन्तरतामा छौं ।

तपाईं राजनीतिकर्मी भएकाले यो उपन्यास राजनीति र इतिहासमा केन्द्रित भएको हो ?

कल्पना गर्न पनि एउटा जग चाहिन्छ । अमेरिकाको एउटा युवाले गर्ने कल्पना र नेपालको युवाले गर्ने फरक छ । चीनको एउटा लेखकले सोच्ने कुरा र नेपालको  लेखकले सोच्ने कुरा फरक छ । यसैले कल्पनाको भरमा मात्र उपन्यास लेखिँदैन । आफ्नो परिवेशले लेखनलाई प्रभाव पार्छ ।

मेरो जमिन ‘राजनीति र समाज’ हो । मलाई राजनीतिक लेख मन पर्ने, आफैं पनि राजनीतिक विश्लेषण लेख्ने भएकाले कथामा राजनीति जोडिएको हो । मेरो ज्ञानको दायरा हाम्रै सामाजिक गतिविधिबाट बनेको छ । यही कुरा मेरो शक्ति हो ।

तपाईंको उपन्यासको गहन छ । तर, यसले अहिले युवालाई कम प्रभाव पार्नेजस्तो देखिँदैन ?

युवाहरूले गम्भीर विषय पढ्दैनन् भन्ने कुरा परम्परागत हो । मलाई त आजका युवा गम्भीर छन् भन्ने लाग्छ  । आजका युवाले जीवनका मूल्य–मान्यतामा, दर्शन, समाजविज्ञान आदिमा सतही ज्ञान राखेर मात्र हुँदैन । आजको पुस्ताले यी सबै कुरा पढेर आफ्नो शैलीमा बोध गर्न जरुरी छ  । म चाहन्छु, आजको पुस्ताले गहन पुस्तकहरू, ऐतिहासिक आख्यान पढ्नुपर्छ । आफ्नो इतिहासको जग बुझ्नुपर्छ ।  दुई÷तीन दिन चिया पसलमा भएको कुरा रेकर्ड गरेर सुनेजस्तो होइन नि आख्यान । आख्यान पढ्दा थाहै नपाइकन धेरै कुराको ज्ञान हुन्छ ।

समाज बहुआयामिक छ । यसलाई एउटै विधाबाट सम्बोधन गर्न गाह्रो पर्छ । मेरा निम्ति आफ्नो कुरा खुलस्त भन्न सक्ने विधा कथा हो । अनि, इतिहास र वर्तमानका घटनालाई कलात्मक ढंगले अभिव्यक्त गर्न आख्यान नै उपयुक्त विधा हो भन्ने लाग्छ मलाई ।

पहिलो आख्यान नै इतिहासजस्तो गहन विषयबाट सुरु गर्दा अप्ठेरो भएन ?

‘मोक्षभूमि’ ऐतिहासिक उपन्यास होइन । मैले इतिहासको घटनाहरूसँग जोडेर लेख्ने प्रयत्न गरेको होइन । बरु मेरो प्रयत्न हाम्रो सभ्यता कसरी विकास हुँदैहुँदै आयो भन्नेबारे खोजी हो ।

सभ्यताको धेरै पुरानो पृष्ठभूमिमा जान मेरो ज्ञानका आफ्नै सीमाहरू थिए । यसैले मध्यकालबाट आउँदा सजिलो हुन्छ भनेर सिँजाको खस (मल्ल) साम्राज्यसँग जोडेर हाम्रो समाज कसरी आयो भन्नेबारे लेखेको हुँ । त्योबेलाको (मध्यकाल, मल्लकाल) समय कस्तो थियो, त्यो समयको सत्ता कस्तो थियो त्यसैको कथा हो ।

१२ औं शताब्दीको  सामाजिक–राजनीतिक परिवेश भएको आख्यान लेख्ने आधार कसरी लिनुभयो ?

मैले यो लेख्दा केही ऐतिहासिक तथ्यहरू हरें । तर, मलाई के लाग्छ भने, इतिहास र कथा मिसाउनु हुँदैन । भोलिको पुस्ताले यो कथा हो कि इतिहास भनेर झुकिन्छ । यद्यपि, मैले पूर्ण कथा बनाउन खोजेर लेख्दा कथाले इतिहासको मध्यकालमा टेकेको छ । मध्यकालबाट हामी कसरी अगाडि बढ्यौं भनेर देखाउन खोजेको छु  ।

विद्यालय, विश्वविद्यालयमा हामीले खस साम्राज्यको इतिहास पढेका हुन्छौं । यहाँको कथा कगेको भूगोलको भ्रमण गरेको छु । जस्तो– हामीले हिन्दु भन्छौं, तर त्यतिबेला सनातन वैदिक धर्म भनिन्थ्यो । यसैले इतिहासको पुञ्जमात्रै मेरो उपन्यासमा छैन । इतिहासमा टेकेर मानव सभ्यताको कथा निर्माण गरेको हो ।

नेपालको पश्चिम क्षेत्रमा भएका राजा रजौटा सनातन धर्म मान्थे । बुद्ध धर्मसँग निकट रहेको मोक्ष, मुक्तिको बाटोमा उनीहरूको रुची थियो त ?

खस शासकहरूले पनि बुद्ध धर्मतर्फ आकर्षण देखाएका छन् । खस साम्राज्यका अशोक चल्ल त बुद्धका विचारसँग नजिक थिए । समग्रमा खस साम्राज्य त निकै ठूलो थियो नि ।  सुर्खेतमा काँक्रेबिहार छ । यी कुरा इतिहाससँग प्रत्यक्ष जोडिएको छ । मेरो उपन्यासले त इतिहासको जगमा टेकेको मात्र हो त्यसको सहीसत्य घटना केलाएको छैन । त्यस भूगोलको कथा भएपनि यो सबै भूगोलको मान्छे र शासकहरूको चरित्रसँग मिल्ने खालको छ ।

सरल भाषामा आफ्नो उपन्यास के लेख्नुभएको छ बताइदिनुस् ।

मान्छेको गरिमा, मान्छेको सपना र मान्छेसंघर्ष लेखेको छु ।मान्छेलाई स्वतन्त्रताको महत्त्व कति छ भन्ने कुरा कथाद्वारा स्थापित गर्न खोजेको छु ।  यस्तो कथा भन्न मैले मध्यययुगीन समय र दासहरूलाई आधार लिएँ ।  तर, मेरो आह्वान आजका मान्छेलाई हो ।

आजका मान्छेलाई तिमी दास नबन, तिमी त स्वतन्त्र आकाशमा उड्न सक्नुपर्छ भनेको हुँ । हरेक मान्छे स्वतन्त्र भयो भने उसले मानवको गरिमा राख्न सक्छ । मान्छेको स्वायत्ततामा नै उसको अस्तित्व पनि बचेको हुन्छ । गरिमाविहीनमान्छे त पशुजस्तो हुन्छ ।

स्वतन्त्रताको महत्त्व देखाउने क्रममा गुमनाम कुनामा अलपत्र परेका आदिमान्छेहरुको कथा, गाथा र गरिमालाई मोक्षभूमिमा उनिएको छ । यो एउटा खास समय, सत्ता र सपनाको कथा हो ।

समाजको संरचना नै विभेदकारी छ, यस्तो संरचनामा कसरी मान्छे स्वायत्त हुन सक्ला ?

मान्छेको सभ्यतामा स्वतन्त्रता र मानवीय गौरवका लागि भएको लडाइँ जुगौंजुगदेखि कायम छ । मानव सभ्यता निमार्णको लागि जुगौं अगाडिदेखि युद्ध, महायुद्ध भएको छ । हामी नभएपनि धेरैकालसम्म यो  क्रम चल्छ । यसैले  लेख्ने, बोल्ने, राजनीति गर्ने काम निरन्तर भइरहने रहेछ  । संरचना फेरिन लामो समय लाग्छ । त्यसका लागि गरिएको संघर्षको कडी पुस्तौंपुस्ताले लेख्नुपर्छ । पुस्तौंपुस्ताले कलासाहित्य सृजना गर्नुपर्छ । अनिमात्र मानव सभ्यता अझ बलियो गौरवपूर्ण हुन जान्छ ।

साहित्यमा लेखेको कुरा तपाईंले राजनीति गर्दा चाहेजस्तै हुन्छ र ? आदर्श र व्यवहार त आपसमा मिल्दैनन् नि ?

यो सत्य हो । हरेक लेखकको आफ्नो बाह्य संलग्नता हुन्छ । मलाई के लाग्छ भने लेखक लेखक स्वतन्त्र बन्न सकेन भने राम्रो लेखन हुँदैन । मैले हरसम्भव स्वतन्त्र बन्ने प्रयास गरेको छु । मेरो राजनीतिक संलग्नताले म संकुचित हुन सक्छु । तर, एउटा लेखक सम्भव भएसम्म स्वतन्त्र हुनैपर्छ।

लेखकको दिमागमा धर्मको जड छ भने ऊ लेखक होइन पुरेत बनेर निस्कन्छ । लेख्नबस्दा राजनीतिमात्र सोच्छ भने ऊ कार्यकर्ता बनेर देखा पर्छ। आदर्शजीवनका लागि एउटा प्रतिबद्ध लेखकले चुनौतिहरू सामना गर्नैपर्छ ।


Your Views
Related News