बेइजिङ, २६ असोज (रासस–एएफपी) चीनको पूर्वी तटीय शहर क्विन्डाओमा छ जनामा कोरोनाभाइरसको लक्षण देखिएको भन्दै पाँच दिनभित्र शहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्ने चिनियाँ अधिकारीहरुले बताएका छन् ।

केही महिनाभित्रै पूरै शहरका बासिन्दाको परीक्षण गरिएको यो पहिलो पटक हो । चीनको उहानमा कोरोनाभाइरस पहिलो पटक देखिएको चीनले यसलाई नियन्त्रणमा ल्याइसकेको बताएको छ । विश्वका विभिन्न क्षेत्रमा सरकारहरुले लकडाउन गरे पनि कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ ।

आइतबार क्विन्डाओमा छ जनामा कोरोना पुष्टि भएको थियो । यस शहरमा ९४ लाखको बसोबास छ । पाँच वटा जिल्लामा तीन दिनभित्र परीक्षण गरिने र पूरै शहर पाँच दिनभित्र परीक्षण गरिने क्विन्डाओ नगरका स्वास्थ्य अधिकारीले बताएका छन् । तर ती अधिकारीले शहरका कति मानिसको परीक्षण हुनेछ भन्ने खुलाएका छैनन् ।

चीनमा व्यापक र तिब्र परीक्षण गर्ने क्षमता छ । स्वास्थ्य आयोगले १ लाख ४० हजारभन्दा बढी स्वास्थ्यकर्मी, नयाँ भर्ना भएका बिरामी र सुरक्षाकर्मीको परीक्षण गरिसकेको जनाएको छ । गत जुन महिनामा बेइजिङको ठूलो क्षेत्रमा व्यापक परीक्षण गरिएको थियो । खाद्य बजारमा केही व्यक्तिमा कोरोना देखिएसँगै करिब २ करोडभन्दा बढी जनसंख्या रहेको बेइजिङका हटस्पटमा परीक्षण गरिएको थियो ।

चीनले कोरोनाभाइरस नियन्त्रणका लागि कडा लकडाउन जारी गर्नुका साथै कोरोना परीक्षणलाई व्यापक बनाएको थियो । जसका कारण विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमाथि दबाब उत्पन्न भएको थियो तर अहिले चीनले आर्थिक गतिविधिलाई पुनः पहिलेकै अवस्थामा पु–याउन लागिसकेको छ ।

गत साता राष्ट्रिय विदाका अवसरमा देशव्यापी रुपमा करोडौं नागरिक छुट्टी मनाउन अन्यत्र गएका थिए । चीनले पछिल्लो समय कोरोनाभाइरसको खोप निर्माणलाई पनि तिब्रता दिएको छ । चीनका धेरै कम्पनी खोप निर्माणको अन्तिम चरणमा पुगिसकेका छन् ।

READ MORE NEWS

आजदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द

  •  सोमबार २६ असोज, २०७७

काठमाडौं । नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले आजदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ ।

नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुिष्ट भएपछि नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा बागलुङ बजारका स्थानीयमा कोरोना पुिष्ट भएपछि अनिश्चतकालका लागि नगरपालिकाको सेवा बन्द गरिएको उहाँले बताउनुभयो ।

बागलुङ जिल्लामा शनिबार मात्रै ४७ जनामा कोरोना पुष्टि भएका थियो । ती मध्ये अधिकांश बागलुङ बजार क्षेत्र आसपासका रहेका जनाइएको छ ।

नगरपालिकाको एक जना स्वास्थ्यकर्मी र एक जना जनप्रतिनिधिमा सङक्रमण भएपछि अहिले कन्ट्रयाक्ट ट्रेसिङ भइरहेका कारण नगरपालिकाको सेवा बन्द गरिएको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

उहाँले बागलुङ बजारमा दशै तिहारको किनमेलका कारण अनावश्यक भीडभाड भएका कारण जोखिम बढ्न सक्ने भन्दै सर्तकता अपनाउन आग्रह गर्नुभयो ।

नगरपालिकाले नगरपालिकाको कार्यालय सहित १४ वटै वडामा अत्यावश्यक सेवा बाहेका काम बन्द गरिएको हो । बागलुङमा हालसम्म ५२५ जनालाई सङ्क्रमण भएको छ । ती मध्ये ३६७ जना कोरोना मुक्त भएका छन् भने एक जनाको मृत्यु भइसकेको छ । बागलुङमा हाल सक्रिय सक्रमितको सङ्ख्या १५७ जना रहेको छ ।


Your Views
Related News