१. १० अक्टोबर १९५४ मा जन्मिएकी फिल्म अभिनेत्री रेखा तमिल अभिनेता जैमिनी गणेशन र तेलुगु अभिनेत्री पुष्पावलीकी सन्तान हुन् ।

२. रेखाको जन्म र पालनपोषण चेन्नईमा भयो । उनको नाम भानुमति रेखा राखिएको थियो ।
३. रेखा तेलुगुलाई आफ्नो मातृभाषा मान्छिन् र हिन्दी, तमिल र अंग्रेजी पनि निकै राम्रोसँग बोल्छिन् ।

४. रेखा जन्मिँदा उनको आमा–बुवाको विवाह भएको थिएन र उनका पिताले उनलाई आफ्नो सन्तानको रुपमा स्विकारेका थिएनन् ।

५. रेखालाई अभिनयमा कुनै रुचि थिएन तर घरमा आर्थिक समस्याका कारण उनले पढाई छोडेर अभिनय गर्नुपरेको थियो ।

६. रेखाले १२ वर्षको उमेरमा एक तेलुगु फिल्मबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् । त्यसको तीन वर्षपछि उनले एक कन्नड फिल्मबाट नायिकाको रुपमा अघि बढिन् ।

७. रेखाको पहिलो हिन्दी फिल्म अंजाना सफर थियो । यसमा उनीसँग विश्वजीत हिरो थिए ।

८. रेखाको पहिलो फिल्ममा एउटा चुम्बनको दृश्य थियो जसले उनलाई चर्चामा ल्याइदियो । फिल्म सेन्सरशीपको समस्यामा फसेर करिब १० वर्षपछि ‘दो शिकारी’ नामबाट रिलिज भएको थियो ।

९. रेखा आफ्ना सुरुवाती फिल्मका बेला ‘काली र मोटी’ थिइन् । उनका अनुसार उनलाई ‘अग्ली डकलिङ’ (हाँसको नराम्रो बच्चा) भनिन्थ्यो ।

१०. रेखाकी एक आफ्नै बहिनी र ५ सौतेनी भाइ बहिनी छन् । उनका पिता जैमिनी गणेशन नै थिए ।

११. रेखा सधैं संसार घुम्न चाहन्थिन् त्यसैले यसै कारण उनी एयरहोस्टेज बन्ने सपना देख्थिन् ।

१२. रेखालाई मेकअपको अत्यधिक शौक थियो त्यसैले उनका एयरहोस्टेज साथीहरु उनका लागि विदेशबाट मेकअप किट लिएर आउँथे ।

१३. कान्वेट स्कूलमा आइरिस ननसँग शिक्षा प्राप्त गर्नेबेला रेखा नन बन्न चाहन्थिन् ।

१४. करियरको सुरुवाती समयमा रेखाले तेलुगुको बी र सी ग्रेड फिल्ममा पनि काम गर्नुपरेको थियो ।

१५. रेखाले उद्योगपति मुकेश अग्रवालसँग विवाह गरेकी थिइन् । विवाहको ६ महिनापछि नै मुकेशले आत्महत्या गरेका थिए ।

१६. फिल्मी करियरका बेला रेखाको नाम अमिताभ बच्चन, राज बब्बर, विनोद मेहरा, नविन निश्चल, जितेन्द्र, यश कोहली, शत्रुघ्न सिन्हा र अक्षय कुमारसँग जोडियो ।

१७. रेखाले विनोद मेहरासँग विवाह गरेको खबर पनि सार्वजनिक भएको थियो तर रेखाले यो खबरलाई ठाडो अस्विकार गरिन् ।

१८. रेखाको नाम सञ्जय दत्तसँग पनि जोडिएको थियो जो उनीभन्दा ५ वर्ष कान्छा छन् । यस विषयमा रेखाले एकपटक भनेकी थिइन्, ‘मैले अमिताभ बच्चनलाई देखाउनका लागि सञ्जय दत्तसँग दोस्ती गरेकी थिएँ ।’

१९. अमिताभ र रेखा एक–अर्कासँग निकै नजिक रहे । अमिताभको संगतमा रेखाको व्यक्तित्वमा गज्जबको परिवर्तन आयो । उनी आफ्नो लुकप्रति सजग भइन् र जीवनलाई हेर्ने उनको दृष्टिकोणमा पनि परिवर्तन आयो ।

२०. रेखालाई डबिङको पनि शौख छ । उनले नीतू सिंहका लागि फिल्म याराना र स्मिता पटेलका लागि फिल्म वारिसमा डबिङ गरेकी छिन् ।

२१. रेखालाई गीत गाउने पनि अत्यधिक शौख छ र उनले सङ्गीतकार आर डी बर्मनको आग्रहमा फिल्म खूबसूरतमा दुईवटा गीत गाएकी छिन् ।

२२. रेखाको कुनै पनि स्टाइलिस्ट छैनन् । उनी आफ्नो लुक आफै छान्ने गर्छिन् ।

२३. रेखा समयको निकै पक्का छिन् । उनी सबै स्थानमा तोकिएको समयमा नै पुग्छिन् ।

२४. रेखा र हेमा मालिनी निकै राम्रा साथी हुन् । रेखा हेमा मालिनीको स्पिड डायलमा छिन् ।

२५. रेखा पहिलो नायिका थिइन् जसले जिम जान सुरु गरेका थिए । रेखाले जिममा बेसिक एक्सरसाइजको सुरुवात गरेकी थिइन् । उनी योगमा पनि माहिर छिन् ।

READ MORE NEWS

डिभोर्स वा नयाँ शीतयुद्धतर्फ ?

अमेरिका–चीन सम्बन्ध व्यापार युद्ध हुँदै कोभिड–१९ सम्म आइपुग्दा निकै टकरावपूर्ण स्थितिबाट गुज्रँदै छ । चीनको बढ्दो तागत अमेरिकी मूल्यमान्यता र विश्वव्यापी प्रभावका लागि दोस्रो विश्वयुद्धयताकै भयानक रहेको निष्कर्षमा अमेरिकी संस्थापन पुगेको छ ।

सन् १९७१ देखि सम्बन्ध सामान्यीकरणको सुरुआत हुँदै सन् १९७९ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गरेका, अहिलेका पहिलो र दोस्रो आर्थिक शक्तिहरू अमेरिका र चीन ४० वर्षयताकै खराब अवस्थामा पुगेका छन् ।

डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासन चीनको विश्वव्यापी प्रभावलाई रोक्ने मात्र होइन, विद्यमान चिनियाँ सत्ता विघटन गराउने रणनीतिमा छ भने चीनचाहिँ आफ्नो प्रभाव कायम गर्दै नयाँ परिस्थितिमा सबैलाई मान्य हुने नयाँ विश्व व्यवस्थाको निर्माणमा लागिपरेको छ ।

अमेरिका–चीनबीच धेरैले अपेक्षा नगरेको यस किसिमको तनावले सम्बन्धलाई डिभोर्सको अवस्थामा पुर्‍याउला वा नयाँ किसिमको शीतयुद्धको अवस्था निर्माण होला भन्नेबारे यस आलेखमा चर्चा गर्न खोजिएको छ । व्यापारयुद्ध हुँदै कोभिड–१९ सम्म आइपुग्दा अमेरिका–चीन सम्बन्ध निकै टकरावपूर्ण स्थितिबाट गुज्रँदै छ । अमेरिकी रक्षामन्त्री मार्क इस्परको आरोप छ– विश्वव्यापी प्रभाव बढाउने उद्देश्यले चीन सन् २०३५ सम्म सैन्य आधुनिकीकरणलाई करिब पूर्णता दिँदै सन् २०४९ सम्म पहिलो सैन्य शक्ति बन्न चाहन्छ । यो भनेको विश्वको राजनीतिक, आर्थिक एवं सैन्य क्षेत्रमा अमेरिकी प्रभावलाई धेरै पछाडि छोड्दै चिनियाँ प्रभाव हावी हुने अवस्था हो भन्ने उनको दाबी छ । चीनको सैन्य विकासबारे अमेरिकी कंग्रेसलाई बुझाइएको अमेरिकी रक्षा मन्त्रालयको वार्षिक प्रतिवेदन–२०१९ ले इस्परकै लाइनलाई पुष्टि गर्दै चिनियाँ सैन्य क्षमता र भावी कार्यक्रमबारे विस्तृत विश्लेषण गर्दै चिनियाँ चुनौतीलाई रणनीतिक एवं वस्तुगत रूपमा सामना गर्न अब ढिलो गर्न नहुने सुझाव दिइएको छ । यसरी हेर्दा चीनको बढ्दो तागत अमेरिकी मूल्यमान्यता र विश्वव्यापी प्रभावका लागि दोस्रो विश्वयुद्धयताकै खतरनाक एवं भयानक हो भन्ने निष्कर्षमा अमेरिकी संस्थापन पुगेको देखिन्छ । कोभिड–१९ का कारण सम्बन्धमा बढ्ता चिरा देखिएको भए पनि चीनलाई घरेलु एवं बाह्य महत्त्वपूर्ण क्षेत्रबाट अलग गर्दै लगेर कमजोर बनाउँदै अन्तिममा चीनभित्र सत्ता परिर्वतनको स्थिति निर्माण गर्न अमेरिकी प्रशासन पूर्ण योजनाबद्ध रूपमा रणनीतिपूर्वक लागिपरेको बुझ्न सकिन्छ ।

उता अमेरिकी रक्षामन्त्रीको दाबीविपरीत चिनियाँ विदेशमन्त्री वाङ यी भन्छन्– चीनको उदयले विश्वको शान्ति, स्थिरता र विकासका लागि योगदान गर्ने हो । आफ्नो विचार र मोडललाई अरू मुलुकमा निर्यात गर्न चीन चाहँदैन । नयाँ शीतयुद्धका सम्बन्धमा विदेशमन्त्री यी को भनाइ छ— अहिलेको गहन विश्वव्यापीकरणको समयमा नयाँ शीतयुद्धका लागि कतै ठाउँ खुला छैन र विश्वलाई दुई वा तीन ध्रुवमा विभाजित गर्न अब सम्भव छैन । साथै चीन यस किसिमका गतिविधिहरूमा सामेल हुने वा साथ दिने पक्षमा लाग्दैन ।

सन् १९७९ यता अमेरिका–चीन सम्बन्ध विभिन्न स्तरमा निकै घनीभूत हुँदै आएको थियो । विभिन्न अप्ठ्याराका बावजुद सन् २०१९ मा दुई देशको व्यापार ५६० अर्ब डलर छ । व्यापारयुद्ध हुँदै अहिलेको जटिल सम्बन्धमा आइपुग्दा अमेरिकन च्याम्बर अफ कमर्स (चीन) ले हालसालै गरेको सर्भेअनुसार, ८४ प्रतिशत अमेरिकी बिजनेस फर्महरूले चीन छोड्न नचाहेको बताएका छन् । झनै यस वर्ष अमेरिकी फर्महरू एक्सन मोबिल, हनिवेल, टेस्ला, वालमार्ट लगायतले चीनमा लगानी बढाएका छन् । व्यापारयुद्धको मारमा अमेरिकी मध्यम वर्ग एवं न्यून आय भएका किसानहरू बढ्ता परेको अमेरिकी उदार अर्थशास्त्रीहरूको भनाइ छ । व्यापारयुद्धका कारण सन् २०१९ मा प्रतिअमेरिकी परिवार १,२७७ डलर बढ्ता खर्च गर्नुपर्‍यो, जुन मुलुकभरको हिसाबले ५० अर्ब डलर बराबर हो ।

लामो तनावपश्चात् सन् १९७१ मा भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरको चीन भ्रमण र त्यसको एक वर्षपछि १९७२ फरवरी २१ देखि २८ सम्म भएको राष्ट्रपति रिचार्ड निक्सनको ऐतिहासिक चीन भ्रमण सम्बन्ध सुधारका लागि कोसेढुंगा साबित भएको थियो । त्यो महत्त्वलाई बुझेका निक्सनले भनेका थिए– यो हप्ताले विश्वलाई परिवर्तन गरेको छ । त्यसपछि अमेरिकी अध्येतामाझ ‘निक्सन चीन गए’ भन्ने शब्दावली निकै चर्चित भएको थियो ।

वास्तवमा यी दुई देशबीचको सम्बन्ध सामान्यीकरणका लागि सन् १९७२ मा शीर्ष नेताहरूले गरेको शाङ्घाई सम्झौतामा राजनीतिक, आर्थिक एवं सामाजिक फरकपन एवं विविधतालाई स्वीकार गर्दै सहकार्यमार्फत अगाडि बढ्ने प्रतिबद्धता गरिएको थियो । शीतयुद्धको तनावपूर्ण अवस्थामा पनि सन् १९७९ र १९८२ मा गरिएका सम्बन्ध सुधारका महत्त्वपूर्ण सहमतिहरूले सहकार्यलाई नयाँ उचाइमा पुर्‍याई विश्वको शान्ति र स्थिरतामा योगदान गर्ने दुई मुलुकका नेतृत्वहरूको अठोट थियो । तर पछिल्लोपटक सम्बन्ध बिग्रँदै जाँदा निक्सन लाइब्रेरीमा आयोजित कार्यक्रममा अमेरिकी विदेशमन्त्री माइक पम्पेओले दिएको चीनविरोधी कडा भाषणले अमेरिकी प्रशासनको वास्तविक रणनीतिलाई छताछुल्ल बनाइदियो ।

यसै क्रममा ह्वाइट हाउसका पूर्वरणनीतिकार स्टिभ ब्यानलले यतिसम्म खुलासा गरिदिए– कोरोना नियन्त्रणमा लागिपरेको वार काउन्सिलको टिमले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) लाई सत्ताच्युत गर्नसमेत योजना बनाइरहेको छ । उनको भनाइ आएलगत्तै राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायन, एफबीआई डाइरेक्टर क्रिस्टोफर रे, महान्यायाधिवक्ता विलियम वार र विदेशमन्त्री पम्पेओले सीपीसी विश्वकै लागि खतरनाक भएका कारण ट्रम्प प्रशासन सबै उपाय अपनाएर त्यसको सामना गर्न खरो रूपमा लागिपरेको चेतावनीसम्म दिए । यी घटनाक्रमहरूले स्थितिलाई भड्काइरहेकै बेला, जासुसी गतिविधिमा संलग्न रहँदै आएको भन्दै ह्युस्टनस्थित चिनियाँ कन्सुलेट जनरलको कार्यालय गत जुलाईमा बन्द गर्न बाध्य पारियो । त्यसको प्रतिशोधस्वरूप चीनले पनि छेन्दुस्थित अमेरिकी कन्सुलेट जनरलको कार्यालय बन्द गरिदियो । चीनसँगको संघर्षमा अमेरिकाले आधुनिक सूचना प्रविधि, साइबर पावर, आर्टिफिसियल इन्टेलिजेन्स लगायतलाई मुख्य चुनौतीका रूपमा लिएको बुझ्न सकिन्छ । यसका आधारमा अधिकांश अमेरिकी विज्ञले बाहिरबाट अमेरिका–चीन द्वन्द्वका विभिन्न आयाम देखिए पनि खासमा चाहिँ टेक–वार नै प्रमुख हो भन्ने गरेका छन् ।

‘फरेन अफेयर’ म्यागजिनमा प्रकाशित ‘द एन्ड अफ अमेरिकन इलुजन’ शीर्षक लेखमा अमेरिकी पूर्व–उप सुरक्षा सल्लाहकार नाडिया चाड्लोले विश्व व्यवस्था आफूले देखाएको बाटोमा अगाडि बढिरहेको र सबैलाई उदार लोकतन्त्रतर्फ अगाडि बढाउने आफ्नो जिम्मेवारी हो भन्ने लगायतका भ्रममा अमेरिकी प्रशासन जकडिइरहँदा उपलब्धि हुनुपर्ने ठाउँमा पनि नोक्सान हुँदै गएको चेतावनी दिएकी छन् । सबैलाई आफूजस्तै बनाउँछु भन्ने भ्रमले अमेरिका सैन्य आधुनिक प्रविधिको क्षेत्रमा समेत पछि पर्न सक्ने वा कडा चुनौतीको सामना गर्नुपर्ने स्थिति आइसकेकामा उनले सजग गराएकी छन् । विश्वमा विभिन्न शक्तिको उदय भएसँगै अमेरिकाले अझै पनि वासिङ्टन कन्सेन्ससबाट दबदबा कायम गर्छु भन्नु अब सपना मात्र हुने जानकारहरूको भनाइ छ ।

चीनसँगको तनावमाझ अमेरिकी इन्डो–प्यासिफिक कमान्डका जनरलहरू साइबर आक्रमण, भूउपग्रह ध्वस्त पार्ने प्रविधि, जलपोत लगायतलाई उच्च तयारीमा राख्न लागिपरेको बताइएको छ । केही अमेरिकी सैन्य विज्ञहरू आउँदा केही दशकसम्म चीनसँग बृहत् युद्ध हुने अवस्था सिर्जना हुन नसके पनि स–साना द्वन्द्वहरू कुनै पनि बेला सिर्जना हुन सक्ने भन्दै त्यसका लागि अमेरिकी सेना एवं उसको गठबन्धनलाई तयारी अवस्थामा राख्न सुझाव दिन्छन् । अर्का थरी सैन्य मामिलाका जानकारहरूचाहिँ चीन अमेरिकालाई सीधा सैन्य आधारमा भन्दा राजनीतिक, आर्थिक र प्रविधिमा रणनीतिक रूपमा कमजोर बनाउँदै अमेरिकी शक्तिका प्रमुख आधारहरूलाई निष्प्रभावी बनाउन लागिपरेको छ जुन नेता माओको गाउँबाट सहर घेर्ने रणनीतिजस्तै रहेको टिप्पणी गर्छन् । यो कम क्षतिमा बृहत् लाभ एवं रणनीतिक वर्चस्व कायम गर्ने रणनीति रहेको उनीहरूको भनाइ छ । पेन्टागनको वार्षिक प्रतिवेदनले पनि स्थिति पहिलेभन्दा खराब ढंगले अघि बढ्ने संकेत गरिसकेको छ, जुन सैन्य क्षेत्रमा मात्र केन्द्रित नरहने भन्ने छ ।

चीनको नानचिङ विश्वविद्यालयका प्राध्यापक चु फङका विचारमा, मुख्य शक्तिहरू रणनीतिक लाभका लागि आमनेसामने भए पनि स्थितिलाई नियन्त्रणबाहिर जान नदिन उत्तिकै गम्भीर छन् । ताइवान कार्डले अहिलेको चीनलाई साइजमा ल्याउँछु भनेर सोच्नु भ्रम मात्र नभई मूर्खतासमेत हुने चिनियाँ जलसेना विज्ञ ली चिय लगायतको भनाइ छ । अमेरिकामा राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दा चीन–मुद्दाले पनि महत्त्वपूर्ण स्थान पाएको छ । ट्रम्प चीनविरुद्ध बढ्ता खनिए पनि समग्रमा अबको अमेरिका चीनप्रति नरम हुनै नसक्ने आकलन चिनियाँ पक्षले गरिसकेको छ । आफ्ना प्रतिद्वन्द्वी जोय बाइडेनप्रति लक्षित गर्दै ट्रम्प भन्छन्– बाइडेनले चुनाव जिते भने हेर्नुहोला, चीनले अमेरिका कब्जा गर्नेछ । ट्रम्पभन्दा बाइडेन केही नरमजस्ता देखिए पनि अब चीनलाई रोक्ने भन्ने सन्दर्भमा अमेरिकाका सबै पार्टी, प्रशासन एवं बहुमत विज्ञहरूसमेत एकमत भइसकेका छन् । चीनको बढ्दो तागत अमेरिकी वर्चस्वको अहिलेसम्मकै सबैभन्दा कडा चुनौती भएको उनीहरूको निष्कर्ष छ ।

चिनियाँ गृह मन्त्रालय अन्तर्गतको एउटा थिंक ट्याङ्कले गत अप्रिलमा राष्ट्रपति सी चिनफिङलाई बुझाएको प्रतिवेदनमा अमेरिका लगायतका केही मुलुकमा चीनविरोधी धार सन् १९८९ यताकै उच्च भएका कारण आवश्यक तयारीसाथ अगाडि बढ्न सुझाइएको थियो । चीन प्रगतिको एक विन्दुमा पुगिसकेपछि अमेरिका ठेगान लगाउँछु भन्ने गरी प्रस्तुत हुन्छ भन्नेमा चिनियाँ नेतृत्व प्रस्ट थियो । तर अमेरिकाको भ्रम के छ भने, उसले चीनलाई अझै हिजोको सोभियत संघजस्तै ठानिरहेको छ । जबकि सोभियत संघको विघटन चिनियाँ नेतृत्वका लागि सबैभन्दा ठूलो पाठ हो । पार्टीको नेतृत्वमा आएसँगै सीले पटक–पटक आफ्ना कमरेडहरूलाई यसबारे धेरै बताइसकेका छन् । चिनियाँ नेताहरू सोभियत संघको विघटनमा मिखाइल गोर्वाचोभ मात्र होइन, उनीभन्दा अगाडिका निकिता ख्रुस्चेभ र लियोनिद ब्रेजनेभ पनि उत्तिकै जिम्मेवार रहेको अनि राजनीतिक–वैचारिक लाइनबाट स्खलित हुँदा भयावह अवस्था आएको टिप्पणी गर्छन् । आजको चीन अमेरिकालाई हर आयाममा उछिन्ने गरी प्रस्तुत भएको छ । त्यसकारण पनि चीनलाई रोक्ने भन्नेमा अमेरिकीहरू एकमत भए पनि कसरी र कुन तरिकाबाट भन्नेमा अझै द्विविधामा छन् । विभिन्न कारणमध्ये एउटा के हो भने, चीन विश्वमाझ यतिसम्म एकीकृत भएको छ कि, स्वयं अमेरिकी अर्थतन्त्रबाट चिनियाँ लगानी मात्रै फिर्ता ल्याउने हो भने अमेरिकी अर्थतन्त्र कोल्याप्स हुन सक्छ । त्यसकारण पनि ‘डिकोपलिङ’ तर्फ सोच्नु हुँदैन भन्ने केही अमेरिकी विज्ञको सुझाव छ ।

अमेरिकी प्रशासनले प्रमुख चुनौती देखेको सीपीसी चिनियाँ जनतामाझ कतिसम्म लोकप्रिय छ भने, हालसालै एक अमेरिकी संस्थाले गरेको सर्भेमा ९५ प्रतिशतभन्दा बढी चिनियाँहरू सीपीसीको कामबाट निकै सन्तुष्ट रहेको देखिएको छ । बरु महामारीको उचित सम्बोधनमा कमी, चरम राजनीतिक विभाजन, जारी विरोध प्रदर्शन, चरम आर्थिक असमानता, असुरक्षा, अमेरिकीप्रति विश्वमाझ घट्तो लोकप्रियता लगायतले अमेरिकी नेतृत्व, दलहरू र सिंगो प्रशासनप्रति अमेरिकामा असन्तुष्टि निकै बढेर गएको विभिन्न अध्ययनले देखाएका छन् ।

ताइवानलाई देखाएर चीनसँग बार्गेनिङ गर्ने अमेरिकी रणनीति करिब असफल भइसकेको छ । राष्ट्रपति सीले ताइवानको मुद्दालाई अब अर्को पुस्ताका लागि छोड्न नसकिने जनाउ दिइसकेका छन् । अमेरिकाको भन्दा विशाल जलसेना भएको चीनसँग पूर्वी र दक्षिणी चिनियाँ समुद्रमा भिडन्तमा जानु अमेरिकाका लागि रणनीतिक रूपले निकै घातक हुने पेन्टागनका अधिकारीहरूले बताइसकेका छन् । यसले गर्दा पनि संकट आइलाग्यो भने ताइवानको खास सुरक्षाका लागि अमेरिका आउँछ भन्नेमा ताइवानी अधिकारीहरूसमेत विश्वस्त छैनन् ।

अहिलेको विश्वको केन्द्र अमेरिका होइन । विश्व बहुध्रुवमा प्रवेश गरिसकेको छ । अमेरिकालाई स्विकार्न गाह्रो भए पनि उसले यथार्थ महसुस गरिसकेको छ र सकभर ‘थुसिडिडिज ट्राप’ को अवस्था नआओस् भन्नेमा सजग छ । समग्र अवस्था विश्लेषण गर्दा, अमेरिका–चीन सम्बन्ध प्रविधि र विश्वप्यापीकरणको एकीकृत सञ्जालले गर्दा ‘डिभोर्स’ मै जाने खतरा त छैन, तर पहिलेको भन्दा भिन्नै खालको अघोषित नयाँ शीतयुद्धको अवस्थालाई कसैले नकार्न सक्दैन । चीनले नचाहे पनि अमेरिकाकै गतिविधिले ध्रुवीकरणको स्थिति बन्दै गएको छ । यस्तो अवस्थाबाट विश्वमा सन्तुलन कायम गर्न र स्थिरता एवं सहकार्यको अवस्था निर्माण गर्न मुख्य गरी युरोप र एसियाका अन्य शक्तिराष्ट्रले महत्त्वपूर्ण रणनीतिक एवं व्यावहारिक भूमिका निर्वाह गर्न सक्छन् । पछिल्लोपटक चीनको जर्मनी लगायत युरोपेली मुलुकहरूसँग भइरहेको घनीभूत छलफलले यो तथ्यलाई उजागर गर्छ ।


Your Views
Related News