नेपालमा जापानको प्रसिद्ध खाना ‘बेन्तो’को बिक्री शुरु गरिएको छ।

जापानिज खाना प्रवद्र्धनका लागि एक वर्षअघिदेखि सञ्चालनमा आएको होक्काइदो रामेन हाउसले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा बेन्तो नेपाली बजारमा प्रवेश गराएको हो।

कम्पनीले नक्सालस्थित भाटभटेनी सुपरमार्केटबाट हाललाई पाँच विभिन्न किसिमका बेन्तोको परिकारको बिक्री शुरू गरेको जानकारी दिएको छ।

बिस्तारै बेन्तोको प्रकार भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट सञ्चालन गरी काठमाडौँ, पोखरा, चितवन, विराटनगरलगायतका अन्य शहरी क्षेत्रमा बिक्री बढाउँदै लगिने होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले जानकारी दिए।

“हामीले नेपालमा पहिलोपटक यो खानालाई लञ्च गरेका छौँ । बेन्तो जापानमा तालिमप्राप्त अनुभवी सेफले जापानको निगरानीमा तयार गर्नेछन्। तरकारी आफ्नै बारीमा फलाउँछौँ र अरू सामग्री पनि जापानमा तालिमप्राप्त हाम्रा कर्मचारीले विशेष ध्यान पुर्याई छानेका हुनेछन्। बेन्तोको परिकारले नेपाली स्वाद पारखीलाई छुट्टै अनुभव दिने विश्वास लिएका छौँ”, उनले भने।

नेपाल र जापानबीचको खाद्य संस्कृतिको सेतु बन्ने उद्देश्य लिएको होक्काइडो रामेन हाउसले जापानको होक्काइडोको धेरै ठाउँमा ‘विस्तारै विस्तारै’ ब्राण्डमा भन्ने नेपाली रेष्टुराँ सञ्चालन गरिरहेको छ।

कोभिड–१९को कारण मानिस रेष्टुराँमा गएर खाने तथा कार्यालयमै गएर खाजा खानेभन्दा आँफै बनाएर खाने संस्कृति बढिरहेको सन्दर्भमा बेन्तो समय सान्दर्भिक खाना हुने विश्वास गरिएको छ।

होक्काइडो रामेन हाउसले गत वर्षदेखि बूढानीलकण्ठस्थित पार्क भिलेज रिर्सोटबाट रामेनसहित विभिन्न जापानिज खाना उत्वादन तथा बिक्री वितरण गर्दै आइरहेको छ।

READ MORE NEWS

कोभिड १९ को सन्दर्भमा मानसिक स्वास्थ्य

आज विश्व मानसिक स्वास्थ्य दिवस । विश्व स्वास्थ्य संघले सन् १९९२ यता यसलाई विश्वव्यापी रूपमा मनाउनमा विश्वका राष्ट्रिय स्वास्थ्य प्रणालीलाई उत्प्रेरित गर्दै आएको छ । नेपालमा पनि यो दिवस विभिन्न भर्चुअल कार्यक्रमद्वारा मनाइदै छ ।

नेपालमा मानसिक स्वास्थ्यको वास्तविक स्थिति के छ भन्ने बारेमा कुनै तथ्याङ्क छैन । शारीरिक रोग नहुनुलाई स्वास्थ्य मान्ने अवधारणा समाजमा सबल रूपमा स्थापित छ । मानसिक रोग वा मनोसामाजिक अस्वस्थतालाई या त पागलपन वा विक्षिप्ततासँग दाँज्ने  उपचार वा सहयोग गरेर कम वा समाधान गर्न नसकिने समस्याको रूपमा बुझिने गरेको छ । मानसिक वा मनोसामाजिक स्वास्थ्य जनस्वास्थ्यको अभिन्न अङ्गको रूपमा व्यवहारतः स्थापित हुन सकेको छैन।

कतिपय ठाउँ र अवस्थामा मनोसामाजिक स्वास्थ्यको  समस्या खुलमखुला देखिँदा पनि त्यसलाई सकेसम्म लुकाएर राख्ने चलन छ । धेरै गरिए धामीझाँक्री, माताजस्ता अदृश्य शक्तिका हवालामा उपचार गर्नेलाई देखाउने चलन छ।  त्यस्ता उपचारक भनिएकाबाट गरिएका कतिपय व्यवहारले बिमारीको मानसिक स्वास्थ्य अरू खस्केका, हिंसाका सिकार बन्न पुगेका र समस्या जटिलतामा परिणत भएका समाचार बेलाबेलामा आउने गरेका छन् । समस्या जटिल भएपछि दाम्लो, सिक्री वा अन्य तरिकाले बन्धनमा राख्ने गरिएका समाचार पनि प्रायः आउने गरेका छन् । समुदायमा यस्ता स्वास्थ्यसमस्याको आकलन तथा लेखाजोखा गर्ने प्रणालीको अभाव छ ।

अन्धविश्वासको भुँमरीमा मानसिक स्वास्थ्य

संविधान र कानुनले जनस्वास्थ्यलाई प्रभावित पार्न सक्ने सामाजिक सांस्कृतिक अन्धविश्वास नियन्त्रण गर्ने अभिभारा संघीय प्रादेशिक र स्थानीय सरकारलाई सुम्पेका छन् । यसो भए पनि निर्वाचनपछिका सरकारहरूको प्राथमिकता जनस्वास्थ्यमा भन्दा अन्य भौतिक निर्माणमा रहँदै आयो । त्यसमा पनि मानसिक वा मनोसामाजिक स्वास्थ्य जनस्वास्थ्य सेवाप्रणालीमा प्राथमिकता र प्रश्रयको विषय बनाउन प्रयास खासै भएनन् । मानसिक स्वास्थ्यका लागि स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको कुल बजेटको कम्तीमा १० प्रतिशत बजेट मानसिक स्वास्थ्य क्षेत्रमै खर्चने गरी विनियोजन गर्नुपर्ने विश्वव्यापी मान्यता छ । नेपालमा २०७५र०७६ मा ०।०२ प्रतिशत मात्र विनियोजन भएको थियो । बजेट नूनतासँगै मानसिक रोगको बारेमा रोकथामपरक तथा उपचारात्मक सेवा  दुर्लभै छ ।

कोभिड १९ को सन्दर्भमा मानसिक स्वास्थ्य

कोभिड १९ को प्रकोपसँगै नेपालमा स्वास्थ्यक्षेत्रको सुधार र सुदृढीकरणलाई यसै वर्षदेखि प्राथमिकता दिइएको भए पनि सरकारी प्रयास सरुवा रोग नियन्त्रण र  शारीरिक स्वास्थ्यमै केन्द्रित छ । स्वास्थ्यको मानसिक, मनोवैज्ञानिक र सामाजिक आयाम र सरोकारलाई स्वास्थ्य कार्यक्रमभित्रै पनि जनस्वास्थ्यसँग समाहित गरिएको छैन । मानसिक रोगको आकलन, बिमारी र तिनका अभिभावकलाई सहजीकरण र भरथेग गर्ने, उपचार गर्ने जनशक्ति तथा समाजिक सेवाकर्ता अत्यन्तै कम छन् । समुदायमा तिनको उपस्थिति शून्यप्रायः नै हुन्छ ।

समग्रमै अहिले मनोसामाजिक स्वास्थ्यका समस्या चर्कने अवस्था छ । सरकारका सीमित सेवाबाट मात्र यसको उचित सम्बोधन हुने अवस्था छैन । मनोसामाजिक समस्याभित्र सम्बोधन गरेर हेर्नुपर्ने आत्महत्या र आत्महत्याका लागि गरिएका प्रयासका घटनाको अवस्था पनि कहाली लाग्दो छ । नेपालमा हुने हत्या जनिने कुल घटनामा ५५ प्रतिशत अपराधबाट हुन्छन् भने ४५ प्रतिशत हत्या त आत्महत्याबाटै भएको देखिन्छ । यसले आत्महत्याको निवारणका लागि समुदायमा उपयुक्त सम्बोधनको आवश्यकता औँल्याउँछ । मनोसामाजिक स्वास्थ्य समस्याको निवारण र न्यूनीकरणमा गैरसरकारी क्षेत्र या नागरिक समाजको सार्थक प्रयासको खाँचो    छ । मानसिक स्वास्थ्यको समस्यालाई चर्काउन सक्ने वर्तमान परिस्थिति र स्थिर सामुदायिक मानसिक स्वास्थ्य स्थिति नभएको अवस्थामा द्वन्द्वको निवारण, सामाजिक मेल र सद्भाव प्रवर्द्धनका काम यसै प्रभावित हुन पुग्छन् । युवाले समुदायमा गरिरहेका यस्ता प्रयासहरूमा समुदायको मनोसामाजिक पक्षबाट पर्न सक्ने प्रतिकूलता कम गर्ने उपायको खोजी गर्नु  आवश्यक भएको छ ।

कानुन के भन्छ ?

निरोगी वा स्वस्थ रहन पाउनु हरेक मानिसको मानवअधिकार हो । संयुक्त राष्ट्रसंघको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अनुबन्धको धारा १२ ले उच्चतम मापदण्डमा शारीरिक र मानसिक दुवै पाटाको निरोगिता वा स्वास्थ्य हासिल गर्न  पाउने कुरालाई प्रत्येक व्यक्तिको अधिकार मानेको छ ।

यो मानवअधिकारको परिपूर्तिका लागि जीवनमा बाल्यावस्थाको स्वस्थ विकास,  वातावरणीय स्वच्छता र सरसफाइका सबै पक्ष, देसान, महामारीलगायतका सरुवा तथा अन्य रोगहरूको रोकथाम, उपचार र नियन्त्रण, र विरामी परेका हरेक अवस्थामा सबै चिकित्सात्मक ध्यान र औषधोपचार सेवाको सुलभ उपलब्धता अत्यावश्यक हुन्छ ।

नेपालको संविधानले स्वास्थ्यको अधिकारलाई मौलिक हक किटान गरेको छ ।  नेपालको संविधानको धारा ३५ मा ुुप्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्यसेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछुु भनिएको छ । यसको अर्थ आधारभूत स्वास्थ्य सेवा सबैले कुनै शुल्कविनै स्वास्थ्य संस्था वा अस्पतालबाट पाइन्छ । अनि, संविधानले आकस्मिक सेवाबाट कोही वञ्चित नहुने पनि किटान गरेको छ । यसका अतिरिक्त स्वास्थ्यउपचारका बारेमा जानकारी पाउने, स्वास्थ्यसेवामा नागरिकले समान पहुँच प्राप्त गर्ने, र स्वच्छ खानेपानी र सरसफाइमा पनि हरेक नागरिकको पहुँच रहने कुरा संविधानले निश्चित गरेको छ ।

यसअनुसार सरकारले नागरिकलाई स्वास्थ्यसेवा उपलब्ध गराउनुपर्ने हो । संविधानले मौलिक हकको रूपमा किटान गरेको स्वास्थ्यको उल्लिखित सेवा सरकार वा राज्यले उपलब्ध नगराएमा नागरिकले संवैधानिक उपचारको माध्यमबाट पनि यो हकको प्रचलन गराउन पाउँछ भन्ने  कानुनी उपचारको बाटो खुला छन् । तथापि मानसिक स्वास्थ्यको विषय लिएर सर्वोच्च अदालत वा उच्च अदालतमा नागरिक पुगेका घटना खासै छँदै छैन ।

संविधानतः नेपालमा एलोपेथिक, आयुर्वैदिक, प्राकृतिक, होमियोप्याथिक र आम्ची उपचारपद्धतिका स्वास्थ्यसेवा उपलब्ध हुने उल्लेख गरेको छ । यसो भए पनि वर्तमान स्वास्थ्य सेवाको व्यवस्थामा नेपाल स्वास्थ्य सेवा ऐन २०५३ ले (क) एलोप्याथी चिकित्सा प्रणाली, (ख) आयुर्वेद चिकित्सा प्रणाली, र (ग) होमियोप्याथी चिकित्सा प्रणालीलाई मान्यता दिएको छ र राज्यको सेवाप्रवाहमा रहेका छन्  । यी तीन प्रणालीमा पनि शारीरिक स्वास्थ्यजस्तो मानसिक स्वास्थ्यमा प्राथमिकता छैन ।

कानुनले दिएको नागरिकले नपाएको निःशुल्क सेवा

जनस्वास्थ्य ऐन २०७५ ले गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ र सहज रूपमा प्राप्त गर्ने नागरिक अधिकार भनेर किटान गरेको छ । खोप, प्रजननस्वास्थ्य, बालस्वास्थ्य, सरुवा रोगसम्बन्धी सेवा, विकलाङ्गतासम्बन्धी स्वास्थ्यसेवा, मानसिक रोगसम्बन्धी सेवा, आकस्मिक स्वास्थ्यसेवा, स्वास्थ्य प्रवर्द्धन सेवा र आयुर्वेद तथा अन्य मान्यताप्राप्त वैकल्पिक सेवाहरूलाई आधारभूत सेवा मानिएको छ । आधारभूत सेवा नागरिकका लागि कुनै शुल्क नलिई निःशुल्क प्राप्त हुने कुरा पनि यो ऐनले सुनिश्चित गरे पनि स्थानीय तहमा मानसिक स्वास्थ्य सेवा उपलब्ध छैन । जुनसुकै स्वास्थ्य संस्थाले आकस्मिक स्वास्थ्यसेवा उपलब्ध गराउनै पर्ने भनिएको छ । यसो भए पनि आधारभूत स्वास्थ्यसेवा निःशुल्कै उपलब्ध गराउनुपर्ने पनि व्यवस्था तर मानसिक स्वास्थ्य सेवा निःशुल्क पाउने कुरा त व्यवहारमा कोरा कल्पना मात्रै छ ।

नेपालको जनस्वास्थ्य सेवाप्रणालीमा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिइएकोे छैन भने मानसिक स्वास्थ्य स्वास्थ्यलाई जनस्वास्थ्यसँग एकीकरण गरिएको छैन । नेपालमा मानसिक समस्या देखिएमा सकेसम्म लुकाएर राख्ने, धामीझाँक्रीलाई देखाउने प्रचलन छ। फलस्वरुप मानसिक समस्या जटिल रोगमा परिणत हुन्छ। जटिल भएपछि दाम्लो, सिक्री वा अन्य तरिकाले जीवनभरि बन्धनमा राख्ने गरिन्छ।

मानसिक बिरामीको औषधोपचार गर्न पर्याप्त स्वास्थ्य संस्था तथा जनशक्तिको खाँचो छ। काठमाडौं उपत्यकामा त्रिवि शिक्षण अस्पताल र मानसिक अस्पताल मानसिक स्वास्थ्य सेवारत छन् । उपत्यकाबाहिर भने सामान्य अस्पतालले नै मानसिक स्वास्थ्य सेवा दिइआएका छन्। मानसिक रोगको उपचार गर्ने जनशक्ति तथा सामाजिक कार्यकर्ताको उपलब्धता पनि न्यून छन् ।

मनोसामाजिक स्वास्थ्य के हो ?

हामी शरीरमा चोटपटक लागेमा वा शारीरिक अङ्गहरूको काम गराईमा कुनै समस्या नआएको अवस्थालाई हाम्रो स्वास्थ्य भनेर बुझ्दछौँ । हो, हाम्रो शरीरको अवस्था तन्तुरुस्त रहनु वा शारीरिक समस्यारहित अवस्था पनि स्वास्थ्य नै हो तर शारीरिक स्वस्थता मात्र हाम्रो स्वास्थ्य होइन । हाम्रा स्वास्थ्यका समस्या शरीरका मात्र हुँदैनन्,  सोचविचारका,  मनका,  भावना वा संवेगका, सामूहिक वा सामाजिक मनोविज्ञानका समस्या पनि हाम्रो स्वास्थ्य(समस्याका रूपमा रहन्छन्, रहेका हुन्छन् ।

मानिसको शारीरिक, मानसिक र सामाजिक सन्चो–सुविस्ता स्वास्थ्य हो ।  विश्व स्वास्थ्य सङ्गठनले “हरेक व्यक्तिले आफ्ना सम्भाव्यताको प्रत्यक्षीकरण गर्न सक्ने, जीवनमा सामान्य दबाबहरूको सामना गर्न सक्ने गरी उत्पादनशील र फलदायी काम गर्न सक्ने, एवं समुदायलाई योगदान गर्न शारीरिक, मानसिक र सामाजिक रूपमा सक्षम रहेको सन्चो –सुविस्ताको स्थिति” लाई मानसिक स्वास्थ्य मानेको छ । मानव व्यक्तित्वलाई सुव्यवस्थित र सन्तुलित राख्ने, परिस्थितिअनुसार ठीकठीक व्यवहार गर्दै प्रगति र विकासको बाटोमा अग्रसर गराउने कुरा नै मानसिक रूपले स्वस्थ अवस्था हो ।

मानसिक स्वास्थ्यलाई मनोसामाजिक पनि भन्न सकिन्छ । जुन स्वास्थ्यभित्र व्यक्तिका मनोवैज्ञानिक, संवेगात्मकरभावनात्मक, र सामाजिक सुविस्ता पर्दछन् । यिनलाई मनोसामाजिक आरोग्य, आरामी, निरोगिता वा सहजता पनि भन्न सकिन्छ । मनोसामाजिक स्वास्थ्यसम्बन्धी समस्या नभएको वा  भए पनि तिनलाई समन गरिएको वा काबुमा राखिएको  अवस्था नै मनोसामाजिक स्वस्थता हो ।

हाम्रो सामाजिक जीवनप्रणालीमा औसत साझा खालका मानसिक विचलनका मामिलाहरूमा निम्नानुसार विचलनहरू पर्दछन:  सुर वा मुड (मुद्रा) विचलनः खिन्नता, दिग्दारी, उदासीनता, द्विध्रुवीयता (बाइपोलर) र अन्य उदासीनतासम्बन्धी विचलनहरूस चिन्तागत विचलन: विचाराघात संवेग विचलन (अब्सेसिस कम्पल्सन डिसअर्डर), आघातोत्तर धपेडी विचलन (पीटीएसडी) जस्ता विचलनहरू पदार्थव्यसन विचलन:  लागू वा नशालु पदार्थको गम्भीर वा आदती व्यसन वा निर्भरतास ध्वंस व्यवहार विचलन  प्रतिद्रोह विचलन, आचार विचलनस स्नायविक विकास विचलनस् बौद्धिक अक्षमतारविकलाङ्गता, ध्यानअपूर्णता, उत्क्रियात्मक विचलन (हाइपरएक्टिभिटी), विकास–निरुद्धता विचलन (अटिजम स्पेक्ट्रम डिसअर्डर) र मस्तिष्कीय विचलनः मनविदलता (सिजोफ्रेनिया), तरुण मनमत्तता, विक्षेपजस्ता मनोचिकित्सागत समस्या ।

सम्बोधनका ढाँचा के ?

मानसिक स्वास्थ्यको सम्बन्ध व्यक्ति र समुदाय दुवैसँग सम्बन्धित छ । पहिलो तह ( आधारभूत सेवा तथा सुरक्षाउपर सामाजिक ख्याल हो । समुदायमा उपलब्ध हुने आधारभूत आवश्यकता तथा अत्यावश्यक सेवा (खाद्य, बास, खानेपानी तथा सरसफाइ, आधारभूत स्वास्थ्यस्याहार, सरुवा रोग नियन्त्रण) र सुरक्षाको हो । दोस्रो तह (पारिवारिक र सामुदायिक टेवाको सुदृढीकरण हो ।  समुदायका सदस्यहरूमा सामाजिक मेलको बढोत्तरी गर्ने क्रियाकलापमा समुदायका विभिन्न घटक (उमेर, लिङ्ग तथा अन्य विविधता) को सहभागितामा समुदायमै  आधारित सेवाको टेवा सुसञ्चालन गर्ने कुरा यसमा पर्छ । तेस्रो तह-मनोसामाजिक मद्दतरसेवामा जोड हो । आफ्ना व्यक्तिगत तथा पारिवारिक बुतामा कठिनाइहरू सामना गर्न नसकेका परिवार वा समूहका लािग व्यक्तिगत, पारिवारिक वा सामूहिक मद्दतकारी हस्तक्षेप यस तहमा पर्छन् । चौथो तहः व्यावसायिक स्वास्थ्य सेवा हो । मनोसामाजिक समस्याका गम्भीर स्वरूप मानसिक स्वास्थ्य र चिकित्सासँग सम्बन्धित हुन सक्छन् ।  यसमा मानसिक स्वास्थ्य विचलनका कडा मानसिक रोग भएका, कठोर विरक्ति, अक्षमकर चिन्ताकक लक्षण भएका, आफैलाई वा अरूलाई हानि गर्न सक्ने जोखिम भएका र यस्तै अन्यको औषधोपचार तथा स्वास्थ्यस्याहार पर्दछन् । यो चिकित्सा वा स्वास्थ्य सेवाका व्यावसायिक सेवादाता चिकित्सक वा स्वास्थ्यकर्मीबाट उपलब्ध हुने सेवा पर्छ ।

अन्त्यमा,
कानुन, प्रतिमान र मापदण्डमा मानसिक स्वास्थ्य स्पष्ट छ । सरकारको सेवा र सामाजिक व्यवस्थाभित्र यसको उपचार उपस्थित छैन मात्र हैन भ्रमपूर्ण रूपले दुर्व्यवहारले पनि घेरिएको छ । समुदाय तहमा आधारभूत सेवा उपलब्ध छैन र समस्याको गहिराइचाहिँ चर्किँदो छ । कोभिडले भएको मानवीय क्षतिभन्दा बढी त यसबाट सिर्जित मानसिक स्वास्थ्यसमस्याका कारण आत्महत्याबाट भएको क्षति नै छ । यसैले मानसिक स्वास्थ्यको महत्त्व दिएर सरकारबाट गम्भीरतापूर्वक मानसिक स्वास्थ्य कार्यक्रम अवलम्बन गर्नु अत्यावश्यक छ ।


Your Views
Related News