काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ लाई सामान्य रुपमा नलिन अपिल गरेको छ मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले हालसम्म पनि कोभिड–१९ रोकथाम सम्बन्धी भ्याक्सिन पत्ता नलागेको अवस्थामा त्यसलाई सामान्य रुपमा नलिन र तत्काल यसको नियन्त्रण सम्भव नभएको बताए। उनले भने, “हामी आफैँ सचेत भएनौँ भने अवस्था अझै जटिल आउन सक्छ, त्यसैले हामी जो जहाँ छौँ सचेत बनौँ सुरक्षित रहौँ ।”

उनले कोरोना सङ्क्रमण नेपालको शहर र घना वस्तीमा फैलिरहेको बताउँदै त्यस्ता ठाउँहरुमा भिडभाड कम गर्नुपर्नेमा जोड दिए। प्रवक्ता गौतमले चाडपर्व नजिकिंदै गरेको सन्दर्भमा किनमेल गर्न जाँदा सावधानी अपनाउन, अनिवार्य मास्क प्रयोग गर्न, अनिवार्य रुपले सावुनपानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न आग्रह गरेका छन् ।

चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यका मापदण्ड पालन गर्न पनि अपिल गरिएको छ । मन्त्रालयले सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घर परिवारका व्यक्तिबाहेक अन्य व्यक्तिसँग भेटघाट कम गर्नसमेत सबैलाई अपिल गरेको छ । उनले भने, “सरकारले पटकपटक अपिल गर्दै आएको छ, यसपालिको चाडपर्वमा बाहिर आवतजावत नगरौँ जहाँ छौँ तेही मनाऔँ ।”

READ MORE NEWS

यो पटकको दशैंमा अग्रिम टिकट बुकिङ खुल्ने सम्भावना कम

काठमाण्डौ – यो पटकको दशैंमा अग्रिम टिकट बुकिङ खुल्ने सम्भावना कम भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

अहिले नै गाडी खाली चलिरहेकाले अग्रिम टिकट बुकिङ खुलाउन आवश्यक नदेखिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो । विगतको दशैंमा जस्तो भीडभाड र चहलपहल नभएकाले यसपालि गाउँ फर्कने मानिसको संख्या निक्कै कम छ । यही अवस्था रहेमा अग्रिम टिकट बुकिङ खुलाउन आवश्यक नपर्ने महानिर्देशक हमालको भनाइ छ ।

उहाँले आवश्यक परिहालेमा  घटस्थापनाको एक/दुई दिनपछि मात्रै खोल्ने बताउनुभयो । गएको वर्ष यात्रुको चापका कारण अरु रुटमा चल्ने गाडीसमेत ल्याएर बढी चाप भएका रुटमा चलाउनुपर्ने बाध्यता थियो । तर यसपालि चलेका गाडीलाई नै यात्रु नपुगेको उहाँले बताउनुभयो ।

पहिला दशैंमा घर जाने विद्यार्थी धेरै हुन्थे । तर अहिले स्कुल, कलेज, विश्वविद्यालयमा खासै पठनपाठन नभएको र विद्यार्थीहरु अगाडि नै घरगाउँ गइसकेका छन् । एउटा रुटमा चल्ने १० वटा गाडीमध्ये २ वटा गाडीलाई नै यात्रु नपुगेको अवस्था रहेको उहाँले बताउनुभयो ।

यातायात व्यवसायीले पनि यात्रु नपाएको बताउँदै आएका छन् । गएको वर्ष दशैंका बेला २० लाखभन्दा बढी यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिन्थे । अहिले ४ देखि ६ लाख मात्र जाने भएकाले सामान्य तरिकाले चलेका गाडीले पनि पुग्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

गएको वर्ष असोजको १८ गतेदेखि दशैं सुरु भएको थियो । दशैंका लागि उपत्यका छाड्नेहरुका लागि यातायात व्यवसायीहरुले असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खोलेका थिए । यो वर्ष कात्तिक ७ गतेदेखि दशैं सुरु हुने भएकाले योभन्दा अगाडि नै अग्रिम टिकट बुकिङ खुला हुनुपर्ने भए पनि खुल्न सकेको छैन ।

गएको शुक्रबार यातायात व्यवस्था विभाग यातायात व्यवसायी, यातायात मजदुर, ट्राफिक प्रहरी र पालिकाका प्रतिनिधि बसेर छलफल गरे पनि टिकट बुकिङ खुलाउनुपर्ने पक्षमा कोही नरहेको विभागले जनाएको छ।

किशोरी दिवसका दिन रारातालमा कचहरी !

असोज २६, २०७७ मुगु : अन्तरराष्ट्रिय किशोरी दिवसका दिन आइतबार मुगुको रारा ताल किनारमा कचहरी बसेको छ। जिल्लामा सञ्चालित एक गैर सरकारी संस्था कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस पार्क) ले अन्तरराष्ट्रिय किशोरी दिवसका अवसरमा विभिन्न कार्यक्रम मनाउने क्रममा रारा तालमा कचहरी कार्यक्रम राखेको हो। यौन तथा प्रजनन अधिकारका विषयमा कचहरी गरिएको हो।

अन्तरराष्ट्रिय किशोरी दिवस विश्वभरी मनाइने गरिएपनि मुगुमा कसैलाई थाहा नहुने हुँदा यसबारे सन्देश दिन राराको मुर्माटपमा कचहरी कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था सिडिएस पार्क, मुगुका अध्यक्ष अज बहादुर शाहीले जानकारी दिए। किशोरीका हकहित निम्ति वकालत गर्नुपर्छ भन्ने मान्यताका साथ कचहरी कार्यक्रको आयोजना गरिएको उनको भनाइ छ। सो कचहरीमा मिडियाकर्मी र किशोरीहरूसँग यौन तथा प्रजनन अधिकारका विषयमा सवाल जवाफ गरिएको थियो।

भ्यानमा उपकरण, घर–घरमा उपचार

काठमाडौं : राजधानीको एक अस्पतालले लकडाउनका बेला अस्पतालसम्म जान नपाएका बिरामीलाई घरमै गएर उपचार सेवा दिएको छ। त्यो पनि निःशुल्क। काठमाडौंको नैकाप र चाबहिलमा रहेको ओम समाज डेन्टल अस्पतालले गएको लकडाउनमा करिब ६ सय यस्ता बिरामीलाई सेवा दिएको थियो।

अस्पतालका अध्यक्ष डा. सुवास घिमिरेका अनुसार बिरामीले एक कल फोन गरेका आधारमा अस्पतालले आफैं एम्बुलेन्समार्फत चिकित्सक र स्वास्थ्यसामग्री लगेर घरैमा उपचार दिएको थियो।

यस्तो उपचार सेवाका लागि अस्पतालले अत्याधुनिक प्रविधि जडान गरिएका दुई वटा भ्यान प्रयोग गरेको थियो। यो भ्यानमा दाँतको उपचारमा प्रयोग हुने मेडिकल उपकरण जडान गरिएको छ। ओरल तथा म्याक्जिलोफेसियल सर्जन घिमिरेले भने, ‘अस्पतालको बेडमा जडान गरिने उपकरण भ्यानमा जोडेका छौं। यसमा जहाँ गयो त्यहीं उपचार गर्न मिल्छ।’

पहिलो पटकको लकडाउनका क्रममा बिरामीको घरैमा गएर उपचार सेवा दिएको अस्पतालले पछिल्लो लकडाउनमा भने केही फरक विधि प्रयोग गर्‍यो।

कोरोना जोखिमका कारण घरमा होइन, आवश्यक परे एम्बुलेन्स पठाएर बिरामी ल्याई उपचार गरेको थियो। त्यसरी ल्याइएका बिरामीको निःशुल्क उपचार हुन्छ। ‘अहिले पनि समस्या पर्नेले खबर गर्नुभए हुन्छ’, डा. घिमिरेले भने, ‘हामी ल्याएर उपचार गर्न तयार छौं।’

सेवा लिन चाहनेले अस्पतालको फेसबुक पेज तथा टेलिफोनबाट खबर गर्न सक्नेछन्। यो सेवाअन्तर्गत बिरामीको दाँत दुखाइ कम गर्ने, घाउ भएको भए औषधि लगाउने तथा अन्य उपचार हुनेछ। यस्तो उपचारमा लाग्ने औषधिसमेत निःशुल्क वितरण गरिनेछ।

‘कोभिडको बेलामा थुप्रै संस्थाले अन्य राहत बाँडे। हामीले भने निःशुल्क उपचार गरेर राहत दियौं’ डा. घिमिरेले भने। अस्पतालले आर्थिक अवस्था कमजोर भएकालाई यस्तो सेवा दिने योजना बनाएको भए पनि को गरिब र को धनी भन्ने छुट्ट्याउन कठिन भएकाले सम्पर्क गर्ने जति सबैलाई उपचार दिएको घिमिरेले बताए।

दुई दशकअघि स्थापना भएको यो अस्पतालको महोत्तरी बर्दिबासमा पनि शाखा छ। अस्पतालले बिरामीलाई दिने सेवालाई सहज बनाउन सदस्यताको व्यवस्था गरेको छ। २५ रुपैयाँ शुल्क तिरेपछि हरेक व्यक्ति अस्पतालको सदस्य बन्न सक्छ। यसरी सदस्य बनेबापत उनीहरूको निःशुल्क दन्त परीक्षण  गरिन्छ।


Your Views
Related News