दुशान्बे, ताजिकिस्तान, २६ असोज (रासस–एएफपी) ताजिकिस्तानका प्रभावशाली नेता इमोमाली राख्मोन ताजिकिस्तानको राष्ट्रपतीय निर्वाचनमा अत्यधिक मतसहित विजयी हुनु भएको छ । निर्वाचन आयोगका अनुसार नेता इमोमालीले ९० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु भएको छ ।

विपक्षीहरुको खासै उपस्थिति नरहेको ताजिकिस्तानमा ६८ वर्षीय इमोमाली ताजिकिस्तान स्वतन्त्र भएयता सबैभन्दा बढी अवधि शासनमा रहनु हुनेछ । तत्कालीन सोभियत संघबाट अलग्गिएको ताजिकिस्तानले स्वतन्त्रता प्राप्त गरेलगत्तै नुरसुल्तान नजरबायेभ सबैभन्दा लामो अवधि राष्ट्रपति बन्नु भएको थियो ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार चुनावमा ८५ प्रतिशतभन्दा बढी मतदान भएको थियो । छिमेकी मुलुकहरु किर्गिस्तान र पूर्व सोभियत गणतन्त्र बेलारुसमा हालै सम्पन्न निर्वाचनमा व्यापक धाँधली भएको भन्दै विरोध जारी छ । तर ताजिकिस्तानमा त्यस्तै परिस्थिति उत्पन्न हुने तत्काल सम्भावना देखिएको छैन ।

तर राख्मोन र उहाँको सरकारले कोरोनाभाइरसका कारण अर्थतन्त्रमा संकट व्यहोर्नु परिरहेको छ । पाँच लाखभन्दा बढी ताजिकहरु खासगरी रुसमा रोजगारीका लागि गएका छन् ।

लन्डनस्थित एक अनुसन्धान संस्था आइएचएस मार्किटका विश्लेषक अलेक्स कोक्चारोभले अघिल्लो वर्षको तुलनामा यस वर्ष विप्रेषणमा १५–२५ प्रतिशतले कमी आएको बताउनुभयो । रुसमा रोजगारी गुमाएर ठूलो संख्यामा ताजिकहरु स्वदेश फर्किएको अवस्थामा मुलुकको अर्थतन्त्र ६.५ प्रतिशतले खुम्चने पनि उहाँले बताउनुभयो ।

अर्थतन्त्रमा संकट उत्पन्न भएमा ताजिकिस्तानलाई बाह्य ऋण भुक्तानीमा पनि संकट उत्पन्न हुनेछ । हाल कूल गार्हस्थ्य उत्पादनको करिब एक तिहाई भन्दा बढी ऋण भार छ, र चीनले ताजिकिस्तानलाई सबैभन्दा बढी ऋण दिएको छ ।

READ MORE NEWS

ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृतद्वारा राजीनामा

  •  सोमबार २६ असोज, २०७७

लन्डन, २६ असोज (रासस–एएफपी) कोरोनाभाइरसका कारण संकटमा परेको बेलायती राष्ट्रिय ध्वजाबाहक विमान सेवा ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृत अलेक्स क्रुजले राजीनामा दिनु भएको छ ।

कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा क्रुजले तत्काल लागू हुने गरी राजीनामा दिनु भएको जनाएको छ तर राजीनामा दिनुको खास कारण खोलिएको छैन ।

विगत साढे चार वर्षदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रुपमा सेवा गर्नु पर्नु भएका क्रुजको स्थानमा अब सिन डोयलले जिम्मेवारी लिनु हुनेछ ।

पछिल्ला दिनहरुमा कोरोनाभाइरसका कारण ब्रिटिस एयरवेजले पर्याप्त उडान भर्न नसकेको तथा यात्रुको संख्यामा व्यापक कमी आएको जनाएको छ । ब्रिटिस एयरवेजको मातृसंस्था आइएजीमा पनि फेरबदल गरिएको छ ।

आइएजीमा नयाँ नियुक्त हुनु भएका प्रमुख कार्यकारी लुइस ग्यालेगोले कोरोनाभाइरसका कारण उत्पन्न संकट सामना गर्न आफूहरु सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले क्रुजको कार्यकालमा ब्रिटिस एयरवेजले निकै प्रगति गरेको र एयरलाइन्सलाई आधुनिकीकरण गर्न ठोस कार्य गर्नु भएको भन्दै प्रशंसा गर्नु भएको छ । ब्रिटिस एयरवेजले यसै वर्ष स्थापनाको एक सय वर्ष मनाउँदैछ ।

READ MORE NEWS

नेपालमा २२ हजार भन्दा बढी कुकुरको बन्ध्याकरण गरियो

  •  सोमबार २६ असोज, २०७७

काठमाडौं । हिमालयन एनिमल रेष्क्यु ट्रस्ट (हार्ट) नेपालले पोखराका सडकका कुकुरको बन्ध्याकरण शुरु गरेको छ । कार्यक्रम अन्तर्गत दशैँ अघिसम्म न्युनतम ३५ वटा कुकुरको बन्ध्याकरण गरिने हार्ट नेपालका संयोजक खगेश्वर शर्माले जानकारी दिनुभयो ।

हार्ट नेपालले पोखरामा रहेका सडकका कुकुरलाई हरेक वर्ष रेबिज विरुद्धको खोप लगाउँदै आएकोमा गत वर्ष खोप लगाउने क्रममा कोविड – १९ महामारीको कारण केही वडा छुटेका थिए ।

छुटेका वडामा गत हप्ता विश्व रेबिज दिवसको उपलक्ष्यमा खोप लगाइएको जानकारी दिदै संयोजक खगेश्वर शर्माले उक्त क्रममा बन्ध्याकरण नभएका कुकुरको सङ्ख्या धेरै देखिएको कारण बन्ध्याकरण पनि गरिएको बताउनुभयो ।

यसका लागि ल्याइने कुकुरमा मुख्यतः वडा नं १५ र १७ का रहेको जनाइएको छ । संस्थाले एक दशक यता पोखरा, भरतपुर लगायत नेपालका विभिन्न ठाउँमा पुगी २२ हजार भन्दा बढी कुकुरको बन्ध्याकरण गरिसकेको र पैतीस हजार भन्दा धेरै कुकुरलाई रेबिज विरुद्धको खोप लगाइसकेको हार्ट नेपालले जनाएको छ । ­­­


Your Views
Related News