काठमाडाैं, २४ असोज । कोरोना संक्रमणको कारण ठप्प रहेको भृकुटीमण्डपको बजार क्षेत्रमा चाडपर्व नजिकिएसँगै चहलपहल बढ्न थालेको छ । भृकुटीमण्डप क्षेत्रमा मानिसहरुको चहलपहल बढ्न थालेपछि व्यापार पनि बढ्ने भन्दै त्यहाँका व्यापारीहरु खुसी भएका छन् ।
२४ असोज, जनकपुरधाम । खडक नगरपालिका, सप्तरीमा भएको बलात्कार प्रयासको घटना लुकाउन खोजेको भन्दै युवाहरुले राजविराजमा प्रदर्शन गरेका छन् ।
‘बलात्कार प्रयासको घट्नालाई ढाकछोप गर्न पाइँदैन, दोषीलाई कारबाही गर, बलात्कार गर्ने अपराधी जोगाउन पञ्चायती बसाउन पाइँदैन’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर उनीहरुले स्थानीय गजेन्द्र चोकमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी युवा सुरज यादवले जनप्रतिनिधी र स्थानीय नेताले अपराधीलाई संरक्षण गर्दा बलात्कारका घटना बढेको बताए । उनले बलात्कारीका साथै उनलाई संरक्षण गर्ने व्यक्तिलाई पनि कार्वाही गर्नुपर्ने धारणा राखेका छन् ।
१५ भदौमा खडक नगरपालिका ११ लालपुरकी दुई किशोरीसँग तीन जना युवकले बलात्कारको प्रयास गरेका थिए । पीडित परिवारले यसबारे प्रहरीलाई जानकारी गराएको थियो ।
तर जाहेरी दर्ता नगर्न मेयर हेमायु हक, वडाध्यक्ष रामकृष्ण चौधरी, नेकपा नेता शत्रुद्यन साह ‘आजाद’, जनता समाजवादी पार्टीका परमेश्वर साह, लक्ष्मी मण्डल, राजाराम यादव लगायतले इलाका प्रहरी कार्यालय कल्याणपुरमै पञ्चायती राखेर पीडक पक्षबाट पीडित पक्षलाई रु ५ लाख ५० हजार भराउने निर्णय गरेका थिए ।
पीडक पक्षबाट लिइएको ३ लाख ५ हजार परमेश्वर साह र लक्ष्मी मण्डलको संयुक्त हस्ताक्षरमा सृजना फाइनान्सको बोदे बर्साइन शाखामा खाता खोलिएर राखिएको छ । यो घटन बाहिर आएपछि परमेश्वर र लक्ष्मीले खाताबाट १ लाख ५० हजार झिकेर आफ्नै साथमा राखेका छन् । उनीहरुले रकम देखाएर आर्थिक प्रलोभनमा पार्ने र पीडित परिवारलाई बयान फेर्न दबाब दिने काम गर्दै आएका छन् ।
कोरोना संकट : सरकारले ल्यायो चाडपर्व मनाउने मापदण्ड
काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संकटमा चाडपर्व मनाउनका निम्ति सरकारले मापदण्ड सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलनमा चाडपर्व मनाउने मापदण्ड सार्वजनिक गरेको हो ।
सरकारले व्यक्तिगत तह र आधारभूत तह गरेर विभिन्न तहमा लागू हुनेगरी मापदण्ड ल्याएको हो । चाडपर्वमा एउटै घरमा बस्ने व्यक्तिबाहेक भेटघाट नगर्न सरकारले अनुरोध गरेको छ ।
दसैैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद र टीका सकेसम्म वितरण नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले चाडपर्वमा घर बाहिर नजाने र जानै पर्ने भए मास्क अनिवार्य लगाउन अनुरोध गरेका छन् ।
सरकारले धार्मिकस्थल तथा मेलापर्वमा २५ जनामात्रै भेला हुन अनुरोध गरेको छ । मन्दिरमा भगवानका मूर्ति नछुन र भेटघाट गर्दा टाढैबाट नमस्कार गर्न सरकारले भनेको छ । भेटघाटमा अंगालो मार्ने वा शरीर छुने काम नगर्न सरकारले अनुरोध गरेको छ ।
प्रवक्ता गौतमले सार्वजनिक स्थालमा नथुक्न भनेका छन् । पैसाको कारोबार गर्दा सकेसम्म विद्युतीय माध्यमको प्रयोग गर्न उनको अनुरोध छ ।
मन्त्रालयले ज्वरो, खोकी लागेका व्यक्ति, ६० वर्ष माथि र १२ वर्ष मुनिका बालबालिका, गर्भवती र सुत्करी महिला र रोधप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई कुनै कार्यक्रममा सहभागी नहुनु भनेको छ । कुनै कार्यक्रम गर्नुपर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।
सरकारले भनेको मापण्ड पालना नगर्ने व्यक्तिलाई संक्रामण रोग ऐन, २०२० अन्तरगत कारबाही हुने मन्त्रालयले जनाएको छ ।
‘कोभिड’लाई केन्द्रविन्दुमा राखेर प्रहरीको चाडबाड विशेष सुरक्षा योजना
काठमाडौं : प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशनअनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन्। प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार कतिपय जिल्लाले सुरक्षा योजना तयार पारिसकेको र कतिपय जिल्लाले अन्तिम तयारीमा जुटेका छन्। केही दिन भित्रैमा औपचारिक रुपमा चाडबाड केन्द्रित सुरक्षा योजना लागु हुने उनले जानकारी दिए।
‘प्रहरीको सुरक्षा योजना सधैँ नै हुन्छ, तर चाडबाडका बेला अझै गस्ती बढाउने, सुरक्षा चौकी थप्ने र नाकामा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहन्छ’, उनले भने, ‘यसपालि कोभिड–१९ को सङ्क्रमणसमेत रहेकाले त्यसलाई ख्याल गरेर सुरक्षा रणनीति बनाउनुपर्ने छ, मातहतका प्रहरी कार्यालय त्यसैमा जुटिरहेको छ।’
केही अघि प्रहरी महानिरीक्षक क्षेत्रीबाट प्रदेश प्रमुख तथा महानगरीय प्रहरी कर्यालय प्रमुखलाई भर्चुअल बैठकमार्फत आवश्यक रणनीति बनाउन निर्देशन भइसकेको र सोहीअनुसार जिल्लालाई समेत वस्तुस्थितिअनुसार योजना बनाउन निर्देशन गइसकेको उनले बताए।
यसपालि ७७ जिल्लामा कोभिड–१९बाट आफू पनि बच्ने र नागरिकलाई समेत बचाउने गरी रणनीति तयार पार्न लागिएको जनाइएको छ। प्रहरीका अनुसार यसपालि सुरक्षा योजनाअनुसार सम्भावित जोखिम क्षेत्रलाई निगरानीमा राखिने छ। सादा पोशाकमा प्रहरी परिचालन गरी हरेक क्षेत्रमा परिचालन गरिने छ। मोबाइल गस्ती बढाइने तथा सुरक्षा चौकी थप गरेर शान्ति सुरक्षालाई चुस्त पारिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। कोभिड–१९ सङ्क्रमण रोक्ने योजनासमेत बन्नेछ।
उपत्यकामा संयुक्त सुरक्षा योजना लागू गर्ने तयारी
काठमाडौं उपत्यकाको तीन जिल्लामा सुरक्षा योजना एकीकृत गरेर संयुक्त सुरक्षा योजना बनाउने तयारी गरिएको छ। उपत्यका प्रहरीको नेतृत्व गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार तीनै जिल्लाका प्रमुखलाई योजना बनाएर पेश गर्न निर्देशन दिइसकिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले भने सुरक्षा योजना पेश गरिसकेको छ। अन्य जिल्लाबाट समेत आउने क्रममा छ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले तीनै जिल्लालाई सुरक्षा योजना बनाए पेश गर्न भनिएको जानकारी दिए। ‘छलफल गरेर एक-दुई दिनमै योजना लागू गर्ने तयारी छ’, पोखरेलले भने, ‘चाडपर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गर्ने, शान्ति सुरक्षा मजबुद गराउने, कोभिड–१९ को सङ्क्रमण फैलन नदिने गरी योजना बन्ने छ।’
उनले प्रहरीको व्यवहार र इमान्दारितामा नचुक्ने गरी रणनीति तयार गर्न निर्देशन दिइएको जानकारी दिए। लोभलाभमा नपरी काम गर्न र प्रहरीको व्यवहारबाट नागरिकको आत्मसम्मानमा चोट नपुगोस् भन्ने ढङ्गले अघि बढ्न उपत्यकाका प्रहरी सचेत गराइएको छ।
मुख्यगरी नेपाल प्रहरी यसपालि चाडका बेला अप्रिय घटना रोक्न, लोभलाभमुक्त सेवा प्रवाह गर्न, व्यवहारमा नचुक्न र कोभिडबाट सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्नमा नै केन्द्रित हुने पोखरेलले बताए। उनले यसपालि दशैंको समयमा प्रहरी कर्मचारी घरमा जान सक्ने अवस्था नरहेकाले तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि खानपानमा समेत विशेष व्यवस्था गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिइएको बताए।
महानगरीय प्रहरी परिसर काठमाडौंले सुरक्षा योजना तयार पारिसकेको छ। जिल्लामा लागू गरिए पनि संयुक्त सुरक्षा योजना लागू गर्न बाँकी रहेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए। उनका अनुसार यसपालि विगतको सुरक्षा योजनामा थप गर्दै कुकुरसमेत परिचालन गर्न थालिएको छ।
आवश्यकतानुसार ड्रोनको समेत प्रयोग गर्न लागिएको छ। सवारीका यात्रु ओर्लने-उक्लने क्षेत्रमा नियमित जाँच थालिएको छ। आवश्यकतानुसार सादा पोशाकमा प्रहरी परिचालन हुनेछ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले समेत चाडबाड केन्द्रित सुरक्षालाई ध्यानमा दिँदै निगरानी बढाएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए। सोही अभियानअन्तर्गत बढी भाडा लिने गरी टिकट काट्ने यातायात काउन्टरका कर्मचारीलाई नियन्त्रणमा लिएर कारवाही थालिएको छ।