काठमाडौं । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बढ्न थालेको छ । सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेल आयुर्वेदमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति भनी व्याख्या गरिएका संस्कृत भाषामा अमृता भनिने गुर्जोबाट बनेको गुडुचो चिया स्क्वास, तुलसी चिया, जेठीमधु चूर्ण, शुद्ध अमलाबाट बनाएका आमालकी चूर्ण, रस्वगन्धा चूर्ण लगायत जडीबुटीबाट बनेका उत्पादनको माग विगत वर्षभन्दा चार गुणसम्म बढेको बताउँछन् ।“विसं २०७६ चैतअघि तुलसी चियाको खपत वार्षिकरुपमा सरदर सात हजार २३१ पोका हुन्थ्यो, यस वर्ष सात महिनामै १३ हजार ६५७ पोका बिक्री भइसकेको छ, माग बढिरहेकाले अरु बनिरहेको छ, यसवर्ष पहिलोपटक बनाइएको गुर्जोको चिया गुडुची सात हजार ३४७ पोका बजारमा गइसकेको छ”, उनले भने।

समितिबाट गत वर्ष अश्वगन्धा ८१८ पोकामात्र बिक्री भएको थियो । यस वर्ष छ हजार ३८८ पोका गइसकेको   छ । यसैगरी यस वर्ष माग भएर नयाँ बनाइएको ज्येष्ठवासादि चूर्ण चार हजार २०२ पोका बिक्री भइसकेको छ । गत वर्ष भण्डार रहेको बिक्री भइरहेको जेठीमधु चूर्ण पनि यस वर्ष दुई हजार २७१ पोका बिक्री भइसकेको    छ । कात्तिक लागेसँगै समितिले रोग प्रतिरोधी क्षमता बढाउने च्यवनप्रास पनि बनाउने तयारी गरेको छ ।मागअनुसार पूर्ति गर्न धौधौ भए पनि अहिलेसम्म समितिले बजारमा आवश्यकताअनुसार पूरा गर्न सफल भएको छ । कोरोना भाइरसको फैलावटसँगै गुर्जोका बिरुवा लगाउने बढे पनि अमलालाई भने बिर्सन थालिएकाले यसतर्फ पनि अभियानकर्मीको ध्यान जानुपर्ने प्रबन्ध निर्देशक खरेल बताउँछन् ।“गुर्जोसँगै अमला पनि लगाउनुपर्छ, अमलालाई बिर्सनुभएन, गुर्जोसँगै अमला पनि आम्दानीको स्रोत बन्छ, अमला र गुर्जो पनि भयो भने रोग प्रतिरोधी क्षमता बढाउँछ, गुर्जो जुन बिरुवामा जान्छ, त्यसैको गुण लिने भएकाले गुर्जो र अमलासँगै लगाउनुपर्छ”, उनले भने।

उपत्यकामा वाग्मतीलगायत नदी किनार, गोकर्ण लगायत स्थानमा धेरै सङ्ख्यामा गुर्जो रोपिए पनि अमला नरोपिनु उत्पादनका दृष्टिले समेत ठीक हुँदैन । व्यावसायिक रुपमा अमला खेती गरे समितिले सबै किनिदिने प्रतिबद्धता जनाएको छ । समितिले गुर्जोको चिया कोभिडपछि बनाएको हो । विगत वर्षमा अमलाबाट बनेका परिकारको माग पनि कम थियो । गुर्जो, अमलालगायत जडीबुटीबाट बनेका परिकार अनुसन्धानबाट प्रमाणित नभएसम्म कोरोनाकै औषधि भन्न नसकिए पनि रोग प्रतिरोधी क्षमता बढाउने उत्पादनका रुपमा उपयोग गर्नेको सङ्ख्या बढ्न थालेको छ ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जडीबुटीबाट बनेका विभिन्न परिकारले कोरोना नियन्त्रणमा कति सहयोग पु¥याउँछ भनी अनुसन्धान शुरु गरेको छ । परिषद्का प्रवक्ता मेघनाथ धिमाल अनुसन्धानका लागि तालीम सकी अरु काम अघि बढेको बताउँछन्।

केन्द्रका सबै सङ्क्रमित निको भए

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आइसोलेसनमा राखिएका करिब ७०० कोरोना सङ्क्रमित ठीक भएर घर फर्किएका छन् । केन्द्रमा ल्याइएको कोरोना सङ्क्रमितमध्ये हालसम्म कसैको पनि निधन नभएको कार्यकारी निर्देशक राम आधार यादवले बताए। केन्द्रमा राखिएका सङ्क्रमितलाई बिहान योग, प्राणायामलगायत व्यायाम गराइन्छ । तिनलाई रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधि खुवाइन्छ । यहाँ आवश्यक परेको अवस्थामा अक्सिजनको व्यवस्था पनि गरिएको छ । केन्द्रमा २०० जना सङ्क्रमित राख्न सक्ने क्षमता छ ।

आयुर्वेद चिकित्सकका रुपमा करिब ४० वर्ष सेवा गर्नुभएका डा शेषराज आचार्य रुघाकै प्रकृतिको रोग भएकाले सम्पर्कबाट सर्ने भएकाले यस्ता रोगमा आयुर्वेद प्रभावकारी हुने बताउँछन् । रोग प्रतिरोधी क्षमता भएकामा यसले धेरै असर गर्दैन । सङ्क्रमण भएमा सितोपलादि चूर्ण १०० ग्राम, गोदन्दी भष्म १० ग्राम, अभ्रक भष्म १० ग्राम, गुर्जोको धुलो (गिलोय सत्व) ५० ग्राम मिसाएर बिहान, दिउँसो र बेलुका मन तातो पानीसँग खाएमा ठीक हुने उनले बताए।

आयुर्वेद चिया ‘इम्युन टी’ सेवन गर्ने, सामान्य व्यायाम गर्ने, पानीको बाफ लिने गर्नाले निको हुने उनले बताए । कोरोनाका क्रममा १०३ देखि १०४ डिग्रीसम्म ज्वरो आएमा महामृत्युञ्जय वा त्रिसुन बटी नामको दुई गोली मन तातो पानीमा घोलेर खाएमा निको हुने हाल पनि चाबहिलमा शेष आयुर्वेद क्लिनिक चलाएका आयुर्वेद विभागका पूर्व महानिर्देशक आचार्यले जानकारी दिए।

गुर्जोको निःशुल्क वितरण तीव्र

राजधानीमा कोरोनाको फैलावटसँगै गुर्जोको बिरुवा, धुलो र चिया निःशुल्क वितरण गर्ने अभियान पनि तीव्र भएको छ । सशस्त्र प्रहरी बल सिनामङ्गलमा २०० बिरुवाका साथै चिया र औषधिको धुलो प्याकेट वितरण गरिएको गुर्जो अभियानकर्मी एवं आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख कमलबहादुर राजलवटले राससलाई जानकारी दिए। पतञ्जलि योग समितिको आयोजनामा काँडाघारी क्षेत्रका स्थानीयवासीलाई ५००, ललितपुर महानगरपालिका–२५ भैँसेपाटी ६००, नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालय २००, भक्तपुर क्यान्सर अस्पत्ताल ४००, चन्द्रागिरि नगरपालिकालाई २००, महानगरीय प्रहरी वृत्त थानकोट २०० बिरुवा हस्तान्तरण गरिएको छ ।

गुर्जोको बिरुवा वितरण गरिएका सबै स्थानमा गुर्जोलगायत जडीबुटीबाट बनेको चिया खुवाउने, चिया तथा धुलो औषधि वितरणसमेत गरिएको छ । वितरण गरिएका स्थानामा कोरोना देखिएका परिवारलाई गुर्जोको विशेष प्याकेटको व्यवस्था गरिएको छ । त्रिभुवन पार्कमा गुर्जो लगाउनसमेत निःशुल्क वितरण अभियानले सहयोग गर्ने भएको छ ।यसैगरी ललितपूर महानगरपालिका–१० को ज्वागलस्थित बराह टोल सुधार समितिलाई २००, बूढानीलकण्ठ नगरपालिकाको वडा नं १० र ११ मा २००, टोखा नगरपालिकालाई ६०० बिरुवा हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले बताएका छन् ।

गुर्जोबाट बनेको सबै रोगमा उपयोगी हुने धुलो औषधि पनि बिरुवासँगै वितरण गरिएको छ । टोखा नगरपालिकामा मनमोहन मेमोरियल अस्पतालका विभागीय प्रमुख डा श्यामेन्द्रबहादुर सिंहलाई समेत बिरुवा र गुर्जोबाट बनेका औषधि वितरण गरिएको थियो । मेडिकल डाक्टर पनि गुर्जोको चिया तथा धुलो औषधिको नियमित सेवनकर्ता रहेको अभियानकर्मी राजलवटले बताए।

READ MORE NEWS

मागी खाने कि न्वागी खाने?

‘आज चाँडै बिदा भयो भने बाटोमा कतै नभुलिकन घर आएस् है बाबु,’ डहरमा पुगेर तगारो खोल्दै गरेको छोरालाई आमाले भनिन्।’हुन्छ,’ भनेर हतारहतार तगारो लगाएर छोरो स्कुलतिर कुदयो।’आजसम्म त बिदा थियो। यसको काम खान पाइयाथ्यो। रक्सी पार्न पानी बोक्दिँदा नि ठूलै काम भाथ्यो। अबदेखि स्कुल सुरू भयो। पढाइ हुने पनि होइन। मास्टरहरू केटाकेटी स्कुल बोलाएर रमिता देखाउँछन् मात्रै,’ एक्लै भुत्भुताउँदै थिइन् घरबेटी आमै।तिनकै कोठामा बसेका सोही स्कुलमा पढाउने शिक्षक (मास्टर सा’प) मनमनै सोचे, ‘छोरो स्कुल जाओस्। केही सिकोस् भन्ने त बाउआमाको मनमा छँदै छैन। खाली स्कुलमा पढाइ नभए त केटाकेटीलाई काममा जोताउन पाइन्थ्यो भन्ने ध्याउन्न मात्रै हुन्छ। फेल भयो भने मास्टरलाई गाली गरिदिए भयो।’

रक्सीको बाहन बसाल्दै गरेकी घरबेटी आमालाई मास्टरले सोधे, ‘हजुरले त जतिबेला पनि रक्सी पारेको देख्छु त आमा। यसरी जतिबेला पनि रक्सी खाइरहँदा त स्वास्थ्यलाई असर पार्छ नि!”त्यो त हो मास्टर बाबु, भूकम्प गएपछि त मान्छेले काम गर्न छाडे। राहतले मान्छेलाई बिगार्नुसम्म बिगार्‍याछ नि! राहतको नाममा दुई-चार पैसा पाए भने कि त बाह्रमासे खेल्ने कि रक्सी खाने। हाम्रो पनि व्यापार चलिराछ। विरोध पनि गर्न भएन के गर्ने?’ ‘मास्टर तिम्लाई चल्दैन होला है। हाम्लाई चाहिँ नभै हुँदैन,’ भित्रबाट घरबेटी बाले व्यंग्य कसे।मास्टर केही नसुनेजस्तो गरी बसिरहे।घरबेटी बाले मास्टरलाई बेला बेलामा कटाक्ष गरेकै हुन्थे। सुरुसुरुमा त मास्टरलाई असह्य हुन्थ्यो। पछिपछि बानी पर्न थाल्यो। मास्टरले त्यो कोठामा बसेको पहिलो दिनमै घरबेटी बाको मुखबाट भनाइ सुन्नुपरेको थियो- ‘हाम्रा छोराछोरी अरबको खाडीआँ अर्काआ भूमिमा दस नङ्ग्रा खियार बस्याछन्। यिनीहरू भने कहाँ न महाँड आ’र पढाअ अस्तो अरेर सर्कारको तलब पचाकै छन्।’

भूकम्पले सोत्तर पारेको गाउँ। जताततै जस्ताका टहरा मात्रै देखिन्थे। गाडीको कुरै छाडौं, नयाँ मान्छेले गाउँमा पाइलो टेक्नै नहुने। भूकम्पको राहत आयो भनी बुर्कुसी मारी दौडन्थे। मास्टर पहिलो पटक शिक्षकको नयाँ नियुक्ति लिएर जाँदा अचम्म परे।मान्छेहरू उनको झोला, सामानका पोकापोकी देखेर झुम्मिएका थिए। पक्कै पनि राहतको आशमा हुनुपर्छ। कोही नयाँ नौलो मान्छे गाउँमा आयो भने रोइकराई गरी आफ्नो दुःख देखाएर धेरथोर सहयोग माग्न पछि पर्थेनन् गाउँलेहरू।ढलेको सिन्को उठाउन जाँगर नचलाउने तर कसैले राहतको नाममा केही कुरा लिएर आयो भने तँछाडमछाड गर्नेको भीड भने सधैं देखिन्थ्यो। उसो त गाउँमा सबै उस्तै थिएनन्।’एक-दुई दिनलाई दिएको अनि मागेको खाएर सधैं चल्दैन। सिङ्गो जिन्दगी बाँकी छ। यसरी सधैं गुजारा चलाउन गाह्रो हुन्छ। अरुको आस गर्नु हुन्न, सक्दो आफैंले गर्नुपर्छ’ भन्ने व्यक्ति पनि यदाकदा भेटिन्थे।

यस्ता जमात अल्पसंख्यकमा पर्थे। मागी खान पल्केका गाउँका बहुसंख्यक समूहले स्वाभिमानी सोच भएका व्यक्तिलाई गिराएर बोल्न पाउँदा निकै रमाइलो मान्थे। पिपलबोटे साइँलो ती स्वाभिमानी युवामध्ये एक थियो।ऊ आफ्नै धुनमा काम गर्थ्यो। अरुको कुरा सुन्थेन। उसकी श्रीमतीलाई भने काम गर्न परेपछि ज्वरो आउँथ्यो। यही कुरामा दिनदिनैजस्तो ठाकठुक परिरहन्थ्यो। ‘यो खेत छिचोल्न पनि कति गाह्रो है, कति झाडी बढेको? पहिले पो मान्छे रातदिन नभनी एकमेसै हिँडिरहन्थे र। अचेल गाउँबेसी गर्नका दुःखले सहरतिर झरे। भएका मान्छे मोटरबाटो हिँड्छन्। पुरानो बाटो सबै लेऊ लागेर हरियो भइसकेको छ,’ आफू हिँडिरहेको बाटोसँग साउती गर्दै थियो साइँलो।पुछारघरे कान्छोले भेट्यो र सोध्यो, ‘हैन ए साइँलो, एक्लै भुत्भुताउँदै कता हो?”ए कान्छो पो! तल बेसीमा खेत गोड्न हिँडेको। बाटो छिचोल्नै नसकेर आपत भो भन्या।’

‘वरिपरि सबैका खेत बाँझै छन्। टुसुक्क बीचमा दुई-चारवटा सुर्कामा धान रोपेर गेडो स्याहार्लास् त तैंले। खै केही नाप्लास् जस्तो त लागेन मलाई। अरू सबैले खेत रोप्न छाडिसके। तलाईं मात्रै के भूत चढेको हो,’ पुछारघरे कान्छाले भन्यो।साइँलोको कन्सिरीका रौं झनन् तातेर आए। ऊ पनि के कम, जवाफ फर्कायो, ‘कहिलेसम्म अरुको अगाडि शीर निहुराएर दुई हात फिजारी मागेर खान्छौ ओ काखा दाइ। अलिकति पनि लाज लाग्दैन तिमीलाई? अहिले पो दुईऔचार महिनालाई विपत्तिको बेला हो भनेर सहयोग गर्लान्। पछि पाउन छाडेपछि के खान्छौ? सहरतिर पसेर कचौरा लिएर बस्ने विचार छ कि कसो?’पुच्छारघरे कान्छो बोल्न सकेन। साइँलो उसलाई उछिनेर अघि हिँड्यो। खेत पुग्यो। वरिपरि डियाँ (गाईवस्तु)हरूको लस्कर। माहारेजति डियाँलाई धानतिर लघारेर कोही गफमा मस्त थिए। कोही मोबाइलमा व्यस्त।

‘एकछिन नआएको भए त सत्यानाशै पार्ने रहेछ नि यिनका डाम्नाहरूले,’ साइँलो कराउँदै खेतमा पानी सोझ्याउन थाल्यो। साइँलो घरबाट खेततिर हिँड्ने बेलामा बुढीले कराएकी थिई। गाउँका सबै महिला राहत लिन भोलि बिहान १० बजे घुमाउने चौतारामा भेट हुने र सहबै सँगै जाने भनी अघिल्लो दिन सल्लाह भइसकेको थियो। त्यहीअनुसार साइँली घरधन्दा सकेर चिटिक्क परेर बसेकी थिई।त्यही बेला साइँलो नाम्लो-हँसिया लिएर ओरालो लाग्दै गरेको देखेर साइँली च्याँठिई।’हैन कहाँ मुन्टिन ला’को हो। त्यो हल गोरु पनि नजाने दुइटा सुर्काँ धान ला’र कति दिन खान पुग्छ? चटक नि अति नै गर्नी के। उहाँ मान्छेले बोराका बोरा राहतको चामल ल्या’र आनन्दले बस्याछन्। हाम्रालाई भने यही बेलाँ नाटक पार्न पर्नी। यस्तो लौने त शत्रुलाई नि नपरून् भग्मान! केहीमा नि कुरा मिल्दैन। खाली आफ्नै मात्र सुर छ,’ साइँली चिच्याउनै थाली।

भान्सा कोठाभित्र पसेर भाँडा बजाई। साइँलो सुनेको नसुनै गरी ओरालो लागेको थियो।खेतको आलीमा घाँस काट्दै गर्दा साइँलोले सम्झियो-‘यस्तो राम्रो घाँस गोठमा डियाँ भाको भए कति मजाले खाँदा हुन्। अहिले त गोठ रित्तै छ। अब म घाँस काट्न सक्दिनँ। हात छिया–छिया भा’र यस्तो भा’छ भन्दै दिनदिनै हात तेर्स्याउँथी। दुःखै भा होला जस्तो लाग्यो र कचकच सुन्नुभन्दा त गोठै खाली गर्नु बेस लागेर सबै वस्तुभाउ बेचिदिएँ। लइनो भैंसी बिहान एकछिन दुहुन ढिला हुँदा कराउँथ्यो। भैंसी आफैंले पाएको सन्तान जस्तो थियो। बाहिर कतै गएर आउँदा टाढैबाट गोसाइको गन्ध थाहा पाएर कराउन थाल्थ्यो। कति शोभा दिएको थियो घरको त्यो भैंसीले।

आडैमा टाट्नामा बाँधिएका बाख्रा। छुट्टै खालको सुगन्ध आउँथ्यो त्यो गोठतिर जाँदा पनि। भूकम्पले रित्याउन नसकेको गोठको काख राहतले रित्याइदियो। मागी खाने बानीले गर्दा मान्छेले पसिना बगाउन अल्छी मान्न थाले। अझ राहतमा पैसा पनि पाउन थालेपछि त तरकारी उब्जाउनुभन्दा ब्रोइलर मासु किनेर खान पो थाले त।’एकछिन खेत गोडिवरी साइँलो छेवैको बुटामुनि सुस्ताएको थियो। भदौरे घाम उधूमै चर्किएको थियो। उसको खेत बाटोमै पर्ने, मान्छेको ओहोरदोहोर निकै भइराख्थ्यो।त्यत्तिकैमा गैरारे माइलो आइपुग्यो र भन्यो, ‘यो झाडीको बीचमा मुसालाई खेत रोप्देको हो साइँला?’

साइँलो केही बोलेन। उसलाई थाहा थियो, उसको त्यो कामलाई जो कोहीले मजाक ठानेका छन्। राम्रो गरिछस् भन्ने कोही भेटिन्थेनन्। तै पनि त्यस्ता प्रतिक्रियाबाट ऊ विचलित हुन्थेनन्। गैरारे माइलाको कुरा पनि सुनेको नसुन्यै गरी ऊ उठ्यो र खेत गोड्न थाल्यो। मंसिर महिनाको पहिलो मंगलबार। न्वागी खाने दिन आयो। तीन गाउँका मान्छे एकै ठाउँ थानीको मन्दिरमा भेला हुने दिन पनि हो। दिउँसो पूजा पाठ गरिन्थ्यो। राती ठिटाठिटी जम्मा भएर नाचगानका साथ खुब रमाइलो गर्थे।आफूले उब्जाएको अन्न पहिला देवी देवतालाई चढाएर मात्रै खाने चलन थियो। त्यसलाई नैं न्वागी खाने भनिन्छ। यो मेलामा पहिलेजस्तो रौनक थिएन। मान्छेले अन्न उब्जाएको भए पो देवी देवतालाई चढाउन आउनु!मुस्किलले पन्ध्र-सोह्र जनाले धान र चामल लिएर आए। हँसिलो हुँदै अन्न चढाउन आउनेमा थियो साइँलो।अरूको मागी खाने बानीका कारण न्वागी खाने चलन हरायो। विपत्तिले हामीलाई कमजोर बनायो। राहतको आशामा हेलिकप्टरको आवाजले हाम्रो नजर आकाशतिर तान्यो मात्र, जमिनको फलमा हाम्रो नजर गएन।


Your Views
Related News