एजेन्सी–औषधि निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनले कोरोना भाइरसविरुद्धको खोप परीक्षण तत्कालका लागि स्थगित गरेको छ। एक जना सहभागी बिरामी भएपछि तत्कालका लागि परीक्षण रोकिएको कम्पनीले सोमबार  विज्ञप्ति जारी गरी जानकारी दिएको हो।

एक जना सहभागी बिरामी भएपछि अस्थायी रुपमा कोभिड–१९ खोपका सबै क्लिनिकल ट्रायल स्थगित गरेको कम्पनीले जनाएको छ। कम्पनीले करिब ६० हजार व्यक्तिलाई परीक्षणमा सहभागी गराउने बताएको थियो। सेप्टेम्बरको अन्तिम सातातिरबाट कम्पनीले तेस्रो चरणको परीक्षणका लागि सहभागी हुने व्यक्ति छनोट गरिरहेको थियो। अर्जेन्टिना, चिली, कोलम्बिया, मेक्सिको, पेरु, दक्षिण अफ्रिका, अमेरिकालगायतका मुलुकबाट परीक्षणमा सहभागी हुने व्यक्ति छनोट भइरहेको थियो ।

जोन्सन एन्ड जोन्सनले परीक्षणमा सहभागी व्यक्ति बिरामी भएकोबारे एउटा स्वतन्त्र कमिटीले समीक्षा गरिरहेको जनाएको छ।  साथै कम्पनीका चिकित्सकले पनि त्यसको समीक्षा गरिरहेको बताएको छ।
READ MORE NEWS
सार्वजनिक सवारी साधनले ५० प्रतिशत बढी भाडा लिन नपाउने

काठमाडौं– सरकारले सार्वजनिक सवारी साधनले ५० प्रतिशत बढी भाडा लिन नपाउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भाडादर बढाउने अघिल्लो निर्णयलाई परिमार्जन गरेको हो। ‘एक साइडमा एक जनामात्रै यात्रु राखेर सवारी चलाउँदा ५० प्रतिशत भाडा बढी लिन स्वीकृति दिइएको थियाे,’ एक मन्त्रीले भने,‘यात्रु पनि भर्ने र भाडा पनि ५० प्रतिशत बढी लिएको देखियो।’

यात्रुसँग भाडा पनि असुल्ने र दूरी पनि कायम नगर्ने भएपछि भाडा नबढाउने निर्णय गरिएको उनले जानकारी दिए।

असार २३ को मन्त्रिपरिषद बैठकले सिट क्षमताको आधा मात्रै यात्रु राखेर ५० प्रतिशत बढी भाडा लिन पाउने निर्णय गरेको थियो। मन्त्रिपरिषदको बैठकले अन्तर्राष्ट्रिय नाकाबाट हुने आवतजावत कार्तिक मसान्तसम्मलाई रोक लगाएको छ

रोल्पा : सोचेको भन्दा फरक रहेछ

कर्णालीको सुर्खेतमा जन्मिएँ । हुर्के–बढेको सुर्खेत । नेपालगञ्ज र काठमाडौंमा विद्यार्थी जीवन बिताएँ । सामाजिक, राजनीतिक, पेशागत जीवनमा पूर्व मेचीदेखि पश्चिम कालीका ६६ जिल्लाका हिमाल, पहाड र तराईमा घुमेको छु । आफ्नो जीवनका ४४ औं वसन्तको मध्यान्तरतिर २०७६ पौषमा पहिलोपटक रोल्पा बसी नेपाल सरकारले कार्यान्वयन गर्ने एक आयोजनामार्फत रोल्पाली र रोल्पाका संकटासन्न समुदाय तथा परिवारमा केन्द्रीत भई सेवा गर्ने अवसर मिल्यो ।

प्रत्यक्षरुपमा रोल्पाको भूगोल, भोगाई, जीवनशैली, संस्कार–संस्कृति, आरोह–अवरोह, संघर्ष, बहादुरी, वीरता, सादगी, सरलता मेरा जीवनका प्रत्यक्ष अनुभव र अनुभूतिमा कैद हुने अवसर प्राप्त गरेका थिएनन् । त्यसैले रोल्पा र रोल्पालीको कर्म र मर्म के–कस्तो होला भनी सोचमग्न थिएँ।हुन त नेपालगञ्जको विद्यार्थी जीवनकाल, प्युठान, रुकुम र जाजरकोटका बसाइका क्रममा रोल्पाको सामाजिक, आर्थिक, राजनैतिक जीवनशैलीलाई केही आकलन गर्ने अवसर भने प्राप्त थियो । ती विभिन्न भेटघाट, बसाइ र अन्तरक्रियाले रोल्पाबारे मेरो मानसपटलमा एकखालको बिम्ब स्वत: स्थापित थियो ।

तर आज मलाई एक अनुभूति भएको छ, सधैं बिम्ब र प्रतीकहरूले वर्तमानमा यथार्थता व्यक्त नगर्न पनि सक्दा रहेछन् । बिम्ब र प्रतीकको लागि, जुनबेलाको बिम्ब हो त्यसैबेलाको धरातलीय वास्तविकता हुन आवश्यक हुँदो रहेछ भने कतिपय अवस्थामा, व्यक्तिको व्यक्तित्व, मूल्य–मान्यता, विगतका घटना र विश्व दृष्टिकोणका आधारमा एउटै घटना वा परिघटनामा पनि  फरक–फरक बिम्ब मानसपटलमा स्थापित हुन पुग्दोरहेछ । एकपटक मानसपटलमा स्थापित बिम्ब, फरक समय र स्थानमा मिल्दोजुल्दो नहुन पनि सक्ने रहेछ ।

मेरो मानसपटलमा रोल्पा भन्नेबित्तकै विद्रोह, संघर्ष, गोलाबारूद, अभाव, गरिबी, वर्गीय असहिष्णुता, राजनैतिक असहिष्णुताजस्ता कुरा प्रतिबिम्बित थिए । जहाँ वैचारिक वादविवाद, राजनैतिक पक्षधरता, विपरित विचारको निषेधिकरण, सत्ता निकटताको अहम् र दम्भजस्ता कुरा बर्गेल्ती होलान् भन्ने अनुमान गरेको थिएँ । जहाँ पछिल्लो समयमा कर्म, श्रम र पसिना बगाएर खाने, आफ्नो श्रममा बाँच्नुपर्नेमा विगतको वीरताको ब्याज खोज्ने, बलिदानको अंश खोज्ने र राज्यका तर्फबाट भरण पोषणको मात्र आश गर्ने धेरै होलान् कि भन्ने बिम्ब स्थापित हुने पुगेको थियो  ।

वास्तवमा मेरो मानसपटलको भन्दा यथार्थमा रोल्पा फरक रहेछ, महान् रहेछ । यहाँको वास्तविकताले मेरो मानसपटलको रोल्पालाई धुजाधुजा पो पारिदियो ! जब म लिवाङ बसेर बेलाबखत लेरी, कुरेली, जुगार, सुलीचौर, पुतलाचौर, खुन्ग्रीकोट, दहवन, तिला, इरिवाङ, चैवाङ र थवाङ पुगें तब मेरो मानसपटलको भ्रम चकनाचुर भयो । यहाँ त सहकार्य, सद्भाव, सम्मानुभूति, सहयोग र सादगी जीवनका धनी व्यक्ति पो रहेछन् । यहाँ विकास साझेदारको काम र योजनामा स्थानीयले अपनत्व गरेको पाएँ । जहाँ मूलत: राजनैतिक पक्षधरता र बेमेल होइन, एक–अर्काको विचारप्रतिको सम्मान पाएँ । चोक, चौतारी र पसलहमा चियाको कपमा आँधीबेहरी ल्याउने बेतुकका ‘चिया–गफ’ होइन, कृषि, घरेलु कामकाज, उद्योग व्यवसायलगायत अन्य कर्मपथमा तल्लीन कर्मशील हातहरू पाएँ । त्यसैले मलाई आज भन्न मन लागिरहेको छ– आर्थिक समृद्धिको आधार, पौरख, सृजना, सहकार्य र पूर्वाधार ।

बाहिर जिल्लाबाट आउने सरकारी, गैरसरकारी, वित्तीयजस्ता सबै  निकायका प्राय: सबै ब्यक्तिमा रोल्पा आउनुअगाडि  भएको रोल्पा बारेको धारण, रोल्पा बसाइको क्रममा बदलिएको हुन्थ्यो । यहाँ ती सबै मान्छेप्रति रोल्पालीको आथित्यपूर्ण व्यवहार छ, चाहे ती दुर्गमको अंकमापनका लागि आएको हुन्, चाहे विकास साझेदार र गरिबी न्यूनीकरणका नाममा आफ्नो पनि पारिवारिक स्थिति सुधारिरहेका किन नहुन् । अर्कोतिर रोल्पालीले सच्चा सेवा प्रदायकहरूलाई सम्मान गर्ने जानेका छन् ।

अधिकार बुढा, डा. अनिल केसी, हिरालाल रेग्मीजस्ता रोल्पालीका सेवकप्रति सम्मानसहित हल्लिएका बिदाका हातहरूले रोल्पाली संस्कारको पहिचान दिएको पाइन्छ । आज पनि ‘कोभिड-१९’ को सबैतिर त्राश छ । देशका कतिपय ठाउँमा मानिस कोठाबाट निकालिएका छन् । स्वाथ्यकर्मी प्रताडित छन् । रोल्पामा पनि जिल्लावासी अलावा जिल्ला बाहिरबाट आउनेहरूलाई यस्तो विषम परिस्थितिमा गाँस–बासको समस्या हुने हो कि भनी चिन्ता हुने नै भयो तर रोल्पालीले जिल्ला बाहिरबाट रोल्पा कर्मथलो बनाउनेलाई आदर गरेको, माया गरेको, गाँस–बासको पीर नलिन ढाडस दिएको पाइयो । त्रासका बेला आश जगाउने आशिर्वचन ‘हामी जे खान्छौं त्यही खुवाउछौं, भोकै राख्दैनौं’ भन्ने अभिव्यक्तिले ‘अतिथि देवो भव:’ भन्ने भावलाई आत्मसात गरेको पाइयो ।

रोल्पाले कला र संगीतको क्षेत्रमा लोकस्टार शनि विश्वकर्माजनवादी गायक झंकार बुढामगरशान्तिश्री परियारगायिका ज्योती मगरलोकगायिका राधिका हमालज्ञानु परियार, लोकगायक हरि डाँगीसाहित्य र संगीतकर्मी कविता उपाध्याय र हास्य कलाकार खड्गबहादुर पुन (खगपू) जस्ता धेरै सर्जक जन्माएको छ

इतिहासलाई नियाल्दा, रोल्पाले प्राय: सधैं केन्द्रीय सत्ताको ‘इतर शक्ति’को रुपमा आफूलाई उभ्याउँदै आएको पाइन्छ । त्यसैले  ‘त्यो काख जलजलाको फौजी परेड खेल्दछ, चिन्कांग झैं अडिग यो निष्ठा तुल्य बस्दछ ।’ भन्ने भनाइ र गीतले रोल्पाको चरित्र बोकेको पाइन्छ । जनयुद्धको थालनी र प्रतीकको रुपमा होलेरी, देशकै पहिलो जनयुद्ध स्मृति राष्ट्रिय संग्रालय तिला, ऐतिहासिक बैठकस्थल चुनबाङ, भीषण युद्धका छाप बोकेका स्थानहरू जस्तै: गाम, सुकिदह, हार्जंग, भाबाङ, जेलबाङ, थबाङ, कोर्चाबाङ, विभिन्न नेताहरूको वार्तास्थल, छलफल स्थल, भेटघाट स्थल यहाँ छन् । मध्यकालीन नेपालको राज्य विस्तारका लागि गढी, रुन्टिगढी उक्त क्रममा बन्दुक, गोला–बारुद बनाउने स्थानको रुपमा परिचय दिने स्थान– ‘म्यागजिन डाँडा’ यहाँ अवस्थित छन्, जसले जिल्लाको संघर्ष र द्वन्द्वप्रतिको आफ्नो सामीप्यलाई उजागर गर्दछ ।

तत्कालीन ७५ जिल्लामध्येको एक जिल्ला रोल्पा त्यस्तो जिल्ला हो, जसको सदरमुकाम लिबाङको मुख्य भागलाई जनयुद्ध समयमा चारैतिरबाट काँडे तारले घेरिएको थियो । यहाँ बाहिर–भित्र गर्न प्रवेश पास र नाम दर्ता गराउनुपर्ने स्थिति थियो । यस अर्थमा पनि यहाँ द्वन्द्व र संघर्षको व्यापकता थियो तर आज द्वन्द्वका घाउलाई बिर्सिंदै, समृद्धिको बाटोमा रोल्पा अग्रसर भएको पाएँ । हिजो खोलानाला देख्दा, एम्बुस राख्ने स्थान देख्नेले ती खोलामा विद्युत र उर्जा देख्न थालेको पाएँ । जसले गर्दा द्वन्द्व र संघर्षलाई आपसी मेलमिलाप, शान्ति, सहकार्य र रुपान्तरणमा लैजान सहयोग गरेको छ ।

हिजोका विद्रोहका प्रतीक र बिम्बहरू आज शान्ति र समृद्धिका प्रतीक बन्न तल्लीन छन् । हिजोका विद्रोहका केन्द्रहरू आज आर्थिक केन्द्रमा रुपान्तरित हुन् खोजेका छन् । होलेरीदेखि जलजलासम्मको सहिद मार्गले, सहिदप्रति उच्च सम्मान गर्दै यातायात र आवगमनमा सहजीकरण गरेको छ । बम र बारुदसँगै ब्युँझने विकटका गाउँ र बस्तीहरू कृषि उत्पादन र नवसृजनामा रमेका छन् ।

समाज विकासका विभिन्न संघर्षलाई नियाल्दा संघर्ष र द्वन्द्वको सही व्यस्थापन, अग्रगमन र रुपान्तरण हुनुमा नै त्यो संघर्षको सार्थकता हुन्छ । जहाँ कहिले ‘एक कदम पछाडि, दुई कदम अगाडिको’ मान्यता पनि लागू हुन्छ । कहिले ‘एकता–संघर्ष–एकता र रुपान्तरणको’ विधि पनि लागू हुन्छ ।

कहिले  ‘रक्षा, आक्रमण र सन्तुलनको’ सिद्धान्तलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । रोल्पाली जनताले पनि आँधीमय तुफानी द्वन्द्वलाई सह-अस्तित्व, सहकार्य र समृद्धिमा रुपान्तरण गर्न खोजेको पाएँ । हुनत कुनै पनि घटना वा परिघटनाका विभिन्न खाले नकारात्मक अवस्थिति र अवशेषहरूपछि रहेका हुन्छन् । यद्यपि, मुख्य कुरा अगुवाहरूले परिस्थितिलाई समग्रतामा कतातिर लान खोज्दैछन् भन्ने नै हुन्छ ।

यस सन्दर्भमा ‘अंश र समग्रता’, ‘मात्रात्मक र गुणात्मक’ भन्ने विषयमा ध्यान दिन आवश्यक हुन्छ । यसरी रोल्पाको हालको  वास्तविकता र यथार्थतालाई नियाल्दा, रोल्पा समग्रमा ठीक दिशातिर अग्रसर छ  । हुन त केन्द्रीय, सत्ता र सरकारमा रोल्पालीको वर्चस्व भएपनि द्वन्द्वपीडित, घाइते, अपाङ्ग, बेपत्ता व्यक्तिका प्रश्नहरू अझै अनुत्तरित छन् । सहिद परिवारको व्यवस्थापन, शान्ति तथा मेलमिलापको मुद्दाले किनारा पाउन सकेको छैन ।

आज फेरि मेरोजस्तै धेरैको रोल्पाप्रतिको मानसपटलको पूर्ववत् मान्यता र बिम्ब फेरिएको छ । भोगाइ र हेराइ फेरिएको छ । हामी नतमस्त छौं रोल्पाप्रति, आभारी छौं रोल्पाप्रति, कृतज्ञ छौं रोल्पालीप्रति किनकि जसले केन्द्रीकृत सत्ता परिवर्तन गर्ने सपूतहरू जन्मायो ।  सत्ता इतरबाट सत्तानिकट हुन पुगेको छ रोल्पा । आज नीति–निर्माणको तहमा पुगेका छन् रोल्पाली । अझै पनि बसाइ छ मेरो रोल्पामा, त्यसैले हेर्नु छ रोल्पालीको थप यथार्थता, अनि फेर्नु छ संकटासन्न रोल्पालीको अवस्था ।

राज्य संयन्त्रमा मात्र होइन रोल्पालीको पहुँच पुगेको क्षेत्र धेरै छ। रोल्पा गीत–संगीत र कलाकारितामा नि अब्बल छ, जसले कला र संगीतको क्षेत्रमा लोक स्टार शनि विश्वकर्मा, जनवादी गायक झंकार बुढामगर, शान्तिश्री परियार, गायिका ज्योती मगर, लोकगायिका राधिका हमाल, ज्ञानु परियार, लोकगायक हरि डाँगी, साहित्य र संगीतकर्मी कविता उपाध्याय, हास्य कलाकार खड्गबहादुर पुन (खगपू) जस्ता धेरै सर्जकहरू जन्माएको छ ।

के छैन र रोल्पामा ! जहाँ सिस्ने, जलजला, अपि र सैपालका शृंखला देखिने काखहरू छन् ।

त्यही काखमा हुर्के–बढेका देश सञ्चालन गर्ने नायकहरु छन् । यहाँ  ‘जल, जंगल, जमिन, जडीबुटी र जनता’ छन् । सबै गाउँ–गाउँसम्म पुग्ने बाटो छ, अनि आफ्नै पाखुरीले आर्जेको उर्वर माटो छ । ‘चनादेखि सिमीसम्म र आँपदेखि स्याऊसम्म’ उत्पादन हुने मौसमी हावापानी छ ।

मेरो विचारमा, रोल्पालीलाई अभाव छ भने सरकारी क्षेत्रमा काम गर्ने स्थानीय कर्मचारीको अभाव हो । त्यसैले त लोकसेवामा पहुँच वृद्धि गर्न दबाब छ । सीपमूलक, वैज्ञानिक, व्यावहारिक र प्राविधिक शिक्षाको वकालत गर्ने रोल्पामा, उच्च प्राविधिक शिक्षा र स्नाकोत्तर तहसम्मको अध्ययन गराउने शैक्षिक संस्थाको कमी छ । स्वास्थ्य सेवाका लागि दुरदराजमा स्वास्थ्य सेवाको गतिलो पहुँच र सदरमुकाम समेतमा विषयगत स्वास्थ्य विशेषज्ञ सेवाको कमी छ । तर, पनि रोल्पा खुशी, समृद्ध भविष्यप्रति आशातीत, शान्त र सुन्दर छ ।

वास्तवमा हरेक वस्तु, समाज र ब्यक्तिमा अन्तरविरोध, अन्तरसंघर्ष हुन्छ । संघर्ष एक सार्वभौम सत्य हो । तर मुख्य कुरा संघर्षको सृजनात्मक र सही व्यवस्थापन नै प्रगतिको साधक हो । रोल्पाले पनि विगतका तिक्तताहरूको सही व्यवस्थापन गर्दै, कर्म र सृजनामा रमाउँदै, आफ्नै पाखुरी र पौरखमा भर गर्दै अगाडि बढेको वास्तविकता आज धेरैको मानसपटलमा स्थापित हुन पुगेको छ ।


Your Views
Related News