असोज २४, वासिङटन । कम्प्यूटर सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टले आफ्ना कर्मचारीलाई स्थायी रूपमा घरबाटै काम गर्न दिने  बताएको छ । घरबाटै काम गर्नका लागि भने कार्यरत कर्मचारीले म्यानेजरबाट अनुमति लिनुपर्ने  छ ।

माइक्रोसफ्टले केही कर्मचारीले भने कार्यालयमै आएर काम गर्नुपर्ने नियम लागू गरेको छ । कार्यालयमा  हार्डवेयरसम्बन्धी  कार्य गर्ने कर्मचारीले भने कार्यालयमै आएर काम गर्नुपर्ने  भनी कम्पनीका प्रवक्ताले बताएको भन्दै सीएनवीसीले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।

यसअघि अरू दुई  ओटा अमेरिकी कम्पनी फेसबुक र ट्विटरले पनि यस्तै घोषणा गरेका थिए । उनीहरूले आफ्नो कर्मचारीका लागि ‘वर्क फ्रम होम’को नीति स्थायी रूपमै लागू गरिने बताएका छन् । कोरोना महामारीका कारण यी कम्पनी आफ्नो कर्मचारीको कार्यशैलीमा परिवर्तन गर्न बाध्य भएका हुन् ।

कर्मचारीहरूले घरबाटै काम गर्ने भएपछि कम्पनीहरूले कार्यालयको ‘स्पेस’ घटाउने प्रयास गरेका छन् । ‘हाम्रो उद्देश्य भनेको आफ्नो इच्छासहित धेरै काम गराउने हो । त्यसमा कम्पनीले नेतृत्व गर्ने छ, जसले यो प्रकृतिको कार्यशैलीको विकास र प्रवर्द्धन गर्नेछ’, कम्पनीका प्रवक्ताले भनेका छन्, ‘यो नियम धेरै ठाउँमा रहेर काम गर्ने कर्मचारीको हकमा लागू हुनेछ ।’

अमेरिकामा गत मे महीनामा गरिएको एउटा सर्वेक्षणमा २२ प्रतिशत कर्मचारीले कोरोना भाइरस संक्रमण रोकिएपछि पनि घरबाटै काम गर्ने अपेक्षा गरेका छन् ।
माइक्रोसफ्टले सन् २०२१ को जनवरिसम्म  यो नीति लागू हुने अपेक्षा गरिएको बताएको छ ।

READ MORE NEWS

प्राध्यापकहरुद्वारा चलाउनेमाथि भएको आक्रमणको निन्दा

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि असोज २१ गते गरिएको आक्रमणको प्राध्यापकहरुले निन्दा गरेका छन् । प्राध्यापकहरु केदारभक्त माथेमा, पिताम्बर शर्मा, कृष्ण खनाल र चैतन्य मिश्रले शनिबार आफ्नो ध्यानाकर्षण र यस घटनामा मत सार्वजनिक गर्दै भनेका छन्, ‘मूख्यतः हामी यो भन्न बाध्य छौं कि यो घटना राजनीतिक दलका भ्रातृ संगठन र तिनले जोरजम्मा गरेका आपराधिक व्यक्ति र समूहको आडमा भएको हो ।’

आक्रमण गरिएका उपप्राध्यापक प्रेम चलाउने । र, प्राध्यापकहरु केदारभक्त माथेमा, पिताम्बर शर्मा, चैतन्य मिश्र र कृष्ण खनाल ।

उनीहरुले भनेका छन्, ‘यो र अरु यस्तै अनेकन् विकृतिहरुको जिम्मेवारी लिए पनि वा यसबाट उम्के–भागे पनि यसको केन्द्रमा राजनीतिक दलहरु नै बसेका छन् । प्राज्ञिकतालगायत अन्य सबै किसिमका व्यावसायिक उत्कृष्टतालाई तिरस्कार गर्दै दलीय आवद्धतालाई मात्रै प्रश्रय दिने राजनीतिक दलहरुमा छाएको प्रवृत्तिले सिंगो नेपाल र यसका नागरिकहरुको आत्मसम्मानमा घाउ लागेको छ र उन्नति रोकेको छ ।’

प्राध्यापकहरुले चलाउनेको औषधोपचारको व्यवस्था विश्वविद्यालले गरोस् भन्ने पनि माग गरेका छन् । प्राध्यापकहरुले जारी गरेको ध्यानाकर्षण र मत:

हाम्रो ध्यानाकर्षण र मत

चार दिन पहिले, असोज २१, २०७७ मा केही उछृङ्खल व्यक्तिहरुले केन्द्रीय समाजशास्त्र विभागका उपप्राध्यापक श्री प्रेम चलाउनेमाथि दिनदहाडै, कीर्तिपुर त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय अगाडिको सडकमा बिहानै १० बजेको वरपर सांघातिक आक्रमण गरेको घटनाप्रति हाम्रो ध्यान गम्भीररुपले आकर्षित भएको छ । उपप्राध्यापक चलाउनेलाई बाँस र फलामे डण्डीले जिउभरी खास गरेर टाउको र गोडाको माथिल्लो भागमा निर्ममतापूर्वक हानिएको छ र नीजको जिउभरी नीलडाम एवं टाउकोभरी घाउहरु छन् । र उहाँको गोडा भाँचिएको छ । हाल उहाँको उपचार भैरहेको छ । अपरेसन सफल भएछ भने पनि, डाक्टरहरुले ६–८ महिना घरमै आराम गर्न सिफारिस गरेका छन् । हामी सो घटनाको निन्दा गर्दछौं, अपराधीहरुलाई तुरुन्त पक्डिएर दण्ड–कारबाही गर्न सुझाउछौं, र यस घटनाका संचालकहरुप्रति घृणा व्यक्त गर्दछौं । साथै श्री चलाउनेको औषधोपचारको व्यवस्था विश्वविद्यालयले गरोस र उहाँको चाँडो स्वास्थ्यलाभ होस् भन्ने कामना गर्दछौं ।

मूख्यतः हामी यो भन्न बाध्य छौं कि यो घटना राजनीतिक दलका भ्रातृ संगठन र तिनले जोरजम्मा गरेका आपराधिक व्यक्ति र समूहको आडमा भएको हो । यो र अरु यस्तै अनेकन् विकृतिहरुको जिम्मेवारी लिए पनि वा यसबाट उम्के–भागे पनि यसको केन्द्रमा राजनीतिक दलहरु नै बसेका छन् । प्राज्ञिकतालगायत अन्य सबै किसिमका व्यावसायिक उत्कृष्टतालाई तिरस्कार गर्दै दलीय आवद्धतालाई मात्रै प्रश्रय दिने राजनीतिक दलहरुमा छाएको प्रवृत्तिले सिंगो नेपाल र यसका नागरिकहरुको आत्मसम्मानमा घाउ लागेको छ र उन्नति रोकेको छ ।

राजनीतिक दलहरु यो मुलुकको नेतृत्वकर्ता हुन् । नेतृत्वले मुलुक र यसका नागरिकहरुलाई उत्कृष्टता हासिल गर्न प्रोत्साहित गर्नुपर्छ । तर यस्तो लाग्छ, मुलुकका सबैजसो राजनीतिक दलहरु, मुख्यतया आफ्ना भ्रातृसंगठनहरु मार्फत नागरिकहरुको व्यावसायिक उत्साहलाई गाँज्न र व्यक्ति र समूहरुबीच कलह रोप्न लागिपरेका छन् । त्रिवि, कीर्तिपुरलगायत मुलुकभरिका कार्यालय र संघसंस्थाहरुमा यो स्थिति प्रत्यक्ष अनुभुत हुन्छ ।

हामी राजनीतिक दलहरुलाई यो स्थिति उल्टयाउन निवेदन गर्दछौं । विश्वविद्यालय लगायत सबै कार्यालय र संघसंस्थाहरुमा दल र तिनका भ्रातृसंगठनहरुका गैरराजनीतिक र अपवित्र होडबाजी सदाको लागि अन्त्य होस् भन्ने चाहन्छौं । श्री प्रेम चलाउनेजस्तै अन्य शिक्षक, विद्यार्थी, श्रमिक आदी अब आइन्दा प्रताडित नहुन्, वरु उनीहरुको जोश जाँगर, सीप आदी प्रस्फुटित होओस् र उनिहरुले आ–आफना पेशा–व्यवसाय उत्कृष्ट रुपले संचालन गर्न सकुन् ।

हामी राजनीतिक दलहरुलाई राष्ट्रिय तहको गहन् आपसी छलफल मार्फत व्यापक र गहिरो दलीयकरणले निम्त्याएको विकराल राजनीतिक, शासकीय लगायत सुखशान्ति र उन्नतिसँग जोडिएको समस्याको हल निकाल्न गम्भीरतम् वजनका साथ आह्वान गर्दर्छौं ।

केदारभक्त माथेमा

पिताम्बर शर्मा

कृष्ण खनाल

चैतन्य मिश्र

विहार चुनावमा कम्युनिष्ट समूहहरुले २९ सिटमा मात्र उम्मेद्वारी दिने


Your Views
Related News