प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड –१९ रोकथाम र नियन्त्रण गरी जनताको जीवन रक्षामा सरकारको मुख्य ध्यान रहेको जनाउँदै औषधिमय नेपाली भान्साको परम्परा र ज्ञानलाई थप खोज र विस्तार गर्न आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समिति (एनआरएनए) को दोस्रो ज्ञान सम्मेलनको भर्चुअल रुपमा शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आयुर्वेदिक र एलोप्याथिक दुवै क्षेत्रको सहयोगबाट कोरोनाविरुद्धको लडाइँ लडिएकाले नेपालका बहुमूल्य जडिबुटी र भान्सामा प्रयोग भइरहेका औषधिमय गुण भएका चिजको प्रयोग बढ्दो रहेको उल्लेख गरे ।
उनले भने, ‘हाम्रा ज्ञान, अनुभव र सीपको प्रयोगको विकास गर्न थप खोज र अनुसन्धान गर्न आवश्यक छ । महामारीसँग लड्दै गरेको स्थितिमा पनि आर्थिक समृद्धिका लागि आशाका केही किरणहरु देखिने गरी विकासको गति हासिल गर्दै गएका छौँ । यसमा गैरआवासीय नेपालीको पनि ज्ञान, सीप र लगानी हामी आह्वान गरिरहेका छौँ ।’

प्रधानमन्त्री ओलीले आन्दोलनको उपलब्धिस्वरुप लोकतान्त्रिक गणतन्त्र प्राप्ति भइसकेकाले अब शान्तिपूर्ण प्रतिस्पर्धाबाट अधिकारसँगै सबै जीवनसँग सम्बन्धित चाहना र दायित्वमा केन्द्रित हुन आवश्यक भएको बताउँदै विश्वका ठूला अर्थतन्त्र भएका मुलुक महामारीबाट आर्थिक चपेटामा परेका बेला नेपालको आर्थिक वृद्धिदर शून्य र ऋणात्मकतर्फ नजाने सकारात्मक स्थिति रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले मुलुक समृद्धिको दिशातर्फ अघि बढेकाले जीविकाका लागि बाध्यतावश विदेश जाने स्थिति अन्त्य गरी स्वदेशमै श्रम र सीपको प्रयोग गर्न सक्ने आधार निर्माणमा गैरआवसीय नेपालीको पनि भूमिका हुनुपर्नेमा समेत जोड दिए ।

सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, विदेशस्थित नेपाली राजदूत र विभिन्न विश्वविद्यालयलयका उपकुलपतिलगायत बौद्धिक वर्गको सहभागिता रहेको छ ।

सङ्घका अध्यक्ष कुमार पन्तले आफूहरु विदेशमा प्राप्त ज्ञान, सीप र लगानी स्वदेशको समृद्धिका लागि प्रयोग गर्न तयार रहेकाले उचित वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरे । दुई वर्षअघि नेपालमा पहिलो ज्ञान सम्मेलन भएको थियो ।

READ MORE NEWS

अमेरिकी लोकतन्त्रको शल्यक्रिया

आज हामी मेरो नयाँ किताब ‘ब्रेकिङ द टु पार्टी डुम–लुपः द केस फर मल्टिपार्टी डेमोक्रेसी इन अमेरिका’ बारे चर्चा गर्दैछौं । मलाई लाग्दछ, यो छलफल हाम्रो लोकतन्त्रको भविष्यबारेको छलफल हो । यो अवसरका लागि हार्दिक आभार व्यक्त गर्दछु ।

हामीलाई सबै थाहा छ– हाम्रो देशमा मुख्य दुईवटा पार्टीहरु छन् । डेमोक्र्याट्स र रिपब्लिकन । पार्टी त अरु पनि छन् भन्ने कुरा होला । तर, राष्ट्रिय पार्टी त यिनै दुईवटा नै छन् । यी दुई पार्टीको मुख्य मान्यतामा निक्कै भिन्नता छ । यो भिन्नतालाई मैले ‘महाविभाजन’ भन्ने गरेको छु ।
डेमोक्र्याटिक पार्टी छ– यो पार्टीले वैश्विकता, विविधता, बहुसांस्कृतिकतावाद, धर्मनिरपेक्षता, आर्थिक भूमण्डलीकरणजस्ता विचारमा विश्वास गर्दछ ।

अर्को रिपब्लिकन पार्टी छ- यसले अमेरिकी महानता, परम्परावाद, क्रिश्चियानिटी, गोरोहरुको सुविधाजस्ता मान्यता राख्दछ । आर्थिक भूमण्डलीकरणभन्दा बाहिर यसका आर्थिक नीतिहरु हुन्छन् ।

यी दुई पार्टीबीच थोरै मतको भिन्नता हुने गरेको छ ।

लि द्रुतम्यान

मलाई लाग्छ कि यो हाम्रा लागि निक्कै खराब अवस्था हो । अझ भन्ने हो भने यो एक किसिमले लोकतन्त्रको हत्याजस्तो हो । दुई पार्टी प्रणालीले गर्दा हाम्रो लोकतान्त्रिक चेतना, स्पेश र अवसर संकुचन भएको छ । दुई पार्टी प्रणालीले हाम्रो लोकतन्त्रको हत्या गर्दैछ । म किन यसो भन्दछु, त्यसका निश्चित कारण छन् । यस सन्दर्भमा जोडिने मुख्य तीनवटा ठूला प्रश्नहरु छन् ।

पहिलो– लोकतन्त्रको भविष्यलाई लिएर हामी कतिको चिन्तित छौं ?

दोस्रो– राजनीतिको इतिहासमा अहिले हामी कस्तो समयमा छौं र कस्ता प्रकारका संकटहरु सामना गर्दैछौं ।

तेस्रो– यी चिजहरुलाई अझ राम्रो गर्न हामीले के गर्न सक्दछौं ?

पहिलो प्रश्नको उत्तर– हो चिन्ता छन् । हामी दुई पार्टी दुर्भाग्य–चक्रभित्र छौं । विभाजन व्यापक छ । यसले लोकतन्त्रमा हुनुपर्ने आधारभूत निष्पक्षतालाई ध्वंश गर्दैछ । मेरो पहिलो चिन्ता के हो भने दुई पार्टी प्रणाली अमेरिकी लोकतन्त्रको इतिहासमा सबैभन्दा विनाशकारी देखिएको छ । संस्थागत सन्तुलनहरु खजमजिएका छन् । हामी एक प्रकारको पागलपनतिर गइरहेका छौं ।

यहाँनेर यो कुरालाई जोड दिऊँ भने यदि हामीकहाँ बहुदलीय लोकतन्त्र हुन्थ्यो, दुई पार्टी प्रणाली हुँदैनथ्यो भने हामी द्वि-ध्रुवीय विभाजनको स्थितिमा नहुन पनि सक्थ्यौं । दुई दलीय विभाजनले सत्य र तथ्यलाई लुकाउँदैछ । सत्य, तथ्य बुझ्ने कुनै पद्धति र प्रणाली छैन, खाली ती तर्कहरु सामुन्ने छन्, जसले उनीहरुलाई समर्थन गर्दछन् । सजिलो पार्दछन् ।

गत चुनावमा ट्रम्पले जितेको कारण धेरै कमजोरी भए भनेर हामी भन्छौं । मानौं कि गत चुनाव हिलारी क्लिन्टनले जितेकी थिइन, के स्थिति अहिलेको भन्दा धेरै राम्रो हुन्थ्यो होला ? के स्वास्थ्य सेवा र प्रबन्धनमा उनले कुनै राम्रो सुधार गर्थिन् होला ?

अब फेरि चुनाव आउँदैछ । जुन प्रकारको विभाजन म देख्दैछु, म आफैं द्विविधामा छु ।

हो लोकतन्त्रमा द्वन्द्व हुन्छ, हुनै पर्छ । तर त्यो निश्चित निपष्क्षताभित्र हुनु पर्दछ । वैधानिक नियमभित्र हुनु पर्दछ । यसो भएन भने लोकतन्त्रले कसरी काम गर्न सक्दछ ? यसरी त लोकतन्त्र मर्दै जान्छ ।

अर्को कुरा– अमेरिकामा दुई पार्टी प्रणाली छ भन्दा हामी सजिलै हो भन्दिन्छौं । तर हाम्रो दुई पार्टी प्रणाली अहिलेकै जस्तो दुई पार्टी प्रणाली थिएन । दुई पार्टी एकप्रकारका व्यापक गठबन्धनजस्ता थिए । ती लजिला थिए । स्थानीय वा तलका सवालहरु उठेर माथि आउने प्रक्रिया थियो ।

दुई पार्टीका बीचमा पनि नागरिक अधिकारलगायतका बिषयमा एक बृहत्त सहकार्य र सम्झौताको संस्कृति थियो । त्यतिखेर दुई पार्टी भने पनि वास्तवमा ४ पार्टी जस्तो थियो । रिपब्लिकनभित्र पनि लिवरलहरु थिए । डेमोक्र्याटिक भित्र पनि कन्जर्भेटिभहरु थिए । अहिलेको दुई पार्टीभन्दा त्यो चार पार्टी प्रणाली निक्कै राम्रो थियो ।

अहिले दुवै पार्टीहरु केन्द्रीकृत हुँदै गएका छन् । विशेषतः सन् १९९० यो स्थिति शुरुवात भयो भने सन् २०१० पछि दुई प्रणाली पूर्णतः स्थापित हुन पुग्यो । अब यो राष्ट्रको आत्म जोगाउने बिषय रहेन । अस्तित्वको लडाईं बन्न पुग्यो ।

अब तेस्रो प्रश्नमा जाउँ- त्यसो भए यसको समाधान के हो त ? यसको समाधन मेरो विचारमा बहुदलीय लोकतन्त्र हो । हुन त हाम्रो लोकतन्त्रलाई पनि हामी बहुदलीय लोकतन्त्र नै भन्छौं । तर, बहुदलीय लोकतन्त्र भएका अरु देशसँग तुलना गर्नुस, त्यहाँ अलिक फरक हुन्छ ।

त्यहाँ समानुपातिक निर्वाचन प्रणाली हुन्छ । त्यहाँ दुई मात्र हैन, धेरै पार्टी हुन्छन् । त्यस्तो प्रणालीमा ४ देखि ६ वटासम्म पार्टी अस्तित्वमा रहन सक्दछन् । यदि हामी त्यस्तो प्रणालीमा जान सक्ने हो भने त्यो अमेरिकाको लागि निक्कै ठूलो परिवर्तन हुनेछ । हामीले समानुपातिक निर्वाचन प्रणालीमा जाने संवैधानिक सुधारबारे अब कुरा उठाउनु पर्छ ।

हाम्रो लोकतन्त्रका दुई प्रारम्भिक शर्तहरु थिए । एउटा– पार्टीहरु आवश्यक छन्, अर्को– अल्पमतको स्पेश हुनु पर्दछ । अहिलेको दुई पार्टी प्रणालीले यी दुवै भावनालाई चोट पुर्‍याएको छ । यो तरिकाले त हामी विस्तारै अधिनायकवादतिर जानेछौं । हामीले जेम्स मेडिसनको फेडेरालिष्ट पेपर १० हेर्‍यौं भने त्यहाँ प्रष्ट भनिएको छ कि बहुदलीय लोकतन्त्र रहेन भने लोकतन्त्र पनि रहँदैन ।

लोकतन्त्र भनेको स्थिर अल्पमत र अल्पमत हैन । द्वि-ध्रुवीय विभाजनले त्यस्तो अवस्था ल्याउने रहेछ । लोकतन्त्रमा अल्पमत र बहुमतबीच प्रवाहशील सहकार्य हुनुपर्दछ । जेम्स मेडिसनले भने जस्तै समाजमा विभिन्न तप्काहरु हुन्छन्, तसर्थ राजनीतिमा पनि बहुदलीय प्रणाली हुनु पर्दछ । हाम्रो लोकतन्त्र भनेकै बहुदलीय प्रणाली, दुईसदनात्मक व्यस्थापिका, संघवाद र ३ तहका सरकारहरुले बनेको छ ।

संघवादको अर्थ र औचित्य नै शक्तिलाई विभिन्न ठाउँमा छर्नु वा बाँड्नुथियो । तर केन्द्रीकृत दुई पार्टी प्रणालीले शक्तिलाई फेरि एकै ठाउँमा केन्द्रित गर्‍यो । संसारभरिको लोकतन्त्रलाई हेर्दा म निष्कर्षमा पुगेको छु भने दुई पार्टी प्रणालीले भन्दा बहुदलीय प्रणालीले राम्रो काम गर्न सक्दछ ।

यस्तो निष्कर्ष निकाल्नु पर्ने केही कारण छन् । बहुदलीय लोकतन्त्रमा मानिसले आफ्नो इच्छाअनुसारको पार्टी छान्न पाउँछन् । समानुपातिक निर्वाचन प्रणालीको कारण उनीहरुको प्रतिनिधित्व पनि सुनिश्चत हुन्छ ।

उम्मेद्वारहरुबीच प्रतिस्पर्धा धेरै हुन्छ । मतदातासँग छनौटको अधिकार धेरै हुन्छ । भोट हासिल गर्न उम्मेद्वारहरुले धेरै मेहनत गर्नु पर्दछ । यसले देशको विविधतालाई पनि जोगाउँदछ । दुई पार्टी प्रणालीमा विविधताको प्रतिनिधत्व नहुँदो रहेछ । दुई पार्टी प्रणालीमा गेरिम्यान्डरिङको समस्या हुन्छ । समानुपातिक निर्वाचन प्रणालीमा जाँदा यो समस्या नै रहँदैन ।

हाम्रो देशमा अहिले विविध प्रकारका अल्पसंख्यक मतदाता थपिँदैछन् । जस्तो– हिस्पानिक, एशियन आदि । अहिलेको प्रणालीले उनीहरुलाई प्रतिनिधित्व गराउन सक्दैन । बहुसंख्या निर्वाचन क्षेत्र र र्‍याङकिङ समानुपातिक निर्वाचन प्रणाली भएको भए मतदातासँग एकभन्दा बढी छनौटको अधिकार हुन्थ्यो । यस्तो हुँदा नश्लीय तनाव कम हुन्छ । राज्य जातीय समुदायहरुको एक वृहत्त गठबन्धन जस्तो हुन पुग्दछ ।

अब तपाईहरु भन्नु होला, यस्तो परिवर्तन कहँबाट कसरी ल्याउने ? अहिले जुन दुई पार्टी छन्, उनीहरु त यस्तो परिवर्तन चाहँदैनन् । हो, यो काम सजिलो छैन । यो निक्कै अप्ठ्यारो काम हो भन्ने बझ्छु । तर यो नगरिकन नहुने काम बन्दै गएको छ ।

मेरो किताबको उद्देश्य यही बहसलाई मद्दत गर्नु हो ।


Your Views
Related News