आईपिएलमा महेन्द्र सिंह धोनीको प्रदर्शन नराम्रो भएको भन्दै उनकै समर्थकहरु सामाजिक सञ्जालमा गाली गलौजमा उत्रिएका छन् । तर, केही प्रयोगकर्ताहरुले सामाजिक संस्कार नै गुमाएका छन् ।
उनीहरुले विवेक गुमाउँदै धोनीविरुद्ध निशाना साँधेका हुन् । एक ट्रोलर्सले धोनीकी पत्नी साक्षीको इन्स्टाग्राम एकाउन्टमा उनकी ५ वर्षकी छोरी जीवालाई बलात्कार गर्ने धम्की दिएका छन् ।
अभिनेत्री नगमाले यस विषयको निन्दा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोधेकी छिन्,‘यो देशमा के हुँदैछ ?’

नगमाले ट्वीट गरेकी छिन्, ‘एक देशका रुपमा हामी कहाँ खडा छौं ? यो निकै लाजमर्दो छ कि आईीपएलमा केकेआरसँग चेन्नई हारेपछि धोनीकी ५ वर्षकी छोरीलाई बलात्कारको धम्की दिइएको छ । प्रधानमन्त्री, हाम्रो देशमा यो के हुँदैछ ?’
नगमाले ह्यासट्यागमा बेटी बचाओ–बेटी पढाओ पनि लेखेकी छिन् । कर्नाटककी विधायक सौम्या रेड्डीले पनि घटना दुखद् भएको बताएकी छिन् । ‘हाम्रो देशमा के भइरहेको छ ? हामी कता जाँदैछौं ?’ उनले सोधेकी छिन् ।

त्यस्तै, महाराष्ट्रस्थित शिवसेनाकी राज्यसभा सांसद् प्रियंका प्रियंका चतुर्वेदीले लेखेकी छिन् – आज सामाजिक सञ्जालको कसरी गलत प्रयोग हुँदैछ । यो यसको ठूलो उदाहरण हो ।’

कोलकाताविरुद्ध १२ बलमा धोनीको ११ रन 

यसअघि आईपिएलमा बुधबार कोलकाता नाइट राइडर्सले धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सलाई १ सय ६८ रनको चुनौती दिएको थियो । जवाफमा धोनीको टिमले १ सय ५७ रनमात्रै बनायो । खेलमा धोनीले १२ बलमा केवल ११ रनमात्रै बनाउन सके ।

चेन्नई यस सिजनमा अहिलेसम्म खेलेका ६ मध्ये २ खेल जितेर ४ अंकसहित छैटौं नम्बरमा छ । यस सिजन कोरोनाका कारण आईपिएल युएईमा आयोजना भइरहेको छ, धोनीले आफ्नो परिवारलाई खेल स्थलमा लगेनन् । अघिल्ला वर्षहरुमा धोनीकी पत्नी तथा छोरी पनि आईपिएल हेर्न आउँथे ।
READ MORE NEWS

मानसिक समस्या व्यक्ति र सरकारको प्राथामिकतामा परेन : विज्ञ

काठमाण्डाै – मानसिक रोग विशेषज्ञले मानसिक समस्या मानिसको मृत्युको कारण बनिरहँदा पनि व्यक्ति, समाज र सरकारको प्राथामिकतामा नपरेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठन नेपालका मानसिक रोग विशेषज्ञ डाक्टर केदार मरठ्ठाले मानसिक समस्याका कारण आत्महत्या तथा शरीरको ख्याल नगर्दा मृत्युको मुख्य कारणभित्र परिरहँदा पनि यसतर्फ ध्यान नगएको बताउनुभयो ।

डाक्टर मरठ्ठाले मानसिक स्वास्थ्य सम्बन्धि स्वास्थ्य सेवा सबैको पहुँचमा नरहेको र पहुँच भएमा पनि अज्ञानता, अन्धविश्वास तथा लान्छना आदिको कारण पीडितले उपचार सेवा नपाइरहेको बताउनुभयो । कोरोना महामारीको कारण मानसिक समस्या हुनेको संख्या बढेको भन्दै उहाँले सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।

व्यक्तिगत रुपमा आफ्नो र परिवारको ख्याल गर्ने, सन्तुलित भोजन, आराम, व्यायम गर्ने तथा सहयोगी भावना राख्नुपर्ने बताउनुभयो । आज सबैको लागि मानसिक स्वास्थ्य, पर्याप्त लगानी व्यापक पहुँच, जसलाई पनि जहाँ पनि भन्ने नाराका साथ मानसिक स्वास्थ्य दिवस मनाउनुपर्छ ।

यसपालि आएन दसैं

‘मलमासले गर्दा दसैं यसपालि ढिलो छ। कात्तिकको पहिलो हप्तासम्म आइपुग्न सकिन्छ कि…! विचार गर्नुहोस् न। सोझै आउँदिनँ त नभन्नुस्। छोराछोरीले बाबा कहिले आउनु हुन्छ भनेर सोधेर हैरान पारिसके।’ कान्छीले फोनमै भए पनि बूढालाई घर आउन कर गरिरही।

‘असोज न कात्तिक दसैं जहिले परे पनि कसरी आउनु। कोरोनाले गर्दा काम राम्रो छैन। जेनतेन ज्यान पालेको छु। फेरि पैसाबिना दसैं कसरी मनाउनु? बिनापैसा दसैंमा  घर आउँदा न छोराछोरीलाई  न हामीलाई रमाइलो। यसपालि दसैं नै आएन भन्ठाने भैगो नि। न मरी बाँचे कालले साँचे अर्को साल पनि आँउछ दसैं। अर्को साल मानौंला दसैं। बरु घर खर्च के कस्तो छ?’

‘घर खर्च त हामीलाई पुग्दो छ। बरु हजुरले आफ्नो ख्याल राख्नू। हाम्रो चिन्ता नलिनू।’कान्छीले फोन काटिदिई।

बूढाको कमाई छैन भनेर राम्ररी बुझेकी कान्छीले आफूसँग खर्च छ। भनेर लोग्नको मन राख्न झूटो बोली।

पोहोरसाल फलेको अन्न र फागुनमा बूढाले पठाएको पैसाले जेनतेन आजसम्म धानियो। अब कसरी धान्ने?न त बूढाले उता काम पाएका छन् त न त मैले यता।

यस्तै कुरा सोचेर पिर मानिरहेकी कान्छीले सिरानिमुनि राखेको सय पचासका नोट, चोलोको पकेटका पाँच दशका नोट, सबै जम्मा पारेर गनी जम्मा पाँचसय पचास।

यति पैसाले कसरी दसैं मान्ने? कसरी पुर्‍याउने मंसिरसम्म? धान त कात्तिकको अन्तिममा पाक्ला तर काट्दा,झाँट्दा, सुकाउँदा, कुट्दा केलाउँदा मंसिर त लागिहाल्छ।

भकारी रित्तिएको एक महिना अगाडि हो। चामलको थैलो पनि आधा भैसकेको थियो।

कान्छीले सबै चामल डालोमा खनाएर मानाले भरी जम्मा दश माना। पीठो राख्ने भाँडो खोलेर हेरी। दश किलो जाने बट्टाको आधा मात्र।

कसरी पुर्याउने उस्

कान्छीले सुस्केरा हाली। छोराछोरीले नदेख्ने गरी। कसरी धान्ने मंसिरसम्म? कसरी मान्ने दसैं? यिनै कुरा मनमा सोच्दै उसले दिनभरि घरधन्दा गरिरही।

साँझ परेपछि हतार-हतार पकाईतुल्लाई छोराछोरीलाई खुवाएर सुताई आफू पनि उनीहरूको छेवैमा पल्टिई।

पोहोरपरार साल त असोज लाग्दा मन ढुक्क हुन्थ्यो। बूढा ‍घरमा आउनु हुन्छ भनेर। दसैं कसरी मान्ने मलाई कहिले तनाव नै भएन। छोराछोरीका नयाँ लुगा, जुत्ता, खेलौना, मासु ,फलफूललगायत अन्य खानेकुरा सबै पुग्थ्यो। अरु बेला जे जस्तो भए पनि दसैंको बेला त हाम्रा छोराछोरी पनि हुने खानेका छोराछोरी भन्दा कम हुन्थेनन्।

कान्छी दायाँ कोल्टे फेरी।

यसपालि दसैंमा त आधा किलो मासु किन्ने पैसा पनि पुग्ने छैन।  महामारीले गर्दा  गाउँघरमा न त काम, न त सरसापट केही पाइँदैन। माइती मावलीतिर लकडाउनले गर्दा आउनु पाइनँ भने भैगो।

छोरा छोरीलाई के भन्ने। जुठो पर्‍यो भनम् भने को मोर्‍यो भनेर देखाउने? पापको मर्नु। आऽऽऽ यसपालि दसैं नै आएन भनिदिन्छु। अन्जान बच्चाहरू त हुन्। आखिर महामारीले गर्दा कतै घर बाहिर जान देख्न पाउने हैनन् क्यारे न त बाहिरबाट कोही अरु आउने हो।

कान्छीले बायाँ कोल्टे फेरी।

के कति कारणले आयौ कान्छी यस्तो महामारीको बेला?

के गर्नु बज्यै जस्तो महामारी आए पनि दसैं नआई नछोड्ने रैछ। नानीको बाबा पनि यसपालि दसैंमा नआउने रे। यसपालिको दसैं मनाउनेको त कुरै छाडौं हातमुख जोर्न पनि गाह्रो पो हुने भयो।

केही काम पाइन्छ कि भनेर उक्लेको यसो गोडमेल।

यस्तो महामारीको बेला मान्छेलाई बोलाएर काम लगाउनु पनि डराउनु पर्ने। यसपालि त खेत नै बाँझो राखें। केको गोडमेल हुनु।

नानीको बाबाले फागुनदेखि यता पैसा पठाउनु भाको पनि छैन। न त बूढाको उता केही काम न त मेरो यता केही काम। आजसम्म त जसरी तसरी धानें अब कसरी धान्ने गाह्रो भएको छ।

काम भएको बेला म आफैं बोलाउन आइहाल्छु नि। गाह्रो नमान है कान्छी।

कान्छी अँध्यारो मुख लिएर तलतिर झरी। बाटोमा खनालनी दिदीले आँगनभरि धान सुकाउँदै गरेको देखेर दुई चार डाला भए पनि पैंचो पाइने आशाले उसले उतैतिर पाइला लम्काई।

दिदी आँगनभरि धान सुकाउनु भाको रैछ। चार पाथी धान पैंचो दिनु हुन्थ्यो कि भनेर। बरु बाली भित्र्याउने बित्तिकै  छ पाथी बुझाउँला।

छ पाथी होइन आठ पाथी दिए पनि धान पैंचो दिन सक्दिनँ दु:ख नमाने है कान्छी। भकारी रित्ताएर यत्ति धान हो। ठूलो जहान छ। दसैं मान्नु पर्यो। मंसिरसम्म धान्न पर्यो। अन्त कतै पाइन्छ कि गाउँतिर पैंचो खोज न।

कान्छी दिनभर जसो गाउँ डुली। न त ऋण सापट, न त पैंचो कतै केही पनि पाइन।

साँझ लखतरान भएर आई। छोराछोरीहरू दिनभरि भोकै थिए। हतार हतार पानी ल्याएर कान्छीले ढिडो पकाई। बाटोमा आउँदा खोला छेउबाट टिपेर ल्याएको सिस्नुको तरकारी पकाएर छोराछोरीलाई खाना पस्की।

‍जहिले पनी साग र सिस्नुमात्र मासु कहिले खाने? छोराले रिसाउँदै आमातिर थाल सारिदियो।

मासु त दसैंमा खाने। छोरीले भाइको थाल उसैतिर सारिदिई।

आमा पोहोर त दसैं तिज सकिएको एक महिनामा आएको थियो। यसपालि किन  यतिबेलासम्म पनि दसैं नआएको।

यसपालि…यसपालि दसैं ससैं आउँदैन। यसपालि कोरोना बाढीपहिरो सलह के के आयो आयो त्यसैले दसैं नै आएन। मैले जे दिन्छु खुरूखुरू खाऊ।

कान्छीले मुटुमा गाँठो पारेर आँखामा आँसु लुकाएर छोराछोरीलाई अलि ठूलो स्वरले हकारी। छोरो झन् चिच्याई चिच्याई रून थाल्यो। छोरी उठेर सुत्ने कोठामा गई।

बाबु ज्ञानी मान्छे रूनु हुन्न। यसपालि त हो नि दसैं नआएको। अर्को साल दसैं आउँछ। बाबा पनि  आउनु हुन्छ। अनि नयाँ लुगा, खसी, खानेकुरा, खेलौना कति कति।

छ वर्षको बच्चा न हो। आमाले भन्यो भनेर। के सम्झन्थ्यो। सुन्न पनि सुनेन। एकोहोरो रोइरह्यो।

अघि सुत्ने कोठामा गएकी छोरी हातमा क्यालेन्डर झुन्डाउँदै भान्सा कोठामा पसी। भाइको आँसु, सिंगान आफ्नो फरकले पुछिदिँदै उसलाई सम्झाउने पाराले भनी।

हाम्रो आमाले दसैं आएन भन्दैमा हामीले पत्याउने हो र?  हाम्रो मेडमले भन्नु भएको तिजको ठिक एक महिना जमरा राख्ने दिन हुन्छ। यसपालि तिज सकिएको एक महिना भैसक्यो। खै त आमाले जमरा राख्नु भएको छ त भाइ?

अहँ

जहिले दसैंमा बाबा आउनु हुन्थ्यो। यसपालि दसैंमा आउनुभयो र?

अहँ

जहिले दसैंमा खसीबोका किनबेच गर्न मानिसहरू गाउँगाउँमा आउँथे। यसपालि आएका छन्?

अहँ

मुख्य कुरो त ल यो क्यालेन्डर हेर त। हाम्रो सरले भन्नुभाको दसैं असोज महिनामा पर्छ। यो २०७७ सालको असोजमा दसैं लेखिएको छ र?

अहँ

अनि त आमाले भनेको ठिक त भयो नि।

पिर नगर भाइ स्कुल खुल्ने बित्तिकै सरलाई २०७८ सालको असोजमा  दसैं लेखिदिन भन्छु। दसैं आएपछि बाबा पनि आउनुहुन्छ। अनि २०७८ सालको दसैं राम्रोसँग मनाम्ला ।

भाइले कुरो बुझेजस्तो गरेर टाउको हल्लायो।

नौ वर्षकी चार कक्षामा पढ्ने छोरीले  छ वर्षको एक कक्षामा पढ्ने भाइलाई सम्झाएको तरिका देखेर कान्छी दंग परी।

के छोरीले साँच्चिकै आमाको व्यथा बुझेर होला त। कात्तिकको क्यालेन्डर नपल्टाएको। कान्छी अवाक् भई।


Your Views
Related News