काठमाडौं । झण्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरी सहभागी हुन थाल्नुभएको छ ।कोरनोभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उहाँ केही दिन अस्पतालमा र केही दिन राष्ट्रपति निवासमा मात्रै रहनुभएको थियो । सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुनुभएको थिएन ।

त्यसपछि सोमबार पहिलो पटक उहाँ फ्लोरिडामा आयोजित चुनावी कार्यक्रममा सहभागी हुनुभएको छ । कार्यक्रममा उहाँ मास्क विना सहभागी हुनुभएको थियो भने भिडमा रहेका अन्य अधिकांश सहभागीहरुले पनि मास्कको प्रयोग गरेका थिएनन् ।

उहाँले कार्यक्रममा जोडतोडका साथ भाषण गर्दै आफु स्वस्थ भइसकेको र आफुलाई कुनै शारीरिक वा स्वास्थ्यसम्वन्धी समस्या नरहेको दावी गर्नुभएको थियो । उहाँले प्रतिस्पर्धी जोन बाइडनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको र सञ्चारमाध्यमलाई पनि पक्षपाती भएको आरोप लगाउनुभएको थियो ।

उहाँले आगामी चार दिनमा निर्वाचनका बेला कडा टक्कर हुने भनिएका चारवटा राज्यमा भ्रमण गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति ट्रम्पलाई ११ दिन अगाडि कोरोनाको लक्षण देखा परेको थियो । गत आइतबार मात्रै उहाँ सङ्क्रमणमुक्त भइसक्नुभएको उहाँका निजी चिकित्सकहरुले बताएका थिए ।

READ MORE NEWS

‘विश्वकै सबैभन्दा ठूलो’ गुलाबी हिरा विक्री हुँदै, मुल्य थाहाँ पाउँदा विश्व चकित

  •  मङ्गलबार २७ असोज, २०७७

काठमाडौं । विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हिरा बेच्न आगामी नोभेम्बर ११ मा लिलाम प्रक्रियामार्फत् आगामी नोभेम्बर ११ मा बेचिने भएको छ । रूसको सोतेबीको जेनेभा मग्निफिसन्ट ज्वेल्स् र नोबल ज्वेल्स्ले यसबारे सञ्चारमाध्यमलाई स्थानीय समय अनुसार सोमबार जानकारी गराएका हुन् ।

‘गुलावको आत्मा (द स्प्रिट अफ द रोज)’ नाम दिइएको उक्त १४.८३ क्यारेटको हिराको मूल्य दुई करोड ३० लाखदेखि तीन करोड ८० लाख अमेरिकी डलर पर्ने अनुमान गरिएको अमेरिकी पाक्षिक पत्रिका फोब्र्सले जनाएको छ । लिलामीका लागि राखिएको उक्त रत्न विश्वभर पाइने अन्य बहुमूल्य धातुको दुई प्रतिशत मात्रै रहेको अनुमान गरिएको छ ।

“यो बिक्री एलोरोसा र सोथेबीबीच लामो समयसम्मको सम्बन्धको परिणाम हो, यस उत्कृष्ट धातुको बारेमा धेरै महिनासम्म छलफल भएको थियो र छलफलले यसलाई बिक्रीको लागि प्रस्ताव गर्ने उत्तम तरिका भएको निश्कर्ष निकालेको थियो,” विशेषज्ञ र सोथेबीको ज्वेलरी विभागका निर्देशक तथा ज्वेल्स बिक्री प्रमुख बेनोइट रिपेलिनलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गोलाकार आकारको उक्त मणि २७.८५ क्यारेटको स्पष्ट गुलाबी डायमण्डले बनेको छ । रूसको उत्तरी पूर्वी साखा गणतन्त्रमा रूसी खनिज कम्पनी अलरोसाको स्वामित्वमा रहेको खानीमा भेटिएको थियो । हीरालाई सेर्गेई डायागिलेभले निर्माण गरेपछि ‘द स्पिरिट अफ द रोज’ नाम दिइएको थियो भने सन् १९११ को अप्रिल १९ मा पहिलो पटक सार्वजनिक गरिएको थियो ।

READ MORE NEWS

कोरोना महामारीलाई लिएर चितवनबाट आयो यस्तो दुःखद खबर

  •  मङ्गलबार २७ असोज, २०७७

काठमाडौं । समग्र देशको तुलनामा चितवनमा कोभिड–१९ सङ्क्रमणका कारण हुने मृत्युदर उच्च पाइएको छ । अन्य जिल्लाबाट उपचारका लागि यहाँ आएर मृत्यु भएकालाई छाड्दासमेत जिल्लाको मृत्युदर १.२८ प्रतिशत पुगेको हो । स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा कूल सङ्क्रमित सङ्ख्या एक लाख ११ हजार ८०२ रहेको छ भने मृत्यु ६४५ पुगेको छ । यस हिसाबले नेपालको मृत्युदर ०.५७ प्रतिशत हुन आउँछ तर जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाको मृत्युदर १.२८ प्रतिशत पुगेको छ । जुन समग्र नेपालको मृत्युदरभन्दा दोब्बर बढी हो ।

जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा कूल सङ्क्रमित सङ्ख्या दुई हजार ७९२ रहेको छ । त्यसमध्ये ३६ जनाको मृत्यु भएको हो । जिल्लामा एक हजार ६७२ जना निको भएका छन् भने एक हजार ११८ जना सक्रिय सङ्क्रमित रहेका छन् । बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आउनेसमेत जोड्ने हो भने मृतकको सङ्ख्या ६४ पुगेको छ । मृत्यु भएकामध्ये पनि सबैभन्दा धेरै भरतपुर अस्पतालमा रहेका छन् । भरतपुर अस्पतालमा उपचारार्थ भर्ना भएकामध्ये पाँच प्रतिशतको मृत्यु भएको छ । ८१ प्रतिशत निको भएर डिस्चार्ज भएका छन् भने १४ प्रतिशत उपचाररत रहेका छन् । यस अवधिमा भरतपुर अस्पतालमा उपचार गरिएका ३०१ कोरोना सङ्क्रमितमध्ये १०२ जना चितवनभन्दा बाहिरी जिल्लाका रहेका छन् । चितवनबाहेक १२ जिल्लाका सङ्क्रमित यहाँ उपचार गर्न आउने गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी शुरु शुरुमा अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत युवा वर्गलाई सङ्क्रमण भएको भए पनि पछिल्लो समय पाको उमेरका दीर्घरोगी बढी प्रभावित भएकाले मृत्युदर बढेको बताउनुहुन्छ । युरोपमा समेत ७५ वर्ष माथिकाको मृत्युदर २५ प्रतिशत भएको भन्दै उहाँले माथिल्लो उमेर र दीर्घरोगी बढी प्रभावित हुने जानकारी दिनुभयो । यो रोगले कसैकसैलाई झुक्याउने गरेको उहाँको भनाइ छ । एकैचोटी निमोनिया भएर अस्पताल आउँदाआउँदै मृत्युसमेत हुने गरेको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष तथा वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी होम आइसोलेसनमा रहेका बिरामी अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्युदर बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ज्वरो, खोकी लागेपछि घरमै बस्नु ठीक हो कि भनेर घरमै बस्ने र अन्तिम अवस्थामा निमोनियासहित अस्पताल आउने धेरै भए ।” उहाँका अनुसार घरमा आइसोलेसन बस्नेले आफ्नो स्वास्थ्यको खतराको चिह्न पहिचान गर्न नसक्दा जोखिम बढेको छ । घरमा आइसोलेसन बस्नेले ज्वरो, रगतमा अक्सिजनको मात्रा, स्वासप्रस्वासमा भएको समस्या आदिबारे जानकारी लिइरहनुपर्ने र यस्ता सूचक थोरै मात्रै तलमाथि भएमा स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

पहिलेदेखि मिर्गाैलाको डायलासिस गराइरहेका बिरामीले नियमित डायलासिस गराउन नपाउँदा पनि बढी जोखिमा बढेको अधिकारी बताउनुहुन्छ । यसै जिल्लामा स्वास्थ्य सेवा राम्रो भएका कारण यही सेवा उपभोग गर्नकै लागि बसोबास गर्ने पनि धेरै रहेको उहाँको भनाइ छ । यातायात, शिक्षा र स्वास्थ्यका हिसाबले उत्कृष्ट जिल्ला भएका कारण चितवन बसोबासको दृष्टिले मानिसको रोजाइमा पर्ने गरेको तर जिल्लामा रोगको प्रकोप पनि बढी हुने गरेको छ । भाइरल ज्वरो, डेङ्गु, स्क्रबटाइफसजस्ता रोगको प्रकोप पनि जिल्लामा बढी हुने गरेको छ । यातायातको सुविधाले मानिसको सहज आउजाउले पनि रोग भित्रिन मद्दत पुग्ने गरेको विज्ञ बताउँछन् । रासस


Your Views
Related News