२५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा प्लान इन्टरनेशनल नेपालले किशोर–किशोरीहरुलाई आफ्ना समस्या र मुद्दालाई कलाको माध्यमबाट अभिव्यक्त गर्न सघाउने उद्देश्यले ‘आर्ट इज पावर’ नामक कार्यक्रम आयोजना गरेको छ ।

सुनसरी, सिन्धुली, मकवानपुर, बाँके, बर्दिया, जुम्ला, कालिकोटका गरी २१४ किशोरीसहित २५० जना किशोर–किशोरीहरुले भर्चुअल आर्ट वर्कसपमा सहभागिता जनाएका छन् । उनीहरुले शव्दमार्फत् तयार पारेको रचनालाई कलाकारहरुले भिजिअल आर्ट तयार पार्नेछन् ।

१८ वर्ष मुनिका किशोर किशोरीलाई कविता, कथा वाचन, गीत, रचना सहितका माध्यमबाट कला सृजना गर्नेबारे प्रशिक्षित गरिएको थियो । यो कार्यक्रमले पिछडिएका समुदायका किशोरी र किशोरलाई उनीहरुको आवाज र चासोका विषयलाई नीति निर्मातासम्म पु¥याउने अवसरमा प्रदान गर्ने लक्ष्य राखेको छ ।

प्लान इन्टरनेशनल नेपालकी राष्ट्रिय निर्देशक लिज सातोले भनिन, ‘हाम्रो विश्वव्यापी अभियानको अंगको रुपमाहामीले युवाजमात् खास गरी किशोरीहरुलाई कलाको माध्यमबाट आवाज उठाउने मौका दिनकालागि यो कार्यक्रमआयोजना गरेका हौं ।’ उनले थपिन्, ‘किशोर किशोरीहरुको आवाजले बालबालिकाको अधिकार र किशोरीको समानताका लागि सरकारको प्रतिवद्धतालाई कार्यान्वयनका लागि स्मरण गराउनेछ ।’

आर्ट इज पावर आयोजना भएको यो लगातार दोस्रो वर्ष हो । यो वर्ष कोभिड १९ को महामारीका कारण प्लान इन्टरनेशनलले ‘कालो १०१’ नामक संस्थाको साझेदारीमा भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना गरेको हो ।

READ MORE NEWS

कपल च्यालेन्ज कि अध्ययन च्यालेन्ज ?

कोरोना भाइरसका कारण अहिले विश्वले अकल्पनीय जटिल परिस्थितिको सामना गरिरहनुपरेको छ । महामारीको रूपमा जरा गाडेको यस भाइरसको असर हालसम्म २१० भन्दा बढी राष्ट्रमा देखा परिसकेको पाइन्छ । जसको प्रभावबाट नेपाल पनि अछूतो रहन सकेको छैन । त्यसका विरुद्धमा राष्ट्रहरू आफ्नो क्षमताले भ्याउनेसम्म रणनीतिकरूपमा लागिपरेका छन् । दिन–प्रतिदिन संक्रमितहरूको संख्या बढिरहेको छ । निको हुनेहरूको संख्याभन्दा संक्रमितहरूको संख्या धेरै हुने क्रम जारी छ । बिस्तारै समुदाय स्तरमा सर्ने क्रम बढेकोले अन्ततः अझै महामारीको रूप लिई संकटको अवस्था आउन सक्ने सम्भावना रहेको विज्ञहरूको भनाइ छ । यो अवस्था कहिलेसम्म रहने हो, कसैले तत्काल भन्न सक्ने अवस्था रहेको पनि देखिँदैन ।

भाइरसलाई समुदाय स्तरसम्म फैलिन नदिनका लागि सरकारले लकडाउन र निषेधाज्ञाको वैकल्पिक उपायहरू पनि आत्मसात् नगरेको होइन । देशमा आर्थिक सङ्कट बढ्दै जाने तथा भोकमरीबाट मानिसहरू मर्ने डर गम्भीररूपमा देखिन थाल्यो । त्यसैले सरकारले सामाजिक सचेतना तथा स्वास्थ्य सावधानी अपनाई बिस्तारै अधिकांश क्षेत्रहरूलाई खोल्ने निर्णय गरेको पाइन्छ । तर हालसम्म पनि शैक्षिक संस्था, ट्युसन सेन्टर तथा तालिम केन्द्र, सार्वजनिक पुस्तकालय तथा संग्रहालयहरू बन्द नै छन् । शिक्षामन्त्रीले पनि अहिले नै प्रत्यक्षरूपमा पठनपाठन गर्ने वातावरण नभएकोले विद्यालय खोल्न हतार नगर्नू भनेका छन् ।

कति विद्यालयहरू अझैसम्म पनि क्वारेन्टाइन स्थलको रूपमा रहेका छन् । कोरोनाको त्रासपूर्ण मनोविज्ञानबाट संत्रस्त बालबालिकाहरू तत्काल विद्यालयहरू खोले पनि सहजरूपमा अध्ययन गर्ने वातावरण बन्न नसक्ला ।
बालबालिकाले शिक्षा आर्जन गर्ने पहिलो पाठशाला भनेको घर–परिवार नै हो । उसले परिवारबाटै जीवन जिउने आधारभूत कुराहरू सिकेको हुन्छ । त्यसपछि उ औपचारिक शिक्षाका लागि विद्यालय जान्छ । जहाँ उसलाई समाज, समुदाय, संस्कृति, राष्ट्र आदिको बारेमा बुझ्ने मौका मिल्छ ।

विद्यालयबाट नै बौद्धिकतालाई निखार्दै नैतिकवान् चरित्रको विकास गर्छ । समाज परिर्वतनका लागि जिम्मेवार नागरिकका रूपमा आफूलाई स्थापित गर्न चाहना राख्छ । त्यसैले विद्यालय औपचारिक शिक्षाको माध्यमबाट बालबालिकाको भविष्यको गोरेटो निर्माण गर्ने स्थान हो । विद्यालय गई उज्ज्वल भविष्य कोर्ने सपना देखेका बालबालिकाहरू अहिले घरभित्रै टिकटक, युट्युबका साथै टेलिभिजनको पर्दामा कार्टुनको स्वादमा रुमल्लिइरहेका छन् ।

बालबालिकालाई भविष्यका कर्णधार, समाजका ऐना तथा परिवर्तनका सम्बाहकको रूपमा हेर्ने गरिन्छ । भविष्यमा हामीले कस्तो समाजको कल्पना गर्दछौं आजका बालबालिकालाई हामीले अहिले गर्ने व्यवहारले निर्धारण गर्दछ । भन्ने गरिन्छ, बालबालिका भनेका काँचो माटो हुन्, जुन जे चीजको आकृति बनाउन चाहिन्छ त्यसैको आकृति बन्छ । त्यो कलिलो मस्तिष्कमा सकारात्मक विचार, सोच, अभ्यास र व्यवहारले भर्नु आवश्यक हुन्छ । यसका लागि सानैदेखि उचित शिक्षा, दीक्षा र संस्कारलाई निरन्तरता दिई दक्षता, क्षमता तथा कार्यकुशलता अभिवृद्धि गर्नुपर्दछ ।

बालबालिकाको न्यूनतम सिकाइ सुनिश्चित गर्नका लागि केही निजी विद्यालयहरूले वैशाखदेखि र सामुदायिक विद्यालयहरूले असार महिनादेखि अनलाइन कक्षाहरू सञ्चालन गरेको पाइन्छ । तर त्यस्ता खुल्ला तथा दूरशिक्षा कार्यक्रम शहरी क्षेत्रमा केही मात्रामा प्रभावकारी भए तापनि दूरदराजका बालबालिकाहरूका लागि कति व्यावहारिक र फलदायी भयो भन्ने कुरा विचारणीय छ ।

यस्ता वैकल्पिक सिकाइका क्रियाकलापले गर्दा बालबालिकाहरू बिहान उठेर, हतार–हतार दुई–चार गाँस खाना खाएर, शरीरले थाम्न नसक्ने गरी किताबको भारी बोकेर विद्यालय जानुपरेको छैन । दिनभरि विद्यालयको पढाइबाट थाकेर लखतरान भई घर फर्कनुपर्ने बाध्यता पनि छैन । विद्यालयबाट घर आइसकेपछि दिनभरको गृहकार्य भ्याइ–नभ्याइ गर्नुपर्ने अवस्थाबाट स्वतन्त्रता मिलेको छ ।

तर सरकार जे–जसरी चलेको अनलाइन कक्षा भए तापनि वैधानिकता दिने तथा पाठ्यक्रम नै परिमार्जन गरेर भए पनि शैक्षिक सत्रलाई नियमितता दिन कार्ययोजनातिर लागेको छ । विद्यार्थीको सिकाइलाई सहजीकरण गर्दै निरन्तर, प्रभावकारी र व्यवस्थित बनाउने भनी निर्देशिका नै जारी गरिसकेको छ । ग्रामीण भेगमा रेडियो कार्यक्रम पनि प्रभावकारी नभएपछि अहिले टोल–टोलमा शिक्षक परिचालन गरी कोर्स पूरा गरेको भन्ने कर्मकाण्डी व्यवहारमा लागेको देखिन्छ ।

फेस टु फेस भएर पठनपाठन गर्ने संस्कारमा हुर्केका हाम्रा बालबालिकालाई अनलाइन विधिको सिकाइ पचिसकेको छैन । दिनको आठ–नौ घण्टा विद्यायलमा शिक्षकको निगरानीमा अध्ययन गर्ने बानी परेको वास्तविकता थियो । त्यसमाथि पनि अतिरिक्त समय ट्युसन पढ्ने त फेसन नै भैसकेको थियो । शिक्षकले घोकाउने विद्यार्थी घोक्ने अनि परीक्षामा उच्च अङ्क प्राप्तिको चाहनाको भारी बोक्ने हाम्रो संस्कार नै हुन पुगेकोे छ ।

विद्यालयहरू ‘हाम्रा यति विद्यार्थीले ए प्लस ल्याए’ भनेर प्रचारप्रसार गर्ने ध्याउन्नमा हुन्छन् । अभिभावकहरू पनि त्यसैको पछि लागेर धेरै विद्यार्थीले ए प्लस ल्याएका विद्यालय खोज्दै नानीबाबुहरूलाई त्यहीँ भर्ना गर्ने दौडमा लागेको देखिन्छ । बालबालिकालाई सृजनशील, क्रियाशील, संवेदनशील तथा कल्पनाशील बनाउनतिर हाम्रो ध्यान जाँदै गएन । छोराछोरीलाई विद्यालयमा भर्ना गर्दा स्वअध्ययन, चिन्तन, मनन तथा अन्वेषण गर्ने वातावरण छ कि छैन भन्नेतिर हामीले कहिल्यै विचारै गरेनौ । त्यसैले हाम्रो शिक्षा नेपाली उखान ‘घोकन्ती विद्या धावन्ती खेती’ भित्र नै रुमलिरह्यो । यस्तो संस्कारबाट गुज्रेर आएका हाम्रा बालबालिकाहरूले अहिले दिनको एक–दुई घण्टा अनलाइन कक्षामा पढेर के सिक्ने ?
द्रुत गतिमा दिन–प्रतिदिन विकास हंँदै गइरहेको सूचना प्रविधिको प्रभाव बालबालिकामा पनि पर्नु स्वाभाविक हो ।

मोबाइल, टेलिभिजन, इन्टरनेटजस्ता विद्युतीय माध्यमहरूमा मनोरञ्जनात्मक कार्यक्रमहरू हेर्दै मूल्यवान समय व्यतीत गरिरहेका छन् । शहरदेखि गाउँघरसम्मका प्राथमिक तहका बालबालिकाहरूलाई पनि इन्टरनेटको प्रभाव परेको छ । दैनिक गृहकार्यसमेत गुगलको सहायताले गर्न थालेका छन् । आफंै मिहिनेत गर्ने बानीभन्दा पनि गुगलको रेडिमेड उत्तर सारेर शिक्षकको आँखा छल्ने काम बढेको छ ।

अझै भनांै, जन्मनेबित्तिकै युट्युबको साङ्गीतिक धुनमा खाने बानी परेका बालबालिकाहरूमा प्रविधिले कस्तो प्रभाव पर्ने हो, विचारणीय छ । यो लेखको आशय समयको मागसँगै विकास भएको सूचना प्रविधिको प्रयोगबाट बालबालिकालाई अलग गराउनुपर्छ भन्नेचाहिँ कदापि होइन । प्रविधिको प्रयोगका नाममा बालबालिकामा अध्ययन संस्कृति लुप्त हुन्छ कि भन्ने चिन्ता मात्र हो ।

नेपालमा अध्ययन संस्कृति कस्तो थियो भन्ने उदाहरणका लागि वेद, उपनिषद्, पुराण, रामायण, महाभारत आदिको सृजनालाई लिन सकिन्छ । तर इतिहासलाई देखाएर कोरोनाभन्दा पहिला हाम्रो अध्ययन संस्कृति राम्रो थियो भन्न मिल्दैन । अहिलेको हाम्रो अध्ययन प्रवृत्ति सूचनात्मक मात्र छ, त्यसमा गहिराइ छैन । कोरोनाले यसमा मलजल थप्ने काम मात्र गरेको हो भन्दा अत्युक्ति नहोला । यो अवस्थामा छोराछोरीलाई किताबको सङ्गतबाट टाढा जान दिनुहुँदैन ।

जसका लागि अभिभावकले नै उनीहरूको रोजाइको पुस्तकहरू उपलब्ध गराइदिनुपर्दछ । जस्तै– कविता, मुक्तक, चुड्किला, गाउँ खाने कथा, हास्यव्यङ्ग्यहरू आदि । आफू मोबाइलमा फेसबुक र युट्युब तथा टेलिभिजनमा सिरियल हेर्न व्यस्त हुने अनि छोराछोरीलाई पढ्–पढ् भन्ने करकर गर्ने बानीको अन्त्य हुनुपर्दछ । बालबालिकाको अध्ययनको समयमा पुस्तक वा पत्रपत्रिकाहरू पढेर वा हेरेर मात्र भए पनि बसेर जिम्मेवार अभिभावकको भूमिका निर्वाह गर्नबाट टाढिनुहुँदैन ।

सरकार पनि बालबालिकाको भविष्य कसरी सुनिश्चित गर्न सकिन्छ भनेर वैकल्पिक उपायहरूको खोजीमा भौंतारिरहेको देखिन्छ । तर यो भौंतारिने काम कहिलेसम्म ? विद्यालयस्तरमा अनलाइन कक्षाहरू असम्भव नै हुने देखियो । त्यसैले देशमा संघ, प्रदेश र स्थानीय तहसम्म सरकारका संयन्त्रहरू क्रियाशील छन् । त्यसका साथै टोल–टोलमा टोल सुधार समितिहरू, क्लबहरू, गैरसरकारी संघसंस्थाहरू पनि रहेका छन् । समाजमा रहेका यस्ता संयन्त्रहरूको पहिचान गरी कोरोनाको मनोवैज्ञानिक त्रासलाई हटाउन स–साना समूहमा सिकाइका साथै मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालन गर्नुपर्दछ । यस प्रकारले उनीहरूमा अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराउनतिर लाग्नुपर्दछ । प्रविधिको प्रयोगको मात्र भरमा बस्ने हो भने अधिकांश बालबालिकाहरूको भविष्य अन्धकारको गोरेटोतिर लाग्ने सुनिश्चित छ ।

अभिभावकहरू पनि सरकारको भर परेर मात्र बस्नुभन्दा नानीबाबुहरूलाई भविष्यमा बढ्दो प्रतिस्पर्धी समाजमा कसरी स्थापित गराउने भन्नेमा ध्यान पु¥याउनु आवश्यक छ । ताकि कपल च्यालेन्ज र बेबी च्यालेन्जजस्ता सामाजिक सञ्जालका मौसमी हल्लामा रमाउने होइन । यो समय बालबालिकालाई साहित्यिक र व्यावहारिक ज्ञानका कुराहरू सिकाउन अवसरका रूपमा लिनुपर्दछ । सरकारले उपलब्ध गराएको सस्तो दरको इन्टरनेटको दुरुपयोग गर्दै टिकटक र युट्यबमा मात्र भुलेर बस्ने होइन । बालबालिकालाई अध्ययन च्यालेन्ज गराउनुपर्छ ।

त्यसै गरी खोलामा पौडी खेल्ने, माछा मार्ने तथा गाईवस्तुको गोठालो भएर दैनिकी बिताएका ग्रामीण बालबालिकालाई बिस्तारै अध्ययनको बानी बसाल्नतिर लाग्नुपर्दछ । समाजमा डलर पचाउन बसेको भनी आरोप खेपिरहेका बालहित, बालकल्याण, बालविकासजस्ता विविध नामले सक्रिय गैरसरकारी संघसंस्थाहरूले बालकालिकाहरूको हात–हातमा घुम्ती पुस्तकालय सेवामार्फत पुस्तकहरू पु¥याउन सक्नुपर्दछ । जसले गर्दा लामो समयसम्म पुस्तकको सङ्गत टुटेका बालबालिकाहरूलाई पुस्तकसँग जोडाउने काम गर्दछ । जब बालबालिकाहरूलाई घरमै बसी–बसी आफूलाई मन पर्ने कथा, कविता, निबन्ध, उपन्यास आदि पढ्ने वातावरण बन्दछ, तबमात्र उनीहरूमा अध्ययन संस्कृतिले निरन्तरता पाउनेछ फलतः उनीहरुको जीवनको पनि स्तरोन्नति हुनेछ ।


Your Views
Related News