विश्वलाई आक्रान्त बनाइरहेको कोरोना भाइरस (कोभिड– १९) चीनको बुहानबाट सुरु भएको विश्वभर बुझाइ छ । तर, चीनले आफूमाथि लगाउँदै आएको यो आरोप पटकपटक अस्वीकार गर्दै आएको छ । पछिल्लोपटक पनि चीनले पुनः आफूमाथि लाग्दै आएको आरोपको अस्वीकार गर्दै कोरोना भाइरस एक वर्षअघि नै विश्वका विभिन्न मुलुकमा फैलिसकेको दाबी गरेको छ । यस भाइरसबारे चीनले संसारलाई जानकारी दिएको उसको दाबी छ ।

केही समयअघि चिनियाँ अधिकारीबीच कोभिड–१९ बारे भएको छलफलमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआँ चुनयिङले यस्तो धारणा सार्वजनिक गरेकी हुन् । प्रवक्ता चुनयिङ भन्छिन्, ‘कोरोना भाइरस नयाँ किसिमको भाइरस हो, यसबारेमा धेरै अनुसन्धान भएको छ, यसै क्रममा हामीलाई थाहा भयो कि गत वर्ष नै यो भाइरस फैलिसकेको रहेछ । बुहानबाट भाइरस फैलिएको होइन । बरु विश्वलाई चीनले यस भाइरससम्बन्धी जानकारी दिएको हो ।’

विश्वलाई बचाउने उद्देश्यका साथ चीनले कोभिड–१९ नियन्त्रण र उपचारको पहल सुरु गरेको प्रवक्ता चुनयिङको भनाइ छ । ‘यदि हामीले त्यसवेला भाइरसबारे जानकारी नदिएको भए, विश्वले कोरोना भाइरस भन्ने थाहा नै पाउँदैन थियो,’ उनले भनिन् । चुनयिङले बुहानको मासु मार्केट र ल्याबबाट कोरोना फैलिएको भन्ने तथ्य शतप्रतिशत झुटो भएको जनाए ।

चीनमा अहिलेसम्म ९० हजार सात सय ३६ जनामा कोरोना संक्रमण भएको थियो । जसमध्ये चार हजार सात सय ३९ व्यक्तिले ज्यान गुमाए । अमेरिकी विदेशमन्त्री माइक पोम्पियाले बुहानबाट कोरोना भाइरस फैलिएको पुनः दाबी गरेपछि चीनले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । गत मंगलबार जापानको टोकियोमा अन्तर्राष्ट्रिय बैठकमा अमेरिकी विदेशमन्त्री माइकले यस्तो भनाई राखेका थिए । विदेशमन्त्री माइकले कम्युनिस्ट पार्टी अफ चाइना (सिपिसी) ले भाइरस लुकाउने काम गरेको आरोप लगाएका थिए । ‘चीन सरकारले लामो समयसम्म कोभिड–१९ लुकायो, चीनकै कारण अहिले विश्वले महामारी सामना गरिरहेको छ, चीनले समयमै यसबारे जानकारी दिएको भए, कोभिड–१९ ले यो रूप लिने थिएन,’ माइकको दाबी थियो । चीनले कोरोना भाइरस अन्य प्रान्तमा फैलिन नदिन ३१ राज्यका अधिकारीसँग छलफल गरेको चुनयिङले बताए ।

डब्ल्युएचओको टोलीले चीनमा पुनः अनुसन्धान गर्ने
यसैबीच विश्व स्वास्थ संगठन (डब्ल्युुएचओ)को एक टोलीले चीनमा फेरि अनुसन्धान गर्ने भएको छ । गत अगस्टमा डब्ल्युुएचओको दुई सदस्यीय टोली चीनमा अनुसन्धान गर्न पुगेको थियो । यो टोलीले कोरोनाको आधिकारिक सोर्स पत्ता लगाउने दाबी गरिएको थियो । ‘हामीले भाइरस सम्बन्ध अनुसन्धान गर्न चीनमा एक टोली पठाउने निर्णय गरेका छौँ,’ डब्ल्युएचओले जारी गरेको विज्ञप्तिमा भानिएको छ, ‘यो कार्यमा चीनले समर्थन गरेको छ ।’

चीनले कोरोना भाइरस नियन्त्रण गर्न २३ जनवरीदेखि बुहानमा लकडाउन गरेको थियो । त्यसवेलासम्म चीनमा केवल नौजनामा मात्रै संक्रमण फैलिएको थियो । यसवेला अमेरिकामा एकजनामा व्यक्ति मात्र संक्रमण देखिएको थियो । त्यसपछि अमेरिकाले २ फेब्रुअरीमा चिनियाँ नागरिकमाथि प्रवेश रोक लगायो । चिनियाँ नागरिक प्रतिबन्ध लगाउँदा अमेरिकामा त्यसवेला १२ जनामा संक्रमण फैलिसकेको थियो ।

जोहन्स हापकिन्स विश्वविद्यालय कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार अहिलेसम्म कोरोना भाइरसले तीन करोड ६० लाख व्यक्ति संक्रमित भएका छन् । दश महिनाको अवधिमा अमेरिकामा मात्रै ७९ लाख ४५ हजार संक्रमित छन् । दुई लाख १९ हजार अमेरिकी नागरिकको कोरोनाबाट ज्यान गइसकेको छ ।

डब्ल्युुएचओलाई युरोपको चिन्ता
डब्ल्युुएचओले युरोपमा दोस्रो चरणको संक्रमण पहिलेको तुलनामा डरलाग्दो हुन सक्ने जनाएको छ । यसको नियन्त्रणका लागि तत्कालै छलफल गर्नुपर्ने डब्ल्युुएचओको भनाइ छ । ‘हामीलाई प्राप्त तथ्यांकअनुसार युरोपको अवस्था निकै नराम्रो छ,’ डब्ल्युएचओका हेन्स क्लगले भने, ‘केवल विज्ञानले मात्र कोरोना निको हुने होइन, प्रत्येक व्यक्तिले यसको दायित्व र साहसिक निर्णय लिनुपर्छ ।’ अहिले युरोपमा स्पेन, रुस, फ्रान्स र बेलायत उच्च जोखिममा छन् । बेलायतले पुनः विभिन्न सहरमा लकडाउनको तयारी गरेको छ । यसैबीच, अस्ट्रेलियाको भिक्टोरिया राज्यले थप चार साता संकटकाल घोषणा गरेको छ ।

सुरक्षित उत्तर कोरिया
उत्तर कोरियाले कोरोना भाइरस पूर्ण रूपमा नियन्त्रण भएको दाबी गरेको छ । यस भाइरसले उत्तर कोरियामा एकजनाको पनि निधन नभएको दाबी अधिकारीहरूले गरेका छन् । उत्तर कोरियाका नेता किमले एक सैनिक परेडमा भने, ‘उत्तर कोरियामा कोभिड–१९ ले एकजना पनि निधन भएको छैन, अहिलेसम्म देश सुरक्षित छ ।’

READ MORE NEWS

कोरोनाबाट जोगिन र जोगाउँन जान्नै पर्ने १० तथ्य

भक्तपुर, असोज २५ : कोरोना भाइरस (कोभिड–१९)लाई महामारीको रुपमा लिएको ६ महिना भएको छ। यो अवधिमा कोभिडसँग सम्बन्धित थुप्रै अध्ययन र अनुसन्धान भएका छन्।

विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएका केही तथ्य तथा उपायहरुलाई अवलम्बन गर्दा कोरोनाबाट जोगिन सकिन्छ । कोरोनाबाट जोगिन र अरुलाई पनि जोगाउन जान्नै पर्ने १० वटा तथ्यहरु यस्ता छन् :

१) युवा तथा रोग प्रतिरोधात्मक क्षमता बढी भएका मानिसमा पनि कोभिड–१९ को खतरा

बृद्धबृद्धामा जसरी नै युवाहरुमा पनि कोरोना संक्रमणको उत्तिकै सम्भावना रहन्छ। कतिपय अवस्थामा उनीहरु कोरोना सार्ने माध्यम समेत बनिरहेका हुन्छन्। धेरै युवाहरु कोरोना सक्रमित भएर मृत्युकै अवस्थामा नपुगेपनि अस्पतालमा भर्ना हुनुपर्ने र दिर्घकालिन स्वास्थ्य समस्या आउने सम्भावना घेरै रहेको पाइन्छ।

२) भाइरस रहेको सतहमा छुने बितिक्कै कोरोना सर्छ भनेर डराउनु हुँदैन

प्लास्टिक र धातुजस्ता सतहहरूमा कोरोना भाइरस रहन सक्छ भन्ने अध्ययनले देखाएपछि सतहहरू छुने बितिक्कै कोरोना सर्छ भन्ने धेरैमा डर पैदा भएको छ। तर, भाइरस रहेको सतहमा छुने बितिक्कै कोरोना भाइरस हाम्रो शरीरमा प्रवेश गर्दैन।

भाइरस रहेको सतहमा छोएर हातलाई नाक, मुख र आँखामा छोएको अवस्थामा भने भाइरस सजिलैसँग हाम्रो शरीरमा प्रवेश गर्छ। त्यस्तैले कुनैपनि सतहमा छोएपछि साबुनपानीले राम्ररी हात धुने हो भने यसले धेरै हदसम्म भाइरस सर्नबाट जोगाउँछ।

३) कोरोना भाइरस हावाको माध्यमबाट पनि सर्नसक्छ

श्वासप्रश्वासको माध्यमबाट आउने ड्रपलेट्स (थोपा)हरुले पनि कोरोना भाइरस सार्नसक्छ। अहिलेसम्म कोरोना हावाबाट सर्न सक्ने कुराको पुष्टि नभएपनि श्वासप्रश्वास गर्दा मानिसको शरीरबाट निस्केको ड्रपलेट्स वायुमा धेरै समयसम्म रहने र अन्य मानिसहरु त्यसको सम्पर्कमा आएमा कोरोना भाइरस सर्ने एक अध्ययनले देखाएको छ।

रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्र (सिडिसि)ले गरेको अध्ययनका अनुसार, ड्रपलेट्सको माध्यमबाट निस्केका भाइरसहरु १.८ मिटरसम्म हावामा धेरै समय सक्रिय रहनसक्छन्। यसबाट बच्न दूरी कायम राख्नुपर्ने उनीहरु सुझाउँछन्।

४) निकाे भएपछि पनि काेराेना कोरोना संक्रमणकाे हुनसक्छ

विगत केही महिनामा कोरोनाबाट निको भईसकेका मानिसहरु पनि पुनः संक्रमित भएको धेरै केसहरु आइरहेकाछन्। यसै कारण आगामि दिनहरुमा कोरोना संक्रमितको संख्यामा अझ बृद्धि हुनसक्ने अध्ययनले देखाएको छ।

५) तातो र आर्द्रताले मात्र कोरोना भाइरस मार्न सक्दैन

युरोपमा गर्मीको याममा पनि कोरोना भाइरस व्यापक रुपमा फैलिएबाट गर्मी मौसममा कोरोना भाइरस मर्छ भन्ने भ्रम तोडेको छ। अध्ययनहरुका अनुसार, सूर्यको प्रकाशले केही मिनेटमै भाइरसलाई मार्न सक्ने भएपनि कोरोना भाइरसको पूर्ण नियन्त्रणमा यो पर्याप्त छैन।

६) बच्चाहरुले समुदायमा कोरोना भाइरस सार्नसक्ने

युवाहरुको तुलनामा बच्चाहरुमा कोरोना संक्रमण कम देखिएको भएपनि उनीहरुले समुदायमा कोरोना फैलाउन सक्ने सम्भावना रहेको अनुसन्धानकर्ताहरु बताउँछन्। भारतमा ८५ हजार मानिस र उनीहरुको सम्पर्कमा आएका ६ लाख मानिसमा अध्ययन गरिएको छ।

यसले सबै उमेर समूहका बच्चाहरुमा कोरोना संक्रमण हुने । उनीहरुको माध्यमबाट संक्रमण समुदायमा फैलिने देखाएको छ।

७) सुपर–स्प्रेडर एउटा ठूलो खतरा

एकै पटक धेरै मानिसहरुमा कोरोना संक्रमण फैलनुलाई सुपर–स्प्रेडर भनिन्छ। यो धेरैजसो सभा, सम्मेलनको समयमा फैलिने खतरा रहन्छ। एकजना व्यक्तिले कसैसँग हात मिलाउने र सोही व्यक्ति अर्को व्यक्तिको सम्पर्कमा आउने हुँदा सभा, सम्मेलनहरुमा जाँदा विशेष ध्यान दिनुपर्ने हुन्छ।

उदाहरणका लागि एक जना संक्रमित व्यक्ति कुनै सभा वा सम्मेलनमा जान्छ भने सो व्यक्तिका कारण एक सयजना संक्रमित हुनसक्ने सम्भावना रहन्छ। भारतमा गरिएको अध्ययनका अनुसार, केवल ५ प्रतिशत मानिसहरुले ८० प्रतिशत मानिसहरुमा कोरोना संक्रमण फैलाएको पाइएको छ।

८) कोरोना निको भइसके पनि लक्षण रहिरहनसक्छ

धेरै मानिसहरुमा कोरोना संक्रमण निको भईसकेपछि पनि लक्षणहरु भने रहिरहेको पाइन्छ। महिलाहरुमा यस्तो समस्या धेरै देखिएको छ। तर, यस्तो किन हुन्छ ? भन्ने विषयमा भने पर्याप्त अनुसन्धान हुन सकेको छैन।

विश्वव्यापि नै यस्ता केसहरु बढी देखिएपछि ब्रीटिस मेडिकल जर्नलले कोरोना निको भइसकेपछि पनि लक्षण रहि नै रहेका मानिसहरुलाई लिएर अनुसन्धन गर्नुपर्ने तर्क दिएका छन्।

९) केही देशहरुमा भेदभावमा परेका समूहका मानिसहरु उच्च जोखिममा

पश्चिमी मुलुकहरुमा कालो वर्ण भएका मानिसहरुलाई भेदभाव गर्ने भएका कारण उनीहरु धेरै खतरामा पर्ने गरेको अध्ययनले देखाएको छ। कोरोना भाइरस वंशाणुगत हिसाबले नसर्ने भएपनि उनीहरुको ब्याकग्राउन्डका कारण महामारीको समयमा फ्रन्टलाइनमा बसेर काम गर्नुपर्ने हुन्छ।

जस्तै ड्राइभर, सेक्युरिटी गार्ड, कारखानामा मजदुरीलगायतका कारण उनीहरुमा कोरोना संक्रमण फैलने उच्च जोखिम रहेको पाईन्छ। यस्तै भेदभावले मृत्युको जोखिममा पनि बढाएको पाइएको छ।

१०) फेक समाचार र गलत सूचना खतरनाक

कोरोना भाइरसबारे सामाजिक सञ्जालमा फैलने फेक समाचारहरुले यसको नियन्त्रणमा थप समस्या ल्याउने गरेको छ। कतिपय अवस्थामा अनविज्ञ मानिसहरुले कोरोना भाइरस नियन्त्रणका लागि दिईने सुझावका कारण पनि भ्रम फैलिरहेको हुन्छ।

उदाहरणका लागि कोरोना भनेको सरकारले व्याख्या गरे जत्तिको खतरनाक नरहेको भ्रामक समाचार फैलियो भने मानिसहरु मास्क नलगाउने, दूरी कायम नगर्ने, जनस्वास्थ्यका मापदण्डहरु पूरा नगर्नेलगायतका कार्यहरु गर्न थाल्छन्। यसले कोरोना नियन्त्रण थप समस्या त ल्याउँछ नै साथै धेरै मानिसहरुमा गम्भिर स्वास्थ्य समस्या निम्तने सम्भावना पनि रहन्छ।


Your Views
Related News