बाङ्ग्लादेशमा कानुन संशोधन गरी बलात्कारको अपराधमा अधिकतम सजायका रूपमा मृत्युदण्ड दिन सकिने प्रावधान राखिएको छ।

सरकारले सोमवार यस विषयमा औपचारिक निर्णय गरेको हो।

बीबीसी बाङ्ग्लासँग कुरा गर्दै कानुनमन्त्री अनिसुल हकले उक्त संशोधित कानुन राष्ट्रपतिबाट मङ्गलवार जारी हुने र तत्काल लागु हुने बताए।

गत साता एउटी महिलाको सामूहिक बलात्कार गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोधप्रदर्शन सुरु भएको थियो।

विद्यार्थी, महिला अधिकारको क्षेत्रमा कार्यरत सङ्घसंस्था र अन्य मानिसहरूले राजधानी ढाकामा प्रदर्शन गरेका थिए। धेरैले गृहमन्त्रीको राजीनामा र बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग राखेका थिए।

प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा सोमवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कानुन संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशबाट नयाँ कानुन ल्याउने निर्णय गरेको हो।

अहिले संसद्को सत्र नचलेकाले त्यसो गरिएको मन्त्री हकले बीबीसीलाई बताए।

यो निर्णयको चारैतिर स्वागत हुने अपेक्षा गरिएको भए पनि बलात्कारपछि पीडित महिलाको हत्या हुने क्रम झन् बढ्ने डर पनि व्यक्त भएको बताइन्छ।

कसरी भयो घटना?

बेगमगन्जमा खिचिएको भिडिओमा देखिएका आक्रमणकारीहरूमध्ये एक जनालाई ती पीडित महिलालाई बलात्कार गरेको आरोप लागेको थियो।

गत वर्ष ती महिलालाई ती आरोपित व्यक्तिले बन्दुक देखाएर बारम्बार बलात्कार गरेको राष्ट्रिय मानवाधिकार आयोगले गरेको अनुसन्धानमा देकिएको ह्यूमन राईट्स वाचले जनाएको छ।

विरोध गरे वा भनेको नमाने उनलाई ती व्यक्तिले सामूहिक बलात्कार गर्ने धम्की दिने गरेको आयोगका अनुसन्धान निर्देशकले बताएका छन्।

ती महिलाका अनुसार आफूसँग गरिएको दुराचारको भिडिओ खिचेर उक्त व्यक्तिले एक महिनासम्म धम्की दिँदै पैसा दिन र यौन सम्पर्क गर्न दबाव दिएका थिए।

तर उनले उनीहरूले भनेको नमानेपछि भिडिओ सार्वजनिक भयो।

बाङ्ग्लादेशको दूरसञ्चार नियामक निकायले उक्त भिडिओलाई अनलाइन माध्यमबाट हटाउने निर्णय गरेको भए पनि त्यो व्यापक रूपमा फैलिएको थियो।

ती महिलाले आफ्नो जीवन तहसनहस भएको भन्दै आफ्ना छोराछोरीबारे आफू चिन्तित भएको स्थानीय सञ्चारमाध्यमलाई बताएकी थिइन्।

उक्त घटनामा संलग्न भएको आरोपमा केही व्यक्तिहरू पक्राउ परेका भए पनि प्रदर्शनकारीरहरूले देशमा हुने यौन आक्रमणलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने माग राखेका थिए।

बाङ्ग्लादेशमा बलात्कारका घटना कति?

ऐन ओ सलिश केन्द्र नामक एउटा मानवाधिकारवादी संस्थाका अनुसार नौ महिनाको अवधिमा बाङ्ग्लादेशमा कम्तीमा ९७५ जना महिला बलात्कृत भएका थिए।

तीमध्ये २०० वटाभन्दा बढी घटना सामूहिक बलात्कारका हुन्।

पीडितमध्ये ४३ जनाको हत्या भएको र १२ जनाले आत्महत्या गरेको उसको तथ्याङ्क छ।

बलात्कारसम्बन्धी तथ्याङ्क प्रायः सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार मानेर सङ्कलन गरिएकाले र धेरै घटना जानकारीमा नआउने भएकाले बाङ्गलादेशमा बलात्कारको वास्तविक सङ्ख्या धेरै भएको अनुमान गरिएको छ।

यो वर्षको आरम्भमा ढाकामा भएको घटनाविरुद्ध ठूलो प्रदर्शन भएपछि उच्च अदालतले कानुन मन्त्रालयलाई देशमा हुने यौन हिंसा नियन्त्रण गर्न निर्देशन दिएको थियो।

बाङ्ग्लादेशमा बलात्कारको मुद्दामा एक प्रतिशतभन्दा कम आरोपित मात्रै दोषी ठहर हुने गरेको ह्यूमन राईट्स वाचले जनाएको छ।

READ MORE NEWS

बुद्ध जन्मस्थल लुम्बिनीमा डिजिटल सुरक्षा प्रणाली लागू

भैरहवा– बुद्धजन्म स्थल लुम्बिनी क्षेत्रमा डिजिटल सुरक्षा प्रणाली लागू गरिएको छ।  पवित्र उद्यान, विहार क्षेत्र र लुम्बिनी ग्रामका विभिन्न ठाउँमा गरी १७५ वटा सीसीटीभी क्यामेरा र २५ वटा पीटीजेड क्यामेरा जडान गरिएको हो।

पीटीजेड क्यामेराले टाढाको वस्तु जुम गरेर हेर्न मिल्छ।  ‘फाइबर र वायरलेस माध्यमबाट लुम्बिनीका  महत्त्वपूर्ण सबै क्षेत्रमा सीसी क्यामेरा जडान गरी २४ औं घन्टा निगरानी गरिएको छ’, लुम्बिनी विकास कोषका सूचना प्रविधि इन्जिनियर दिवाकर गौतमले भने।

गौतमले हरेक गतिविधि रेकर्ड गरेर राख्न थालिएको बताए।  सीसी क्यामेराको नियन्त्रण कोषमा राखिएको आईटी कन्ट्रोल रुमले गरिरहेको हुन्छ। कन्ट्रोल रुममा नेपाल प्रहरी र लुम्बिनी विकास कोषका सुरक्षाकर्मी खटिएका हुन्छन्।

‘कहींकतै  कानुनविपरीका काम भएमा तत्कालै कन्ट्रोल रुमबाट नजिकको सुरक्षा युनिट तथा कर्मचारीलाई खबर गरिन्छ। अनि तत्काल घटना स्थलमा सुरक्षाकर्मी पुगिहाल्छन्’, लुम्बिनी विकास कोषका कामु सदस्यसचिव ज्ञानिन राईले भने।

उनले पनि लुम्बिनी पूर्णतया डिजिटल सुरक्षा प्रणालीभित्र रहेको बताए। उनले भने, ‘हामीले हरेक सेकेन्डका गतिविधि निगरानी गर्ने गरी सुरक्षा व्यवस्था मजबुत गराएका छौं।’

लुम्बिनी क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरी, नेपाल प्रहरी, पर्यटक प्रहरी, लुम्बिनी विकास कोषका सुरक्षा कर्मचारी र वीर गोर्खा सेक्युरिटी कम्पनीको सुरक्षाकर्मी खटिएका छन्। सशस्त्र प्रहरी बलका तर्फबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा सुरक्षाकर्मी परिचालित छन्।

नजिकै नेपाल प्रहरीको प्रहरी निरीक्षकको कमान्डमा इलाका प्रहरी कार्यालय लुम्बिनी छ। लुम्बिनीमा सशस्त्र प्रहरीको सुरक्षाकर्मी अझै थप गर्नु जरुरी रहेको कामु सदस्यसचिव राईले बताए।

लुम्बिनीमा यति धेरै सुरक्षाकर्मी हुँदाहुँदै आपसी समन्वय नहुँदा बेलाबेला समस्या देखिने गरेको छ। कोषले नेपाली सेना राखेमा २१८ जनाको गुल्म वा सशस्त्र प्रहरी बल बसेमा १६० जनाको गुल्म राख्न अनुरोध गरेको छ।

भारतले घोषणा गरेर पनि दिएन सागका पदक विजेता खेलाडीलाई पुरस्कार

मंसिरमा नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा पदक जितेका खेलाडीहरुलाई भारत सरकारले घोषणा गरेर पनि अहिलेसम्म पुरस्कार नदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सागमा पदक जितेसँगै खेलाडीहरुलाई पुरस्कार दिने घोषणा खेल मन्त्री किरेण रिजेजुले त्यतिबेलै गरेका थिए।

खेल मन्त्रालयले पदक जितेका ३१२ खेलाडीलाई पुरस्कारको ३ करोड ७६ लाख ५० हजार रुपैयाँ दिन बाँकी छ। पछिल्लो समय खेल संघहरुले पुरस्कार दिलाउनका लागि मन्त्रालयमा लबिङ बढाएको बताइएको छ।

अघिल्लो साल नेपालबाट साग खेलेर खेलाडीहरु फर्किएपछि खेलमन्त्री रिजेजुले दिल्लीमा सम्मान कार्यक्रम राख्दै स्वर्ण पदक विजेता खेलाडीलाई डेढ लाख, रजतलाई एक लाख र कास्य जित्ने खेलाडीलाई ५० हजार पुरस्कार दिने घोषणा गरेका थिए।

पछिल्लो समय कोरोना महामारीका कारण खेलाडीसमेत समस्यामा परिरहँदा केही खेल संघले मन्त्रालयलाई पत्रसमेत पठाएको बताइएको छ। यद्यपि मन्त्रालयले जवाफ नदिएको बताइएको छ।

शिशुका लागि आमाको दुधको बिकल्पमा अपनाऔं यी उपाय

शिशुको जन्म भयो  तर माताको मृत्यु भयो,आमा गम्भिर रोगबाट ग्रसित भएमा, दुध नआएकोमा वा विकृत आएकोमा हाम्रो समाजमा धाई आमाको ब्यवस्था गरेर शिशुलाई दुध सेवन गराएको पनि सुन्न सकिन्छ । यो सबै भन्दा उत्तम व्यवस्था हो। यदि धाईआमाको पनि व्यवस्था हुन नसकेमा गाईको, भैसिको वा बाख्रीको दुध सेवन गराउन सकिन्छ, यो प्याकेटको पाउडर दुध भन्दा अति हितकर हुन्छ ।

बालबालिकाहरुको एक वर्ष आयु हुँदा खिचडी, हलुवा, दुध, साधा उमालेको चामल, मूंगको दाल, दुधमा भिजाएको गहुँको रोटी खानाको रुपमा दिनु हितकार हुन्छ । आलु, लौका, परवल, पालुंगो जस्ता सहजै पच्ने सब्जीहरु, केरा, आँप, मेवा, जस्ता फलफुलहरु खान दिनु पथ्य हुन्छ ।

बालबालिकालाई पोषक लिटो जस्तै पुरानो चामल, गहुँ, जौ भुटेर दुध, घिउ तथा थोरै नुन राखेर लिटो बनाई खान दिनुपर्दछ। यो पुष्टिबर्धक, सहजै पच्ने र बालबालिकाहरुको लागि अत्यन्तै हितकर हुन्छ । हाल उपलब्ध सर्वोत्तम लिटो बालबालिकाहरुको लागि लाभकर हुन्छ । सरकारद्वारा विद्यालयमा बालबालिकाहरूको लागि उपलब्ध गराईएको लिटो, पत्रु खानाको अगाडि अमृत समान हुन्छ ।

पाउडर दुधमा जिवन शुरु गरेका शिशुहरु बढ्ना साथ दोस्रो तहको पत्रु आहारको शिकार हुन्छन्  । घरबाहिर सहजै उपलब्ध चाउचाउ, चाउमिन, मस्म, पिज्जा, कोकाकोला, फोन्टा, स्प्राईट, ईनजि ड्रिंसहरु, बर्गर, दालमोठ, केक जस्ता पत्रु खानपिन बालबालिकाहरुको स्वास्थ्य प्रत्यक्ष हानि गर्ने खानपिनहरु हुन् ।

यस्ता पत्रु आहारमा पोषण तत्वको मात्रा शुन्य, बोशिय तत्व, नुनको मात्रा, चिनिको मात्रा, अमिलोपनको मात्रा अधिक हुन्छ । यस्ता आहारहरु बजारमा रेसादार पदार्थ छ, प्रोटिन छ, लौहत्वको मात्रा छ भन्दै गलत प्रचार गरेर बेच्दछन ।

अबोध बालबालिकालाई  यस्ता पत्रु आहार हितकर हुदैन भनेर थाहा पाउदा कोशेली जसरी लैजाने आफन्तजन, मान्यजनहरुको सोचविचार पनि पत्रु नै हो ।

नेपालमा बालबालिकाहरु र युवावस्थाका मानिसहरुले खानपिन अध्ययन गर्दा तथ्यांकमा लगभग ६५ बालिका, युवतिहरुले पत्रु खाना खाने गरेका र बालक, युवाहरुका ४७५  ले यस खाजा वा खाना खाने गरेका तथा एक दिनको अन्तरमा एक छाक खाना कै रुपमा पत्रु खाना खाने गरेको तथ्यांकले देखाउँछ ।

यस्ता खाना खानु हुदैन भन्ने सोचहरु यो वर्गमा आई सकेको हुने पनि तथ्यांकले देखाउछ। थाहा हुदाँ हुदै पनि मनोरञ्जनका लागि, खाजाका लागि, खाना नै यसलाई बनाएका यो वर्गको सोच नै पत्रु हो भने ब्यपारको लागि, प्रचारको लागि र करको लागि यस्ता खानपिनमा प्रोत्साहन गर्ने व्यापारी, प्रचारक, उद्योगपति र सरकार समेत पत्रु हो ।

अध्ययन अनुसन्धानको अनुसार पत्रु आहार सेवनले बालबालिका तथा युवा वर्गहरुलाई ठूलो क्षति गर्ने देखाउँछ । यसले मोटापा बढाउने, सोच्ने र पढ्ने क्षमता पूर्णरूपमा घटाउने, मानसिक अवसाद गराउने, पाचन शक्तिको क्षय गर्ने, प्रजनन शक्तिमा पूर्ण हानि गर्ने, शरीरको वृद्धि र विकासमा बाधक हुन्छ ।

अधिक अमिलो, पिरो, नुनिलो मिस्रित आहार सेवनले प्रत्यक्ष रुपमा महिला तथा पुरुषको प्रजनन स्वास्थ्यलाई हानि गर्दछ । महिलाहरुमा बन्ध्यत्वको समस्या दिनानु दिन बढ्दो छ भने पुरुषमा पुंस्त्वको समस्याले विकराल रुप लिदैछ ।

विश्वमा बिवाहित दम्पतिहरु मध्ये ८.१२ प्रतिशत बन्ध्यत्वको शिकार हुने गरेका छन् भने नेपालमा १३.१५ प्रतिशत  बिवाहित दम्पतीहरुमा बन्ध्यत्वको समस्या पाईन्छ ।

दश बिवाहित जोडीहरु मध्य कमसेकम एकलाई बन्धयत्वको समस्या हुन्छ र यो बढ्दो क्रममा छ । पत्रु आहार सेवन गर्ने महिला, पुरुषमा यस्ता आहार कम सेवन गर्ने वा नगर्ने भन्दा अधिक बन्ध्यत्व पाईन्छ ।

अध्ययन अनुसार ८ प्रतिशत महिलाहरुमा बन्ध्यत्वको समस्या पत्रु आहार सेवन नगर्दा पनि देखिएको र १६ प्रतिशत  महिलामा हप्तामा कम्तिमा पनि चार पटक पत्रु खाना९खाजा खाएकोमा बन्ध्यत्वको समस्या यस्ता आहारले गर्दा बढेको देखिन्छ । पुरुषमा पुंस्त्वको समस्यामा पत्रु आहार सेवन नगरेतापनि १७ प्रतिशत मा तथा पत्रु आहार सेवन गर्नेहरुमा ५३ प्रतिशत मा पुंस्त्वको समस्या देखिएको छ ।

उमेर बढेसँगै दिर्घकालिन रोगहरु, शोकहरु, मानसिक तनावहरु, बसोवासको अव्यवस्थिति, पथ्य र हितकारी आहारको सेवनको अभाव, पत्रु आहारहरु जिवनको पहिलो कालखण्ड देखि निरन्तर सेवन तथा शारीरिक अन्य कारणहरुले बाझोपनको समस्या बढाउदै छ ।

शिशुको जन्म देखि राम्रो आहार सेवन, पोषिलो हितकारी आहारको सेवन, बाल्यकालमा घरमा तयार भएका मौसम अनुसारका खाजा खाना, युवावस्थामा पत्रु आहारहरुको कम सेवन वा सेवन नै नगरेमा बिवाह पश्चातको जिवन सन्तति युक्त तथा दिर्घायु हुन्छ ।

तसर्थ, शिशु जन्मे पश्चात् उसलाई आमाको दुध खुवाउदै हुर्काउने, बालबालिकाहरुलाई अन्न खाने समयमा पोषिलो घरमा तयार गरिएको मौसम अनुसारको खाजा९खानाको व्यवस्था गर्ने, युवावस्थामा सकेसम्म युवा युवतिहरुले घरमा तयार भएको खाना खाने, राम्रो सफा निवासमा बस्ने, मनलाई  शान्त गराउने गरेमा बैवाहिक जिवन र सो पश्चातको जिवन दिर्घायुमय बनाउन सकिनेछ ।


Your Views
Related News