एजेन्सी – धेरै जसो मानिसहरु लौकाको जुस पिउन मन पराउँदैनन् । तर, स्वस्थ्य रहनका लागि नमिठो खानेकुरा खान आवश्यक हुन्छ । यस्तै, लौकाको स्वाद पनि निकै नमिठो हुन्छ । तर लौकामा हुने विभिन्न पोषक तत्वले मानिसको कपाल, छाला लगायतका शरीरका विभिन्न अंगहरुलाई लाभ दिन्छ ।

१. चाउरीपन कम गर्न 

लौकाको जुसमा भिटामिन सी हुन्छ । यसले समयभन्दा पहिले छाला बुढो हुनबाट बचाउँछ । भिटामिन सीले छालाका कोशिकाहरुलाई बुढो हुनबाट बचाउँछ । यसले अनुहारको छालामा चाउरीपन कम गर्न मद्दत गर्छ । यसका लागि लौकाको जुस पिउने र पेष्ट अनुहार तथा गर्दनमा लगाउनुपर्छ ।

२. अनुहारलाई चमकदार बनाउन 

लौकामा भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट जस्ता पोषक तत्व पाइन्छ । यसले अनुहारमा प्राकृतिक रुपमा अनुहारमा चमक ल्याउँछ । त्यसैले लौकाको जुस दैनिक रुपमा पिउनु पर्छ ।

३. आँखाका लागि 

आँखा आउने विभिन्न समस्याहरुबाट बच्न लौकाको जुस आँखामा लगाउन आवश्यक छ । यसले आँखामा शितलता प्रदान गर्छ । साथै, आँखा लौकाको दुईवटा स्लाइस काटेर आँखामा लगाएर १० वा १५ मिनेट राख्नुपर्छ ।

४. कपाल सेतो हुन र झर्नबाट रोक्न 

लौकाको जुसले कपाललाई उमेरभन्दा पहिले नै सेतो हुनबाट बचाउँछ । यसमा भिटामिन बी पाइन्छ जसले कपाललाई राम्रो बनाउँछ । लौकाको जुसले कपालको जरामा मालिस गर्दा कपाल झर्न कम हुन्छ ।

५.कालो दागधब्बा हटाउन
लौकालाई क्लिजिङको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसले अनुहारमा भएको दागधब्बा, फोहोर सफा गर्छ । यसले अनुहारलाई डिटक्सिफाई गराउँछ । यसले सीबम उत्पादन गर्न नियन्त्रण गर्छ । जुन बे्रकआउट कम गर्न मद्दतगार हुन्छ । जसले तैलिय छालाको समस्याबाट मुक्ति दिलाउँछ ।

६. कोमल र सफा छालाका लागि
लौकाको जुसले रगत सफा गर्ने काम गर्छ । जसले छालालाई सफा गर्न मद्दत गर्छ । यसले शरीरलाई भित्रि रुपमा नै सफा गर्छ । जसले विभिन्न स्वास्थ्य समस्याहरुबाट टाढा राख्न मद्दत गर्छ । यदि लौकाको जुस पिउन मन नलागे बेसन, दही मिसाएर फेस प्याक लगाउन पनि सकिन्छ  ।

READ MORE NEWS

दशैंको मुखमा पनि हुम्लाको लिमीमा छैन खाद्यान्न

कोरोना भाइरस महामारीपछि  चीनसँगको सीमा नाका बन्द हुँदा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा खाद्यान्न सङ्कट भएको छ ।

सीमा नाका बन्द भए पनि नाम्खा गाउँपालिकाका नागरिकलाई खाद्यवस्तु बिक्री गर्दै आएका व्यापारीले सात महिनादेखि खाद्यान्न कारोबार गरेका छैनन् ।

व्यापारीले खाद्यान्न नपठाउँदा नाम्खा – ६ लिमीका तिल, जाङ र हल्जी गाउँमा भोकमारीको सङ्केत देखिएको छ । चीनसँग जोडिएको वडा –६ लिमी गाउँवासीले वर्षौँदेखि चीनका व्यापारीबाट खरीद गरी खाद्यान्न आयात गर्दै आएको स्थानीयवासी पेमाछ्योकी लामाले बताए ।

वडाध्यक्ष पाल्जोर तामाङका नेतृत्वमा ११ जनाको टोली चामलको माग गर्दै लिमीबाट चार दिनको पैदल हिँडेर हुम्लाको सदरमुकाम सिमकोट आइपुगेको छ ।

स्थानीय बासिन्दासहित सिमकोट आइपुग्नुभएका वडाध्यक्ष तामाङले भने, ‘गाउँमा खाद्यान्न छैन । चीनको नाका बन्द भएकाले ल्याउन पाएका छैनौँ । भोकै बस्नुपर्ने अवस्था आएपछि चार दिन हिँडेर सदरमुकाम पुगेका हौँ ।’

वडा नं ६ लिमीसहित नाम्खा गाउँपालिकाभरिका नागरिकले चीनको तिब्बतबाट दैनिक उपभोग्य सामानको आपूर्ति गर्दै आए पनि यस पटक विश्वभर फैलिएको कोरोनाका कारण सात महिनादेखि हुम्लासँगको हिल्सा र लाप्चा नाका बन्द हुँदा यस क्षेत्रमा खाद्यान्न सङ्कट भएको हो । वडा नं ६ लिमीका तिल, जाङ र हल्जीमा १८० परिवार बसोबास गर्दै आएका छन् ।

लिमी जिल्लाकै अग्लो क्षेत्रमा अवस्थित रहेकाले  जौ र उवा मात्रै फल्छ, अन्य खाद्यान्न उत्पादन हुँदैन । यहाँका बासिन्दाले फापर र आलु पनि उत्पादन गरे पनि बढीमा ६ महिना मात्र धान्ने गरेको वडाध्यक्ष तामाङले बताए ।

स्थानीय उत्पादनले नपुग्ने भएका कारण स्थानीयवासीले चीनका व्यापारीको भर पर्नुपर्ने अवस्था छ ।

अब हिउँ पर्ने समय शुरु भएकाले समयमै खाद्यान्न ढुवानी नभए भोकै मर्नुपर्ने अवस्था आउने स्थानीयवासी छिरिङमुटुप तामाङले बताए ।

उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा कात्तिक मध्यतिरदेखि हिउँ पर्न थाल्छ, जसले गर्दा नेपालतिरको गोरेटो बाटो बन्द हुने गर्छ ।

त्यसपछि ढुवानी गर्न नसकिने भएकाले तत्काल खाद्यान्न व्यवस्था गर्न माग गर्दै सदरमुकाम सिमकोट आइपुगेको तामाङले बताए ।

लिमीबाट आएको टोलीले बिहीबार र शुक्रबार जिल्लाका राजनीतिक दलका नेता, सरकारी कार्यालयका प्रमुख तथा सरोकार पक्षसँग भेटघाट गरिसकेको छ । सबैलाई तत्काल खाद्यान्नको व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरिएको वडाध्यक्ष तामाङले बताए ।

सरकारले दिएको अनुदानको चामल ३० केजीको  रु दुई हजार तथा ढुवानी प्रतिबोरा रु पाँच हजार पर्ने भएको छ ।

सिमकोटबाट लिमीको जाङ र हल्जी गाउँमा पुर्‍याउन प्रतिकेजी रु १७५ पर्ने भएको छ । यसबाट मूल्यभन्दा तीन गुणा बढी ढुवानी खर्च हुने भएको छ ।

लिमीमा भएको खाद्य सङ्कटका बारेमा माथिल्लो निकायमा जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए ।

यता नेपाल खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड हुम्लाले सिमकोट शाखाबाट तत्कालका लागि एक हजार क्विन्टल चामल उपलब्ध गराउने भएको कम्पनी हुम्लाका प्रमुख रामबहादुर विष्टले बताए ।

नाम्खा गाउँपालिकाका लागि आएको गत वर्षको एक हजार क्विन्टल चामल सिमकोटमा रोकिएकाले त्यो पनि पठाउने तयारी भइरहेको जनाइएको छ ।

नेपाल महिला चेम्बरद्वारा आयोजित अनलाईन व्यापार तालिम सम्पन्न

काठमाडौं, २६ असोज । नेपाल महिला चेम्बरले अनलाईन व्यापार तालिम सम्पन्न गरेको छ । महिला चेम्बरले अनलाईन व्यापार सेवा प्रदायक कम्पनी सोचेको डटकमसँगको सहकार्यमा वेमिनार मार्फत आईतबार उक्त तालिमको आयोजना गरेको हो । देशैभर छरिएर रहेका नेपाल महिला चेम्बरका शाखा संजाल सम्बद्ध करिब ४० महिला उद्यमीहरुको सहभागीता माझ सोचेको डट कमका प्रबन्ध निर्देशक शैलेश लोहनीले अनलाईन व्यापारको प्राविधक र व्यवहारिक पक्षमा केन्द्रित रहेर प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण दिने क्रममा लोहनीले अनलाईन व्यापार गर्दा सामानको सहि सुचना आवश्यक रहने, सामाग्री गुणस्तरयुक्त र भरपर्दो मुल्यको हुनुपर्ने, अफर बनाउदा केही नयाँपन दिने, शिप र उत्पादन विकासमा ध्यान दिने, उपयुक्त फोटोको प्रयोग गर्ने जस्ता कार्यहरु गर्नुपर्ने जनाएका थिए । लोहनीले मोबाईल एप र वेब साईट मार्फत भरपर्दो रुपमा अनलाईन व्यापार गर्न सकिने बताउदै सोचेको डटकमले महिला चेम्बर सम्बद्ध महिला उद्यमीद्वारा उत्पादित सामाग्रीको बिक्रीका लागि डेडिकेटेड स्टाफमार्फत न्युन कमिशन वेशमा नै प्रबन्धनको व्यवस्था गर्ने, बिक्रीको भुक्तानी बैंक खाता मार्फत हुनेहुँदा बिक्रेतालाई सहज हुने जानकारी दिएका थिए ।

सहभागीहरुले अनलाईन व्यापार र सोचेको डटकमको सेवा प्रवाह माथि केन्द्रित रहेर राखेको प्रश्नको जवाफ दिने क्रममा लोहनीले अनलाईन प्लेटफर्म र सोचेको डटकमको साईटको प्रभावकारिता, डेलिभरीमा लाग्ने शुल्क र समय, सामाग्रीको डेमो र साईट व्यवस्थापनका विविध पक्ष बारे संक्षेपमा प्रकाश पारेका थिए । कार्यक्रम माझ नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कोभिड १९ का कारण महिला उद्यमीहरुमा देखिदै आएको बजारिकणको समस्यालाई हल गर्ने उदेश्यका साथ २१ आश्विनमा महिला चेम्बर र सोचेको डट कम बीच ई कमर्स सम्बन्धी सम्झौता भएको र सो सम्झौताको प्रभावकारी रुपमा कार्यान्वयन गर्न र सहजतापुर्वक बजारिकरण गर्ने उदेश्यलाई साकार पार्न तालिमको आयोजना गरिएको बताईन् । साथै, उनले औपचारिक रुपमा सोचेको डट कम मार्फत थालनी गर्न लागिएको अनलाईन व्यापारले हाल देखिएको समस्यालाई हल गर्न ठुलो टेवा पुग्ने आशा समेत व्यक्त गरिन ।

कार्यक्रम माझ महिला चेम्बरकी पुर्व अध्यक्ष समेत रहेकी इजरायलका लागि नेपाली राजदुत डा. अन्जान शाक्यले इजरायली बजारमा नेपालको मह, चिया, हस्तकलाजन्य सामाग्रीहरुलाई अधिक रुचाईएको बताउदै जुनसुकै सामाग्रीहरुको पहुँच विस्तार गर्न समय, गुणस्तर र मुल्यलाई ध्यान दिनुपर्ने बताईन् । यस अघि संस्थाकी सचिव लिमा अधिकारीले स्वागत मन्तव्य राख्ने क्रममा महिला उद्यमशिलतालाई प्रबर्द्धन गर्न अनलाईन व्यापारको माध्यम प्रभावकारी हुने निचोडका साथ अनलाईन व्यापार सेवा प्रदायक सोचेको डटकमसँग सम्झौता भएको र उक्त प्लेटफर्मको प्रयोग गर्न आवश्यक सिप विकास सम्बन्धी तालिमको आयोजना गरिएको स्पस्ट पारेकी थिईन् । कार्यक्रम माझ संचालकको भूमिका निर्वाह गर्ने क्रममा संस्थाकी सदस्य एवम कार्यक्रम संयोजक जानकी प्रधान श्रेष्ठले महिला चेम्बरमा आवद्ध उद्यमीहरुमा अनलाईन व्यापार सम्बन्धी ज्ञान प्रवर्द्धनमा तालिम कोशेढुङा बन्ने आशय व्यक्त गरेकी थिईन ।

त्यसै गरि महिला चेम्बरकी कोसाध्यक्ष चारु सिकरियाले कार्यक्रममा सहभागीताका सबैलाई धन्यवाद व्यक्त गर्दै तालिमबाट प्राप्त सिकाइलाई व्यवहारमा लागु गर्दै जानुपर्ने धारणा राखेकी थिईन । कार्यक्रममा साल्ट ट्रेडिङका संचालक समिती सदस्य प्रदिपलाल श्रेष्ठ, कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्जवल जङ शाह, महिला चेम्बरका सल्लाहकार त्रय शान्ती शाक्य, अन्जना ताम्राकार, निलम ताम्राकार, नेपाल चेम्बरका महानिर्देशक कैलाश कुमार वजिमय, उप निर्देशक सृस्टि त्रिपाठी समेतको उपस्थिती रहेको थियो ।


Your Views
Related News