एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना संक्रमण निको भएपछि पहिलोपटक चुनावी र्‍यालीमा सहभागी भएका छन्। कोरोना परीक्षणको नतिजा नेगेटिभ आएपछि उनी सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन्।

फ्लोरिडामा आयोजित कार्यक्रममा उनले एक घण्टा लामो भाषण गरे। त्यसक्रममा उनले आफू मजबूत भएको महसुस गरिरहेको र कोरोनाप्रतिरोधी भएकाले र्‍यालीमा आएका हरेक मानिसलाई चुम्बन गर्न सक्ने बताएका थिए।

उनले आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनको आलोचना गर्दै उनी बामपन्थी समूहको भएको बताए। ट्रम्पले मिडिया पक्षपाती भएको आरोप लगाए।
सेन्फर्ड सहरमा आयोजित र्‍यालीमा कुनै सामाजिक दूरी पालना भएको थिएन भने कैयौंले मास्कसमेत लगाएका थिएनन्।

READ MORE NEWS

छोरो मान्छे भएर रून्छन्?

क दिन साँझपख केही मान्छेले एउटा स्ट्रेचर हाम्रो घरअगाडि बिसाए। त्यहाँ एक जना महिला सुतेकी थिइन्।

उनलाई बेथा लाग्न थालिसकेको थियो। आमाले भन्नुभयो, ‘डेलिभरी यहीँ गराउनुपर्छ।’

उहाँले हतारिँदै डेलिभरी गराउन आवश्यक पर्ने सबै सामान निकाल्नुभयो र मलाई लाइट बाल्न बोलाउनुभयो। उहाँले गरेका सबै काम मैले हातमा लाइट बोकेर हेरेँ।

महिला पीडाले चिच्याउँदा मेरो हात हल्लिन्थ्यो। लाइटको प्रकाश यताउता हुन्थ्यो।

त्यसको केही घन्टामा बच्चा जन्मियो। घन्टौंको उनको पीडादायी रुवाइ रोकियो। शान्त हुँदै गर्दा उनले कोही रोएको आवाज पर्खिइन्।

बच्चा रोएन।

मलाई जन्मिएको बच्चा रूनुपर्छ भन्ने थाहा थिएन।

आमाले आत्तिँदै भर्खरै जन्मिएको बच्चालाई हातमा लिएर यताउता हल्लाउनुभयो। बच्चा रोएन। सबैतिर चकमन्न भयो।

आमाले उसलाई रूवाउने चेष्टा गर्दै एक हातले उसका दुवै खुट्टा समाएर मुन्टो उँधो पारेर झुन्ड्याउनुभयो। र, तिघ्रामा दुई-तीन पल्ट ग्लोब्स् लगाएका हातले प्याट-प्याट हिर्काउनुभयो।

मैले त्यतिन्जेल उहाँको हातमा लाइट बालेँ।

सबैलाई बच्चा रोएको सुन्ने पर्खाइ थियो। अर्धबेहोस सुत्केरी, मुन्टो उठाएर आमाको हातमा हेर्दै थिइन्। उनलाई त्यस बेला अरू कुनै खबर चाहिएको थिएन। केवल आफ्नो बच्चा रोएको सुन्न मन थियो।

सबैलाई बच्चा रोएको सुन्न मन थियो।

एकछिनको शून्यतापछि आमाले तिघ्रामा हानेको प्याट-प्याट आवाज सुनेर ब्युँझिए जसरी बच्चा ब्युँझियो। रोयो पनि। तिखो स्वरमा ऊ रोएको सुनेपछि वरपर भएका सबैको अनुहार फेरियो। सबै खुसीले हाँसे।

बच्चाको आँसुले त्यतिन्जेल पर्खाएपछि बल्ल हाँसोलाई बोलायो।

त्यतिन्जेलसम्म कसैले पनि के जन्मियो भनेर सोधेन। सबैले बच्चा रोएपछि मात्र के जन्मिएछ भनेर हेरे। त्यसपछि मात्र थाहा भयो, छोरी।

आँसुले त्यतिन्जेल पर्खाएपछि बल्ल जन्मिनेको लिंग छुट्यायो। अर्थात्, आँसु लिंगभन्दा पहिला जन्मियो।

त्यो सबै दृश्य मैले आफ्नै हातमा लाइट बोकेर हेरिरहेँ। सबै थोक सपनाजस्तो लाग्यो।

सोचेँ, ‘म पनि त्यसरी नै त जन्मिएँ होला। म पनि त्यसरी नै त रोएँ होला।’

बच्ची रोएपछि मात्र उनी जीवित रहेको पत्तो लागेजस्तै म रोएपछि मात्र म जीवित रहेको पत्तो लाग्यो होला। मेरो पहिलो रुवाइ मेरो पहिलो भाषा थियो होला। मैले रोएर सबैलाई त्यसरी नै आफू ज्युँदो भएको भनेँ होला।

बच्ची रोएपछि मात्र उनी छोरी भएको देखिएजस्तै म रोएपछि मात्र म छोरा भएको पत्तो लाग्यो होला। वा, मैले रोएको आवाज मात्र सुनेर ‘छोरा’ वा ‘छोरी’ छुट्याउन नसक्नेलाई छोरा हुँ भनेर चिनाउन आफ्नो शरीर देखाएँ होला।

आँसु बच्चाको सबभन्दा पहिलो भाषा हो। बच्चाको लिंगभन्दा पहिला उसको आँसु खोजिएको हो। रोएपछि मात्र बच्चा जीवित भएको पत्तो लागेको हो। रोएपछि मात्र हाँसो आएको हो।

म त्यस बेला यी कुरा बुझ्न सक्ने उमेरमा थिइनँ। यी कुरा बुझ्ने हुन मलाई कसैले मैले बुझ्ने भाषामा भनिदिनुपर्थ्यो। वा, मैले यो जवाफ आउने गरी कसैलाई कुनै प्रश्न सोध्नुपर्थ्यो। मैले सोधिनँ। कसैले जवाफ दिएन।

बरू म हुर्किएर ठूलो हुँदै जाँदा पटकपटक कसैले मेरो कान नजिकै आएर आएर मलाई भनिरह्यो, ‘तिमी त छोरो मान्छे पो त। छोरो मान्छे रूनु हुँदैन।’

मलाई छोरो मान्छे रूनु हुँदैन भन्ने थाहा थिएन।

मेरो कान नजिकै आएको मान्छेले आफ्नो वरपर धेरै मान्छे भएको सान देखाउँदै थप्यो, ‘छोरो मान्छे भएर यस्तो कमजोर भएको अरूले देखे भने के भन्छन्?’

म पहिला त छोरो मान्छे हुन डराएँ। त्यो नहुन सम्भव नभएपछि रून डराएँ।

सास फेर्नेबाहेक रूने मैले जीवनमै सिकेको पहिलो सीप थियो। त्यही सीपलाई पनि मैले अरूको डरले प्रयोग गर्न सकिनँ।

जन्मिनासाथ त म अरूका लागि रोएको थिएँ। जन्मिएर हुर्किएपछि अरूको डरले रून सकिनँ।

निक्कै ठूलो हुन्जेल पनि मनमा प्रश्न आइरह्यो, ‘के रूनु साँच्चै कमजोरी हो त?’

यो प्रश्न मैले कसैलाई सोध्न सकिनँ। आज यतिका वर्षपछि थाहा पाएको छु, त्यो प्रश्न नै गलत रहेछ। त्यो घटनापछि थाहा पाएको छु, गलत प्रश्नको जवाफ साँचो उत्तरले दिँदैन।

मलाई यति थाहा पाउन लामो समय लाग्यो।

सानोमा मलाई अरूको भन्दा छिटो आँसु आउँथ्यो। अरूको भन्दा छिटो चित्त दुख्थ्यो। कसैले माया नगर्दा पनि रून्थेँ। कसैले धेरै माया गर्दा पनि रून्थेँ।

त्यति बेला रूँदा आफू कसको वरपर रूँदैछु भन्ने वास्ता हुँदैन थियो। रोएर फकिएपछि आफू रोएको कसैले देखे कि भनेर यताउता हेर्नु पर्दैन थियो। त्यस बेला रूनलाई अरूले के भन्छन् भन्ने त सोच्नै पर्दैन थियो।

आफूले गरेको कुनै काम कसैले के भन्छन् भन्ने कुरा सोच्न नपर्नु पनि कत्रो ठूलो स्वतन्त्रता हो!

त्यस बेला रोएकै कारण कसैले ‘कमजोर’ भन्थेनन्। आफू भएर बाँच्दा कसैले कमजोर नभनिदिनु कत्रो ठूलो स्वतन्त्रता हो!

सानो हुन्जेल आँसु र हाँसो सँगै थिए। रूँदारूँदै सर्लक्कै हाँस्न मिल्थ्यो। आँखामा टिलपिल आँसु भइभई हाँस्दा आँसु पनि हाँसेरै टल्किन्थ्यो। हाँस्दाहाँस्दै रोएकोमा हीनताबोध हुँदैन थियो। रूँदारूँदै हाँसेकोमा हीनताबोध हुँदैन थियो।

हाँसो र आँसुको लिंग छुट्टिएको थिएन। प्राकृतिकबाहेक अनावश्यक कारणले लिंग नछुट्टिनु कत्रो ठूलो स्वतन्त्रता हो!

जसै हुर्किँदै गएँ, आँसु लुकाउन थाल्नुपर्ने भयो। आँसु निकाल्नुभन्दा पहिला सोच्नुपर्ने भयो। आँखा भरिएर आँसुको ढिक्को झर्नै लाग्दा पनि त्यसलाई च्यापेर भित्रै तान्नुपर्ने भयो।

म छोरो मान्छे भएँ। मेरो आँसु छोरो मान्छे भयो।

अब्राहम लिंकनले आफ्नो छोराको स्कुलमा ‘उसलाई कहिलेकाहीँ आँखाबाट आँसु झार्न लाजमर्दो कुरा होइन भनिदिनुस्’ भन्दै लेखेको चिठी झुटो भयो।

हरेकपल्ट रून मन लागेर पनि नरून खोज्दा-खोज्दा, मभित्रको आँसु भित्रै खुम्चियो। मलाई वरपर रूने विषय छन् भन्ने नै थाहा हुन छाड्यो। धारामा पानी आउने मूल कसैले काटिदिएजस्तो भयो।

सँगै रून सक्ने साथी घट्दै घट्दै गए। म रून्छु भन्ने कुरा जान्ने साथी पनि घट्दै घट्दै गए। नयाँ बनेका कसैलाई मैले त्यो कुरा सुनाउन सकिनँ।

कसैलाई आफू के-के हुन सक्छु भन्ने सुनाउन नपाउनु कत्रो ठूलो पीडा हो!

रोएको देखाउन मन लाग्न छाडेसँगै मैले मान्छे रोएको पनि देख्न छाडेँ।

धेरैपल्ट आँसु आँखामा भरिएर आउँथ्यो। मनलाई छुने फिल्मको दृश्यले आँखा झिमिक्क पार्दा खस्ने गरी आँसु पठाउँथ्यो। तर त्यस बेला आँखा झिमिक्क पार्‍यो भने शरीर भष्म हुनेजसरी म डराएँ।

‘जन्मिँदा रूँदै आएको…’ म पहिला पहिला आफ्नो आँसुलाई ‘डिफेन्ड’ गर्न खोज्थेँ।

‘रून्चे’ भनेर जिस्काउनेलाई ‘रेडिमेड’ जवाफ दिन्थेँ, ‘मेरो दाहिने आँखाभित्र कोठी छ। आमाले भन्नुभएको आँखामा कोठी हुने मान्छे धेरै रून्छ।’

जब भिडले ‘त्यसो भए त नांगै जन्मिएको मान्छे, सार्वजनिक स्थानमा नांगै हिँड्नुपर्दो’ भनेर जवाफ दिन थाल्यो, मैले त्यो तर्कसँग जोरी खोजिनँ।

नबुझेको संस्कृतको मन्त्र दोहोर्‍याए जसरी पटकपटक दोहोर्‍याएँ, ‘छोरो मान्छे भएर रून हुँदैन।’

रून त जन्मिँदा फेरेको साससँगै सिकेको थिएँ। तर, फोक्सो बढ्दै गएपछि सास दबाएर आँसु रोक्न सिकेँ। सामाजिक हुनलाई आफूभित्रको समाजसँग असामाजिक भइदिएँ। बलियो देखिन भन्दै आफूभित्रको कमजोर मनलाई शासन गरेँ।

म सजिलै रून सक्ने मान्छे, अनेक प्रयत्न गरेर सजिलै नरूने बनेँ। सजिलै जे हुन सक्ने हो त्यो नभएर सजिलै जे हुन नसक्ने हो त्यो हुनु कत्रो ठूलो पीडा हो!

मैले आफ्नो मन पग्लिएर आएको आँसु देख्दा अर्काको आँखाले के सोच्ला भन्ने सोचेर सबै थोक दबाएँ। अनि आफ्नै आँखाभित्र छोपिएँ। आफू आँसुको बाँध भएँ।

त्यो बाँध फुटाएर आफूबाट निस्किन मलाई धेरैवटा बिहान पर्खिनुपर्‍यो।

हरेक दिन बिहानीपख ब्युँझिँदा उसको कोठाबाहिर चरा कराएको आवाज आउँथ्यो। मलाई तन्द्रामा हुँदा चराको आवाज सुन्न मन पर्थ्यो।

त्यो दिन मैले थाहा पाउँदा चराको आवाजसँगै कोही रोइरहेजस्तो सुनेँ। के भएछ भनेर आँखा खोल्दा मसँगै सुतेको साथी रोइरहेको थियो। मैले ऊ रोइरहेको थाहा पाएँ भन्ने लागेपछि ऊ मतिर फर्कियो र मलाई झ्याप्पै अँगालो मार्‍यो।

उसले त्यति कसिलो अँगालो मारेको देखेर म आत्तिएँ। उसलाई के भयो?

उसले अँगालो मारीमारी रूँदैरूँदै भर्खरै भएको ब्रेकअपको सबै पीडा मलाई सुनायो। उसका बोली धेरै रात भिजेको माटो धस्सिएर झरेजसरी झर्दै गए।

उसलाई सुन्दा सुन्दै वर्षौंदेखि नरोएर अग्लो बनाएका आँसुका डिलहरू भत्किए।

उसको ब्रेकअप भएको मलाई थाहा थियो। ऊ एक्लै नहोस् भनेरै म सँगै बस्ने गरी उसको कोठा गएको थिएँ। उसलाई मसँग केही भन्नुछ भन्ने मलाई थाहा थियो। तर, त्यसलाई कसरी कोट्याउने, थाहा थिएन।

बल गरेर कुरा भन्न लगाउन मन थिएन। उसलाई पनि मलाई भन्न मन लागेको कुरा मैले कसरी सुन्छु भन्नेमा दुविधा भएको हुन सक्थ्यो। सुनाउन लाग्नुभन्दा पहिला आफैंलाई सुनाएपछि उसले के भन्ला भन्ने लागेर चुप लागेको हुन सक्थ्यो।

हामी धेरै हिसाबले नजिक थियौं। तर एकअर्काको आँसुको नजिक थिएनौं। दुई जना एकअर्काको आँसुको नजिक नभएसम्म बीचमा जहिल्यै एउटा पर्खाल बनिरहने रहेछ।

उसले र मैले बीचमा बनाएको एउटै पर्खाल थियो- छोरो मान्छे रूनु हुँदैन। कसैले देख्यो भने के भन्छन्?

त्यो पर्खाल हरेक वर्ष बलियो हुँदै गएको थियो।

त्यो बिहान मलाई अँगालो मारेर रूँदै गर्दा उसले मनमा भएका ती सबै सुनायो, जुन कुरा हाँस्दाहाँस्दै भन्न सकेको थिएन। उसलाई सम्झाउँदै गर्दा मैले उसलाई ती कुरा सुनाएँ, जुन अरू बेला सुनाउन सकेको थिइनँ।

उसले आफूलाई परिरहेको दुःखलाई यस्तरी वाक्यमा प्रयोग गर्‍यो, मानौं त्यसरी कहिल्यै वाक्य बनाएकै थिएन।

ऊ र म एउटै प्रश्न सुनेर हुर्किएका थियौं। ऊ र म एउटै प्रश्नको पर्खालमा थुनिएका थियौं। तर, त्यो दिन उसको आँसुले त्यो पर्खाल भत्काइदियो। मैले आफूसँग रून सक्ने नयाँ मान्छे भेट्टाएँ।

अर्थात्, मैले आफू रून सक्ने नयाँ मान्छे भेट्टाएँ।

ऊसँग त म पहिला नै साथी थिएँ। तर, ऊ रोएपछि मैले नयाँ साथी भेट्टाएँ।

अनि बल्ल मैले बाल्यकालमा हुँदा सोधिएको प्रश्न गलत रहेछ भन्ने थाहा पाएँ। अनि बल्ल मैले मलाई गलत प्रश्न सोध्नेहरूतिर फर्किएर सही प्रश्न सोध्न सकेँ।

जुन आँसुले त्यतिन्जेलको मित्रतामा पनि पुग्न नसकेको स्थानमा हामीलाई पुर्‍यायो, त्यो आँसु कसरी कमजोरी हुन सक्छ?

जुन चिजले सधैं भेटेर पनि कहिल्यै नभेटिएको मान्छेलाई भेट्न मद्दत गर्छ, त्यो चिज कमजोर कसरी हुन्छ?

जुन चिजले वर्षौंदेखि भत्काउन नसकेको अभिव्यक्तिको पर्खाल एकैपल्टमा भत्काइदिन्छ, त्यसले कसैलाई कसरी कमजोर बनाउँछ?

सबभन्दा ठूलो पीडामा मह्लम लगाउन होस् वा सबभन्दा ठूलो खुसीमा उत्सव मनाउन, आँसु हरेकपल्ट साथमा हुन्छ। त्यसैले त ओलम्पिक्समा मेडल जित्नेहरू रून्छन्। विम्बल्डन जितेर रोजर फेडेरर रून्छन्। वर्ल्डकप जितेर सचिन तेन्दुलकर रून्छन्। फाइनल हारेका सबै खेलाडी रून्छन्।

जित्ने पनि रून्छन्। हार्ने पनि रून्छन्। महिला पनि रून्छन्, पुरुष पनि रून्छन्। सबैलाई आफ्नो अव्यक्त खुसी र पीडा व्यक्त गर्न मद्दत गर्ने भाषा कसरी कमजोर हुन्छ?

जन्मिएको यति वर्षपछि म फेरि आँसुसँग जन्मिँदै छु। जन्मिनलाई केको लाज?

आमाले डेलिभरी गराइरहेका बेला जसरी मैले लाइट बालिरहेको थिएँ, त्यसरी नै कोही मतिर लाइट देखाइरहेको छ।

के कसैले मेरो जन्म हेरिरहेको हो?

ऊ नजिक आउँछ। मसँग आँखा जुधाउँछ। ऊ त मजस्तै छ। ऊ म नै हो। उसले आफूजन्मिएको आफैं  हेरिरहेको छ।

अब बाहिर निस्किएपछि रोएर मैले जीवित भएको प्रमाण दिनुपर्छ र भन्नुपर्छ, ‘म छोरो मान्छे हुँ। म रून्छु।’

के तपाईंले जीवित रहेको प्रमाण दिनुभयो?


Your Views
Related News