बौद्धिक सम्पत्तिको बहुमूल्य लक्षण, अपराधमा उद्यत व्यक्तिको रातारात करोडपति बन्ने चाहना र सहज पहुँचका कारण चोरी बढ्ने गर्छ ।

बौद्धिक सम्पत्ति कानुनी अवधारणा हो । कुनै व्यक्ति वा संस्थाद्वारा मानिसको बौद्धिकता (ज्ञान, सीप, श्रम) आदिको प्रयोग गरी आफ्नो स्वामित्वमा गरिएको सिर्जनालाई बौद्धिक सम्पत्ति भनिन्छ भने संगीत, साहित्यिक कृति, वास्तुकला, चित्रकला, अन्य कला, खोजी, प्रतीक, नाम, चलचित्र, डिजाइनलगायतका सिर्जनाहरू बौद्धिक सम्पत्तिमा पर्छन् । त्यस्तै नेपालमा पेटेन्ट, डिजाइन, ट्रेडमार्क, प्रतिलिपि अधिकार (कपी राइट) लाई मुख्यतया बौद्धिक सम्पत्तिमा राखिएको छ । नेपालमा सर्वप्रथम वि.सं. १९९३ मा प्रधानमन्त्री जुद्धशमशेरले नेपाल पेटेन्ट, डिजाइन र ट्रेडमार्क कानुन, १९९३ लागू गरेका थिए भने हाल पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ तथा प्रतिलिपि अधिकार ऐन, २०५९ ले बौद्धिक सम्पत्तिलाई नियमन गरिरहेका छन् ।

नेपाल सन् १९९७ मा विश्व बौद्धिक सम्पत्ति संगठन र सन् २००४ मा विश्व व्यापार संगठन तथा सन् २००६ देखि वर्न महासन्धिको पक्ष राष्ट्र भइसकेको छ । यसरी विश्व बौद्धिक सम्पत्ति संगठन, विश्व व्यापार संगठनलगायत विश्वमञ्चमा संलग्नता, वर्न, पेरिसलगायत विभिन्न सन्धि, अभिसन्धि र प्रोटोकलमा प्रतिबद्धता, नेपालको संविधानमा बौद्धिक सम्पत्तिसम्बन्धी अधिकारलाई मौलिक हकका रूपमा गरिएको स्वीकार, प्रतिलिपि अधिकार ऐन, नियमावली, औद्योगिक, वाणिज्य र बौद्धिक अधिकारसम्बन्धी नीतिगत व्यवस्था, परम्परागत ज्ञान, सम्पदा, संस्कृति, जैविक विविधता, लोकसंस्कृति संरक्षणको चेतनास्तरमा वृद्धि, सर्जक वा उत्पादकको सम्मान गर्ने परिपाटीको विकासलगायतले नेपालमा बौद्धिक सम्पत्तिमाथि अधिकार स्थापित गर्ने प्रयास गरिरहेका छन् ।नेपालमा बौद्धिक सम्पत्तिको मान्यता र संरक्षणसम्बन्धी लामो अभ्यास देख्न सकिन्छ । खासगरी विभिन्न कलाहरूको विकास, मठमन्दिरको निर्माण र तिनको निर्माण गर्ने कलाकारको सम्मान आदिले बौद्धिक सम्पत्तिसम्बन्धी अवधारणाको जग मजबुत बनाएको छ । त्यस्तै नेपाली समाजमा विभिन्न कला, सीप, साहित्य, सभ्यता र सांस्कृतिक सम्पदा तथा जैविक विविधताले आफ्नै खालका विशिष्ट पहिचान बोकेका छन् । काठमाडौको काष्ठमण्डप, पाटनको कृष्ण मन्दिर, भक्तपुरको पाँचतले मन्दिर, नेपालका हिमाल, पहाड र तराईमा फैलिएका कला संस्कृति, जैविक विविधता, परम्परागत कृषि प्रणाली, वास्तुशास्त्र, ज्योतिष शास्त्र, गणित शास्त्र, विभिन्न तन्त्रमन्त्र, परम्परागत ज्ञान यसका ज्वलन्त उदाहरण हुन् ।

विश्वमा कमन ल प्रणाली भएका देशहरूले बौद्धिक सम्पत्तिलाई आर्थिक, सांस्कृतिक र औद्योगिक विकास गर्ने माध्यम र त्यस्तो सम्पत्तिको मालिकलाई एकाधिकारको अधिकार प्रदान गरी आर्थिक प्रोत्साहन दिने साधनका रूपमा लिने गरेका छन् भने कन्टिनेन्टल लिगल सिस्टममा बौद्धिक सम्पत्तिलाई सर्जकको व्यक्तित्व विकास गर्ने माध्यमका रूपमा लिइने भएकाले यसलाई नैतिक अधिकार मानिन्छ । त्यस्तै समाजवादी मुलुकहरूमा समाजकै सम्पत्तिको हिस्साका रूपमा सर्जकलाई आर्थिक अनुदान, पुरस्कार तथा पारिश्रमिक दिने गरिन्छ ।कुनै नयाँ चिज आविष्कार गर्न मेहनत, लागत र सिर्जनशीलता आवश्यक पर्छ । कुनै व्यक्ति वा संस्थाले निरन्तर खोज, अनुसन्धान र लगानीबिना कुनै नयाँ सूत्र वा सिद्धान्त, कुनै नयाँ वस्तु उत्पादन गर्ने विधि वा तौरतरिका पत्ता लगाउन सक्दैन । यसरी कुनै व्यक्ति वा संस्थाले उसको बुद्धि, विवेक र मेहनतबाट पहिलो पटक पत्ता लगाएको नयाँ सूत्र, सिद्धान्त, विधि, प्रविधि, सोच, संयन्त्र वा त्यसको समुच्चलाई बौद्धिक सम्पत्तिको संज्ञा दिने गरिएको छ । तर, बौद्धिक सम्पत्ति घर, जमिन, कारजस्तो देख्न सकिँदैन र यो विशेषतः वाणिज्य तथा औद्योगिक क्षेत्रसँग सम्बन्धित भएकाले कतिपयले यसलाई औद्योगिक सम्पत्तिका रूपमा बुझेका भने बौद्धिक सम्पत्ति खुला आँखाले देख्न नसकिने हुँदा यसलाई कतिपयले अदृश्य सम्पत्तिको रूपमा परिभाषित पनि गरेका छन् ।

कुनै नयाँ चिज बनाउनु वा आविष्कार गर्नुु नै बौद्धिक सम्पत्ति हो । बौद्धिक क्षमता, लगन र मेहनतबाट नयाँ प्रविधि, डिजाइन, सूत्र वा सिद्धान्त प्रतिपादन हुन जान्छ । बौद्धिक सम्पत्तिले व्यापार–व्यवसायमा निकै ठूलो महŒव राख्छ । किनकि बौद्धिक सम्पत्तिमार्फत वाणिज्य क्षेत्रले व्यापार गर्न नयाँ वस्तु वा क्षेत्र प्राप्त गर्छ र नयाँ–नयाँ आविष्कार पुरानो वस्तु वा सेवाभन्दा बढी बिकाउ हुन्छ अनि आमनागरिकका लागि बढी उपयोगी हुन सक्छ । त्यस्तै बौद्धिक सम्पत्ति पहिल्याउन लामो समयको मेहनत, प्रयास र लगानी आवश्यक पर्छ भने बौद्धिक सम्पत्ति राज्य, समाज, सर्वसाधारण नागरिकको जीवनमा उपयोग हुन्छ । यसर्थ बौद्धिक सम्पत्ति उत्पादन र वितरणमा निश्चित समयका लागि सर्जकको एकाधिकार हुनुपर्छ भन्ने मान्यता रहँदै आएको छ, जुन विश्वव्यापी मान्यता हो । जसअनुसार एउटा व्यक्ति वा संस्थाले प्रतिपादन गरेको बौद्धिक सम्पत्ति दोस्रो पक्षले उपयोग गरेमा सोबापत रोयल्टी प्राप्त गर्नुपर्छ । किनकि बौद्धिक सम्पत्ति आविष्कारमा लगाउने समय अन्य क्षेत्रमा लगाएको भए उसले कुनै रूपमा आयआर्जन गर्न सक्थ्यो, त्यसैले बौद्धिक सम्पत्तिमाथि सर्जकको रोयल्टी हक रहनुपर्छ ।

बौद्धिक सम्पत्ति माथिको हक निश्चित समयसम्म कायम हुनुपर्छ । बौद्धिक सम्पत्तिमाथि सर्जकको यसकारण पनि हक कायम हुनुपर्छ कि बौद्धिक सम्पत्तिमा लगानी गर्न ऊ सधंै उत्साहित बनोस् । जस्तै कुनै संस्थाले नयाँ बीउ उत्पादन गर्छ भने उसलाई सोबापत पेटेन्ट राइट दिनुपर्छ र उसको स्वीकृतिबेगर सोही जातको बीउ अर्को संस्थाले उत्पादन गर्न पाउनु हुँदैन । यदि उत्पादन गर्न चाहेमा अनुमति लिने वा रोयल्टी बुझाउनुपर्छ । कुनै कम्पनीले लामो समय लगाएर नयाँ औषधी उत्पादन गर्छ र उसले त्यसको प्रतिएकाइ बिक्री मूल्य रु. ५ सय निर्धारण गरेकोमा उसको सूत्र नक्कल गरी अर्को कम्पनीले त्यही सम्मिश्रणमा औषधी उत्पादन गरी प्रतिएकाइ मूल्य रु. ३ सय तय गर्छ भने त्यसले आविष्कारकर्ता कम्पनीलाई नोक्सान पुग्छ । त्यसैले प्रथम पक्षको लगन, मेहनत र परिश्रमको उचित सम्मान र सुरक्षा गरिएन भने उसमा नयाँ आविष्कार गर्ने उत्साह हुँदैन । तसर्थ आविष्कारमाथि उसको एकाधिकार हुनुपर्छ ।

पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ ले कुनै पेटेन्ट, डिजाइन वा टे«डमार्क उपर अधिकार प्राप्त गर्न चाहने व्यक्ति वा संस्थाले त्यसलाई ऐनबमोजिम दर्ता गराउनुपर्ने व्यवस्था गरेको छ । यस्तो अधिकार प्राप्त गर्न आवश्यक विवरण खुलाई दर्ताका लागि उद्योग विभागमा निवेदन दिनुपर्छ । उद्योग विभागले आवेदकले दर्ता गराउन चाहेको पेटेन्ट, डिजाइन वा टे«डमार्क पहिले अरू कसैको नाममा दर्ता भए वा नभएको, आफैंले आविष्कार गरेको वा कुनै व्यक्तिबाट हक प्राप्त भएको, सर्वसाधारणको स्वास्थ्य, सदाचार, नैतिकता वा राष्ट्रिय हितमा कुनै प्रतिकूल असर पार्ने वा नपार्ने, प्रचलित कानुनको बर्खिलाप हुने वा नहुने लगायत दर्ता हुन योग्य भए÷नभएको जाँच गरी दर्ता हुन नसक्ने अवस्थामा बाहेक दर्ता गरी आवेदकलाई दर्ता प्रमाणपत्र उपलब्ध गराउनपर्ने व्यवस्था छ । त्यस्तै पेटेन्ट, डिजाइन वा टे«डमार्क प्रयोग गरी कुनै वस्तु तथा सेवा उत्पादन र वितरण गर्ने एकाधिकार निश्चित अवधिका लागि मात्र दिने गरिन्छ, जसअनुसार दर्ता भएको मितिबाट पेटेन्ट तथा टे«ेडमार्कको अवधि ७÷७ वर्ष र डिजाइनको अवधि ५ वर्ष हुने व्यवस्था छ । उक्त अवधिपश्चात हकलाई निरन्तरता दिन नवीकरण गराउनुपर्छ । यस्तो बौद्धिक अधिकार सामान्यतया गोप्य राखिँदैन भने राष्ट्रिय हितमा गोप्य राख्नुपर्नेबाहेक अन्य पेटेन्ट, डिजाइन र टे«डमार्कसम्बन्धी कुरा सर्वसाधारणको जानकारीका लागि उद्योग मन्त्रालय÷विभागमार्फत नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।

अहिले उद्योग विभागमा मात्रै टे«डमार्कसम्बन्धी करिब ७ सय मुद्दा छन् भने उच्च अदालत र सर्वाेच्च अदालतमा समेत यस्ता सयौं मुद्दा विचाराधीन छन् । फलस्वरूप अहिले नेपाली बजारमा स्थापित विभिन्न ब्रान्डका उत्पादित सामग्री छुट्ट्याउन नसकिने गरी बौद्धिक सम्पत्तिको दुरुपयोग हुने प्रवृत्ति बढिरहेको छ भने यस्ता केही व्यक्ति तथा संस्थाहरूले गर्दा विश्वप्रसिद्धि कमाएका ब्रान्डहरूले नेपालमा आफ्नो ट्रेडमार्कको हक गुमाइरहेका छन् । जस्तै प्रसिद्ध जापानी कान्साई कम्पनीको ‘नेरोल्याक’ टे«डमार्क अर्कैले दर्ता गराएपछि उक्त कम्पनीले आफ्नो नाम नै फेर्न बाध्य भयो । यसरी एउटै व्यापारीले धेरैवटा उत्पादन कम्पनीको टे«डमार्क लिएर केही काम नगरी बस्ने र अरू देशमा उत्पादन भई नामदाम कमाएका प्रचलित सामग्रीहरूलाई नेपालको उत्पादन भन्दै नेपालमा दर्ता भएका टे«डमार्कलाई खुलेआम बजारमा पठाउने होड व्यापारीहरूबीच दिनप्रतिदिन बढ्दै गएको पाइन्छ ।

बौद्धिक सम्पत्ति आर्थिक समुुन्नतिको कुञ्जी हो । बौद्धिक सम्पत्ति अन्य भौतिक सम्पत्तिभन्दा धेरै मूल्यवान् हुन्छ । त्यसैले यसको उल्लंघनलाई तुरुन्तै नियन्त्रण नगरे धनीले ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ । किनकि यहाँ कतिखेर कसको बौद्धिक सम्पत्ति चोरी हुन्छ पत्तो हुँदैन । कसैको बौद्धिक सम्पत्ति अधिकार उल्लंघन गर्नु भनेको कुनै तरिकाले धनीको एकलौटी अधिकारमाथि दक्खल पु¥याउनु हो । जसलाई अरूको बौद्धिक सम्पत्ति तेस्रो पक्षले बिनापूर्वस्वीकृति प्रयोग गरेको वा नक्कल गरेको भनेर पनि बुझ्न सकिन्छ । अहिले बौद्धिक सम्पत्ति अधिकार उल्लंघनमा पाइरेसी र काउन्टर फिटिङको पनि अभ्यास छ । पाइरेसी प्रतिलिपि अधिकारमा मूल प्रतिबाट जस्ताको तस्तै किताब वा क्यासेटका प्रतिहरू निकाल्नुसँग सम्बन्धित छ भने काउन्टर फिटिङले उही व्यापार चिह्न प्रयोग गरी जस्ताको तस्तै वा उस्तै देखिने गरी उही सामान उत्पादन गर्नुसँग सामीप्यता राख्छ ।

बौद्धिक सम्पत्तिको बहुमूल्य लक्षण, अपराधमा उद्यत व्यक्तिको रातारात करोडपति बन्ने चाहना र सहज पहुँचका कारण चोरी बढ्ने गर्छ । किनकि बौद्धिक सम्पत्तिमा अन्य सम्पत्तिको भन्दा धेरै फरक लक्षण हुन्छन् र यसको स्वरूप सूक्ष्म वा अमूर्त हुन्छ भने यसको संरक्षण विदेशमा पनि हुने, सञ्चय गर्न ठूलो स्टोर नचाहिने, विद्युतीय उपकरणबाट सजिलै आयात निर्यात गर्न सकिने जस्ता गुणहरू भएकाले यो संवेदनशील बन्दै गएको छ । किनकि बौद्धिक सम्पत्तिलाई कहीँकतै बैंक खाता वा लकरमा राखेर सुरक्षित गर्न सकिँदैन र कसैले पनि सहजै उल्लंघन वा चोरी गर्न सक्ने भएकाले धनीको एकाधिकार मात्रै प्रचलन गराउनुपर्ने आवश्यकता भएको हो ।

बौद्धिक सम्पत्तिको अधिकार उल्लंघन तथा चोरी गर्ने व्यक्तिलाई लगानी डुब्ने डर नहुने, कामदार खर्च बेहोर्नु नपर्ने, विज्ञापन तथा प्रवद्र्धन खर्च नलाग्ने, सामाजिक दायित्व वहन गर्नु नपर्ने, सरकारलाई कर तिर्नु नपर्ने, गुणस्तरको चिन्ता नहुने, उद्योग सञ्चालनको जोखिम उठाउनु नपर्ने, विभिन्न परामर्शदाता, प्रविधिज्ञ, कानुन व्यवसायी, इन्स्योरेन्स, तलब भत्ताजस्ता खर्च वहन गर्नु नपर्ने लगायतका सुविधाहरू समेत हुने भएकाले केही व्यक्ति तथा संस्थाहरू यस्ता गैरकानुनी कार्यहरू गर्न उद्यत भइरहेका छन् । यस्ता गलत तथा गैरकानुनी कार्यहरूलाई समयमा नै नियन्त्रण र नियमन गर्न नसक्ने हो भने नेपालमा बौद्धिक सम्पत्तिको उचित संरक्षण हुन सक्ने देखिँदैन ।


Your Views
Related News