ललितपुर मङ्गलबजारकी विजया नापितलाई निको भएको मुटुरोगले फेरि समातेको छ । कोरोना भाइरस (कोभिड–१९)को बन्दाबन्दीमा खानपान नमिलेका कारण मुटुरोगले च्यापेको हो ।
हुन त उनी नौ वर्षको उमेरदेखि बाथ मुटुरोगसंँग जुझिरहेका छन् । सानैदेखि अत्यधिक रूपमा पाउँ सेवन गरेकी उनलाई नौ वर्ष हुँदा टन्सिल भयो । अस्पताल गएर परीक्षण गराउँदा मुटुमा समस्या देखियो ।
नापितका बाबुआमालाई छोरी मुटुरोगी भई विवाह गर्नलाई कठिन हुने हो कि भन्ने चिन्ता थियो । त्यसको लगत्तै उनको विवाह भयो । अहिले १० वर्षकी छोरी छिन् ।
कोटेश्वरमा बस्दै आएका तेजु अधिकारीको पनि सात वर्ष पहिले मुटुको शल्यक्रिया गरेका थिए। उनले पनि आफ्नो अस्वस्थ जीवनशैलीले मुटुरोग लागेको बताए । एकपटक रोग लागिसकेपछि जीवनभर त्यसले पिरोल्ने बताउँदै अधिकारीले शरीरलाई तन्दुरुस्त राख्न पहिले नै सचेत हुनुपर्ने बताए । अहिले औषधि, नियमित चिकित्सककहाँ परामर्श गरिरहनुपर्छ, अधिकारीले भने, “निरोगी हुँदै सतर्कता अपनाउने हो भने कुनै रोग लाग्ने थिएन होला ।”
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रेग्मीले नेपाललगायत दक्षिण पूर्वी एसियामा नसर्ने रोग अत्यधिक मात्रामा बढ्दै गएको बताए । उनले हृदयाघात, उच्च रक्तचाप, मस्तिष्कघात, मधुमेह, क्यान्सर, दम–खोकी आदिको प्रकोप बढ्दै गइरहेको र यसले छिट्टै महामारीको रूप लिने सम्भावना भएको भन्दै कोरोना महामारीमा यस्ता रोगीले धेरै दु:ख पाइरहेको बताए । डा. रेग्मीले नसर्ने रोगको रोकथाम र नियन्त्रणतर्फ स्वयम् व्यक्तिको ध्यान जानुपर्ने बताए ।
विश्व स्वास्थ्य सङ्गठनको अगुवाइमा नेपाललगायतका राष्ट्रमा नसर्ने रोगको रोकथाम र नियन्त्रणसम्बन्धी नीति तथा कार्यक्रम तयार गर्ने र यसलाई राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गर्नेतर्फ पहल भइरहेको छ । उनले नेपालीमध्ये २३.८ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको, २८.५ प्रतिशतले नियमित रक्सी पिउने तथा ६१.९ प्रतिशतले फलफूल र हरियो सागपात आवश्यकभन्दा कम खाने गरेको बताए । यस्तै ७.२ प्रतिशतमा मोटोपन रहेको, २१.५ प्रतिशतलाई उच्च रक्तचाप र ५.५ प्रतिशतमा शारीरिक व्यायामको कमी रहेको छ ।
८० प्रतिशत नेपाली जनता कम्तीमा एउटा नसर्ने रोगको कारक तìवबाट पीडित रहेको देखिन्छ । उनले नसर्ने रोग बढ्नुको मुख्य कारण जीवनशैली अस्वस्थकर भएको भन्दै मानिसको जीवनशैलीको निर्धारण सामाजिक वातावरणले गर्ने बताए । उनले समाजको आर्थिक, राजनीतिक, सांस्कृतिक, वातावरणीय स्थितिको प्रभाव मानिसको जीवनशैलीमाथि पर्ने हुँदा रोग बढेको बताए । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले नेपालमा मुटुरोगीको सङ्ख्या बढिरहेकाले कोरोना भाइरसको प्रकोप बढेसँगै यस्ता रोगीलाई बचाउनु जरुरी भएको बताए ।
शहीद गङ्गालाल हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी बन्दाबन्दीमा पनि मुटुरोगको उपचार कायमै रहेको जानकारी दिए। उनका अनुसार बन्दाबन्दीमा पनि १८६ जनाको ओपन हार्ट शल्यक्रिया भएको छ ।
अस्पतालका अनुसार कोरोनाको बन्दाबन्दीपछि छ हजार ४६१ जना बिरामीले केन्द्रबाट आकस्मिक सेवा लिएको र एक हजार ८५१ जना बिरामीले अन्तरङ्ग बिरामी भर्ना सेवा लिएका थिए । डा. अधिकारी कोरोनाको कष्ट भए पनि मुुटुुरोगीको उपचारमा अस्पतालले उच्च प्राथमिकता दिएको बताउँछन् । गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले खबर लेखेका छन् ।
READ MORE NEWS
कोरोना संक्रमणपछि ट्रम्प पहिलो पटक सार्वजनिक कार्यक्रममा
वासिङ्टन : कोरोना भाइरस पुष्टि भएको १० दिनपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शनिबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रमलाई उनले सम्बोधन गरेका हुन्।
राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकलाई आफू स्वस्थ रहेको बताएका छन्। उनले अहिले कोभिड–१९ विरुद्ध कुनै पनि औषधी प्रयोग नगरेको र निकै राम्रो महसुस गरिरहेको बताएका छन्।
ट्रम्पले ‘शान्तिपूर्ण प्रतिरोध’ कार्यक्रमलाई सम्बोधन गरेको भनिए पनि आलोचकहरूले भने उनले राष्ट्रपतीय चुनावी अभियानलाई सम्बोधन गरेको बताएका छन्। अहिले ट्रम्प अर्को कार्यकालका लागि राष्ट्रपतीय चुनावी मैदानमा रहेका छन्। उनका प्रतिद्वन्द्वी जोय बाइडनले विभिन्न सर्वेक्षणहरूमा पछि पारेका छन्।
एबीसी न्यूज पोलका अनुसार कोरोनाविरुद्ध ट्रम्पले चालेका कदम ३५ प्रतिशतले सही भनेका छन्। राष्ट्रपतीय चुनावमा कोरोना महामारी प्रमुख एजेन्डामध्ये एक बनेको छ।
कोरोना भाइरसबाट अमेरिकामा सबभन्दा बढी संक्रमित भएका छन्। पछिल्लो तथ्यांकअनुसार ७७ लाख ११ हजार १८१ संक्रमित भइसकेका छन्। जसमध्ये २ लाख १४ हजार ३३७ ले ज्यान गुमाइसकेका छन्।
एसिडको घाउमा मायाको मलम

नवलपुर : एसिड आक्रमणमा परेपछि कावासोती नगरपालिका–१६ हर्वासीकी वसन्ती परियारको हुलिया फेरियो। उनी आफ्नो नयाँ रूपरंग देखेर डराइन्। पतिको मायामा कमी आउँछ कि भन्ने लाग्यो। ससाना छोराछोरीमा मानसिक असर पर्छ कि भन्ने पनि डर थियो। तर, एसिडको घाउमा उनका पति यमनारायणको मायाले मलम लगाइदिएको छ। त्यही मायाले उनको आत्मबल कमजोर हुन दिएको छैन।
‘पहिला के होला भन्ने डर थियो। आजभोलि आँट आएको छ’, वसन्तीले हँसिलो मुद्रामा भनिन्, ‘पतिको मायाले मलाई बाँच्ने आधार मिलेको छ।’ यमनारायणले पहिलेभन्दा बढी माया गर्छन् वसन्तीलाई। घरमा खाना पकाउने, सरसफाइको काम वसन्तीले गर्छिन्। घरबाहिरको काम यमनारायण गर्छन्। तर, उनी एकछिन पनि पत्नीको साथ छाड्दैनन्। यमनारायणको समय पत्नीको हेरचाहमा बितिरहेको छ। हरेक काममा साथमै हुन्छन्। पत्नीले नरमाइलो माने उनीे सम्झाउँछन्। अन्यत्रको कुरा गरेर मन भुलाउँछन्।
एसिड आक्रमणपछि वसन्तीलाई घरबाहिर निस्किन पनि अप्ठेरो लाग्थ्यो। अहिले उनमा आँट पलाएको छ। यो पतिकै मायाका कारण भएको उनले बताइन्। अहिले घाममा निस्किन हुँदैन। एसिडले पोलेको भागमा घामले असर गर्छ।
पतिकै मायाकै कारण यो समाजका अगाडि आएर उभिन सकेको उनको भनाइ छ। ‘पहिलाको अनुहार र एसिड प्रहारपछि हेर्ने नजर त पक्कै फरक छ नि’, उनले भनिन्, ‘तर, पति र परिवारको माया फेरिएन, यही मेरो खुसी हो।’
उनी काठमाडौं महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १५ महिनाको उपचारपछि घरमै छिन्। उनी शारीरिक र मानसिक रूपमा तंग्रिँदै छिन्। एसिडले उनका हात, अनुहार, टाउको, छातीमा असर गरेको छ। पति यमनारायणले उनलाई दरिलो साथ दिएका छन्। समाजमा कसरी अनुहार देखाउने भन्ने चिन्ता गर्ने वसन्तीलाई पतिले हिम्मत जुटाइदिएका छन्।
वसन्ती विगतका आफ्ना तस्बिर हेर्दै कहिलेकाहीँ भने भक्कानिन्छिन् पनि। ‘खिन्न मानेर रूप फर्किने होइन’, यमनारायणले भने, ‘हामीलाई त यस्तो भयो, अब समाजमा अरूमाथि नहोस् भनेर अरुका लागि बाँच्नुपर्छ भनेर सम्झाउँछु।’
यो दम्पतीलाई आर्थिक समस्याको पिरलो रहेछ। उनीहरू कुखुरापालन व्यवसायमा लाग्ने योजनामा थिए। पत्नीको उपचारमा ६ लाख रुपैयाँ खर्च भयो। वसन्तीको टाउकोमा कपाल हाल्न र प्लास्टिक सर्जरी गर्न बाँकी छ। आँखामा लेन्स हाल्न लागेको ३० हजार रुपैयाँ कसरी जुटाउने भन्ने चिन्ता छ। एसिडपीडित वसन्ती परियार कावासोती नगरपालिका–१६ हर्वासीस्थित निवासमा पति यमनरायणसँग जाँतोमा दाल पिस्दै।
उनीहरूले बैंकबाट ३ लाख र घरनजिकको समूहबाट १ लाख ऋण लिएका थिए। आफन्तसँग लिएको २ लाख ८० हजार तिर्न बाँकी रहेछ। बैंकबाट पुर्जा निकाल्न पाएका छैनन्। ‘जो आए पनि दुःख त आफैंसँग त हो नि !’, यमनारायणले दुःखेसो गरे, ‘कसरी ऋण तिर्ने भन्ने पिरलो छ।’ उनीहरूका १० वर्षका छोरा र ५ वर्षकी छोरी छन्।
यमनारायण लामो समय वैदेशिक रोजगारीमा बसे। पायल्सको उपचार गर्न वसन्तीले बोलाएकी थिइन्। त्यसको दुई सातापछि वसन्तीमाथि एसिड प्रहार भएको थियो। विवाहको प्रस्ताव अस्वीकार गरेपछि छिमेकी युवक विमल श्रीपालीले २०७५ असोज ८ गते वसन्तीमाथि एसिड र चक्कु प्रहार गरेका थिए। नवलपुर जिल्ला अदालतले श्रीपालीलाई १४ वर्ष कैद र साढे ९ लाख जरिवाना सजाय तोकेको परियार दम्पतीले सुनाए। घटनामा संलग्न दोषीले कैद सजाय भुक्तान गरिरहेका छन्।