श्रद्धा खनाल
तौल घटाउने उपायहरू भनेर इन्टरनेटमा खोज्नुहोस्, या त कुनै फिट्नेससम्बन्धी पत्रिकाका पानाहरू पल्टाउनुहोस्, चिया–बीज (सिड्स) कसरी खाने, कति खाने, अनि कति महिनामा सुगठित शरीर बनाउने भनेर किटान गरिएका थुप्रै लेखहरू अगाडि आउँछन् । यति धेरै ख्याति पाएको चिया–बीज के साँच्चिकै स्वास्थ्य र तन्दुरुस्तीका लागि सुपर फूड हो त ?
चिया–बीजको उत्पति मेक्सिको शहरबाट भएको पाइन्छ । झट्ट सुन्दा हामीले पिउने चिया नै पो हो कि जस्तो लागे पनि यो वनस्पति चियाभन्दा नितान्त भिन्न पुदिना परिवारमा पर्दछ । नेपाल र भारतमा निकै प्रख्यात भइसकेपछि यसलाई तुलसीको बीज, बाबरी फूलको बीज अथवा सब्जा बीज भनेर कतै–कतै उल्लेख गरिएको भए पनि साल्भिया हिस्पानिका नामक यो प्रजाति यी हामीले देखेका, चिनेका वनस्पतिभन्दा धेरै फरक छ । यसको नेपालमा कतै व्यावसायिक खेती भएको तथ्याङ्क पनि पाइँदैन । हेर्दा स–साना खरानी रङ्गका तुलसीकै बीजजस्ता देखिने चिया–बीजको लोकप्रियता बढेसँगै यसलाई निकै महँगो मूल्य तिरेर अमेरिका, थाइल्यान्ड इन्डियाबाट नेपालमा आयात गरिन्छ । नेपाली बजारसम्म आइपुग्दा यसको मूल्य २ हजारदेखि २५ सय रुपियाँ प्रतिकेजीसम्म पर्न आउँछ ।
यति महँगो मूल्य तिरेर विदेशबाट ल्याइने चिया–बीजमा के–के त्यस्तो गुण हुँदो हो त ? यसमा रेसाको मात्रा निकै बढी हुन्छ, जुन हाम्रो पाचन प्रणालीका लागि लाभदायी मानिन्छ । क्याल्सियम, म्याग्नेसियम, आयरन, बोरोनजस्ता खनिजको साथमा यसमा ओमेगा ३ फ्याट्टी एसिड र विभिन्न एन्टिअक्सिडेन्टहरू प्रशस्त पाइने हुनाले यो निकै पौष्टिक छ । यसबाहेक कार्बोहाइड्रेट, प्रोटिन र फ्याटको अनुपात पनि यसमा राम्रो हुन्छ । यस्ता गुणहरूलाई हेर्दा चिया–बीज सुपर फूड नै रहेछ र जति पैसा हालेर पनि किनेर खानुपर्ने रहेछजस्तो लाग्न सक्छ । तर यो पूर्णतया सत्य भने होइन । एकपटक नेपाली भान्सामा सर्वाधिक प्रयोग हुने तिल र आलससँग चिया–बीजलाई तुलना गरौं । प्रति १०० ग्राम यी जीजमा के–के तत्त्व कति–कति मात्रामा हुन्छ ? हेरौं ।
तत्व चिया–बीज आलस तिल
प्रोटिन १७ ग्राम १८ ग्राम २० ग्राम
फ्याट ३१ ग्राम ४२ ग्राम ६१ ग्राम
फाइबर ३४ ग्राम २७ ग्राम १२ ग्राम
म्यग्नेसियम ३३५ मि.ग्रा. ३९२ मि.ग्रा. ३४५ मि.ग्रा.
क्याल्सियम ६३१ मि.ग्रा. २५५ मि.ग्रा. ६० मि.ग्रा.
पोटासियम ४०७ मि.ग्रा. ८१३ मि.ग्रा. ३७० मि.ग्रा.
आइरन ७.७ मि.ग्रा. ५.७३ मि.ग्रा. ६.३६ मि.ग्रा.
जिङ्क ४.५८ मि.ग्रा. ४.३४ मि.ग्रा. ६.७३ मि.ग्रा.
सोत ः युएसडीए
युनाइटेड स्टेट्स ड्रग एड्मिनिस्ट्रेसनको तथ्याङ्कअनुसार तुलना गर्दा हामीले देखेका र चिनेका बीजमा पनि त्यत्तिकै बढी पौष्टिक तत्त्व रहेको देखिन्छ । केही पोषक तत्त्वहरूको मात्रा यी अरू बीजहरूमा चिया–बीजमा भन्दा थोरै कम हुने भए तापनि केही तत्त्वहरूको मात्रा हाम्रै आलस र तिलमा बढी भेटिएको छ । अन्य बीजहरूमा कम भएका तत्त्वहरूको परिपूर्ति हामी वरिपरि पाइने खाद्यवस्तुबाट सजिलै गर्न सक्छौं । जस्तै– क्याल्सियमका लागि दही–दूधको प्रयोग र आइरनका लागि गेडागुडी अनि पालुङ्गोको साग । तसर्थ चिया–बीज एकदम पौष्टिक भएको कुरालाई नकार्न त सकिन्न तर तिलस्मी र अमृतसरि चीजको रूपमा लिनु त्यति उचित नहोला ।
चिया–बीजले तौल घट्ने कुरामा चाहिँ कत्तिको सत्यता छ त भन्ने प्रश्न सबैको मनमा उब्जन सक्छ । हामीले खाने खानाबाट पाएको शक्ति (क्यालोरी) मूलतः हिँड्डुल गर्न, काम गर्न र कुनै पनि शारीरिक क्रियाकलाप गर्न प्रयोग हुन्छ भने केही मात्रामा शक्ति शारीरिक प्रणालीहरू सुचारु गर्नमा खर्च हुन्छ । खानाबाट आएको शक्तिभन्दा कम शक्ति खर्च भएमा शरीरमा बोसो बन्ने प्रक्रिया शुरु हुन्छ भने खानाबाट पाएको भन्दा बढी शक्ति खर्च भएमा त्यही बोसो पग्लिएर शरीरले शक्तिको परिपूर्ति गर्ने गर्छ ।
यसबाट के महत्त्वपूर्ण कुरा बुझिन्छ भने, तौल घटाउने मात्र एउटै सूत्र छ– हामीले खाने खानाबाट पाएको शक्तिभन्दा बढी शक्ति काम गरेर अथवा व्यायाम गरेर खर्च गर्ने । कुनै पेयपदार्थ, फल, बीज, खाएर चामत्कारिकरूपमा तौल नियन्त्रण भने गर्न सकिँदैन । रेसादार खानेकुरा खाँदा अथवा धेरै पानी सोस्ने किसिमको खानेकुरा खाँदा लामो समय अघाएको महसुस हुने, जसका कारण धेरै खाना नरुच्ने र अन्ततः केही मात्रामा तौल बढ्ने प्रक्रियामा कमी आउन सक्छ ।
यसबाहेक कुनै निश्चित प्रकारका खानेकुरा खानाले शरीरमा चयापचय प्रणालीलाई केही हदसम्म बढावा मिल्न पनि सक्छ । तथापि समग्रमा तौल घटाउन यस्ता चीजहरूको असर न्यून हुन जान्छ । चिया–बीजलाई तौल घटाउने चामत्कारिक बीज भनेर प्रचार गर्नेहरूको तर्क पनि यसमा फाइबरको मात्रा धेरै हुनु अनि पानी सोस्न सक्ने क्षमता पनि राम्रो हुनुमा नै रहेको छ । तथापि दिनभरि र महिनौंसम्म चिया–बीज मात्र खानु सम्भव हुँदैन र थोरै खाएर तौलमा महत्त्वपूर्ण परिवरर्तन पनि आउँदैन । वैज्ञानिकहरूले थुप्रै अनुसन्धान गरिसक्दा पनि यसको सेवनले तौल घट्छ भन्ने कुराको पुष्टि गर्न भने सकेका छैनन् ।
एउटा ठूलो रिसर्चले चिया–बीजले ठूलै चमत्कार गर्छ भनेर प्रकाशन गरेको थियो । पछि त्यो संसारभर चिया–बीज कारोबर गर्ने कम्पनी ‘चिया नोभा रिसर्च एन्कर्पोरेसन’ ले आर्थिक लगानी गरेको रिसर्च रहेछ भनेर पत्ता लाग्यो र त्यो कम्पनी बन्द भयो । सोही लगानीकर्ताले अर्को कम्पनी ‘साल्भा रिसर्च एन्ड डेभलप्मेन्ट’ खोलेका थिए र त्यो पनि पाँच वर्षपछि बन्द भएको थियो ।
तौल नियन्त्रण गर्नका लागि स्वच्छ एवं सन्तुलित आहारा खाने, धेरै चिल्लो र कार्बोहाइड्रेटयुक्त खानामा नियन्त्रण गर्ने र व्यायाम गर्ने बानी बसाल्नुबाहेक अरू कुनै प्रभावकारी विकल्प छैन । यसका साथसाथै, नेपाली घर–आँगन आँफै प्रशस्तै अन्न, बीज, गेडागुडी, वनस्पति र जडीबुटीमा समृद्ध छ । त्यसकारण, स्वस्थ रहनकै लागि महँगा, अनौठा खानेकुराको पछि लाग्नुभन्दा हाम्रै वरिपरिका खानेकुराको महत्त्व बुझ्दै सन्तुलितरूपमा खाएर शरीरलाई चहिने सम्पूर्ण पोषण परिपूर्ति गर्नु उचित हुन्छ । मानिसको स्वास्थ्यप्रतिको बढ्दो संवेदनशीलताको फाइदा उठाएर गरिने व्यापार र प्रचारको पछि लाग्नुभन्दा पहिले त्यससम्बन्धी वैज्ञानिक तथ्य खोज्ने र त्यो सम्भव नभए विज्ञको सल्लाह लिनुपर्ने कुरमा सबै सचेत हुनुपर्दछ ।

READ MORE NEWS

अग्रपंतिमा कार्यरत ७० प्रतिशत चिकित्सक तथा स्वयंसेवकमा मानसिक र मनोवैज्ञानिक समस्या

काठमाडौं। मानवीय सेवा कार्यहरू गर्दा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको क्षेत्रमा लगानी बढाउनुपर्ने विज्ञहरूले जोड दिएका छन्।मानसिक स्वास्थ्य दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीले आयोजना गरेको अन्तर्राष्ट्रियस्तरको छलफल कार्यक्रममा विज्ञहरूले उक्त कुरा बताएका हुन्।

म्यानमारमा कार्यरत डा. युवराज अधिकारीले नेपालमा कोभिड प्रतिकार्यमा अग्रपंतिमा संलग्न ७० प्रतिशत चिकित्सक तथा स्वयंसेवकहरुमा कुनै न कुनै प्रकारका मानसिक र मनोवैज्ञानिक समस्या देखिएको आफ्नो अध्ययनले देखाएको दाबी गरे। “कोभिड पछि मानसिक स्वास्थ्य समस्या बढ्दो छ तर त्यस क्षेत्रमा लगानी आधा घटेकोले नीति निर्माताहरु अत्यन्तै गम्भीर हुनुपर्ने अवस्था छ,” उनले भने।

नेपालमा हरेक दिन औसतमा १५ जनाले आत्महत्या गर्ने गरेको र गएको वर्षमा करिब ६ हजार ३०० ले आत्महत्या गरेको आँकडा प्रस्तुत गर्दै नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले अन्तर्राष्ट्रिय रेडक्रस अभियान र नेपाल रेडक्रसले मानसिक स्वास्थ्यमा गरेका कार्यक्रमको बारेमा प्रस्तुति दिएका थिए।

कार्यक्रममा नेपाल रेडक्रस, साझेदार रेडक्रस सोसाइटीहरु, आइसीआरसी र  रेडक्रसको महासंघका प्रतिनिधिहरुसहित ८५ जनाले  भाग लिएको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए।कार्यक्रममा रेडक्रसको एशिया प्रशान्त क्षेत्रीय कार्यालयका विज्ञ एलिजा चेइङले एशिया क्षेत्रका मुलुकका रेडक्रस सोसाइटीहरुले मानसिक स्वास्थ्यका क्षेत्रमा गतिविधि बढाउँदै लगेको तर त्यो पर्याप्त नभएको औंल्याएकी थिइन्।


Your Views
Related News