काठमाडौँ । लक्षणसहितका कोभिड–१९ संक्रमित बढ्दै जाँदा मृत्युदर पनि वृद्धि भएको छ । सार्कका आठवटै मुलुकमा सबैभन्दा बढी २९.१ प्रतिशत सक्रिय संक्रमित नेपालमा छन् । नेपालमा संक्रमितमध्ये ७० प्रतिशत अर्थात् करिब ७० हजार निको पनि भएका छन् । सक्रिय संक्रमित उल्लेख्य रूपमा कम नभएसम्म मृत्यु हुनेहरूको संख्या बढिरहने विज्ञहरूले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले मुलुकमा हालसम्मको मृत्यु संख्या हेर्दा दर बढेको भन्न नसकिने भए पनि पछिल्ला दिनमा बढी व्यक्तिको मृत्यु भइरहेको बताए । उनले लक्षणसहितका संक्रमित फेला पर्ने क्रम पनि बढ्दै गएको जानकारी दिए ।

काठमाडौंमा शनिबार संक्रमण पुष्टि भएकामध्ये करिब २२ प्रतिशतमा लक्षण थियो । अहिलेसम्म मुलुकमा संक्रमण देखिएका १ लाख ७ हजार ७ सय ५५ जनामध्ये ६ सय ३६ जना अर्थात् ०.५९ प्रतिशतको ज्यान गएको छ । शनिबारसम्म मृत्युदर ०.५८ प्रतिशत थियो ।

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार देशभरि कोभिड–१९ ले ज्यान गुमाएकामध्ये सबैभन्दा बढी ४२.४५ प्रतिशत वाग्मती प्रदेशका छन् । २२.०१ प्रतिशत प्रदेश २, १४.९३ प्रतिशत लुम्बिनी, १२.१० प्रतिशत प्रदेश १, ५.०३ प्रतिशत गण्डकी, २.३५ प्रतिशत सुदूरपश्चिम र १.१ प्रतिशत कर्णालीका छन् । सरकारी तथ्यांकअनुसार कर्णाली प्रदेशमा कोभिड–१९ ले ७ जनाको मात्र मृत्यु भएको छ ।

हालसम्म मुलुकका २७ जिल्लामा प्रयोगशाला प्रमाणित संक्रमितको मृत्यु नभएको डा. अधिकारीले बताए । प्रदेश २ मा संक्रमणले मृत्यु भएकाहरू आठवटै जिल्लाका छन् । प्रदेश १ का इलाम, ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, पाँचथर, भोजपुर, संखुवासभा र सोलुखुम्बु, वाग्मतीका रामेछाप र सिन्धुलीमा कसैको मृत्यु भएको छैन ।

यस्तै, गण्डकी प्रदेशका पर्वत, मनाङ, मुस्ताङ, लमजुङ, लुम्बिनी प्रदेशका रुकुम पूर्व र रोल्पा, कर्णालीका कालीकोट, जाजरकोट, जुम्ला, मुगु, रुकुम पश्चिम, सल्यान, हुम्ला र सुदूरपश्चिमका डडेलधुरा, डोटी, दार्चुला र बैतडीमा पनि कोभिड–१९ बाट मृत्यु देखिएको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।

READ MORE NEWS

कोरोनाका कारण कुखुराको मासु तीन वर्षयताकै सस्तो, सोच्नै नसक्ने गरी यति धेरै घट्यो मुल्य

  •  सोमबार २६ असोज, २०७७

काठमाडौं । कोरोना महामारीबीच कुखुराको मासुको मुल्यमा भारी गिरावट आएको छ । पछिल्लो तीन वर्ष यताकै सस्तो भएको व्यवसायीहरुले बताएका छन् । एक महिनामा तीन पटक मूल्य घट्दा पनि मासु नबिकेपछि प्रतिकिलो तयारी मासुको मूल्य दुई सय रुपैयाँबाट पनि तल झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जानकारी दिएको छ ।

दुई सय भन्दा कममा बेच्दा पनि बजारमा मासुको खपत नबढेको संघका प्रथम उपध्यक्ष श्रय ढकालले बताउँछन् । यो साताका लागि संघले काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो न्यूनतम् मूल्य २०५ रुपैयाँ तोकेको छ । साउन अन्तिम साता तीन सय भन्दा बढी रहेको मासुको मूल्य तीन पटक घटेर नयाँ मूल्य कायम भएको संघका महासचिव बाबुराजा रावलले जानकारी दिएका छन् ।

रोचक कुरा के भने मूल्य सस्तो हुँदा पनि उपभोग भने अझै निरासाजनक रहेको छ । खपतको तुलनामा उत्पादन बढेका कारण बजारमा मासुको मूल्यको भाउ ओरालो लागेको भ्याली ग्रूपका कार्यकारी निर्देशक एवम् मासु व्यवसायी सक्षम घिमिरे बताउँछन् । चाडपर्वलाई लक्षित गरेर किसानले मासुको उत्पादन बढाएको तर बजारको खपत ५० प्रतिशतभन्दा बढीले घट्दा मासुको बिक्रीमा मन्दी आएको बताइन्छ ।

मासु धेरै खपत हुने होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायत अन्य क्षेत्रहरु कोभिड(१९ले बन्द हुँदा मासुको खपत निरासाजनक भएको हो । लकडाउन अवधिमा मासुको व्यापार राम्रै भएपनि दोस्रो पटकको निषेधाज्ञाले व्यापार चौपट भएको व्यवसायीहरुले गुनासो गरेका छन् । मासु खपतका लागि सरकारी योजना नभएको र महामारीकै बेला आइपरेको संकटले व्यवसायी पनि अन्योलमा परेका हुन् ।


Your Views
Related News