एक वर्षअघि २०७६ असोज २५ गते चिनियाँ राष्ट्रपति सी चिन्फिङको बहुप्रतिक्षित नेपाल भ्रमण भएको थियो। भ्रमणको मुख्य उपलब्धि ‘चीन–नेपाल दीर्घकालीन मैत्रीका लागि बृहत सहकारी साझेदारी’ को ‘चीन–नेपाल दीर्घकालीन मैत्रीका लागि विकास र समृद्धिमुखी रणनीतिक साझेदारी’ मा उन्नयन थियो। राष्ट्रपति विद्यादेवी भण्डारीसित भेट्दा चिनियाँ राष्ट्रपति सी चिनफिङले नयाँ सम्बन्धका सिद्धान्त यसरी बताए – समानताको व्यवहार, सामन्जस्यपूर्ण सहअस्तित्व, पुस्तौंपुस्ताको मित्रता, व्यापक सहयोग।

नेपाल भ्रमणको क्रममा सीले जोड दिँदै भने, ‘दुवै पक्षले नेपाल– चीन सम्बन्धको राजनीतिक आधारलाई अझ सुदृढ बनाउनुपर्छ र साझा भविष्यका लागि सामुदायिक निर्माणलाई नेपाल–चीन सम्बन्धको दीर्घकालीन लक्ष्यको रूपमा लिनुपर्छ।’ उनले ‘एक चीन’ नीति अपनाउँदै चीनलाई दीर्घकालीन सहयोग गरेकोमा नेपाललाई धन्यवाद दिए। उनले नेपाललाई राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र अखण्डतामा सहयोग गरिरहने, आफ्नो क्षमताले भ्याएसम्म नेपालको आर्थिक र सामाजिक विकासमा सघाउने प्रतिबद्धता पनि जनाए। दुई पक्षले एक चौतर्फी सहकार्य विधि तय गरी त्रि-आयामिक अन्तक्र्रिया नेटवर्क निर्माण र विभिन्न क्षेत्रहरूमा आदानप्रदान र आपसी सहयोग विस्तार गर्नुपर्छ।नेपालले पनि पुँजी र प्रविधि आकर्षणमा ध्यान दिँदै कर छुट, दीर्घकालीन स्थिर अर्थनीति जस्ता उपायद्वारा देशीविदेशी लगानीकर्ताले सामना गर्नुपर्ने प्रक्रियागत झन्झट हटाई लगानीमैत्री वातावरण बनाउनमा ध्यान दिनुपर्छ।

वर्षभरि नेपाल र चीनबीच मैत्रीपूर्ण आदानप्रदान जारी छ र धेरैवटा द्विपक्षीय ज्ञापन र सहयोग सम्झौता कार्यान्वयन हुँदै छन्। उदाहरणका लागि, जलविद्युत् र फोटोभोल्टिक ऊर्जा उत्पादनलगायतका चीनले नेपाललाई सहयोग पुर्‍याउने परियोजना निर्माणाधीन छन्। त्यस्तै चिनियाँ एयर कन्डिसन, मोटरसाइकल र धेरै खालका साना घरेलु उपकरण पनि नेपाल बजारमा प्रवेश गरेका छन्।हालसालै चीनको पेइचिङमा कोभिड–१९ महामारीको विरुद्धको संघर्षमा योगदान पुर्‍याउनेको प्रशंसामा आयोजित राष्ट्रिय सम्मेलनले नेपालका विभिन्न क्षेत्रका मानिसको ठूलो ध्यान आकर्षण गर्‍यो। त्यसले नेपालीमा आशा पनि जगायो। कोभिड–१९ विरुद्धको लडाइँमा चीनले नेपाललाई सधैं सहयोग गरेको छ। नेपाललाई सहयोग पुर्‍याउने तेह्रौं चिनियाँ मेडिकल टिम सेप्टेम्बर ५ तारिखका दिन काठमाडौं आइपुगेको छ। उनीहरू चिनियाँ सहयोगमा निर्मित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक वर्षसम्म काम गर्नेछन्। उक्त चिकित्सा टोलीमा १७ जना छन्। उनीहरूले महामारीसँग लड्न चीनको सफल अनुभव नेपालमा ल्याएका छन्। यो खबर नेपाली मिडियाले पस्केका छन्।

सीको नेपाल भ्रमणको क्रममा भएको समझदारीअनुसार त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट (सीआई) स्थापना भएको छ, जसमा चीनको तर्फबाट पूर्वी चीन प्राविधिक विश्वविद्यालय र छिङ्हाइ नर्मल विश्वविद्यालय संलग्न छन्। त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो, सबैभन्दा ठूलो र सबैभन्दा प्रभावशाली विश्वविद्यालय हो, र भर्खरै स्थापित कन्फ्युसियस इन्स्टिच्युटले दुई देशबीचको भाषा अवरोध हटाउन, सांस्कृतिक आदानप्रदान र दीर्घकालीन पारस्परिक समझदारी वृद्धिमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

नेपाल र चीनका जनतालाई आशा छ कि यी दुवै देशले भविष्यमा सहयोगका लागि अझ बढी अवसर प्राप्त गर्नेछन्। नेपाल र चीनबीच औपचारिक उडान सेप्टेम्बरमा पुनः सुरु भइसकेको छ र सहज भूमि यातायात अपेक्षित छ। हामी निकट भविष्यमा दुवै देशलाई जोड्ने रेलमार्गको कामका लागि तत्पर छौं।‘राज्य प्रशासन बारेसी चिनफिङ’ भन्ने पुस्तक नेपालीमा अनुवाद गरी प्रकाशित भएको छ। धेरै नेपालीले यो पुस्तक पढेका छन् र धेरै कतिलाई त यो पढ्नैपर्ने पुस्तक बनेको छ। आर्थिक गरिबीबाट पार पाउन नेपाली जनता विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्ने क्रमको चिनियाँ अनुभव, चिनियाँ समाजले रूपान्तरणको क्रममा कसरी विभिन्न लक्ष्य हासिल गर्‍यो भन्ने कुरा, राष्ट्रपति सीको विचार र देश चलाउने अक्कल सिक्न उत्सुक छन्। नेपाल र चीनका सत्ताधारी कम्युनिस्ट पार्टीहरूले पार्टी र सरकार चलाउने सम्बन्धमा अनुभव साट्न जुनमा भर्चुअल कार्यशाला पनि आयोजना गरेका थिए।

यी सबै तथ्यबाट नेपाल र चीन दीर्घकालीन द्विपक्षीय मैत्रीपूर्ण विस्तृत सहकारी साझेदारीको नयाँ चरणमा प्रवेश गरेको देखिन्छ। यसैबीच दुवै पक्षबाट तत्काल ध्यान दिनुपर्ने केही बुँदा पनि छन्। चिनियाँ सामान बोकेका सयौं कन्टेनर नेपाल–चीन सीमामा अडिएका छन् जसले व्यवसायीलाई ठूलो क्षति पुर्‍याएको छ र नेपाली बजारमा सामानको अभाव सिर्जना भएको छ। यस्तो ढिलाइ गैरभन्सार व्यापार अवरोधको बराबर हो। दोस्रो कुरा भनेको नेपाली निर्यातकर्ताले भोग्नु परेको समस्या हो। नेपालमा चिनियाँ बजारमा बिक्री गर्न सकिने धेरै थोरै सामान र सेवा छन्। ठूलो परिमाणबिनाका वस्तु र सेवाको लामो सूचीले मात्र द्विपक्षीय व्यापार असन्तुलन समाधान गर्न सक्दैन। समाधानको एक हिस्साको रूपमा नेपालमा स्थानीय कच्चा पदार्थ र श्रमको उपयोग हुने गरी चिनियाँ लगानीमा निर्यातमूलक वा आयात प्रतिस्थापन उद्योग स्थापना गर्न सकिन्छ। यसका लागि नेपालले पनि पुँजी र प्रविधि आकर्षणमा ध्यान दिँदै कर छुट, दीर्घकालीन स्थिर अर्थनीति जस्ता उपायद्वारा देशीविदेशी लगानीकर्ताले सामना गर्नुपर्ने प्रक्रियागत झन्झट हटाई लगानीमैत्री वातावरण बनाउनमा ध्यान दिनुपर्छ।

हालसालै नेपाली होटल, पर्यटन, हस्तकला उद्योग र यस्तै अन्य क्षेत्रमा चिनियाँ नागरिकको प्रत्यक्ष प्रवेशको प्रवृत्ति देखा परेको छ। यसले स्थानीय परम्परागत व्यवसाय र व्यापारमा स्थानीयसँग प्रतिस्पर्धा गरेको छ। उदाहरणका लागि परम्परागत चित्र लिनुहोस् नेपाली विद्वान भन्छन्, यस्तो घटनाले पारिवारिक तवरले यस्तै पेसा गर्ने स्थानीय मानिसलाई दुःखी मात्र पार्दैन, त्यस्ता चित्रको सांस्कृतिक र ऐतिहासिक आधार पनि बिगार्नेछ र अन्ततः पारम्परिक चित्रकलाको सम्पूर्ण छवि र बजार नष्ट गर्छ। नेपाल र चीन दुई देशले यस्तो विषयमा खुलस्त छलफल गरी नेपाली स्थानीय अर्थतन्त्र, संस्कृति र वासिन्दाको हितमा पाइला चाल्नुपर्छ।

आशा छ, हामी नयाँ चरणमा दुई देशहरूबीचको सम्बन्ध सुदृढ र विकास गर्न सक्नेछौं, माथिल्लो स्तरका असल छिमेकी, असल मित्रहरू र राम्रा साझेदार बन्न सक्नेछौं। ‘नीतिमा छलफल, सुविधा सन्जाल, अवरोधविहीन व्यापार, वित्त र जनस्तरमा सम्बन्ध’ विकास गर्न सक्नेछौं। यो सबैको उद्देश्य साझा हित, साझा नियति, साझा जिम्मेवारी, आपसमा राजनीतिक विश्वास, आर्थिक एकीकरण, र सांस्कृतिक सहिष्णुता भएका एक समुदाय सिर्जना गर्नु, दुई देशबीच परम्परागत मैत्री सम्बन्ध निरन्तर अघि बढाउनु र दुवै देशका जनताको हित गर्नु हो।
(रेग्मी त्रिभुवन विश्वविद्यालय र सछ्वान चीनको छिङ्हाइ नर्मल विश्वविद्यालयका प्राध्यापक हुन्।)


Your Views
Related News