कालिका नगरपालिकाको पदमपुर क्षेत्रमा फोहोरी महतो(गौरीमाया) र मुसनी महतोलाई नचिन्ने सायदै होलान्। पालैपालो सबैका घरमा पुगेकै हुन्थे यी दिदी बहिनी, पेटपाल्नका लागि ‘सिधा’ उठाउन।उनीहरूको आराम गर्ने ठाउँ पदमपुरकै सडक अनि खाने, सुत्ने सबै सडकमै। त्यसैले पनि यस क्षेत्रका प्रायःले चिन्छन् यी दिदीबहिनीलाई।वर्षौंदेखि गास, बास, कपासविहीन कष्टको जीवन बिताउँदै आएका गौरीमाया र मुसनीका लागि यो दसैं भने उल्लासको बन्दै छ। खुल्ला आकास मुनिको रात मात्रै देखेका उनीहरुले केही दिनमा टिनको छानोमुनि सुत्ने अवसर पाउँदैछन्।पुष, माघको जाडोमा एकसरो कपडा नपाएका उनीहरूले नयाँ लुगामात्रै पाउँदै छैनन् नयाँ ओच्छ्यामा पनि सुत्दैछन्।वर्षायाममा आहालमा भोकै रात बिताएका उनीहरूलाई दाताको सहयोगमा खानाको प्रबन्ध पनि मिलाइएको छ।

राप्तीपारि हाल चितवन राष्ट्रिय निकुञ्जमा रहेको बस्तीमा थियो उनीहरूको घर। घरकी जेठी छोरी मुसनी बिहे गरेर पूर्वी चितवनको हर्दी पुगिन्। बिहेको केही वर्षमा मुसनीका श्रीमान बिते। घरबाट हेला हुन थाल्यो। मुसनी छिमेकीको घरमा बसेर गाईबस्तु चराउन थालिन्।बावुआमाले माइली छोरी गौरीमायाको माडीमा बिहे गरिदिएका थिए। तर उनी त्यहाँ एक हप्ता पनि बस्न सकिनन्। माइतै फर्किइन्। उनी पनि छिमेकी जमिनदारहरुको गाई भैंसी चराउने काम गर्न थलिन्।  २०५४ सालतिर निकुञ्ज भित्रको बस्ती हालको पदमपुरमा सार्न थालियो। २०५८ सालमा गौरीमाया जमिनदारको गाई, भैंसी धपाउँदै पदमपुर आइपुगिन्। परिवार यता सरेको थाहा पाएपछि साहुले मुसनीलाई पनि पदमपुर ल्याएर छाडिदिए। केही वर्ष दिदीबहिनीले सँगै गाई, भैंसी चराए। यसबापत उनीहरुलाई खाना मिल्थ्यो।

जमिनदारले गाईबस्तु पाल्न छाडेपछि भने यी दिदीबहिनीको उठीबास लाग्यो। त्यतिखेरसम्म बावुआमा बितिसकेका थिए।एउटा भाइ थिए, उनी पनि बेवारिसे भएर हराए। त्यसयता उनीहरू सिधा उठाएर पेट पाल्दै आएका छन्। कहिले सडकमा सुत्छन् त कहिले अर्काको आँगन, पिँढीमा।पदमपुरमै बिहे भएका उनीहरुका दुई बहिनी छन्। कान्छी र साइली दुबैले एकै जनासँग बिहे गरेका। जेठी र माइली दिदीहरूको दयानीय अवस्था देखेपछि उनीहरूले आफ्नो जमिनको सानो क्षेत्रमा आश्रय दिएका थिए। कहिलेकाहिँ उनीहरू त्यही जमिनमा बोराले बारेर बोराकै छानो हालेर बस्ने गर्दथे।

एकदिन चितवनको खैरहनी घर भएका सामाजिक अभियन्ता मुरलीप्रसाद गजुरेलले युट्युब हेर्दै जाँदा यी दिदीबहिनीको कष्टकर जीवनबारेको भिडिओ देखे। पदमपुरमै घर भएका पत्रकार सन्तकुमार चौधरीले युट्युबमा पोष्ट गरेका थिए त्यो भिडिओ। त्यसमा यी दिदीबहिनीको दिनचर्या प्रस्तुत गरिएको थियो।गजुरेल उनीहरूलाई खोज्न हिँडे। वर्षाको समयमा आहालमा जीवन बिताइरहेको आफैँले देखे।‘मैले यति कष्टकर जीवन आजसम्म कसैको देखेको थिइनँ’, गजुरेलले भने, ‘मानवले मानवलाई सहयोग गर्ने यस्तै बेलामा हो भन्ने लाग्यो। उहाँहरूलाई सहयोग गर्नैपर्छ भन्ने भावना जागेर आयो।’त्यहाँबाट फर्किएपछि उनले आफ्ना साथीहरूलाई यो कुरा सुनाए।

विश्वभर कोरोनाभाइरसको महामारी चल्दै थियो। सामाजिक अभियन्ता गजुरेलकै अगुवाइमा महामारीका वास्तविक पीडितका लागि स्वतः स्फूर्त रूपमा सहयोग अभियान चलिरहेको थियो। समाजसेवी प्रेम रिमाल, कमल पाठक, अशोक न्यौपाने र लेखबहादुर पुन मिलेर ‘सिंगो समूह’ निर्माण गरेका थिए।यो समूहले दैनिक ज्यालादारी मजदुरी गरेर छाक टार्ने परिवार, अपाङ्गता भएका व्यक्ति, दृष्टिविहीन, कलाकार, विपन्न चेपाङ परिवार तथा मिर्गौला पीडितलाई खाद्यान्न सहयोग गर्दै आएको थियो।उनीहरूले सुरुआतमा यी दिदीबहिनीका कारण समाजमा कोरोनाको महामारी फैलिन सक्ने ठानेर खाद्यान्नको व्यवस्था गरिदिए।

‘त्यसपछि हामीले  यिनीहरूलाई खाना दिएरमात्रै हुँदैन बास पनि चाहिन्छ भन्ने  ठान्यौं’, उनले सुनाए, ‘हामीले उनीहरूको सहयोगका लागि सामाजिक सञ्जालबाट आह्वान गर्ने निधो गर्‍यौं।’उनीहरुको आह्वानलाई स्वीकारेर जापानबाट प्रेम आचार्य एक्लैले एक लाख चालीस हजार रुपैयाँ र साथीहरुबाट संकलन गरेर ६७ हजार २०० रुपैयाँ सहयोग उपलब्ध गराए। अमेरिका, भारतलगायतका देशहरुबाट पनि सहयोग प्राप्त भयो। कसैले भौतिक संरचनाका लागि त कसैले खाद्यान्न लुगा, ओच्छ्यानका लागि भनेर सहयोग पठाए।सोही रकमले सिंगो समूहले यी दिदीबहिनीका लागि घर बनाउन थाल्यो। आफ्नै बहिनीहरूले उपलब्ध गराएको जमिनमा दाताबाट आएको सहयोगले अहिले शौचालयसहितको दुई कोठे घर तयार भएको छ।

गजुरेल अचेल त्यही घरको निर्माणमा खटिएका भेटिन्छन्।‘दसैंको अवसरमा घर हस्तान्तरण गर्दैछौं’, गजुरेलले भने, ‘उहाँहरूका लागि खाने, सुत्नेसम्मको बन्दोबस्त गर्दैछौं।’घर बनाउनका लागि ३ लाख रुपैयाँ खर्च भइसकेको छ। दाताबाट उनीहरूले ३ लाख ५० हजार रुपैयाँ सहयोग पाएका थिए।बाँकी रकमले घरमा सोलार, खानेपानी जोड्ने र खाद्यान्नको व्यवस्था गर्ने तयारी रहेको गजुरेलले बताए।‘दिउँसो खान पाइन्थेन, राती सुत्न पाइन्थेन। छाप्रो भए पनि पानी पर्दा घुँडासम्म डुवाउँथ्यो’, गौरीमायाले दुःख सुनाउँदै भनिन्, ‘अब त सुख पाइन्छ होला।’आफ्नो लागि घर बनेको देख्दा खुसीले आनन्द लागेको उनले सुनाइन्।झट्ट हेर्दा साठी वर्ष नाघेका जस्ता देखिने यी दिदीबहिनीलाई आफ्नो उमेर पनि थाहा छैन। अभावैअभावले उनीहरूलाई बिरामीजस्तो बनाएको छ। उनीहरूसँग आफ्नो नागरिकतासमेत छैन।

बेवारिसे, बेसाहारा, अनाथको व्यवस्थापनका लागि भनेर धेरै संस्थाहरु स्थापना भएका छन्। सरकारले सडक मानवमुक्त समाज निर्माणको अभियान देशभर सञ्चालन गरिरहेको छ। तर यी बेसाहरा दिदीबहिनीलाई न ती संस्थाले देखे न सरकारी निकायहरुले चिने।’नचाहेरै पनि दिदीहरूको दुःख कष्ट टुलुटुलु हेरेर बस्नु परेको थियो’, दिदीहरुका लागि जग्गा उपलब्ध गराएकी कान्छी बहिनी ठगनी महतोले भनिन्, ‘समाजसेवी मिलेर दिदीहरूका लागि यति व्यवस्था गरिदिनुभएको छ। अब त उहाँहरूलाई बाँच्न सजिलो होला।’गजुरेलले कोरोना महामारी सुरु भएयता सिंगो समूहमार्फत दाताहरुको सहयोगमा चितवनका ४ सय परिवारलाई खाद्यान्न सहयोग गरिएको बताए। उनकै अगुवाइमा चितवनको खैरहनीस्थित खैरहनी माध्यामिक विद्यालयमा विपन्न वर्गका विद्यार्थीहरुका लागि १ करोड १० लाख रुपैयाँको छात्रवृत्ती अक्षयकोष स्थापना गरिएको छ।उनले आफन्त, साथीभाइको जन्मदिनको अवसरमा फजुल खर्च नगरी केही रकम सामाजिक काममा खर्च गर्न आग्रह गर्दै रकम संकलन गरेर छात्रवृत्ती कोष स्थापना गरेका थिए।खैरहनी मावि जन्मोत्सव तथा स्मृति अक्षय कोष नाम राखिएको यस कोषबाट अहिलेसम्म ७०० जना विद्यार्थीले छात्रवृत्ति पाइसकेका छन्। अक्षय कोषको व्याजबाट आएको २७ लाख रुपैयाँ छात्रवृत्तीमा खर्च गरिएको हो।

READ MORE NEWS

रोड्रिगोलाई ‘नयाँ नेयमार’ बन्न मन छैन

२७ असोज, काठमाडौं । ब्राजिलका युवा फुटबलर रोड्रिगोले आफू ‘नयाँ नेयमार’ बन्न नचाहेको बताएका छन् । विश्वकप क्वालिफायर अन्तर्गत पेरुसँग हुने म्याचको ठीक अगाडि उनको यस्तो बयान सार्वजनिक भएको हो ।१९ वर्षका रोड्रिगोलाई ब्राजिलका उदीयमान स्टारको रुपमा हेरिएको छ । ला लिगा च्याम्पियन रियल मड्रिडका लागि उत्कृष्ट प्रदर्शन गरेसँगै विश्व फुटबलमै उनको चर्चा चुलिएको थियो । उनी गत वर्षमात्रै सान्तोसबाट ५ करोड २२ लाख डलर लिएर रियल मड्रिड गएका हुन् ।सान्तोसबाटै उदाएका नेयमार र रोविन्होसँग उनको तुलना हुन थालेको छ । तर, यस्तो तुलनाले आफूलाई असहज लाग्ने रोड्रिगो बताउँछन् । अरुको पदचिह्नमा हिँड्नेभन्दा आफ्नो बेग्लै बाटो बनाउन चाहेको उनको भनाइ छ ।

उनले भने, ‘मैले सान्तोसबाट सुरु गर्दादेखि नै मलाई नयाँ नेयमार भन्न थालियो । रोविन्होसँग पनि तुलना हुन थाल्यो । तर, म चाहिँ सधैँ रोड्रिगो नै भइरहन चाहन्छु । आफ्नै कथा निर्माण गर्न चाहन्छु । रोविन्हो र नेयमारहरु मेरा आइडल हुन् । तर, नेयमार एउटा मात्रै हुन सक्छ । म रोड्रिगो नै ठीक छु ।’रोड्रिगोले ब्राजिलको सिनियर टिमबाट तीन वटा अन्तर्राष्ट्रिय म्याच खेलिसकेका छन् । यसैगरी ला लिगामा उनले २०२०–२१ को सिजनमा मड्रिडका लागि दुईवटा म्याच खलेका छन् । अहिलेसम्म उनले सबै गरेर २६ वटा म्याच खेलेका छन् ।‘मैले सधैँ आफूलाई उत्कृष्ट फर्ममा राख्नुपर्छ किनकी मेरो स्थानमा खेल्ने धेरै राम्रा खेलाडीहरु छन्,’ उनी भन्छन्, ‘मैले अवसर पाएको बेलामा त्यसको सदुपयोग गर्नैपर्छ, अनि मात्रै मैले राष्ट्रिय टिममा आफ्नो मजबुत स्थान बनाउन सक्छु ।’


Your Views
Related News