जनकपुरधाम : सरकारले यही असोज २ गते भारतबाट दुई सेट रेल जनकपुर ल्यायो। नेपालले आफैं किनेका नयाँ रेल आइपुगेपछि देशभर चर्चापरिचर्चा भयो। तर, नेपालमा सञ्चालनको पुरानो इतिहास बोकेको न्यारोगेज रेलका कोइला इन्जिन भने खिया लागेर कवाडीमा परिणत हुँदै छन्।

नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेलवे सेवा बन्द भएको ७ वर्षे अवधिमा पुराना इन्जिन, बोगी र अन्य उपकरण जीर्ण बन्दै छन्। विश्वमै दुर्लभ मानिएको न्यारोगेज रेलका कतिपय सामग्री चोरीसमेत भएको पाइएको छ। नेपाल रेलवेको स्टेसन कारखानामा थन्क्याइएका न्यारोगेज इन्जिनलाई सांस्कृतिक संग्रहालय बनाएर विश्वको ध्यान केन्द्रित गर्नुपर्नेमा बेवास्ता गरिएको जनकनन्दनी गाउँपालिका अध्यक्ष अब्दुल वारिख शेख बताउँछन्।

‘हामीले न्यारोगेज रेलको इन्जिन राखेर म्युजियम बनाउन चिठी लेखेरै संघीय सरकारसँग माग ग¥यो। तर, हामीले चिठीको जवाफ पाएका छैनौं’, गाउँपालिका अध्यक्ष शेख भन्छन्, ‘संघीय सरकारको भौतिक पूर्वाधार संरचनामा हामीले स्वीकृतिबिना हस्तक्षेप गर्न मिलेन। त्यसैले म्युजियम बनाई इन्जिन संरक्षण गर्ने काम हुन सकेको छैन।’

जनकनन्दनी गाउँपालिका खजुरीस्थित जनकपुरधाम–जयनगर रेलवे ट्र्याक खण्डको खुला स्टेसनमा ब्रह्मा, विष्णु, रामसीता, गोरखनाथ, पशुपतिनाथ, महावीर र सीता नामक इन्जिन संरक्षण अभावमा कुहिरहेका छन्। जनकपुर–जयनगर रेल सेवा बन्द भएपछि नेपाल रेलवेको विघटन भएसँगै रेल सम्पत्ति संरक्षण गर्न कर्मचारी खटाइएका थिए। १६ कर्मचारी घरमै बसेर तलबभत्ता खाँदै पार्टपुर्जासमेत बिक्री गरेको स्थानीय धनिकलाल दास बताउँछन्। ‘रेलमा पुरानो इतिहास बोकेको देश नेपालबाहेक कुनै छैन। तर, हामीले यसको महत्व बुझ्न सकेका छैनौं’, दास भन्छन्, ‘न्यारोगेज अरू देशमा छैन, त्यहाँ कति महत्व छ। तर, हाम्रो देशमा छ, यहाँ महत्व छैन। यसलाई अन्य ठाउँमा भए हीराझैं सजाएर राख्थ्यो। हाम्रो देशमा न्यारोगेज रेलवेको कोइला इन्जिन छोप्ने छत पनि छैन।’
नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले हालै संग्रहालय बनाएर संरक्षण गर्न आवश्यक बजेट विनियोजन गरिएको फेसबुकमा लेखेका छन्।

नेपालमा रेल सेवाको इतिहास सन् १९२७ मा सुरु भएको थियो। नेपाल सरकार रेलवे (एनलीआर) मातहत पहिलो रेल ७६२ एमएम न्यारोगेज हो। तत्कालीन बेलायत सरकारले भारतको रक्सौलबाट अमलेखगन्जसम्म ३९ किलोमिटर रेलमार्ग निर्माण गरेको थियो। दोस्रो चरणमा जयनगर–जनकपुर रेलमार्ग बनाइएको हो।

भारतको जयनगरबाट महोत्तरीको विजलपुरासम्म तत्कालीन बेलायत सरकारले नेपालबाट जडीबुटी, काठ तथा खनिज पदार्थ लैजान सन् १९३७ मा रेल सञ्चालन गरेको थियो। उक्त रेल पनि न्यारोगेजकै थियो। सोही कोइला रेलका इन्जिनको हाल अवमूल्यन हुँदै कवाडीजस्तै फालिएको संस्कृतिविद् डा. राभरोष कापडि ‘भम्रर’को भनाइ छ।

‘नेपाल सरकारले नयाँ रेल ल्याएको छ। त्यसका लागि स्वागत र बधाई छ। तर, पुरानो बहुमूल्य वस्तुको अवमूल्यन संस्कृतिउपरको प्रहार हो’, कापडी भन्छन्, ‘विश्वको अनौठो कल्पनाका चिजहरू हेर्न हामी भौतारिन्छौं। तर, हामीकहाँ भएको रेलका इन्जिनदेखि पार्टपुर्जा र कारखानाको सामग्रीलाई संरक्षण गर्न सकिरहेका छैनौं। विश्वका पर्यटक भित्र्याउने ठूलो माध्यम हुने रेलको इन्जिनलाई अवमूल्यन गरेर सांस्कृतिक धरोहर मेटाउँदै छौं।’

जनकपुर–विजलपुरा २२ किलोमिटर रेलवे ट्र्याक र दुईवटा पुल बाढीले बगाएपछि सन् २००१ देखि रेल सञ्चालन ठप्प भएको थियो। यसको लम्बाइ र रेल लिकको स्तरोन्नति गरी ब्रोडगेजमा विस्तार गर्ने नीतिअनुसार रेलमार्गलाई जयनगर–जनकपुर–बिजलपुरा–बर्दिबाससम्म ६९ किलोमिटरमा काम भइरहेको छ। जयनगरबाट जनकपुरसम्म भने रेल सञ्चालन गर्न आवश्यक पूर्वाधार तयार भइसकेको छ। भारत सरकारको सहयोगमा निर्माणाधीन ६९ किलोमिटर रेलमार्गमध्ये तीन किलोमिटर भारतीय भूमिमा पर्छ।

READ MORE NEWS

भारतको भविष्यः गुजरात होइन, उत्तर प्रदेश मोडल

उत्तर प्रदेशको हाथरसमा एक दलित महिलाको बलात्कार र यातनापछि मृत्यु भयो। उनको परिवार शव घर लैजान चाहन्थ्यो। तर, प्रहरीले दिएन। जबर्जस्ती राति उनको अन्त्येष्टि गरायो। चार पुरुषमाथि बलात्कारको आरोप लागेको छ। उनीहरु ठाकुर जातिका हुन्। (बलात्कार नभई, हत्या मात्रै भएको बिहीबार प्रहरीले बताएको छ।)

यो घटनाले प्रहरीको उच्च जातीय अहंकार र क्रुरतालाई प्रस्टसँग देखाउँछ। भारतमा प्रहरी निर्दयी बन्न सक्छ। खासगरी उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथले प्रहरीलाई दण्डहीनताका साथ जेसुकै गर्न अनुमति दिएका छन्। उदाहरणका लागि ‘इन्काउन्टर’ का नाममा ग्याङस्टार विकास दुबेको षड्यन्त्रपूर्ण हत्यालाई लिन सकिन्छ।

अहिले त प्रहरीले आदित्यनाथलाई समेत टेर्न छाडिसक्यो। हत्या आरोप लागेका एक प्रहरीलाई निलम्बन गर्ने आदित्यनाथको आदेशलाई प्रहरीले लत्याएको छ।

यहीबेला आदित्यनाथ भने सम्भव भएजति सबै उपाय लगाएर मुस्लिमहरुको विरुद्धमा लागेका छन्। आफूसँग मतभेद राख्नेहरुको दमनमा उत्रिएका छन्। गोरखपुरको एउटा अस्पतालमा अक्सिजन सिलिन्डरको अभावका कारण कयौँ बालबालिकाको मृत्यु भएको खुलासा गर्ने डा. काफिल खानलाई उनलाई महिनौँ जेलमा कोचे। नागरिकता विधेयकको विरोधमा प्रदर्शन गर्नेहरुको सम्पत्ति खोसियो। आदित्यनाथ सहर र संग्रहालयको नाम बदल्दै हिँडिरहेका छन्। अहिले उनी राज्यमा लगानी लिएर आउन व्यापारीहरुलाई निम्ता दिइरहेका छन्। नगरुन् पनि किन? इन्डिया टुडे म्यागेजिनले लगातार तीन पटक उनलाई भारतका उत्कृष्ट मुख्यमन्त्री घोषित गरेको होइन र? व्यापारीहरु त उनलाई प्रधानमन्त्रीका लागि सबैभन्दा उपयुक्त उम्मेदवार भन्न सक्छन्। किनभने कम्पनीहरुले आफूखुसी कामदार बर्खास्त गर्न पाउने छन्।

बदमासहरुले चार सय वर्ष पुरानो मस्जिद भत्काउँदा भारतीय जनता पार्टीका नेताहरुले ताली पिटेका थिए। त्यो ठाउँमा अहिले मन्दिर बनाइँदैछ। यो घाउमा नुनचुक दल्न मन्दिर भत्काएको आरोप लागेका सबैलाई निर्दोष घोषित गरिएको छ। यसपछिको गन्तव्य काशी र त्यसपछि मथुरा हुनेछ। यी सबै उपलब्धी योगी आदित्यनाथको आशीर्वादबाट प्राप्त हुनेछ।

उच्चजातीय, असहिष्णु र व्यवसायमैत्री– यो नयाँ र चम्किलो अवतारमा उदाउँदो उत्तर प्रदेशलाई हेर्नुहोस्। र, हामीले थाहै नपाई यो सिंगो भारतका लागि नमुना बन्नेछ। गुजरात मोडल त विगतको कथा थियो– भविष्य उत्तर प्रदेश मोडेलकै छ।

यहाँनेर गुजरात मोडेल कसरी निर्माण भयो, सम्झिन आवश्यक छ।

सन् २००२ को गुजरात दंगामा हजारभन्दा बढीको ज्यान गयो। तीमध्ये धेरैजसो मुस्लिम थिए। त्यसपछि नरेन्द्र मोदी बहिष्कृतजस्तै भए। तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयीले उनलाई झण्डै बर्खास्त गरेका थिए। तर, दुई सातापछि नै बाजपेयी आफ्नो बोली फेरे र गोधरा रेलमा आगो लगाएको दोष मुस्लिमहरुको थाप्लोमा हाले।

मोदीले आफ्नो जागिर त जोगाए तर अन्तर्राष्ट्रिय समुदाय र भारतमा पनि धेरैले उनलाई नजिक पर्न दिएनन्। भारतका ठूला व्यापारीहरुले उनको चर्को आलोचना गरे। ‘अन्तर्राष्ट्रिय रुपमा हामीले धर्मनिरपेक्षको नाम गुमायौँ,’ ब्यांकर दीपक पारेखले २००२ मा भनेका थिए। उनले पनि पछि बोली फेरे।

थुप्रै मुलुकले मोदीलाई भिसा दिएनन्। अमेरिकाले खुल्लमखुल्ला भिसा नदिने घोषणा ग¥यो, अरुले चुपचाप दिएनन्। तर, केही वर्षपछि नै तिनै मुलुकका राजदूतहरु गुजरात गएर मोदीलाई भेट्न र लगानीबारी छलफल गर्न थाले।

र, २०१३ को ‘भाइब्रेन्ट गुजरात समिट’ मा त कर्पोरेट हस्तीहरुले मोदीको गुणगान नै गाए। ‘उहाँसँग महान भिजन छ,’ मुकेश अम्बानीले भने। ‘उहाँ महात्मा गान्धी र सरदार पटेलजस्तै हुनुहुन्छ,’ अनिल अम्बानीले घोषणा गरे। ‘गुजरात भारतमा सबैभन्दा लगानीमैत्री राज्य हो र यसको जस मोदीलाई जान्छ,’ रतन टाटाले तालीको गडगडाहटबीच भने।

त्यसबेलासम्ममा मोदीले प्रधानमन्त्री बन्ने आकांक्षा प्रकट गर्न थालिसकेका थिए। उनको लोकप्रियता व्यावसायिक क्षेत्रमा मात्र सिमित थिएन। किनभने भारतीयहरुले उनीबारे राम्रैराम्रा कुरा मात्र सुनेका थिए– सुन्दर सडक, नियमित बिजुली, शान्ति र सुरक्षा। मोदीले मुस्लिमहरुलाई कसरी झुपडी बस्तीमा बस्न बाध्य बनाए, यसबारे खोजिनीति भएन। २००२ को दंगा बिर्सिइयो। आलोचकहरुले पनि अब यो विषय छाडेर ‘अघि बढ्न’ सुझाए।

त्यसपछि के भयो, हामी सबैले देखेकै छौँ। सारा सञ्चारमाध्यमले एक स्वरले मोदीलाई समर्थन गरे र कांग्रेसलाई गाली गरे। मोदीले बोलेका हरेक विषय समाचार बने। वाराणासीमा मोदीको ¥यालीलाई टेलिभिजनमा कुन उत्सुकताका साथ देखाइयो, स्मरणशक्ति राम्रो भएकाहरुले अझै पनि सम्झिन्छन्। धेरैले ठान्छन्– मिडियाले सन् २०१४ पछि आफूलाई बेच्यो। तर, त्यसो होइन, मिडिया त्योभन्दा धेरैअघि बिकिसकेको थियो।

विश्लेषकहरुले बुद्धिमानीपूर्वक मुन्टो हल्लाए र भने– मोदी विभाजनकारी विषयमा बोल्न छाडे। उनी आर्थिक विकासमा मात्र चासो राख्छन्। भ्रष्ट सरकारको नेतृत्व गरेका मनमोहन सिंहले भारतको अर्थतन्त्र ध्वस्त पारेका थिए। स्वच्छ छविका मोदीले अब अर्थतन्त्रको उद्धार गर्नेछन्। विदेशी लगानी थुप्रिनेछ। रोजगारी फालफाल हुनेछ र भारत महाशक्ति बन्नेछ।

तर, त्यस्तो केही भएन। साह्रै कुशल मोदीले भारतको अर्थतन्त्र डुब्न दिए। त्यहीबेला घृणाजन्य अपराधका घटना नाटकीय रुपले बढे र मुस्लिमहरुको सीमन्तीकरण भइरहेको छ। संघ परिवारको एजेन्डा सधैँ यही नै थियो। यो काम भने अत्यन्त कुशलतापूर्वक उनीहरुले गरे।

मोदीलाई मतदातामाझ बेच्न उनको छवि टल्काउन आवश्यक थियो। भारतको सहरी जनसंख्यामा साम्प्रदायिक सोच हावी छ। तैपनि तिनले नग्न रुपमा धर्मान्ध उम्मेदवारलाई स्वीकार्ने थिएनन्। त्यसैले नयाँ मोदी सिर्जना गरियो। र, यो तरिका सफल पनि भयो।

दिल्लीमा मोदी सरकार किसान र मुस्लिमविरुद्ध कानुन बनाउँदैछ। सरकार व्यापारीलाई फाइदा हुनेगरी नियम बदलिरहेको छ। असहमत हुनेहरुविरुद्ध दमन गर्दैछ। र, आफ्ना मान्छेलाई प्रहरीले कुनै दुःख नदिने सुनिश्चिता गर्दैछ।

तर, केन्द्रमा सरकार चलाएपनि राज्यस्तरको शक्ति आफ्नो हातमा हुँदैन। यहीँनेर आदित्यनाथ सफल देखिन्छन्। एउटा राज्यको मुख्यमन्त्री भएर पनि उनी आफ्नो प्रहरीलाई जुनसुकै राज्यमा पठाउन सक्छन्। आदित्यनाथ उत्तर प्रदेशका अधिपति हुन्, दिल्लीमा पनि उनलाई कसैले रोक्न सक्दैन।

उत्तर प्रदेश मोडलले विपक्षीलाई सहँदैन। अन्तर्राष्ट्रिय समुदायमा आफ्नो छवि कस्तो छ भनेर पनि यो चिन्ता गर्दैन।

आदित्यनाथको विश्वदृष्टिमा विदेशनीति र कूटनीतको कुनै अर्थ छैन। वैधानिक विवरण समयको बर्बादी मात्र हो। लोकतन्त्र भनेको भावुक र कमजोर मान्छेका लागि मात्र हो। लक्ष्य प्राप्त गर्नैपर्छ र आदित्यनाथले प्राप्त गरिछाड्ने छन्। यो कुरा संघलाई पनि थाहा छ। त्यसका लागि उनीसँग भरपूर योग्यता छ– उनी मुस्लिमहरुलाई आँतैदेखि घृणा गर्छन्। दलितहरुले आफ्नो औकात नाघ्नुहुँदैन भन्ने उनको सोच छ।

संघको दृष्टिकोणबाट हेर्ने हो भने मोदी साह्रै नरम भए, उनलाई आफ्नो छविको चिन्ता बढी हुन थाल्यो। तर, आदित्यनाथमा यो कमजोरी छैन। त्यसैले नै योगी आदित्यनाथ भविष्यका नेता हुन्।


Your Views
Related News