हामीलाई एकैचोटी छलाङ मार भन्नु जायज हुँदैन : बानियाँ
व्यापारको जोखिम हरेक फिल्ममा हुन्छ, सकेसम्म प्रयोग गर्नुपर्छ : बस्नेत

काठमाडौँ — निश्चल बस्नेतले सन् २०१२ मा निर्देशन गरेको ‘लुट’ले मूलधारे फिल्मभन्दा फरकधारको फिल्म बनाएको भन्दै तारिफ बटुल्यो । उस्तै किसिमको फिल्म बनाइरहेका बेला बस्नेतले ‘लुट’बाट कथा भन्ने शैलीमा परिवर्तन ल्याए । ‘लुट’लाई अझै ‘ट्रेन्डसेटर’ फिल्मको रुपमा चर्चा गरिन्छ । बक्स अफिसमा व्यवसायिक सफलता हासिल गरेको फिल्मलाई पछ्याउँदै फिल्म बनाउने होड नेपाली फिल्म उद्योग धेरै पहिलेदेखि छ । ‘लुट’लाई पनि केहीले पछ्याए । ‘छक्का पञ्जा’पछि कमेडी विधामा फिल्महरु ह्वात्तै बढे ।

तर कोभिडपछि यो प्रवृतिमा परिवर्तन आउनुपर्ने बताउँछन् निश्चल । ‘फिल्महरु राम्रो बन्नुपर्छ । फिल्ममेकरले निरन्तर एकैखालको फिल्ममात्रै भन्दा पनि फरक/फरक तरिकाबाट फरक विधामा फिल्म बनायो भने राम्रो हुन्छ जस्तो लाग्छ मलाई,’ उनले भने, ‘एउटा फिल्म चल्यो भने त्यस्तै किसिमको फिल्म बनाउछन् यहाँ । यसले त नयाँ प्रयोग केही हुँदैन । फिल्ममा प्रयोग गर्ने हो या फिल्मले कथावाचन राम्रोसँग गर्ने हो भने त विभिन्न विधामा फिल्म बनाउनुपर्छ । राम्रोसँग फिल्म बनाएर त्यसै अनुसार प्रचार गर्न सक्नुपर्छ । हामी कहाँ त्यस्तो खासै भाको छैन ।’

कोभिडअगाडि बनिरहेका फिल्महरुले पोस्टकोभिडको समयमा खासै अर्थ नराख्ने उनी बताउँछन् । ‘कोभिडपछि अहिले बनिरहेको फिल्महरुले हुँदैन,’ उनले भने । त्यसैले यसमा फिल्ममेकर नै गम्भीर भइदिनु पर्ने निश्चलको धारणा छ । ‘फिल्म बनाउने मेकरहरुले यसबारे सोच्नुपर्‍यो । अहिलेसम्म कस्तो फिल्म बन्यो/बनाइयो भनेर आफैंले मूल्यांकन गर्नुपर्‍यो । त्यस्तै किसिमको फिल्म बनाउने कि नबनाउने, कस्तो विधामा बनाउने भन्नेतर्फ फिल्ममेकरले सोचिदिए हुन्थ्यो होला,’ उनी सुनाउँछन् ।

कोभिडपछि निर्माताले अन्य कस्ता कुरामा ध्यान दिने त ?

अनुसन्धान गरेर इमान्दारिपूर्वक राम्रो कन्टेन्टतर्फ मेकरले ध्यान दिनुपर्ने निर्माता/कलाकार रविन्द्रसिंह बताउँछन् । ‘कोभिडपछि निर्माताको हिसाबले तपाई जे गर्दै हुनुहुन्छ तपाईंले सक्दो आफ्नो अनुसन्धान, बलबुताले भ्याएसम्म नियत राम्रो राखेर फिल्म बनाउनुपर्‍यो । भोलि कसैलाई दोष नथुपार्नेगरी । निर्देशक, कलाकारले डुबायो भन्दा पनि आफैं जिम्मेवार हुने गरेर बुझेर मात्र प्रोजेक्ट बनाउन अनुरोध छ,’ उनले भने ।

आफ्नो प्रोजेक्टप्रति निर्माता इमान्दार हुनुपर्ने उनी बताउँछन् । ‘कुनै लुकेको स्वार्थ पूरा गर्नभन्दा पनि फिल्म राम्रो बनाउनका लागि अनुसन्धान गर्नुपर्‍यो । समय लागोस् तर राम्रो फिल्म बनाउनु पर्‍यो । गम्भीर भएर समय र श्रम खेर नाजनेगरि बजेटले भ्याएसम्म इमान्दार भएर काम गरौं । सबैभन्दा मुख्य नै कन्टेन हो । कन्टेनमा मिहेनत गर्नुपर्‍यो । कन्टेन पनि हाम्रो भाषा, दर्शकको लिट्रेसी बुझेर ल्याउनु पर्‍यो,’ उनले भने

‘अहिलेसम्म त निर्मातालाई मुर्गा बनाउने प्रवृत्ति छ । अब फिल्म क्षेत्रमा नयाँ निर्माता आउने वातावरण बनाइदिनुपर्छ,’ उनले भने, ‘हामी निर्माता जोखिम मोल्न सक्दैनौं । एउटा फिल्म डुब्दा घरबार बेच्नुपर्छ । एकाध निर्माता आउँछन् । उनीहरुलाई पनि तीन पुस्तालाई सरापेर जाने बनाइदिन्छौं ।’ उनले सुनाए, ‘यहाँ कोही नयाँ निर्माता लगानी गर्न आउँछु भने उनीहरुलाई हतोत्साही गराइन्छ । निर्माताले लगानी गर्ने वातावरण बन्नुपर्छ ।’

प्रोडक्सन डिजाइनको आवश्यकता

फिल्मको कथा र पटकथा तयार भएपछि सुरु हुन्छ प्रि-प्रोडक्सनको काम । उपयुक्त लोकेसनदेखि कलाकार र प्राविधिकको छनोट, वर्कसप लगायतका काम प्रि-प्रोडक्सनमा पर्छन् । फिल्म निर्माणको दोस्रो खुड्किलो हो सुटिङ । त्यसपछि सुरु हुन्छ सम्पादनलगायतका पोस्ट प्रोडक्सनका काम ।

फिल्म निर्माणमा महत्वपूर्ण विधा हो प्रोडक्सन डिजाइन । तर, नेपाली फिल्ममा भने धेरैजसो निर्माताले यसमा ध्यान नदिने गरेको बताइन्छ । हतारमा स्क्रिप्ट, हतारमै सुटिङ र हतारमै पोस्ट प्रोडक्सनको काम गर्ने बानी अधिकांश निमार्ताको छ । त्यसैले सम्पादक र रंग संयोजकले प्रशस्त समय लिएर काम गर्ने मौका कमै पाउँछन् । सबैको एउटै गुनासो हुन्छ, ‘अन्तिम समयमा आएर हतार हतारमा काम सक्नुपर्छ । फिल्म प्रदर्शनको २ दिनअगाडि पनि काम सकिएको हुँदैन ।’

व्यवसायिकताको अभावले यस्तो समस्या भइरहेको ‘जात्रा’का निर्माता रवीन्द्रको अनुभव छ । अन्तिम समयमा काम गर्ने व्यवहारमा सुधार आउन समय लाग्ने देख्छन् रवीन्द्र । ‘यहाँ व्यवसायिक धर्म छैन । प्राविधिकहरु एकैचोटी चारवटा फिल्म लिएर बसेका हुन्छन् । आफ्नो फिल्मको काम गर्नुपर्ने बेला अर्को हप्ता प्रदर्शन हुने फिल्मको काम गरिरहेको हुन्छ । त्यसलाई रोकेर आफ्नो काम थाल्न पनि भएन,’ उनले समस्या केलाउँदै गए, ‘फिल्म रोक भन्न त सकिदैन । त्यसरी काम गर्नेहरुले क्वालिटीमा भन्दा क्वान्टिटिमा काम गर्दिन्छन् । हतारमा काम गरेर फुर्सदमा पछुताइन्छ । अब यो प्रवृति/व्यवहारमा परिवर्तन हुन त झट्का लाग्नुपर्छ ।’ अन्तिम समयमा काम गर्नुपर्ने समस्या प्राविधिकको कारण पनि हुने गरेको निश्चल बताउँछन् । ‘समय लिएर काम गर्न पाए धेरै राम्रो हो । हामी समय तोकेर प्रि-प्रोडक्सन थाल्छौं । छायांकन हुन्छ । पोस्ट प्रोडक्सनमा गएर फिल्मको काममा समय लागिरहेको हुन्छ । लामो समय दिँदा पनि प्राय: फिल्मको काम सकिँदैन,’ उनले भने, ‘३ महिना लिएको फिल्मले पनि अन्तिम समयसम्म काम गरिरहेको हुन्छ । ६ महिना लिएकोले पनि अन्तिम समयमा आएर काम गरिरहेकै हुन्छ । प्राविधिक क्षेत्रबाट पनि गडबडी छ । सबैजना व्यवसायिक नैतिकतामा रहेर काम गर्नुपर्‍यो ।’

कलाकारको पारिश्रमिक बढी भएकै हो त ?

प्राविधिकबाहेक महामारीपछि बन्ने फिल्ममा कलाकारको पारश्रिमकबारे पनि छलफल सुरु भएको छ । एकथरी समीक्षक र निर्माताले फिल्मको बजार र बजेटको तुलनामा कलाकारहरुलाई दिने गरिएको पारिश्रमिक निकै धेरै हुने गरेको बताउँछन् । ‘एक त यी कलाकारलाई लिएर बनाएका फिल्म चल्छन् भन्ने कुनै ग्यारेन्टी छैन । दोस्रो यिनले त्यति पारिश्रमिक माग्ने गरी मेहनत पनि गर्दैनन् । न त त्यत्रो प्रतीभाशाली नै छन् । बलिउडजस्तो ठूलो बजार र स्टारकै कारण फिल्म चल्ने उद्योग पनि हाम्रो होइन,’ एक निर्माताले भने ।

केही फिल्ममेकरले कलाकारलाई पनि फिल्ममा सेयर दिएर काम गराउनुपर्ने विचार व्यक्त गरे । रवीन्द्रलाई पनि यो विषय छलफलका लागि सान्दर्भिक लागेको छ । ‘यी दुवै कुरा व्यवहारिक छन् । निर्माताले जोखिम मोल्दा कलाकारले योगदान दिनुपर्‍यो नि ! भोलि ४ करोड पारिश्रमिक लिने दिन आउला । तर कोभिडपछि फिल्म क्षेत्रमा जोखिम मोलेर काम गर्ने समयमा निर्माताको साथ दिनुपर्छ कलाकारले । पार्टनर बनिदिनुपर्छ । लागत मात्रै कम गर्नु भनेको जोखिम कम हो । कालकारमात्र होइन प्राविधिकले समेत योगदान गरिदिनुपर्‍यो,’ उनले भने ।

कोभिडअगाडि लिइरहेको पारिश्रमिकलाई नै मानक बनाएर हिँड्न नमिल्ने तर्क उनको छ । कलाकारले परिस्थिति बुझेर पारिश्रमिक माग्नुपर्ने उनको भनाई छ । तर यो सिक्काको अर्को पाटो पनि छ । काम गरेको लामो समयसम्म पनि निर्माताले पारिश्रमिक नदिएको वा पूरा नदिएको गुनासो गर्ने कलाकर र प्राविधिकको फेहरिस्त निकै लामो छ । आफूले समयमै पारिश्रमिक दिएको बताउने रवीन्द्र अन्य निर्माताले यसतर्फ ध्यान पुर्‍याउनुपर्ने बताउँछन् ।

कलाकारको पारिश्रमिक घटाउने विषयमा निश्चलको विचार भने फरक छ । उनी भन्छन्, ‘फिल्ममा पैसा थोरै लिने कि धेरै लिने भन्ने त कलाकार र निर्माताबीचको कुरा हो । पारिश्रमिक घटाएर काम गराउनेभन्दा पनि सम्झौतामा जानु पर्‍यो । कोही कलाकार घटाउन तयार होलान् कोही नहोलान् ।’ उनी अगाडि थप्छन्, ‘कलाकारले मात्र घटाएर हुने हो कि प्राविधिकले पनि घटाउने ? अरुले पनि घटाउने हो भने त उसले घट्नेबारे सोच्ला । तर अरु प्राविधिकले पहिलाकै पारिश्रमिक लिएर काम गरिरहेको छ भने उसलाई पनि घटाउन मान्छन् जस्तो पनि लाग्दैन ।’

कला र व्यापारको सन्तुलन कसरी होला ?

एकथरि निर्देशकर मेकरहरुले कोभिडपछि फिल्मको विषयवस्तु र शैलीमा नै ठूलो परिवर्तन आउनुपर्ने मत राखेका छन् । ‘इस्केपिस्ट र अमानवीय पाराको समाज निर्माण गर्न योगदान गर्नेगरी मसला र शुत्रको पछि लाग्नु भएन,’ उनीहरुको भनाइ रहँदै आएको छ । यसै श्रृंखलाको पहिलो भागमा निर्देशकहरु नवीन सुब्बा र मनोज पण्डितले यसको वकालत गरेका थिए ।

रवीन्द्र भने कोभिडपछि पनि त्यस्ता विषयमा लगानी गर्न गाह्रो हुने बताउँछन् । ‘फिल्ममा व्यापार जोडिन्छ । हो त्यस किसिमको फिल्म बनाउनुपर्छ । करोडौं लगाएर फिल्मलाई व्यवसाय होइन भन्न त उसले व्यवसायिक धर्म जानेको छैन भन्नपर्‍यो । तर, कसैले कसैको प्रयोगका लागि करोडौंको घरखेत त हाल्दैन नि त,’ उनले भने, ‘हामीबाट अस्वभाविक छलाङको अपेक्षा नगरौं । बिस्तारै सुधार आउने हो । एकैचोटी ओस्कार जानुभन्दा पनि आफ्नो जुत्ता पनि नफाटिने हिसाबले निर्माताको तर्फबाट धर्म सम्झेर अगाडि बढ्नुपर्छ । हुन त हामीले मनोरञ्जन भन्दामाथि उठेर फिल्म बनाउन पनि सकेका छैनौं ।’

यसप्रति निश्चल फरक मत राख्छन् । हरेक फिल्ममा निर्माताले जोखिम मोलेर काम गर्ने हुँदा प्रयोगात्मक विषयलाई पनि महत्व दिनुपर्ने उनी बताउँछन् । ‘रिस्क त सबै हुन्छ । फिल्ममा ९९ प्रतिशत जोखिम मोलेर काम गरिएको हुन्छ । आफूले बनाइरहेको फिल्मप्रति भरोसा हुनुपर्‍यो,’ उनले सुनाए, ‘किनभने संसारभरी विभिन्न विधामा फिल्म बन्छन् । हरेक विधाको फिल्म चलेका पनि छन् । यति हो राम्रो बन्नु पर्‍यो । त्यो राम्रो बनाउन फिल्ममेकरले ध्यान दिनुपर्‍यो ।’

रविन्द्र कोभिडपछि बन्ने फिल्ममा जीवनदर्शनका विषय र अहिलेको यो अनिश्चितताका विषय हेर्न चाहन्छन् । त्यससँगै महामारीबीच ७ महिना ठप्प भएको यो मनोरञ्जन क्षेत्र कोभिडपछि चलायमान बनाउन फिल्महरु बन्न रोकिन नहुने बताउँछन् । ‘कस्तो फिल्म बन्नुपर्छ बहसको विषय होला । तर फिल्म बन्नु पर्‍यो । त्यसले जीवन्तता बचाइराख्छ । बाँच्यो भने भोलि अर्को फिल्म बनाउन सकिन्छ,’ उनले भने, ‘फिल्म बन्ने अन्तर नहोस्, फिल्म बनिरहोस् । यो श्रृङ्खला टुटेन भने कस्तो के बनाउने भन्ने त छँदैछ नि !’

आफ्नो दक्षताले बनाउन सकिने फिल्म बनाउन कोसिस गर्नुपर्ने रवीन्द्र बताउँछन् । भन्छन्, ‘निर्माता पूरै व्यवसायिक हुनु भएन । निर्देशकले पनि कलाको ढ्वाङ बजाउन भएन । दुवैले एक विन्दुमा मिलेर फिल्म बनाउनु पर्‍यो ।’ त्यससँगै फिल्म क्षेत्रले अब डिजिटल प्रविधि र प्लेटफर्मलाई पनि आत्मासात गर्न सिक्नुपर्ने महामारीले सिकाएको उनी बताउँछन् ।

(समाजका ‘सफ्टवेयर’ भनिने सिनेमा, साहित्य, खेलकुद, कला कस्तो हुनुपर्ला ? के कस्ता नीति र शैली अंगिकार गर्नु आवश्यक छ भन्ने विषयको यो बहस श्रृंखला केही भागमा चल्नेछ ।)


Your Views
Related News