तीन कारणले बजारमा लत्ताकपडाको व्यापार छैन

काठमाण्डौ – दशैँ सुरु हुन अब केही दिन मात्रै बाँकी छ । विगतमा दशैँको एक/डेढ महिनाअघिदेखि नै बजारमा ठेलम्ठेल हुन्थ्यो । पसलमा किनमेल गर्नेहरुको लर्को हुन्थ्यो ।

दशैँमा कम्तीमा एक जोर भए पनि नयाँ लुगा किन्ने चलन अनुसार दुःखी गरिबले पनि एकसरो लुगा किन्थे । तर यसपटक धेरै जनासँग लुगाफाटा किनमेलको लागि पैसा छैन । त्यसमाथि सरकारले नै पुराना लुगाफाटाले काम चलाउनु भनेकाले लुगाफाटा किन्ने र बेच्ने दुवै निराश छन् । लुगाफाटाको व्यापार चौपट हुनुमा तीन कारण छन् ।

कारण एक : मान्छेको आम्दानी छैन 

महामारीका कारण कयौँको रोजगारी गुमेको छ । केहीको तलब काटिएको छ । केही तलब नआए पनि काम गर्न बाध्य छन् । विकास निर्माणका काम तीव्र गतिमा नहुँदा र उद्योग कल कारखाना पूर्ण क्षमतामा चल्न नसक्दा दैनिक ज्यालादारी गर्नेहरुलाई छाक टार्नै मुश्किल परिरहेको छ ।

मध्यम र निम्न वर्गका मान्छेलाई जीवन धान्न मुश्किल भइरहेको यस्तो अवस्थामा दशैँमा नयाँ लुगा किन्नुपर्छ भन्ने धारणा धेरैले त्यागेको पाइन्छ । पुरानै लुगाफाटामा दशैँ मनाउने तयारी गरेकाको संख्या निकै ठूलो छ।

कारण दुई : नाकामै अड्किए लुगाफाटा

नेपालमा आयात हुने लुगाफाटाको झण्डै ८० प्रतिशत लुगाफाटा चीनबाट भित्रन्छ । बालकदेखि वृद्धसम्मका लुगाफाटा र जुत्ता चप्पल चीनबाटै आयात हुन्छन् । तर यसपटक कोरोना भाइरसको कारण गएको चैतदेखि रसुवागढी र तातोपानी नाका बन्द जस्तै छन् ।

बेला बेलामा नाका खुलेका खबर आए पनि चिनियाँ पक्षले कोरोनाको कारण देखाएर दिनमा एक/दुई वटाका दरले मात्रै कन्टेनर नेपाल आउन दिने गरेको छ । झण्डै एक हजारको हाराहारीमा कन्टेनर सीमामै रोकिएका छन् ।

लुगाफाटा, जुत्ताचप्पल र कस्मेटिकका सामान बोकेका कन्टेर चीनमै रोकिँदा नयाँ कपडा नेपाल आएका छैनन् । गोजीमा पैसा हुनेहरु बजारमा गए पनि नयाँ कपडा नपाउँदा निराश हुँदै घर फर्कन बाध्य छन् ।

कारण तीन : सुरक्षा सतर्कता

अहिले दैनिक पाँच हजारको हाराहारीमा कोरोना सङ्क्रमित देखिन थालेका छन् ।

सरकारले १९ हजार जनाको परीक्षण गर्दा पाँच हजार जनामा कोरोना देखिएको छ । यसको मतलब सरकारले एक लाख नागरिकको परीक्षण गर्यो भने २२/२३ हजार जनामा कोरोना देखिन सक्छ । अवस्था भयावह भएको र सरकारले नै अब जिम्मेवारी लिन नसक्ने संकेत गरेपछि नागरिक डराएका छन् ।

बजारमा केही चहलपहल देखिए पनि धेरै नागरिक किनमेलको लागि जानै डराएका छन् । सरकारले हरेक दिन नागरिकलाई सचेत गराउने र तर्साउने हिसाबले पनि बजार नजान भनिरहेको छ । नागरिक पनि कोरोना लागेमा सरकारले हेर्दैन भन्ने मानसिकतामा पुगेकाले बजार निस्कन डराइरहेका छन् । यो कारणले पनि बजारमा लुगाफाटाको व्यापार छैन ।

‘यो वर्ष पुरानै लुगाफाटा लगाएर दशैँ मनाउनुहोला, कोरोनालाई परास्त गर्न सक्यौँ भने अर्को वर्षका चाडबाडमा रमाइलो गरौँला, किनमेल गरौंँला । यो वर्ष नयाँ लुगा किन्नुपर्यो भन्दै बजार नगएको राम्रो’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भन्नुभएको छ ।

व्यापारी भन्छन् : दशैँमा पनि ग्राहक कुरेर बस्ने अवस्था आउनु भनेको टाट पल्टनु हो

लुगाफाटाको व्यापार गर्ने व्यापारीहरुले आफ्नो व्यवसाय चौपट भएको गुनासो गरेका छन् । सरकारले बजार ननिस्कन नागरिकलाई बारम्बार आग्रह गर्नु, नेपाल आउने लुगाफाटा चीनमै रोकिनु र मान्छेको किन्ने क्षमता घट्नु लगायतका कारण व्यापार चौपट भएको उनीहरुको गुनासो छ ।

‘दशैँको बेलामा त दिनभरि हात खाली नहुनुपर्ने हो, ग्राहक ठेलम्ठेल गरेर आउनुपर्ने हो, तर अहिले त दुई जना ग्राहक आउँदा पनि खुसी हुनुपर्ने अवस्था आएको छ’ नयाँ बानेश्वर व्यापार संघका अध्यक्ष रामशरण गिरीले भन्नुभयो ।

उहाँले अहिले व्यापारीहरुले धमाधम सटर बन्द गर्न थालेको बताउनुभयो । ‘पसलमा मान्छे आउनै छाडे, धेरै व्यापारीले भाडा तिर्न नसकेर पसल नै बन्द गरेर हिँडेका छन्, व्यापारमा  ठूलो संकट आएको छ’ गिरीले भन्नुभयो ।

दसैँको रमाइलोपना खोसियो : अर्थविद् आचार्य

अर्थविद् केशव आचार्यले कोरोनाका कारण दशैँको रमाइलोपना नै खोसिएको बताउनुभएको छ । निम्न वर्गदेखि उच्च वर्गका मान्छेले पनि दशैँलाई उत्साह र उमङ्गका साथ मनाउने चलनलाई कोरोनाको महामारीले बिथोलेको उहाँको भनाइ छ ।

‘दैनिक मजदुरी गरेर खानेले समेत दशैँमा एकसरो लुगा फेर्नुपर्छ भन्ने चलन थियो, अरु बेला नभए पनि दशैँमा उनीहरुले नयाँ कपडा किन्थे, तर यो दशैँमा त रमाइलोपना नै खोसियो’ आचार्यले भन्नुभयो ।
निम्न वर्गको दशैँ आम्दानी नहुँदा खल्लो भएको र उच्च वर्गको दशैँ पैसा भए पनि चहलपहल गर्न नपाउँदा खल्लो हुने अर्थविद् आचार्यको भनाइ छ ।

READ MORE NEWS

भारत–चीन सीमा विवाद कम गर्न सैन्य कमाण्डरबीच आज वार्ता

असोज २६, २०७७ काठमाडौं :  सीमा क्षेत्र पूर्वी लद्दाखमा जारी तनाव अन्त्यका लागि भारत र चीनका सैन्य कमाण्डरबीच आज वार्ता हुँदैछ।  वार्तामा दुवै देशका कुटनीतिज्ञसमेत सहभागी हुने जनाइएको छ। भारतीय संचारमाध्यमहरुका अनुसार कुटनीतिज्ञसहित पहिलो पटक वार्ता हुन लागेको हो। तर यस क्षेत्रमा जारी तनाव अन्त्यका लागि भन्दै यसअघि ६ पटकसम्म वार्ता भइसकेको छ। वार्तामा चिनियाँ विदेश मन्त्रालयका उच्च अधिकारी पनि सहभागी हुनेछन्। यसअघि २१ सेप्टेम्बरमा भएको छैटौँ वार्तामा भारतका तर्फबाट कुटनीतिज्ञ, विदेश मन्त्रालयका सहसचिवलगायत सहभागी भएका थिए।

१० सेप्टेम्बरमा भारतीय विदेश मन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यी बीच मस्कोमा भेटवार्ता भएको थियो। भेटवार्तामा विभिन्न पाँचवटा बुँदामा सहमति भए पनि सीमा क्षेत्रमा तनाव जारी रहेको थियो। दुबै देशले एक अर्को देशका सैनिकले सीमा नियन्त्रण रेखा पार गर्ने गरेको आरोप लगाउँदै आएका छन्।  पछिल्लो समय चिनियाँ सैनिक पिएलएले भारतीय सैनिकले सीमा रेखा तोडे गोली चलाउने चेतावनी दिइसकेको छ। यसअघि लद्दाखमा दुई देशका निशस्त्र सैनिकबीचको झडपमा भारतीय सैनिकका एक मेजरसहित २० सैनिकको मृत्यु भएको थियो।


Your Views
Related News