काठमाडौँ, २४ असोज । अनशनरत डा. गोविन्द केसीको मुटुले एक्कासि काम गर्न नसक्ने जोखिम बढेको छ । चिकित्सकहरुका अनुसारर डा. केसीको मुटुमा हरेक मिनेटमा असामान्य धड्कन देखिएको छ । यसबाट एक्कासि मुटुले काम गर्न नसक्ने (सडन कार्डियाक एरेस्ट) जोखिम बढेको र यसअघिका अनशनभन्दा स्वास्थ्यस्थिति जटिल देखिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

६४ वर्ष पुगिसकेका डा। केसीको यसअघि १५ औं अनशन २७ दिनसम्म चलेको थियो । डा. केसीको मुटुमा असामान्य धड्कन बढ्दै जाँदा मुटुको चालमा गडबड भएर सडन कार्डियाक एरेस्ट हुन सक्ने चिकित्सकहरुको अनुमान रहेको छ । पछिल्लो समय डा. केसी शारीरिक रूपमा अत्यन्त कमजोर भएका छन् ।

छातीमा दुखाइ, थकाइ, मांसपेशी दुखाइसँगै बाउँडिने, चक्कर लाग्ने जस्ता समस्या निरन्तर देखिएका छन् । उनलाई न्यून परिश्रममा समेत सास फेर्न गाह्रो भइरहेको चिकित्सकले बताएका छन् । केसीको रगतमा सेतो रगतको मात्रा अत्यन्तै कम छ। उनको रगतमा सुगरको मात्रा पनि कम छ।

READ MORE NEWS

डोटीको दिपायल सिलगढी नगरपालिकाका दुई वडा सिल

डोटी कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देखिएपछि डोटीको दिपायल सिलगढी नगरपालिकाकाे वडा नम्बर ६ र ९ सिल गरिएको छ। नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष सन्तोष बोहराले दिएको जानकारी अनुसार उक्त वडाका एक  पुरुषमा कोरोनाको संक्रमण देखिएको छ।

निज पुरुषमा कोरोना संक्रमण पुिष्ट भएसँगै उक्त वडाको नाचनथलीदेखि मुनी, कलेनजाने बाटोदेखि माथी, जिल्ला अस्पताल जाने बाटो माथि र नाचनथली मोडभन्दा मुनी सिल गरिएको वडाअध्यक्ष बोहराले बताए। सिल गरिएको चार किल्लाभित्र आवतजावत गर्न निषेध गरिएको छ।

त्यस्तै नगरपालिकाको वडा नम्बर ९ को मल्लो कलेनाका एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मल्लो कलेना सिल गरिएको वडाअध्यक्ष धर्म साँउदले बताए। संक्रमित कृषि विकास बैंक सिलगढी शाखामा कार्यरत रहेको र उनीलाई संक्रमण देखिएपछि मल्लो कलेना सिल गरिएको वडाअध्यक्ष साउँदले बताए।

सिल भएका स्थानमा बसोबास गरिहेका स्थानीयको कोरोना परीक्षण हुने बताइएको छ। दुवै वडामा असोज ३० गरेसम्म सिल कायम रहने वडा कार्यालयले जनाएका छन्।

कोरोना महामारी नियन्त्रणमा छ करोड खर्च

जाजरकोट, २४ असोज: कोरोना भाइरस महामारी रोगथाम तथा नियन्त्रणका लागि जाजरकोटका सात स्थानीय तहले असार मसान्तसम्म रु साढे छ करोड खर्च गरेको पाइएको छ । गत चैतदेखि असारसम्म क्वारेन्टिन व्यवस्थापन, स्वास्थ्य सामग्री खरिद र राहत वितरणमा जिल्लाका सात स्थानीय सरकारले रु छ करोड ६८ लाख ६६ हजार २६६ खर्च गरेका हुन् । साउनयताको हिसाब सार्वजनिक हुन बाँकी छ ।

कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामका नाममा छेडागाड नगरपालिकाले रु दुई करोड २५ लाख ७२ हजार ४९५, भेरी नगरपालिकाले रु एक करोड ४४ लाख ८७ हजार ६९८ र नलगाड नगरपालिकाले रु ५८ लाख १७३ खर्च गरेका हुन् । त्यस्तै शिवालय गाउँपालिकाले रु ७० लाख, बारेकोट गाउँपालिकाले रु ७५ लाख ६० हजार ९००, जुनीचाँदे गाउँपालिकाले रु ५४ लाख ४५ हजार र कुशे गाउँपालिकाले रु ४० लाख खर्च गरेको पालिकाले जनाएका छन् । जिल्ला समन्वय समिति जाजरकोटले आयोजना गरेको गत आर्थिक वर्षको वार्षिक प्रगति समीक्षा कार्यक्रममा पालिकाहरुले उक्त खर्च विवरण पेश गरेका हुन् ।

जाजरकोटका सात पालिकाले अस्तव्यस्त क्वारेन्टिनमा जथाभावी तरिकाले करोडौँ बजेट खर्च गरेको भन्दै स्थानीयवासीले खर्च विवरण पारदर्शी तरिकाले सार्वजनिक गर्न माग गरेका छन् । स्थानीय सरकारले कोरोना भाइरसको नाममा न त स्थायी संरचना निर्माण गरे न त अस्थायी क्वारेन्टिन व्यवस्थित भए तर पनि ठूलो मात्रामा रकम खर्च गरेको पाइएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । “कोरोना महामारी नियन्त्रण तथा रोकथामको नाममा फजुल खर्च बढी गरिएको, केही सामग्रीको मूल्य तथा परिणामसमेत बढी राखेको पाइएको छ”, नागरिक अगुवा शाहले भने, “जनप्रतिनिधिसँगको मिलेमतोमा केही कर्मचारीका लागि महामारी कमाउने माध्यम भएको छ ।”

पालिकाले महामारी नियन्त्रण तथा रोकथामलगायतका शीर्षकमा विपन्न परिवारलाई खाद्यान्न वितरण, प्रचारप्रसार, साबुन, मास्क, आरडिटी परीक्षण, गर्भवती महिलालाई भिडियो एक्सरे, औषधि खरिद क्वारेन्टिनमा रहेका नागरिकका लागि श्यया, बिस्तरा, लत्ताकपडा, खाना नास्ता, बिरामीलाई राहत वितरण, गाडी भाडालगायतमा खर्च गरेका छन् ।

सबैभन्दा धेरै छेडागाड र भेरी नगरपालिकाले बजेट खर्च गरेका छन् । भारतलगायतका स्थानबाट नागरिक जिल्लामा भित्रिएकाले क्वारेन्टिनमा खाना र अन्य व्यवस्थापनमा ठूलो रकम खर्च भएको जनाएका छन् । जिल्लाका विभिन्न ३७ स्थानमा क्वारेन्टिन बनाइएको थियो । अन्य सबै ठाउँका क्वारेन्टिन हटाइएको भए पनि भेरी नगरपालिकाको त्रिभुवन माविमा रहेको क्वारेन्टिन जिल्ला बाहिरबाट आएकाहरुलाई राख्ने गरिएको छ ।

तेइस जना अहिले पनि क्वारेन्टिनमा बसिरहेका छन् । क्वारेन्टिनमा बस्नेलाई खाना, नास्ता र सरसफाइ सामग्री, ओछ्यानलगायतका वस्तुको व्यवस्थापन गर्ने गरिएको छ । धेरै क्वारेन्टिनमा खानेपानी र शौचालयको अभाव, एउटै कोठामा २५ जनाभन्दा बढी कोचिएर बस्नुपर्ने, छाना चुहिने, लामखुट्टे र उडुस लाग्ने, खानानास्ता गुणस्तरहीन हुने गरेको गुनासो आउने गरेको थियो ।

दशैंको मुखमा कोरोना संक्रमण भयावह, सरकार कडा कदमको तयारीमा

काठमाडौं, २४ असोज । अहिलेसम्मकै सर्वाधिक एकै दिनमा ५ हजार कोरोना भाइरसका संक्रमित संख्या नाघेपछि स्थिति भयावह बनेको छ । यो हप्ता दुई, तीन, चार गर्दै आज एकै दिन पाँच हजारभन्दा बढी संक्रमित थपिएपछि स्थिति भयावह बनेको हो ।

देशभर पाँच हजार ८ जना संक्रमित संख्या थपिएका छन् । आज काठमाडौं उपत्यकामा मात्र २६ सय ७२ संक्रमित थपिएका छन् । काठमाडौं कोरोना संक्रमणको हटस्पट बनेको छ । उपत्यकामा दैनिक दुई हजारभन्दा बढी संक्रमित थपिने क्रम जारी छ । देशभर १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

दशैंको मुखमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । अस्पतालहरु भरिएका छन् । काठमाडौं उपत्यकामा कोरोना अस्पतालले थेग्न नसक्ने परिस्थिति बन्दैछ ।

विगतमा २५ हजार सक्रिय संक्रमित पुगेपछि स्वास्थ्य मन्त्रालयले लकडाउन सिफारिश गर्ने बताएको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका थिए । अहिले देशमा सक्रिय संक्रमित संख्या ३० हजार नाघेको छ । कुल ३० हजार ८ सय १८ सक्रिय संक्रमित संख्या पुगेको स्वास्थ्य मन्त्रालयलले जानकारी दिएको छ ।

एकै दिन ५ हजार संक्रमित संख्या नाघेपछि सरकार स्थिति अनियन्त्रणतर्फ जानसक्ने तर्फ सचेत भएको बुझिएको छ । विशेषगरी काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रमा अवस्था भयावह बन्दैछ । यसलाई दृष्टिगत गरी सरकारले कडाई गर्ने बुझिएको छ ।

स्वास्थ्य मन्त्रालयले दशैं घरमै बसेर भौतिक दूरी कायम गरेर मनाउन बारम्बार आग्रह गरेको छ । यो सरकारले यसपटक दशैंमा कडाई गर्ने संकेतको रुपमा बुझिएको छ । सरकार कोरोना रोकथामका लागि कडा कदम चाल्ने तयारीमा रहेको बुझिएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयलमा परामर्श शुरु भइसकेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।


Your Views
Related News