अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अब अरूलाई कोभिड सार्ने खतराभन्दा बाहिरको अवस्थामा पुगेका उनको उपचारमा रहेका चिकित्सकले बताएका छन्। ट्रम्पको उपचारमा संलग्न डाक्टर सीन कोन्लीले दिएको यो विवरण नै ट्रम्पको स्वास्थ्यबारे बिहीवार यताको पहिलो औपचारिक विवरण हो। भाइरस सङ्क्रमणका कारण अस्पतालमा भर्ना भए यता पहिलोपटक राष्ट्रपति ट्रम्पले शनिवार ह्वाइट हाउसमा समर्थकहरूको भिडलाई सम्बोधन गरेका थिए।

तीन दिन अस्पताल उपचार गराएका ट्रम्पले अरूलाई रोग सार्ने हुन् कि भनेर गम्भीर चासो व्यक्त भएको थियो। डाक्टरले उनको शरीरमा अब ‘भाइरस सङ्ख्या बढाउन सक्ने किसिमको स्थितिमा नरहेको’ भन्दै उनको शरीरमा भाइरसको सङ्ख्या पनि घटिरहेको लेखेका छन्। तर विज्ञप्तिमा ट्रम्प कोभिड १९ नेगेटिभ भए नभएको उल्लेख गरिएको छैन। डा कोन्लीले राष्ट्रपति ट्रम्पको शरीरमा कति भाइरस छ भन्ने जाँचिएको बताए।

उनले भने. “राष्ट्रपति सीडीसीले तय गरेको मापदण्ड बमोजिम आइसोलेशनबाट बाहिर निस्कने अवस्थामा पुगेको जानकारी गराउन चाहन्छु। आज बिहानको सीपीआर जाँचबाट उनीबाट अब अरूलाई कोभिड-१९ सर्ने खतरा छैन।”

ट्रम्पलाई दश दिन अघि कोरोनाभाइरसको लक्षण देखिएको थियो। पछि उनले अक्टोबर २ तारिखका दिन अस्पताल भर्न गरिएको थियो। अस्पतालमा उनलाई अन्य औषधि सहित डेक्सामेथासोन नामको स्टेरोइड दिइएको थियो जुन प्रायजसो भाइरसका कारण स्वास्थ्य अवस्था गम्भीर रहेकाहरूलाई दिने गरिन्छ।

डाक्टर कोन्लीको यो पछिल्लो अभिव्यक्ति ट्रम्पले ह्वाइट हाउसमा भएको एक भेलामा “आफूले राम्रो” महसुस गरिरहेको बताएसँगै सार्वजनिक भएको हो। उनले हाल आफूले कोभिड-१९ विरुद्ध कुनै पनि किसिमको औषधि नलिएको बताएका छन्।

शनिवारको उक्त कार्यक्रम आधिकारिक रूपमा “शान्तिपूर्ण र्‍याली” थियो। तर आलोचकहरूले भने त्यो कार्यक्रम ट्रम्पको चुनावी अभियान जस्तो देखिएको टिप्पणी गरेका छन्। आगामी महिना हुने राष्ट्रपतीय निर्वाचनमा उनका विपक्षी जो बाइडन हाल पेन्सलभेनियामा चुनावी अभियानमा सामेल छन्।

सर्वेक्षणहरूका अनुसार बाइडन ट्रम्प भन्दा एक अङ्कले अगाडि छन्। एबीसी न्यूजले गरेको सर्वेक्षणमा ट्रम्पले कोरोनाभाइरस महामरी व्यवस्थापन गरेको विषयलाई ३५ प्रतिशत अमेरिकीहरूले अनुमोदन गरेका छन्।

हालसम्म २१४,००० भन्दा बढी अमेरिकीहरूको कोभिड-१९ का कारण मृत्यु भएको छ। जोन्स हप्किन्स विश्विद्यालको पछिल्लो तथयाङ्क अनुसार अमेरिकामा सङक्रमित हुनेहरूको सङ्ख्या ७७ लाख भन्दा बढी छ।

READ MORE NEWS

साढे चार करोड रुपैयाँमा बिक्री भएको यो हो दुनियाकै महँगो ब्याग

काठमाडौं । पछिल्ला वर्षहरुमा विश्वका विभिन्न देशमा अनेक खालका लिलाम बढाबढको आयोजना हुने गर्दछन् । विभिन्न लिलाम घरहरुले यस्तो लिलामीको आयोजना गर्दछन् जहाँ विभिन्न ऐतिहासिक, पुरातात्विक तथा बहुमूल्य वस्तुहरुको बिक्री हुन्छ ।

सन् २०१७ मा लण्डनमा भएको यस्तै एउटा लिलामीका क्रममा एउटा ब्याग झण्डै साढे ४ करोड रुपैयाँ मूल्यमा बिकेको थियो । उक्त ब्यागले विश्वका सबैभन्दा महंगो मूल्यमा बिक्री भएको ब्यागको कीर्तिमान राखेको थियो त्यसबेला जुन अहिलेसम्मै कायम छ ।

हर्मेस कम्पनीको बर्किन ह्वाइट हिमालय ब्राण्डको उक्त ब्याग ३ लाख ७९ हजार २६१ डलरमा बिक्री भएर कीर्तिमान राखेको थियो । सो ब्याग गोहीको छालाबाट हातैले बनाइएको हो । १८ क्यारेट सुनको फ्रेममा २ सय ४० टुक्रा हिराको प्रयोग गरिएको छ यो ब्यागको सतहमा ।

त्यस्तै सन् २०१८ मा हर्मेन बर्किनको एउटा ब्याग लण्डनमा भएको लिलामीका क्रममा २ लाख १७ हजार १ सय ४४ अमेरिकी डलरमा बिकेको थियो । सो ब्यागमा समेत १८ क्यारेटको सेतो सुन तथा हिरा जडित लक रहेको छ । ३० सेन्टिमिटर लामो उक्त ब्यागमा अन्य ठाउँमा पनि सेतो सुनको प्रयोग गरिएको छ ।

स्मरण रहोस् सन् १९८१ मा पहिलोपटक फ्रान्सको लग्जरी फेसन हाउस हर्मेस ले सो ब्यागको डिजाइन गरेको थियो । चर्चित अभिनेत्री तथा गायिका जेनी बर्किनको नामबाट सो ब्यागको नाम ‘हर्मेस बर्किन’ राखिएको थियो । जसका कारण उक्त ब्राण्ड विश्वभर लोकप्रिय बन्यो । सो ब्राण्डका विशेष संस्करणका ब्यागहरु निकै महंगो मूल्यमा बिक्ने गरेका छन् र पटक पटक मूल्यमा कीर्तिमान कायम गर्ने गरेका छन् ।

क्रिस्टी लिलामघरका अनुसार हर्मेस ब्राण्डका ह्याण्डब्याग निर्विवाद रुपमा विश्वका सबैभन्दा महँगा ब्याग हुने गरेका छन् । दुनियाभरका सेलिब्रेटीहरुको रोजाईमा यो ब्राण्डका ब्याग पर्दछन् । चर्चित फुटबलर डेभिड बेकह्यामले समेत आफ्नी पत्नीलाई सन् २००८ मा १ लाख डलर खर्चिएर हिमालयन बर्किन ब्याग खरीद गरिदिएका थिए । अमेरिकी टिभी पर्सनालिटी किम कार्दाशिनले पनि यही ब्राण्डको ब्याग बोक्ने गरेकी छिन् ।

सुरुवाती मूल्य नै झण्डै १० लाख पर्ने यो ब्राण्डका ब्यागहरु सीमित मात्रामा उत्पादन हुने भएकाले खरीद गर्न चाहनेले अर्डर गरेर प्रतिक्षा सूचिमा बस्नु पर्दछ विभिन्न पश्चिमा देशहरुमा समेत ।

इरानसँगको सम्झौतापछि पश्चिम एसियामा प्रभावशाली बन्दै चीन, ल्यायो क्षेत्रीय मञ्चको प्रस्ताव

नका परराष्ट्रमन्त्री वाङ यीले पश्चिम एसियामा तनाव मत्थर पार्नका लागि नयाँ मञ्च बनाउन आह्वान गरेका छन् ।
इरानी समकक्षी जविद जरिफसँगको एक बैठकपछि उनले यो आह्वान गरेका हुन् । तेहरानलाई बेइजिङको समर्थन पनि उनले दोहोर्‍याए ।

वाङ र जरिफले सन् २०१५ मा गरिएको आणविक सम्झौताप्रतिको प्रतिबद्धतालाई पुनर्पुष्टि गरेको चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ । शनिवार वाङ र जरिफको भेट चीनको तेङचोङ शहरमा भएको थियो र त्यसक्रममा उनीहरूले अमेरिकालाई अप्रत्यक्ष आलोचना गरे ।

इरान पश्चिम एसियामा अर्को क्षेत्रीय शक्ति साउदी अरबसँग कटुतापूर्ण सम्बन्धमा छ ।

‘चीन सबै सरोकारवालाहरूको समान सहभागिता सहितको क्षेत्रीय स्तरमा बहुपक्षीय संवाद मञ्चको प्रस्ताव गर्छ,’ चीनको परराष्ट्र मन्त्रालयको प्रेस विज्ञप्तिमा लेखिएको छ ।

यस मञ्चले पश्चिम एसियामा संवादमार्फत पारस्परिक समझदारी बढाउने तथा सुरक्षाका विषयमा राजनीतिक तथा कूटनीतिक समाधानको खोजी गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
वाङसँग फलदायी संवाद भएको जरिफले ट्विटरमा जानकारी दिए । अमेरिकी एकपक्षीयतालाई अस्वीकार गरेको र रणनीतिक सम्बन्ध विकासमा जोड दिएको पनि उनले जानकारी दिए ।

 


Your Views
Related News