दसैँमा ठूलो कारोबार हुने भएपछि गाडी, मोटरसाइकल, मोबाइल, रङ, इलेक्ट्रोनिक्स, एयरलाइन्स कम्पनीद्वारा ग्राहक आकर्षित गर्न थरीथरीका स्किम सार्वजनिक

नेपालीको महान् पर्व बडादसैँ सुरु हुन अब हप्ता दिन मात्र बाँकी छ । यो पर्व सांस्कृतिक हिसाबले जति महत्वपूर्ण छ, त्यति नै व्यावसायिक गतिविधिका हिसाबले पनि महत्वपूर्ण बन्दै आइरहेको छ । दसैँमा व्यावसायिक गतिविधि ह्वात्तै बढ्छन् । दसैँ सुरु हुनु एक महिनाअघिदेखि नै बजार गुल्जार हुने गर्छ । यो समयमा खाद्यान्न, लत्ताकपडा, सवारीसाधन, मोबाइल, इलेक्ट्रोनिक्स सामग्रीलगायतको व्यापार उछालिन्छ ।

व्यवसायीका अनुसार वर्षभरि सवारीसाधन जति पनि बिक्री हुन्छन्, त्यसको ४० प्रतिशतसम्म कारोबार दसैँको एक महिनामा हुने गर्छ । दसैँमा ठूलो कारोबार हुने भएपछि व्यापारीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न प्रकारका स्किम सार्वजनिक गर्छन् । दसैँमा उपभोग्य आम्दानी पनि बढ्ने र आकर्षक छुट तथा सुविधा पनि पाइने हुनाले धेरै उपभोक्ताहरू आफूलाई चाहिने सामान खरिद गर्न दसैँ पर्खिएर बसेका हुन्छन् । कोरोना कहरबीच व्यापारीहरू यसपटक पनि आकर्षक स्किमसहित बजारमा उत्रिएका छन् ।

-सुजुकी गाडीको नेपाली विक्रेता सिजी मोटोकोर्पले दसैँ–तिहारका लागि ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ ल्याएको छ । यो योजनामा ग्राहकले ३ लाख ५० हजार रुपैयाँ नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउनेछन् । त्यस्तै, न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट, एक वर्षको सवारी बिमा र गाडीका एसेसोरिजहरू निःशुल्क प्रदान गर्ने कम्पनी जनाएको छ ।

किया कम्पनीको अल न्यु सेल्टोस र स्पोर्टेज गाडी खरिद गर्ने ग्राहकले ४ लाख रुपैयाँसम्म छुट पाउनेछन् । कियाको नेपाली विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले गाडी खरिद गर्ने ग्राहकलाई एक वर्षको निःशुल्क बिमा र एक वर्षको सडक कर आफैँ व्यहोर्ने भएको छ ।

उपभोक्ताले निसान गाडी शून्य प्रतिशत डाउन पेमेन्टमै खरिद गर्न सक्ने मात्र होइन, कि नौ महिनासम्मको इएमआई पनि कम्पनीले नै तिरिदिने भएको छ । यो अफर नलिएमा बढीमा २० लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्ने निसानको नेपाली विक्रेता पायोनियर मोटोकर्पले जनाएको छ । साथै, ३६ हजारको रेडमी नोट ९ प्रो म्याक्स मोबाइल पनि प्राप्त गर्न सकिनेछ । निसान गाडी किन्दा ५० हजारसम्मको फ्री एसेसोरिज, एक वर्षको निःशुल्क बिमा र सडक कर, १० वर्षसम्मको फाइनान्सिङ, तीन वर्षसम्म फ्री सर्भिसिङलगायत थुप्रै सुविधा पाइनेछ ।

हुन्डाई गाडीको नेपाली विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकलाई नगद छुटका साथै स्क्र्याच कार्डमार्फत थप एक लाखसम्म नगद छुट दिने बताएको छ । यस्तै, बम्पर उपहारमा लक्की ड्रमार्फत हुन्डाई औरा एक थान र हुन्डाई ग्रान्ड आई १० नियोस एक थान जित्न सकिनेछ । यसबाहेक, एक वर्षको निःशुल्क बिमा, तीन वर्षको वारेन्टी, चार वर्ष फ्री सर्भिसिङ र एक वर्षको सवारी कर भुक्तानी गरिदिने कम्पनीले जनाएको छ ।

टाटा मोटर्सको नेपाली विक्रेता सिप्रदी ट्रेडिङले ‘यो दसैँमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर’ नामक योजना ल्याएको छ । यो योजनामा टाटाको प्रत्येक कमर्सियल गाडीको खरिद तथा बुकिङमा ग्राहकले खात खाली नजाने आकर्षक उपहार पाउने कम्पनीले जनाएको छ । टाटाको ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, विङ्गर, पिकअप, एयर म्याजिकलगायत गाडी किन्दा वासिङ मेसिन, ल्यापटप, स्मार्ट टिभी, स्मार्टफोन, ट्याबलेट उपहार पाइनेछ । साथै, एक वर्षको फ्री सर्भिसिङ कुपन पनि पाइनेछ । गाडी बुकिङ गरे पनि विभिन्न उपहार पाइनेछ । लक्की ड्रमार्फत ३० जना भाग्यशाली ग्राहकले बम्पर उपहार पाउनेछन् ।

-टिभिएस बाइकको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ग्राहकलाई नगद र पुरस्कारहरू जित्ने बहुअवसर प्रदान गरेको छ । ‘टिभिएस दसैँको आशा’ नामक योजनामा टिभिएसको कुनै पनि बाइक खरिद गर्दा नौ हजार र स्कुटर खरिदमा सात हजार रुपैयाँ छुट पाइनेछ । यदि ग्राहकले नगद छुट नलिएर शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङको सुविधा पनि लिन सक्नेछन् । बम्पर उपहारका रूपमा हरेक हप्ता एकजनाले आरआर ३१० जित्ने अवसर पाउनेछन् ।

होन्डाको कुनै पनि बाइक वा स्कुटर एक रुपैयाँको डाउन पेमेन्ट वा एक रुपैयाँको इएमआई र १ प्रतिशत ब्याजदरमा खरिद गर्न पाइनेछ । यस्तै, बाइक वा स्कुटर खरिदमा स्क्र्याच कुपनमार्फत एक लाख रुपैयाँसम्म नगद छुट, सात वर्षसम्मका लागि फ्री बोनस सर्भिसिङ र सात वर्षका लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट पाउने होन्डाको नेपाली विक्रेता स्याकर ट्रेडिङले जनाएको छ ।

बजाज बाइकको नेपाली विक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले ‘बजाज रोजेरै खुसी, खुसी खोज्ने होइन रोज्ने’ नामक ग्राहक योजना ल्याएको छ । यो योजनाअन्तर्गत फुल क्यास बुझाएर बजाज बाइक किन्ने ग्राहकहरूले १० हजार रुपैयाँसम्म नगद छुट वा ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजदर वा २० प्रतिशत डाउन पेमेन्टमध्ये कुनै एक सुविधा लिन पाउनेछन् ।

सुजुकी ब्रान्डको कुनै पनि बाइक तथा स्कुटर खरिद गर्दा तत्काल १२ हजार रुपैयाँ नगद छुट तथा एक वर्षको सडक दस्तुर कम्पनीले व्यहोर्ने छ । सुजुकी बाइकको नेपाली विक्रेता भिजी अटोमोबाइल्सले एक्सचेन्ज र सरल फाइनान्सको सुविधा पनि उपलब्ध गराएको छ ।

यामाहाले दसैँमा ‘कार्बुरेटर छोडौँ, एफआई चढौँ’ अभियान थालेको छ । एफआई इन्जिन भएको यामाहाको बाइक र स्कुटर खरिद गर्नेलाई कम्पनीले आठ हजार नगद छुट दिनुका साथै एक्सचेन्ज गर्न चाहनेका लागि प्रचलित बजार मूल्यभन्दा बढी मूल्यांकन गर्ने घोषणा गरेको छ । साथै, ग्राहकले ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजदर र सबै मोडेलहरू १० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न सक्नेछन् ।

-सामसुङ मोबाइलले बडादसैँ बिग धमाका योजना ल्याएको छ । ‘सामसुङमा कुरा फरर, डस्टर गाडी चढौँ सरर’ नामक योजनाअन्तर्गत सामसुङको कुनै पनि स्मार्टफोन खरिद गरी बम्पर बिग धमाका लक्की ड्रमा रेनल्ट गाडी, साप्ताहिक बिग धमाका लक्की ड्रहरूमा पाँचवटा होन्डा हर्ने बाइक र १० वटा ग्यालेक्सी नोट जित्ने मौका प्राप्त हुनेछ ।

-विभिन्न ब्रान्डका होम अप्लायन्सको पनि दसैँ अफर सार्वजनिक भइसकेको छ । एलइडी टिभी, रेफ्रिजेरेटर, वासिङमेसिन, कुलर, एसीलगायत घरायसी सामानमा विशेष छुटमा किन्न पाइनेछ साथमा उपहार पनि । देशकै ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘कुशल स्वास्थ असल पर्व’ योजना ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकले कुनै पनि घरायसी सामग्री खरिदमा ३० प्रतिशतसम्म नगद छुट र हात खाली नजाने स्योर सट उपहारहरू प्राप्त हुनेछ । साथै, ४३ इन्चभन्दा माथिका टिभीहरूमा निःशुल्क जडानको सुविधा पनि उपलब्ध छ ।

गोदरेजले दसैँमा ग्राहकलक्षित ‘फ्री कपल ट्रिप टु बाली’ स्किम ल्याएको छ । गोदरेजका उत्पादनहरू फ्रिज, चेस्ट फ्रिजर, वासिङ मेसिन, माइक्रोवेभ ओभन खरिद गर्दा ग्राहकहरूले नगद छुटका साथै लक्की ड्रमार्फत इन्डोनेसियाको बाली घुम्न जाने अवसर प्राप्त गर्नेछन् । टिसिएल ब्रान्डका घरासयी सामग्री खरिद गर्दा ३० प्रतिशतसम्म क्यासब्याक पाइने कम्पनीले जानकारी गराएको छ । यस्तै, एलजी ब्रान्डका सामग्री खरिदमा ग्राहकले ४० प्रतिशतसम्म क्यासब्याक अफर र हात खाली नहुने आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

सामसुङ कम्पनीले दसैँ तिहारलाई लक्षित गरेर ‘जोड्दै खुसी सजाऔँ जिन्दगी’ नामक योजना ल्याएको छ, जसमा ग्राहकले सामसुङका उत्पादन खरिदमा ३५ प्रतिशतसम्मको आकर्षक छुट पाइने छ । फ्रिज, वासिङ मेसिन, ड्रायर र एलइडी टिभीमा विशेष छुट र दुई वर्षको वारेन्टी रहेको छ ।
ह्विलपुल कम्पनीले दसैँको अवसर पारेर घरायसी सामग्री खरिदमा ग्राहकलाई हात खाली नहुने गरी विभिन्न आकर्षक गिफ्टहरू उपलब्ध गराउने भएको छ । कम्पनीले फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ र जेस्ट फ्रिजरमा विशेष छुट दिएको छ ।

-दसैँ नजिकै आइपुग्दा ब्रान्डेड सामानको हब दरबारमार्ग पनि अफरमय बनेको छ । कतिपय ब्रान्ड खरिद गर्दा ७० प्रतिशतसम्म डिस्काउन्ट पाइनेछ भने कतिपयले एउटा किन्दा अर्को सित्तैमा उपलब्ध गराइरहेका छन् । वुडल्यान्ड सुजले जुत्ता खरिद गर्दा २० प्रतिशत फ्ल्याट डिस्काउन्ट दिने भएको छ । यस्तै, बिङ ह्युमन ब्रान्डले ५० प्रतिशतसम्म छुट दिने गरी सेल अफर ल्याएको छ । अन्ता ब्रान्डले दसैँ–तिहारमा ७० प्रतिशतसम्म छुट र एउटा सामान किन्दा अर्को सित्तैमा दिने भएको छ ।

टाइटन घडी खरिद गर्दा २० प्रतिशत फ्ल्याट डिस्काउन्ट पाइनेछ । बोसिनी फेसन ब्रान्डले दसैँ–तिहारमा ५० प्रतिशतसम्म छुट दिने भएको छ । ली ब्रान्डले एउटा खरिदमा अर्को सित्तैमा दिने अफर ल्याएको छ । एडिडास, लिभाइज, रिबक, क्यासिओलगायत ब्रान्डहरूले पनि दसैँ र तिहारका लागि छुट अफर ल्याएका छन् । ठूला सपिङ मलहरूले पनि दसैँ–तिहारलाई मध्यनजर गरी ग्राहक प्रवद्र्धनात्मक योजना ल्याइरहेका छन् ।

-अनलाइन सपिङ प्लेटफर्म दराजले दसैँको अवसरमा घरमै बसेर भारी छुटमा किनमेल गर्न पाइने स्किम ल्याएको छ । यो अफरअन्तर्गत उपभोक्ताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूमा भारी छुट, आकर्षक भौचर, बम्परमा टिभिएस बाइक, कार्ड प्रिपमेन्टमा छुट, फ्ल्यास सेल्सलगायत फाइदा उठाउन सक्नेछन् । कतिपय ब्रान्डका उत्पादनमा ६० प्रतिशतसम्म छुट पाइने दराजले जनाएको छ ।

अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘स्मार्ट दसैँ अफर’ नामक योजनामार्फत आफ्ना ग्राहकलाई हरेक दिन सामसुङ स्मार्टफोन जित्ने मौका दिएको छ । यसका लागि स्मार्टडोकोमा सपिङ गरी सेल पेमार्फत भुक्तानी गर्नुपर्छ ।

अनलाइन मार्केटप्लेस ग्यापुले ‘दसैँ–तिहार धमाका ०७७’ नामक उपहार योजनामार्फत ग्राहकलाई ६० लाखसम्मको क्यास ब्याक र ११ लाख रुपैयाँबराबरको बम्पर उपहार प्रदान गर्ने भएको छ । ग्यापुबाट सामान किन्नेले बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर, वासिङ मेसिन, रेडमी नोट नाइन प्रो, लोकल खसी, रेफ्रिजेरेटर, डिजेआई एक्सन क्यामेरा र ड्रोन प्राप्त गर्नेछन् ।

-बर्जर पेन्ट्सले दसैँ र तिहारलाई मध्यनजर गरेर असोज १५ देखि ‘बर्जर कलर स्प्लास’ योजना सुरु गरिसकेको छ । यो योजनामा ग्राहकले बर्जर पेन्ट्स खरिद गरेमा एक सय बर्गफिटबराबरको सिल्क पेन्ट्स पक्का उपहार प्राप्त गर्नेछन् । यस्तै, २ जनालाई २÷२ लाख र ५ जनालाई ५०÷५० हजार रुपैयाँ तथा सयजनालाई सामसुङ मोबाइल उपहार रहेको कम्पनीले जनाएको छ ।

चन्द्रागिरि हिल्सले दसैँ–तिहारको अवसरमा केबलकारको टिकटमा ५० प्रतिशत छुट र चन्द्रागिरि हिल्स रिसोर्टमा ६ हजार पाँच सय रुपैयाँमा एक जोडीका लागि ब्रेकफास्ट र डिलक्स रुमसहितको प्याकेज ल्याएको छ । यो अफर १५ मंसिरसम्म लागू हुनेछ । डिजिटल केबल नेटवर्क सिम टिभीले चाडपर्व लक्षित गर्दै सिम टिभी फाइदाको आइडिया’ नामक योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत सिम टिभीको वार्षिक रिचार्ज गर्दा ग्राहकले ठाउँअनुसार ठूलो मात्रामा नगद छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर र दुबईस्थित एउल फारदन एक्सचेन्जको संयुक्त सहकार्यमा दसैँ–तिहार बम्पर धमाका योजना सार्वजनिक गरिएको छ । यो योजनामा दुबईको एएल फारदन एक्सचेन्जबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउँदा आकर्षक उपहार तथा नगद उपहार जित्न सकिन्छ । लक्की ड्रमार्फत छनोट हुने विजेताले हरेक हप्ता टिभी, माइक्रोवेभलगायत ६ लाख नगदसम्म बम्पर उपहार जित्न सक्नेछन् ।

अहिले नेपालमा पर्यटकीय सिजन चलिरहेको छ । तर, कोभिड महामारीले आन्तरिक तथा बाह्य पर्यटक घुम्न निस्किएका छैनन् । विभिन्न पर्यटकीय गन्तव्यमा रहेका होटेल तथा रिसोर्टहरूले आन्तरिक पर्यटक आकर्षित गर्न दसैँ, तिहार तथा छठ पर्वमा आकर्षक प्याकेज सार्वजनिक गरिरहेका छन् । एयरलाइन्स कम्पनीले दसैँमा सुलभ मूल्यमा यात्रु बोकिरहेका छन् । विगतका दसैँमा टिकट नै नपाइने विमान कम्पनीले अहिले यात्रु नै पाइरहेका छैनन् । अनलाइन पेमेन्ट गेटवेहरूले पनि दसैँ–तिहारलाई भनेर स्किम ल्याइरहेका छन् ।


Your Views
Related News